नाटकको अवस्था भने अलि भिन्न छ। नेपाली नाटकहरू लेखिइरहेकै छन् तर कसले कति लेखे र मञ्चन भए, धेरैलाई पत्तो हुन्न। जब मञ्चमा उक्लियो, तबमात्रै नाटकलाई दर्शकले नजिकबाट बुझ्न पाउँछन्।
दृश्य–काव्य पनि हो नाटक। 'लेखेरमात्रै होइन, मञ्चन पनि हुनुपर्छ भन्ने मान्यता नाटकले बोकेको छ,' लेखक तथा निर्देशक कृष्ण शाह यात्री भन्छन्, 'नाटक आफैंमा धेरै लेखिने विधा होइन। तर जति लेखिएका छन्, सन्तोषजनक छन्। रंगकर्मीहरूले ती नाटकलाई मञ्चमा उतार्न नसक्नुमात्र चिन्ताको विषय हो।'
लेखिएका सबै नाटक मञ्चन हुँदैनन्। आख्यान वा कविताजस्तो सहजै पाठकसम्म पुग्दैन पनि। नाटकको आफ्नै प्राविधिक संरचना भएकाले पढ्नभन्दा बढी हेर्न लालायित हुनेहरूको संख्या अधिक छ। अहिलेका थिएटरहरूले अंग्रेजी, रसियन, जापानीलगायत विदेशी नाटकको अनुवाद गरेर देखाउने चलन बढेसँगै मौलिक नाटकको स्वाद चाख्न नपाएको गुनासो गर्नेहरू पनि छन्। उनीहरू भन्छन्, 'जब रंगकर्मीहरूले अनुवाद नाटकलाई प्राथमिकतामा राख्न थाल्छन्, स्वतः मौलिक नाटक ओझेलमा पर्छ।'
नेपालमा मात्र होइन छिमेकी भारतमै पनि विदेशी नाटक अनुवाद गर्ने र मञ्चमा उतार्ने काम हुँदै आएको छ। लेखक अभि सुवेदीको विचारमा अनूदित नाटकले घाटा गर्दैन। 'भारतमा अनूदित नाटक गर्ने बेग्लै थिएटर छन्। हामीकहाँ पनि पहिलेदेखि नै अंग्रेजीलगायत अन्य भाषाका नाटक अनुवाद हुन थाले,' उनले थपे, 'समाजको प्रतिविम्ब हो नाटक। कलाको मूल्य बुझेर समाजअनुकूल प्रदर्शन भयो भने नयाँ स्वाद त पाइन्छ नै।'
नाट्यकर्मी कृष्ण शाह यात्रीको मूल्यांकनमा लेखिएका मौलिक नाटकबारे खोज–अनुसन्धान गर्ने प्रवृत्ति हामीकहाँ कम छ। 'कुनै देशको कला–संस्कृतिको विकास त्यही देशभित्रैबाट निर्माण हुने हो। इतिहास हाम्रै मौलिकताले बनाउने हो,' उनी भन्छन्, 'अनुवाद त भारतीय वा नर्वेजियन जुनै नाटकको गरे पनि हुन्छ। तिनबाट केही नयाँ सिक्ने अवसर पनि होलान्, तर बढी जोडचाहिँ हुनुहुन्न।'
मौलिक नेपाली नाटकले आफ्नो इतिहास बनाइसकेको सय वर्षभन्दा लामो भइसकेको छ। अनुवाद–रूपान्तरण परम्पराबाट सुरु भएको नाटकमा पहलमानसिंह स्वाँरको प्रवेशपछि मात्रै मौलिक लेखन भित्रिएको हो। यसअघि पौराणिक संस्कृत नाटकलाई नेपालीमा अनुवाद गर्ने चलन थियो। विसं १९६३ मा 'अटलबहादुर' लेखेर अनुवाद वा नाट्य रूपान्तरणको ट्रेन्डलाई स्वाँरले भत्काइदिए। उनको उनको आगमनसँगै त्यसपछिका नाटककारले मौलिक लेखनको बाटो समाउँदै कलम चलाउन थाले।
बालकृष्ण समले 'मुटुको व्यथा' (विसं १९८६) मार्फत नेपाली नाटकमा आधुनिकता भित्रिएपछि लेखनमा नयाँनयाँ प्रयोग हुन थालेको हो। उनले आफ्नै नाटक 'मुकुन्द इन्दिरा' निर्देशन गरेपछि मञ्चीय दृष्टिकोणले ठूलै चर्चा पाएको र टिकट काटेर हेर्ने प्रचलन बढेको पुराना नाट्यकर्मीहरू बताउँछन्।
टिकटमै चलेका अहिलेका थिएटरहरू व्यावसायिक बन्ने क्रममा छन्। तिनमा दर्शक ओइरिएका छन्। धेरैजसो थिएटरले दर्शकको मनोविज्ञान बुझेर नयाँ स्वादका नाटक गरिरहेका छन्, चाहे त्यो अनूदित होस् वा मौलिक। अहिले नेपाली नाटक समृद्धितर्फको बाटोमा छ। अत्याधुनिक थिएटरहरू राजधानीबाहिर पनि विस्तारित हुनु सुखद पक्ष हो।
नेपाली साहित्यमा पहिलेदेखि नै पाश्चात्य साहित्यको प्रभाव देखिन्छ। चाहे त्यो आख्यानमा होस् वा कविता या नाटकमा। नेपाली नाटकले आधुनिकता ग्रहण गरेपछि प्रयोगपरकतामा नाटककारहरू लागिपरेका छन्, जसमा विदेशी नाटकको प्रभाव कतै न कतै देखिन्छ। प्रभाव ग्रहण गर्नु नराम्रो होइन। लेखक सुवेदी त विदेशी नाटकबाट केही नयाँपन सिक्न सकिने धारणा राख्छन्। 'यसको अर्थ मौलिक नाटक गर्नैहुन्न भन्ने होइन,' उनको प्रस्टोक्ति छ, 'तर सही अनुवाद भएन भने गलत सन्देश जान्छ। त्यसमा चाहिँ अनुवादकले ख्याल राख्नैपर्छ।'
२०३९ सालमा सडक नाटकबाट जन्मिएको सर्वनाम नाट्य समूहले जनजीविका र सामाजिक चेतनाका विषयमा मौलिक नाटक मञ्चन गर्दै रहेको अवस्थामा आरोहण नाट्य समूहले मौलिकका साथै अनूदित नाटकलाई पनि जोड दियो।
सुवेदी अनुवादको पक्षमा रहे पनि नाटककार तथा सर्वनाम थिएटरमा निर्देशक अशेष मल्लले अनूदित नाटक मञ्चन गराउँदैनन्। सर्वनामको मन्त्र नै हो— मौलिक नाटकलाई जोड दिनु। कतिपय रंगकर्मीहरू मौलिक नेपाली नाटकको अभावमा विदेशी नाटक अनुवाद गर्नुपरेको बताइरहेका छन्। विभिन्न थिएटरले अनूदित नाटक पनि मञ्चन गर्छन्। सर्वनामले भने त्यसो गर्दैन। 'हामीसँग प्रशस्तै विषय, कथाव्यथा छन्, खाँचोचाहिँ नाटक लेख्नेहरूको हो,' निर्देशक मल्ल भन्छन्, 'म अनुवाद नाटकको विरोधी होइन। गर्नेहरूले राम्रो गरिरहेका छन्।' आयातित नाटकलाई प्रदर्शन गरे विद्यार्थी वा पछिल्लो पुस्ताले त्यसैलाई सिको गर्ने चिन्ताले मौलिकतामै जोड दिएको उनले बताए।
सर्वनाममा मल्लकै लेखन रहेको 'हारेका मान्छेहरू' केही समयअघि मञ्चन भयो। यसमा पनि उनले नयाँ प्रयोग गरे, आफू मूल लेखक र अन्य पाँच विद्यार्थी सहलेखक राखेर। 'नाटक लेख्नेहरू कम हुँदै गएको अवस्थामा युवाहरूलाई यसरी लेखनमा ठाउँ दिइयो भने आउँदा दिनमा आफैं नाटक लेख्न सक्छन्,' उनी ढुक्क छन्, 'यसले जिम्मेवारी बोध हुनुका साथै लेखनमा प्रोत्साहन र ऊर्जा पनि मिल्ने भयो।'
कुनै बेला मल्लसँगै रंगकर्ममा लागेका र धेरै नाटक गर्नेहरू अहिले यो विधाबाटै पलायन भइसकेका छन्। कोही कवितातिर लहसिए त कोहीलाई आख्यानले तानिरहेको छ। युवा नाट्यकर्मी यात्रीले पनि यस्तै अनुभव गरेका छन्। नाटकका कृति प्रकाशन गर्न गाह्रो छ। एक त प्रकाशकले नाटक छाप्न मान्दैनन्, अर्को नाटक पढ्ने पाठक नै एकदम कम छन्। किनकि नाटक पाठ्यभन्दा दृश्य विधा बढी हो। 'एकेडेमीजस्ता आधिकारिक संस्थाबाट छापिए अलि प्रभावकारी हुन्थ्यो कि,' यात्री भन्छन्, 'प्रकाशकले पनि नाटकको पुस्तक भनेपछि प्रचारमा ध्यान नदिने प्रवृत्ति यहाँ छ।' मञ्चन भएका राम्रा नाटकको प्रकाशनमा उनले जोड दिए। धेरैजसो नाटक रंगमञ्चमा प्रस्तुत हुन्छन्, पाण्डुलिपिमै थन्किन्छन्। उनले सुझाए, 'तिनलाई पुस्तकाकार रूपमा ल्याइयो भनेमात्र लिखित इतिहासको रूपमा सुरक्षित हुन सक्छ।'
एकपटक अशेष मल्लको लेखन/निर्देशन रहेको नाटक 'रक्तबीज' प्रदर्शनपछि एक प्रकाशक नाटक छाप्ने सोच बनाएर उनीकहाँ पुगेछन्। नाटकलाई पुस्तकाकारमा छाप्ने प्रकाशकको 'दुस्साहस' देखेपछि उनले उल्टै भनेछन्, 'प्रकाशक त कथा/उपन्यास पो खोज्दै हिँड्छन् भन्ने सुनेको थिएँ। मेरो नाटक छाप्ने सोच बनाउनुभएको छ भने तपाईं डुब्नुभयो!'
कुन मोहले हो प्रकाशकले पछि उक्त नाटक प्रकाशनमा ल्याइछाडे।
मल्लको यही प्रसंगले देखाउँछ नेपाली नाटक लेखन र बजारको अवस्थालाई। उनको भनाइमा सबैभन्दा कम लेखिने विधा नै नाटक हो। आर्थिक लाभको लोभमा नाटक नलेखेको बताउने उनी आत्मसन्तुष्टिका लागि लेखेको बताउँछन्। भन्छन्, 'म समाज परिवर्तका लागि नाटक लेख्छु भन्दिनँ। स्वान्तः सुखायका लागि लेख्छु। मेरो एउटा नाटक सफल हुँदा ठूलो व्यापारीले लिने लाखौं नाफाभन्दा बढी सन्तुष्ट हुन्छु।'
नेपालका युनिभर्सिटीका कोर्समा पनि नाटक पढाइ हुन्छ। तर, तिनको व्यावहारिक ज्ञान त्यहाँ दिइन्न। नाटकका पुस्तक घोकेर परीक्षा लेख्छन्, विद्यार्थीहरू। मञ्च व्यवस्थापन, प्रकाश संयोजन, ध्वनि, संगीत आदिबारे उनीहरूको ज्ञान हुन्न। लेखक सुवेदीको चिन्ता यो पनि हो। 'पढाइसँगै ती नाटकको प्रदर्शन पनि गरिनुपर्ने हो तर हामीकहाँ लगभग शून्य छ,' उनको बुझाइ छ, 'पठनपाठनको विषयको रूपमा मात्र नाटकलाई सोचियो भने यसको विकास र विस्तार हुन सक्दैन।'
सुवेदीले भनाइसँग सहमत छन्, थिएटर मलका निर्देशक केदार श्रेष्ठ। नाटक लेख्नेहरू कम हुँदै गएकाले फ्रेस नाटक कम भइरहेको उनको अनुभव छ। 'दर्शकको मनोविज्ञान बुझेर हामीले नाटक खोजी गर्नुपर्छ। तर चर्चित कतिपय नाटकहरू अहिलेको सन्दर्भमा मञ्चनयोग्य छैनन्,' उनी भन्छन्, 'कहिलेकाहीँ त रंगकर्म गरिरहेका हामी आफैं पनि लेख्न बाध्य हुनुपरेको छ।' लेखनमै रंगमञ्चीय चेत भएमात्र त्यो मञ्चमा सहजै उक्लन सक्छ। कतिपय लेखक नाटक बोकेर श्रेष्ठकहाँ आउने गरेका छन्। तर सबै मञ्चमा प्रस्तुत गर्ने खालका हुँदैनन्। लेखकमा प्राविधिक ज्ञान नहुँदा यस्तो समस्या हुने गरेको छ। 'आफैंले यस्तो खालको नाटक लेखिदिनुस् भनेर कतिपयलाई आग्रह पनि गर्नुपरेको छ,' उनी सुनाउँछन्।
नाटक लेखेरमात्रै हुँदैन। त्यसलाई मञ्चमा उतार्ने सोचको विकास लेखकमा हुनुपर्छ। त्यसो त बालकृष्ण सम, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर मल्ल, सरुभक्तकै पनि सबै नाटक मञ्चन नभएको कतिपय नाट्यकर्मी बताउँछन्। 'चर्चामा आइरहने नाटक धेरै छन्, तर तिनमा प्राविधिक पक्ष कमजोर छन्, जसका कारण मञ्चमा उकाल्न गाह्रो छ,' एक नाट्यकर्मीले भने।
नाटकको प्रचार, विकास र विस्तारका लागि रंगकर्मी र लेखकबीच घनीभूत छलफल–अन्तरक्रिया भइरहे समस्या कम हुने बताउँछन्, नाट्यकर्मी यात्री। 'निरन्तर लेखिरहने लेखिरहेकै छन्, तर तिनका नाटक रंगकर्मीको हातसम्म पुगिरहेको छैन,' उनले भने, 'दर्शकको माग कस्तो छ र लेखिएका नाटकहरू मञ्चनयोग्य छन्/छैनन्, मूल्यांकन गर्ने परिपाटीको विकास हुनुपर्छ। यसो भएमात्रै त्यो दुरी कम हुन्छ।'
लेखन पीडा
कविता वा आख्यान कुनै पाठकले एक्लै पढेर आफ्नो धारणा बनाउन सक्छ। नाटकको प्रस्तुति भने सयौं दर्शकका बीच प्रत्यक्ष हुने भएकाले यसमा उत्तिकै चुनौती पनि छ। 'एकैपटक ठूलो संख्यामा सार्वजनिक गर्दा कतै कमजोरी भयो भने सबैको प्रहार तत्कालै हुने हो,' नाट्यकर्मी अशेष मल्ल जोखिम दर्शाउँछन्, 'यसर्थ नाटकमा जोखिम छ। दर्शकको मनोविज्ञानसँग पनि यो जोडिएको हुन्छ।'
उनीसँगै रंगकर्ममा लागेकाहरू धेरै जना साहित्य नै छोडेर पलायन भइसके, कतिपय अन्य विधामा लेखिरहेका छन्। निरन्तर धैर्य, नाटकप्रतिको प्रेम र लगाव नभए यसमा टिकिरहन गाह्रो हुने अनुभव बताउँछन्, उनी।
नाटक लेख्नु र गर्भवती हुनुको पीडालाई तुलना गर्दै उनी भन्छन्, 'कविता, आख्यानजस्तो सहज होइन नाटक लेख्नु। मस्तिष्कमा नाटकका विभिन्न अंगको विकास हुन महिनौं लाग्छ, तबमात्र त्यो पूर्ण स्वरूपमा पदार्पण हुन्छ।'
लेखक अभि सुवेदीले त कैयौं नाटक लेखिसकेर पनि डिलिट गरेका रहेछन्। 'आफैंलाई चित्त नबुझेपछि दर्शकलाई कसरी बुझाउन सकिन्छ र,' उनको लेखन अनुभवले बताउँछ, 'लेखकले पीडाभित्रको आनन्दलाई अनुभूत गरेर लेख्यो भने त्यो नाटकले दर्शकलाई पीडा होइन मनोरन्जन दिन सक्छ।'
साहित्यका अन्य विधामा लेखिसकेर लेखक स्वतन्त्र हुन पाउँछ। जब प्रकाशन भएर कुनै कृति सार्वजनिक हुन्छ, त्यो पाठकको बन्छ। तर, नाटक लेखिसकेर पनि लेखक मुक्त हुन पाउँदैन। चर्चित नाटक 'अनि देउराली रुन्छ' का लेखक तथा निर्देशक मनबहादुर मुखिया भन्छन्, 'जब लेखिसकिन्छ तबमात्र नाटकको जिम्मेवारी सुरु हुन्छ। यही जिम्मेवारी पूरा गर्न नसक्नेहरू नाटकबाट पलायन भएका छन्।' उनलाई नाटक लेख्न झकझक्याउनेहरू धेरै थिए। कार्यव्यस्तताले सकेनन् र टार्दै आए। त्यसो त 'सीमारेखा,' 'कर्जा,' 'देउकी' फिल्मको संवाद नलेखी हुँदै भएन। विद्यार्थीका लागि कहिलेकाहीँ एकांकी नाटक लेखिदिन्छन्। केही नाटकका पाण्डुलिपि पनि सुरक्षित छन्, उनीसँग। न ती प्रकाशनमा आए न त मञ्चन नै भए।
सुवेदीका केही नाटकहरू भने अहिले प्रदर्शनकै चरणमा छन्। थिएटर मलले 'विम्बाका सपना' केही महिनाअघि प्रदर्शन गरेको थियो। उनकै लेखन रहेको बिपी कोइरालाबारेको नाटक 'सान्दाजुको महाभारत'ले पनि थिएटर भिलेजमा निकै लोकप्रियता कमायो। सोही थिएटरमा अहिले सञ्जीव उप्रेतीको नाटक 'मकैको अर्कै खेती'ले राम्रो चर्चा पाइरहेको। यता युवा नाटककार केदार श्रेष्ठले लेखेको 'मान भर्सेस मती' थिएटर मलमा भने पुस १० देखि चलिरहेको छ।
लेख्नेहरू कम भए पनि कला निर्माण पक्षमा अहिलेको पुस्ता आक्रामक रूपमा आएको उनले बुझेका छन्। 'नाटकको प्राण नै प्राविधिक पक्ष भएकाले यसको लेखनमा हतपती मान्छेले हात हाल्दैनन्,' सुवेदी भन्छन्, 'भाइबैनीहरूले थिएटरमा गरिरहेको नयाँनयाँ प्रयोग प्रशंसनीय छ। सँगै मौलिक लेखनलाई अघि बढाए धेरै सम्भावना देखेको छु।'
थिएटरप्रति नाटक पारखीको बढ्दो आकर्षण देखेर रंगकर्ममै रमाइरहेका दयाहाङ राई, राज शाह, सायद अशोक, सोमनाथ खनाल, वियज विस्फोट, दिपेश पौडेल, प्रेम पौडेल, प्रवीण पुमाहरू लेखनप्रति ढल्किएका छन्। गोपी सापकोटा, टंक चौंलागाई, पुरु लम्साल, हरिमाया भेटवाल पनि नाटक लेखनमा साधनारत छन्।
निरन्तरको साधना र धैर्यले नै हो सफलताको बाटोमा हिँडाइरहने। चार दशकदेखि निरन्तर नाट्यकर्ममा लागिरहेका अशेष मल्ल अझै थाकेका छैनन्। भन्छन्, 'मैले धेरैलाई नाटक लेख्न, अभियन र निर्देशन गर्न सिकाउनुछ, सिकाइरहेकै छु। म मरेपछि पनि कैयौं अशेषहरू निस्कियून्!'
उनले भनेजस्तै सेक्सपियरपछि इब्सन जन्मन वर्षौं लागेको थियो। इब्सनपछि ब्रेख्त जन्मन पनि धेरै वर्ष कुर्नुपर्यो्। एक युगमा एक सफल नाटककार जन्मिन्छ, तर त्यतिन्जेलमा कैयौं कवि, आख्यानकार पाका भइसकेका हुन्छन्।
प्रकाशित: १० पुस २०७२ २३:४२ शुक्रबार





