राजधानी काठमाडौंबाट टर्कीको राजधानी स्तानबुलसम्मको यात्रा सामान्य रह्यो। तर, स्तानबुलबाट लक्जम्बर्ग पुग्ने बेलामा परिचय भएका केही नेपालीका कारण भने मन अत्यन्तै पुलकित भयो। नेपाली पछि परेका त नेपालमै मात्र हो। बाहिर त सबै फैलिएका छन्, विस्तारित छन्।
बिमानले लक्जम्बर्गको भुइँ छोइसकेको थियो। बिमानबाट बाहिर निस्कने बेलामै उनीहरूसँग परिचय भयो। उनीहरूको एउटा समूह नै त्यता जाँदै थियो– सपरिवार।
त्यसमध्येका एक थिए– बालकृष्ण सापकोटा। लक्जम्बर्गमा रेस्टुराँ व्यवसाय गरेर बसेका उनले आफ्नो घरतिर घुम्न आउन आग्रह गरे। लक्जम्बर्ग पुगेको साँझमै उनीसँग भेटघाटको चाँजो पनि मिल्यो।
उनी आफ्नो भव्य मर्सडिज बेञ्ज लिएर होटलमै लिन आइपुगे। दिउँसो बिमानमा भेटिएका उनी हाम्रै गाउँका सामान्य नेपालीजस्तै थिए। तर, उनको अवस्था भने एउटा सफल व्यवसायीको जस्तो पहिल्यै देखियो।
त्यसपछि सुरु भयो लक्जम्बर्गका यी मेहनतीहरूको कामको अवलोकन गर्ने यात्रा। सुरुमै उनले एउटा घरमा लगे जहाँ उनी केही वर्ष त्यहाँ बस्थे। अहिले उनले केही नेपाली आफन्त र विदेशीलाई यो घर भाडामा लगाएका छन्।
अहिले उनी अर्को फराकिलो र ठूलो घरमा बस्छन्। चकाचौध पार्ने लक्जम्बर्ग सहर हेर्दै हामी अघि बढ्यौं। केही छिनमा पुग्यौं उनको रेस्टुराँ– स्वागत। लक्जम्बर्गको स्ट्रासनस्थित स्वागत रेस्टुराँको जिम्मेवारी पत्नी रिताले लिएकी थिइन्। प्रायः परिवारकै सदस्यहरू कुकदेखि अन्य कामदारसम्म बनेका छन्। पाहुनाहरू आइरहेका थिए, खाइरहेका थिए।।
बालकृष्णको युरोपसँगको यात्राबारे सुनिरहँदा पृष्ठभूमिमा लोकप्रिय नेपाली गीत बजिरहेको थियो– हाहा कलिलो तामालाई सोधरमलाई...। उनी भारतको दार्जिलिङका एकजना रेस्टुराँ संचालकमार्फत् यहाँ आइपुगेका थिए। केही वर्ष उनले तिनकै रेस्टुराँमा काम गरे।
त्यसपछि उनी आफैँले सुरु गरे यो व्यवसाय। तैपनि उनी त्यहाँसम्मको यात्रामा खुडि्कलो राखिदिने ती दार्जिलिङेलाई सम्झना गरिहन्छन्। उनीहरू लक्जम्बर्गमा आएताका नेपालीको संख्या असाध्यै थोरै थियो। नेपालीको के कुरा भारतीय नागरिकलाई देख्दा पनि चिज लाग्थ्यो।
'एउटा इन्डियनलाई देख्यौं भने पनि दगुर्दै गएर भेटथ्यौं,' बालकृष्णले बेलिबिस्तार लाए। र, नेपालीहरूले त्यहाँ नेपाली र इन्डियन खाना पाइने ठाउँकै रुपमा व्यवसाय गर्दै आएका छन्।
पाँच लाख जनसंख्या रहेको यो सहरको जनसंख्या दिनमा सात लाखसम्म पुग्छ। दुई लाख जनसंख्या राति भने यो सहर छाडेर फ्रान्स, जर्मनी वा अन्यत्रै जान्छ। फ्रान्स र जर्मनीसँग सीमा जोडिएको यो देशमै सेङ्गेन नामको एउटा सानो ठाउँ पर्छ। जसको नाममा अहिले युरोप जाने भिसा पाइन्छ। त्यो भिसा लागु हुने सबै देशलाई 'सेङ्गेन कन्ट्रीज' का रुपमा चिनिन्छ।
आफ्नो कर्म र भाग्य जोडियो भने व्यक्तिको जीवन भनेजस्तो सफलतामा पुग्छ। नवलपरासीकाखे अरुणखोलाका बालकृष्ण दिल्लीमा पुगेर त्यहाँ रेस्टुराँमा कुक नबनेका भए सायदै उनको जीवनमा यो अवसर आउने थियो। त्यहीको सम्पर्कबाट उनी यो ठाउँमा आइपुगेका थिए।
केही वर्ष काम गरेपछि उनले परिवारलाई पनि यो ठाउँमा ल्याए जतिबेला परिवार लिएर आउनु आफैँमा बेवकुफीजस्तो हुन्थ्यो। परिवारसहित अघि बढ्न सकिन्न भन्ने मान्यता थियो त्यो बेलासम्म। विस्तारै परिवार बढे। छोरीले नर्सिङको अध्ययन पूरा गरी काम गर्न थालिसकेकी छिन् भने छोरा जर्मनीमा इन्जिनियर पढ्दै छन्।
बालकृष्णलाई यो सबै देख्दा सपनाजस्तो लाग्छ। तर, मेहनत गर्न सक्ने नेपालीका निम्ति युरोपका यस्ता ठाउँ बरदान सावित भएका छन्। देशभित्रै काम गर्ने वातावरण र राजनीतिक स्थिरता हुने हो भने नेपालीहरूलाई सम्पन्न हुन समय लाग्ने रहेनछ। नेपालीहरूले धेरै कर तिर्ने भएका कारण पनि स्थानीय सरकारमा समेत उनीहरूको राम्रो प्रतिष्ठा बनेको रहेछ।
बालकृष्णजस्तै अरु नेपालीहरूका रेस्टुराँ र प्रगति हेर्ने अवसर मिल्यो। गुल्मी गैँडाकोटका हरि खत्री, बाग्लुङका जितु थापा केही नाम हुन् जसले लक्जम्बर्गमा नेपालको नाम राखेका छन्। तिनका रेस्टुराँमा नेपालकै झण्डा फहराएका छन्। नेपाली भाका घन्किरहन्छ। नेपाली स्वाद र आतिथ्यले युरोपेलीहरूको मन लछप्पै भिजाएका छन् तिनले।
अर्को एक दिन फेरि जितु थापा आफ्नो भव्य कार लिएर होटल आइपुगे। उनीसँग डोहोरिएर गएँ रेस्टुरेन्ट काठमाडौंमा। त्यहाँ पनि उनकी पत्नी सक्रिय थिइँन्। उनीहरूकहाँ मिठा परिकारको आशले आउनेहरूको कमी थिएन।
त्यही दिन उनकी छोरीको जन्मदिन परेको थियो। हामी मोडियौं उनको घरमा। लक्जम्बर्गमा एउटा नेपालीले मेहनतले बनाएको भव्य घर देख्दा मन खुसीले नाँच्न थाल्यो। आखिर नेपालीलाई एउटा राम्रो पद्दति दिने हो भने असम्भव केही रहेनछ। सुन्दर बैठकमा भेटिएका नेपालीहरूको बोलीमा उही पश्चिको आञ्चलिकता झल्किन्थ्यो। तर, बालबालिकाहरूमा भने पूरै युरोपको शिक्षा र संगत देखिन्थ्यो। उनीहरू त्यो देशमा भोलि सक्रिय नागरिक बन्न सक्ने गरी लेखपढ गरिरहेका छन्।
एक जना नेपालीका दुई/तीनवटासम्म घरहरू छन्। सुविधासम्पन्न बसोबास मात्र छैन इज्जत पनि कमाइरहेका छन्। उनीहरूले त्यहाँ फ्रेन्च, जर्मनीलगायतका स्थानीय भाषा पनि सिकेका छन्। त्यसैको माध्यमबाट उनीहरूले आफ्नो व्यवसायलाई विस्तार पनि गरिरहेका छन्।
जितुको घरबाट हिड्ने बेलामा फेला परे हरि खत्री, जसलाई विमानमा भेटेको थिएँ। त्यसपछि म हिडेँ उनीसँग उनको व्यवसाय र काम हेर्न। उनको तन्दुरी रेस्टुराँ र अनलाइन स्टोरले समेत राम्रो प्रगति गरेका छन्।
उनी लक्जम्बर्ग कुक बनेर आएका थिए। त्यो बेला उनले भारतीय रेस्टुराँमै काम गरे। पाँच वर्षमा उनी फ्रेन्च भाषामा पारंगत भए। सन् १९९७ मा लक्जम्बर्ग पुगेका उनी आफैँले रेस्टुराँ चलाएका ११ वर्ष भइसकेको छ। अनलाइनबाट सामान पठाउनु फाइदाजनक हुने देखेर अहिले उनी त्यसमा पनि उत्तिकै सक्रिय छन्।
यी रेस्टुराँ व्यवसायी नेपालीहरूले त्यहाँ नेपाली, भारतीय र पाकिस्तानी खानामात्र बेचिरहेका छैनन् नेपाली संस्कृति र राष्ट्रियताको प्रवर्द्धन समेत गरिरहेका छन्। तिज, दशैँ, तिहारजस्ता चाँडबाडमा मादल बोकेर पार्कमा नाँच्न जाने उनीहरूका निम्ति अहिले ठूलै कक्ष भाडामा लिनु पर्छ। होइन भने उनीहरूका ठूल्ठूला बैठक कोठा पनि यसका निम्ति पर्याप्त छन्।
'यहाँ आएर नेपाली खाना खाएपछि यो कसरी बनाउने भन्दै सिक्न खोज्छन्,' हरि भन्छन्, 'हामीले कति मसला हाल्ने र केके मिसाउने भनेर बताइदिने गरेका छौं।'
यी सबैजनाको अनुभव एउटै छ– नेपालमा यस्तै व्यवसाय गर्ने हो भने गुण्डादेखि प्रहरी र नेतासम्मलाई रेस्टुराँ संचालकले पाल्नु पर्छ। त्यसो हुँदा व्यवसायमा धेरै नाफा हुँदैन। तर, लक्जम्बर्गमा राज्यलाई तिर्ने कर बुझाइसकेपछि बिना झन्झट काम गर्न पाइन्छ।
उनीहरूले एकपछि अर्को गर्दै आफन्तहरूलाई कुक वा यस्तै अन्य सहयोगी रुपमा पुर्यााएका छन्। उनीहरूले पनि राम्रो गरेका छन्। आफैँ रेस्टुराँ खोल्न नसक्नेले अरुकैमा काम गर्दा पनि कम्तिमा ३ लाखसम्म नेपाली रुपैयाँ बराबरको युरो कमाइ गरिरहेका छन्।
लक्जम्बर्गमा २५ भन्दा बढी नेपाली रेस्टुराँ छन्। खासमा यहाँको व्यवसाय नेपालीहरूले भारतीयहरूबाट समेत खोसेका छन्। उनीहरूको मिजासिलो व्यवहार र मेहनतले यो सफलता हासिल भएको ठान्छन्। साना नानीहरू लिएर यहाँ व्यवसाय गर्दा उनीहरूलाई सजिलो थिएन। त्यो मेहनत सम्झेर अहिले उनीहरू गर्व गर्छन्।
'योबीचमा पापड बेलेकै हो,' रेड वाइनको चुस्की लिँदै सन्तुष्ट बालकृष्णले भने, 'तर, पापड सही ठाउँमा बेलियो।'
प्रकाशित: १७ पुस २०७२ २३:१८ शुक्रबार





