जगनले आफूले पढिन्, जानिन्, बुझिन् अनि गाउँका महिलालाई एकजुट गराएर नानीहरुको शिक्षाका लागि पहल थालिन्। उनकै सक्रियतामा आमा समूहले छोरीहरुलाई पनि स्कुल पठाउने वातावरण बनायो। घरमा भाइ हेर्न बस्ने साना दिदीहरु स्कुल जान थाले। तिनीहरुका भाइहरुलाई आमा समूहले बनाएको शिशु स्याहर केन्द्रमा ल्याएर हेरचाह गर्न थालियो। आज जगन गुरुङको गाउँ घान्द्रुकमा कुनै पनि त्यस्ती छोरी भेटिन्नन्, जो स्कुल नगएकी हुन्।
जगनका बाबु ब्रिटिस आर्मी थिए। देश देशावर डुलेका उनलाई थाहा थियो— छोरी पनि स्कुल जानुपर्छ, पढ्नुपर्छ र छोरासरह जीवनमा अगाडि बढ्नुपर्छ। त्यसैले स्कुल जाने औसत उमेर छिचोलिसकेपछि पढ्न थालेकी कान्छी छोरीको कदमलाई बाबुले हौस्याए। जगनलाई स्कुल जान गाउँका अरु छोरीचेलीलाई हौस्याइन्। छोरीलाई पनि पढाऔं भन्ने चेतना गाउँमा छरिएपछि अहिले ऊ बेला स्कुल जान थालेका नानीहरु अहिले शिक्षित भइसकेका छन्। आफ्नो खुट्टामा उभिएर नमुना बन्दैछन्।
जगन भने शैक्षिक मामलामा मात्रै गाउँकी नमुना होइनन्, अरु मामलामा पनि उनलाई सशक्त महिलाका रुपमा उदाहरण मान्न सकिन्छ। उनले जीवनमा हासिल गरेका उपलब्धि उदाहरणीय छन्। चर्चित पर्यटकीय गाउँ घान्द्रुकमा ऊ बेला व्यवस्थित होटलको अभावै थियो। पर्यटक आउँथे, उनीहरुले नै स्थानीयलाई परिकार पकाउन सिकाउँथे, होटल रेस्टुरेन्टको आइडिया दिन्थे। पर्यटकबाट सिक्दै शनैशनै घान्द्रुकले पर्यटकीय सेवा सुविधा दिन थालेको हो। सन् १९९३ मा जगनले ५ कोठाको एउटा होटल स्थापना गरिन्। यो पनि नमुनै थियो।
दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने चलन भएको बेला जगनले मट्टितेल र ग्यास चलाउन थालिन्। 'वातावरण संरक्षणका लागि त्यसो गरेकी थिएँ,' उनी भन्छिन्, 'पछिपछि सबैले त्यसै गरेपछि वनविनाश धेरै घट्यो।'
घान्द्रुकको एउटा रोचक कुरा के भने यो गाउँमा बोतलको मिनरल वाटर पाइन्न। कुनै व्यवसायीले बेच्दैनन्। यसो हुन थालेको केही वर्ष मात्रै भयो। सबैभन्दा पहिला गाउँमा मिनरल वाटर नबेच्ने कदम चाल्ने भने जगन नै हुन्। 'प्लास्टिकको फोहोर नहोस् भनेर युरोगार्ड राखेर शुद्ध पानी प्रयोग गर्न थालेकी थिएँ,' उनले आफ्नो होटलको कहानी सुनाइन्। अहिले त गाउँमा महिला समूहले नै गाउँमा पानी उद्योग चलाएको छ। त्यही उद्योगको पानी जारमा लगेर बेच्छन् होटलहरु। गाउँका खोलाखोल्सामा मिनरल वाटरको बोतलहरुको फोहोर देखिन छाडेको छ।
सुरुमै सेप्टी ट्यांकीसहितको ट्वाइलेट भएको होटल बनाएकी जगनको होटलमा अहिले २० कोठा छन्। पहिलेको सट्टा पक्की होटल बनाइन्, जसले पटकपटक आफ्नो क्षेत्रको बेस्ट होटल अफ दी इयर अवार्ड जित्यो। वातावरणको क्षेत्रमा अमूल्य योगदान गरेकी जगन गुरुङलाई विश्व वन्यजन्तु कोशले अब्राहम कन्जरभेसन अवार्ड प्रदान गर्योव। सन् २००५ मा नोबल शान्ति पुरस्कारका लागि नेपालबाट मनोनीत ९ महिलामा जगन गुरुङको नाम पनि समावेश थियो।
जगनले स्कुल जाने मामलामा आफैंले एउटा साहस बटुलिन् र त्यसलाई साथ दियो परिवारले। होटल व्यवसाय र संरक्षणमा क्रियाशील हुन पनि परिवारको हौसला रह्यो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा कार्यरत उनका लागि परिवारसँग अर्काे साथ उनकै समुदायको पनि मान्नुपर्छ। जुन जातीय परिवेश र संस्कृतिमा उनी जन्मिइन्, हुर्किइन्, त्यो महिलाहरुका निम्ति सजिलो समुदाय पनि हो। गुरुङ समुदायका छोरीचेलीलाई अरु समुदायको तुलनामा परिवार र समाजभित्र विभेद कम छ। हिजोका दिनमा समेत छोरासरहकै व्यवहार नभए पनि अरु समुदायको तुलनामा यो जातिका छोरीचेली सशक्त थिए।
पोखरा ड्यामसाइडको मोनालिसा रेस्टुरेन्ट स्वदेशी सेलिबे्रटीमाझ प्रिय छ। पोखरा आउने गिनेचुनेका स्वदेशी पर्यटक थकाली खानाका लागि मोनालिसा सम्झन्छन्। टिपिकल थकाली खानाको स्वाद दिने यो रेस्टुरेन्टकी सञ्चालक उषा शेरचन जनजाति समुदायकी अर्की सशक्त अनुहार हुन्। यसै पनि मातृसत्तात्मक पारिवारिक संरचना हुने थकाली समुदायकी उनी रेस्टुरेन्ट सञ्चालनमा पति विमललाई सहयोग गर्नेमा सीमित छैनन्। पति जत्तिकै क्रियाशील छिन्। थकाली समुदायमा घर र व्यवसायको आर्थिक कारोबार प्रायसः महिलाले नै हेर्छन्। त्यसैले पनि यो समुदायका महिलाको सशक्तीकरण अन्यका तुलनामा अझै धेरै भएको बताउँछिन् उषा। थकाली समुदायका पुरुषले बहुविवाह गरेका उदाहरण फेला पार्न पनि मुश्किल पर्छ। यसले पनि महिला त्यो समुदायमा कति सशक्त छन् भन्ने देखाउँछ भन्छिन् उषा।
महिला हिंसाका घटनामा पनि गुरुङ, मगर र थकाली समुदायमा कम हुनुको कारण उनीहरु सशक्त भएकैले हो भन्छिन् सरस्वती गुरुङ। तमु धिं नेपालकी कोषाध्यक्ष उनी समाज र परिवारभित्र गुरुङ समुदायका महिलाले कमै विभेद सहनुपर्ने सुनाउँछिन्। संविधानमा प्रस्तावित प्रदेश नं ४ मा गुरुङ, मगर र थकाली समुदायको उल्लेख्य बसोबास छ। तीनै समुदायको पुरानो र समान विशेषता के भने मामाचेली र फुपूचेलीबीच विवाह हुन्थ्यो। अचेल पनि यस्तो चलन हराइसकेको भने छैन। त्यसरी नजिककै सम्बन्धमा बिहेबारी हुँदा चेलीले फुपूबाट बुहार्तन सहनुपर्थेन। आफ्नै भदैलाई फुपूले अरू समुदायमा सासुले बुहारीलाई गर्ने जस्तो विभेद गर्ने कुरै भएन।
सरस्वतीका अनुसार गुरुङ समुदायमा 'महिनावारी हुँदा अरु समुदायमा जस्तो छोरीलाई अलग्गै राखिन्न। महिनावारी भएकैले चाडपर्व र सांस्कृतिक तथा धार्मिक कार्यमा सामेल हुन वञ्चित गर्ने चलन पनि गुरुङ समुदायमा छैन। 'विधवा महिलाले अचेल रातो लगाउने चलन चल्यो,' उनी भन्छिन्, 'हाम्रो त यो चलन पहिल्यैदेखि थियो। विधवाले चलाउने मखमलको चोलो पनि रातै हुन्थ्यो।' विधवाको पुनर्विवाहका लागि पनि यो समुदायले पहिल्यैदेखि प्रगतिशील कदम चालेको हो।
गुरुङ समुदायका पुरुष भर्ती भएर विदेश जाने चलन पुरानै हो। त्यसो हुँदा घर व्यवहार महिलाले हेर्नुपर्ने हुन्थ्यो, हुन्छ। सरस्वती भन्छिन्, 'पैसा पनि महिलासँगै हुने र व्यवहार पनि उनीहरुले चलाउने हुँदा महिलाहरु सशक्त भए।' लाहुरेसँगै विदेश जाने अवसर पाएर पनि यो समुदायका महिलाले देशदेशावर बुझ्न पाएको उनको बुझाइ छ। त्यो अवसरले पनि गुरुङ समुदायका महिलाहरुको सशक्तीकरण गरेको सरस्वती बताउँछिन्।
प्रकाशित: १० पुस २०७२ २२:३६ शुक्रबार





