२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

रत्‍नजित खुला राष्ट्रिय च्याम्पियन

काठमाडौं- त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले तेस्रो गंगटा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि जितेका छन्। शीर्ष वरीयताका रत्नजितले धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा शनिबार दोस्रो वरीयताप्राप्त एपिएफका विकास श्रेष्ठलाई २१–१२, २१–१६ ले हराएर खेलजीवनको १२ औं उपाधि जितेका छन्।

दुईपल्टका राष्ट्रिय च्याम्पियन रत्नजितले फाइनल कठिन रहेको बताए। 'फाइनल 'टफ' थियो। विकास दाइ पावर खेल्न सक्नुहुन्छ,' ३६ र ३७ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जितेका २२ वर्षे रत्नजितले भने, 'तर, मैले राम्रो गर्न सकँे। मेरो स्ट्रोक र स्किल राम्रो छ भन्ने लाग्छ।' रत्नजितले उपाधिसहित ५० हजार रुपैयाँ जिते। उपविजेता विकासले फाइनलमा आफूले बढी प्वाइन्ट गुमाएको बताए। 'रत्न राम्रो खेलाडी हो। तर, आज मैले अलि बढी गल्ती गरेँ,' तीनपटक राष्ट्रिय च्याम्पियन रहिसकेका विकासले भने, 'मेरो अभ्यास पनि राम्रो हुन सकेको छैन।' २८ वर्षे विकासले लगातार ३३, ३४ र ३५ औं राष्ट्रिय प्रतियोगिता जित्दै उपाधिमा ह्याटि्रक गरेका थिए।

नजिकिँदै गरेको दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि प्रतियोगिताले सहयोग पुर्याएउने रत्नजितको विश्वास थियो। त्यसअघि सेमिफाइनलमा रत्नजितले साजनकृष्ण ताम्राकार र विकासले दिपेश धामीलाई हराएका थिए।

सबैभन्दा बढी १ लाख रुपैयाँ पुरस्कार रहेको पुरुष युगलको उपाधि एपिएफका विमल श्रेष्ठ र विकास प्रधानको जोडीले जित्यो। विमल र विकासले आर्मीका शम्भु श्रेष्ठ र सुरज महर्जनलाई २१–१६,२१–१९ ले हराए। विमल र विकासको जोडीले पहिलोपल्ट सँगै उपाधि जितेका हुन्। 'हामीले अलग अलग खेलेर त उपाधि जितेका छौं,' तीन वर्षदेखि सँगै खेल्दै आएका जोडीमध्ये विमलले भने, 'हामीले जोडीका रूपमा पहिलोपल्ट उपाधि जितेका हौं। खुसी लागेको छ। फाइनल त्यति कठिन भएन, हामीले सोचेजस्तै खेल्न सक्यौं।'

रत्नजितले दिदी सरादेवीसँग मिलेर मिश्रित युगलको उपाधि पनि जितेका छन्। दिदीभाइको जोडीले एपिएफका विकास र पूजा श्रेष्ठको जोडीलाई २१–९,२१–१७ ले हरायो।

नेपाल पुलिस स्कुलका प्रिन्स दाहाल जुनियर एकल (यू–१४) तर्फको च्याम्पियन बने। प्रिन्सले कैलालीका देवराज रानालाई २१–१४,२१–११ ले हराए।

काठमाडौंका सुवास श्रेष्ठ र भूमिबहादुर गुरुङको जोडीले भेट्रान्स युगल (४५ वर्षमाथि) को उपाधि जित्यो। सुवास र भूमिको जोडीले काठमाडौंकै नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीलाई १२–२१, २२–२०, २१–१५ ले हराएको थियो।

पुरुष डबल्स 'बी' को उपाधि ब्रदर्स स्पोर्टस क्लबका अरुण मगर र एलेक्स राजभण्डारीको जोडी विजयी भयो। स्थानीयलक्षित गरेर राखिएको उक्त इभेन्टमा अरुण र एलेक्सको जोडीले काठमाडौंका दिलीप राउत र दिनेश दुरालाई २१–११, २१–१९ ले पराजित गर्यो ।

गंगटा क्लबले आयोजना गरेको प्रतियोगिताका विजेतालाई सांसद रामहरि खतिवडा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले पुरस्कृत गरे। बिहीबार सुरु प्रतियोगिताका भेट्रान्स र मिश्रित विजेताले ३० तथा जुनियर विजेताले १५ हजार रुपैयाँ प्राप्त गरे। हरेक इभेन्टको उपविजेता र तेस्रो हुने खेलाडी वा जोडीले पनि नगद प्राप्त गरे।

प्रकाशित: ४ पुस २०७२ २२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App