१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

क्रिसमस मुड अन

काठमाडौं असनकी उपासना श्रेष्ठ क्रिसमस इभको प्रतीक्षामा छिन्। आउँदो शुक्रबार परेको क्रिसमस उनका लागि साथीहरूसँग 'आउटिङ' र 'ह्याङआउट'को राम्रो बहाना हो। 'पाँच वर्षदेखि म लगातार क्रिसमस इभ र क्रिसमसको दिन साथीहरूसँग ठमेल, दरबारमार्गमा रमाइलो गर्दै आएको छु। यो वर्षको योजना पनि उस्तै छ,' उपासनाले भनिन्। क्रिसमसको अघिल्लो साँझ 'इभ'मा उनी राति १२/१ बजेसम्म घुम्छिन् भने क्रिसमसको दिन पनि राति अबेरसम्म ठमेल र दरबारमार्गमा झुम्ने उनको रंगिन योजना छ।

काठमाडौका रोजन पौडेल क्रिसमसको समयमा साथीहरूसँग घुमेर रमाइलो गर्छन्। 'क्रिसमसमा पार्टी, कन्सर्टजस्ता सेलेब्रेसन हुने गर्छन्,' उनले भने, 'त्यही भएर साथीहरूसँग ठमेल र दरबारमार्ग घुम्दा बेग्लै आनन्द आउँछ।' तिहारको समयमा जस्तै क्रिसमसको बेला धेरै चहलपहल हुने स्थानमा झिलिमिली हुने गर्छ। यस कारण पनि रोजनजस्ता युवा रातको समयमा बाहिर निस्किन मन पराउँछन्।

उपासना र रोजनजस्ता धेरै युवापिँढीका लागि क्रिसमसको समय साथीहरूसँग बाहिर घुम्ने र रमाइलो गर्ने सुन्दर बहाना हो। आउने शुक्रबार काठमाडौंमा क्रिसमस क्यारोलको संगीत गुन्जिनेछ। गिफ्ट शप, होटल, रेस्टुरेन्टहरू त यति बेलैदेखि क्रिसमस ट्री र सान्टाक्लजले सजिन थालिसकेका छन्। अभावका बीचमा पनि सहरमा क्रिसमसको रमझमका लागि विभिन्न तयारी हुन थालिसकेको छ। पार्टी, ग्यादरिङ र भेटघाटका कारण अहिले विशेषगरी युवापुस्तामा यो चाडको आकर्षण बढेको छ।

न्युरोडस्थित मोबाइल पसलमा काम गर्ने अमर श्रेष्ठको धार्मिक आस्था इसाइ होइन। तर क्रिसमस मनाउने कार्यक्रममा भने उनीसँगै साथीहरू जुटिसकेका छन्। 'यसपालि क्रिसमस शुक्रबार पर्यो । शनिबार पनि बिदा,' उनी प्रफुल्ल छन्, 'त्यसैलै धुमधामसँग मनाउने प्लान छ।'

अमर आफ्ना साथीहरूको साथमा सुन्दरीजल गएर फायरक्याम्पिङ गर्ने सोचमा छन्। 'हामी ७–८ जना त रेडी भइसक्यौं,' उनले भने, '१२–१५ जना भइयो भने त झनै रमाइलो हुन्छ भनेर अरूलाई पनि तान्न खोज्दै छौं।'

सान्टाक्लजको रातो टोपी टाउकोमा पहिरिएर यताउता भौंतारिरहेका युवायुवती अब सडकमा देखिन थाल्नेछन्। तर अमरका अनुसार काठमाडौंमा नाकाबन्दीकै कारण पोहोरजस्तो त्यति धेरै आकर्षण छैन। त्यसैले पनि आफ्नै तरिकाले मनाउनका लागि उनको टिम सहरभन्दा बाहिर जाने सुरमा पुगेको हो। 'पार्टीहरू पनि हुने हो या होइन ठेगान छैन। बत्ती हुँदैन, पेट्रोल छैन, ग्यास छैन। त्यसैले बिन्दास तरिकाले रमाइलो गर्न क्याम्पिङ जाने प्लान बनाएका हौं,' उनले भने, 'क्याम्पिङकै लागि केटाहरूको पेट्रोलको जोहो पनि गर्न थालिसकेका छन्।'

धापासीकी २२ वर्षीया मोना भट्टराईका लागि भूकम्प र नाकाबन्दीले डिप्रेस्ड बनाएको दसैं–तिहारको ह्याङलाई हटाउन क्रिसमस र न्यु एयर राम्रो विकल्प हो। 'त्यसैले जेजस्तो भए पनि रमाइलो गरेर मुड फ्रेस गर्ने हो,' उनले भनिन्, 'सात वर्ष भइसक्यो साथीहरूसँग जमघट गरेर रमाइलो गर्न थालेको। यसपालि पनि त्यसैलाई निरन्तरता दिनेछु।'

अमरको जस्तो मोनाको भने ठूलो प्लान छैन। 'कसैले के प्लान भन्छन्, कसैले के,' उनको ठूलो महŒवाकांक्षा भने छैन, 'अन्तिममा दरबारमार्ग वा ठमेलतिर डुल्ने र कुनै म्युजिकल इभेन्ट भएको रेस्टुरेन्टमा गएर साथीहरूसँग क्वालिटी टाइम स्पेन्ड गर्ने हो।'

उनी पोहोर–परारका वर्षहरूमा झैं यो वर्ष पनि मिल्ने साथीलाई क्रिसमस गिफ्ट दिने सोचमा छिन्। सान्टाक्लजका की–रिङ, क्रिसमस क्याप, क्रिस्मस ट्री साथीहरूमाझ साटासाट हुने उनले बताइन्।

पश्चिमा समाजमा क्रिसमसमा हिँउ र चिसो मौसमकै कारण पनि हप्ता दिन लामो बिदा हुन्छ। त्यसै कारण पनि धेरैले वर्षभर यो पर्वको प्रतीक्षा गरिरहेका हुन्छन्। यसपालि क्रिसमस शुक्रबार परेकोले नेपालमा पनि लगातार दुई दिनको बिदा परेको छ। यसले क्रिसमसलाई थप रंगिन बनाउन सहयोग गर्छ। शुक्रबार र शनिबार दुई दिन लगातार बिदा परेकै कारण पनि युवायुवतीको उत्सुकता बढेको छ।

काठमाडौंका ठमेल, दरबारमार्ग र झम्सीखेल क्रिसमसमा सबैभन्दा धेरै झकिझकाउ हुने ठाउँ हुन्। पर्यटकीय Ôेत्र भएकाले पनि ठमेलका रेस्टुरेन्टहरूमा धेरै रमाइलो हुने गरेको रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष प्रमोद जैसवाल बताउँछन्। ठमेल र झम्सीखेलका सबै होटल र रेस्टुरेन्टहरू क्रिसमसको तयारीमा जुटिसकेको देख्न सकिन्छ। ती ठाउँ क्रिसमस ट्री र विभिन्न आकर्Èक बत्तीहरूले सजाइए छन्। क्रिसमसकै अवसर पारेर राजधानीका पाँचतारे होटलदेखि विभिन्न रेस्टुरेन्टले क्रिसमस डिनर, लन्च, ल्याभिस डिनर, टर्कीको मासुको परिकार, क्रिसमस केकहरू मेनुमा समेट्ने गरेका छन्। यसका साथै होटलले बार्बेक्यु लन्च र डिनरको व्यवस्था पनि गर्ने गरेका छन्।

यसपालिको मेनुमा भारी कटौती भए पनि सामान्य हिसाबमा प्रायः सबै रेस्टुरेन्टमा क्रिसमस मनाइने अध्यक्ष जैसवालको छ। 'अहिलेको अवस्थामा तयारी त गरिरहेका छौं तर पहिलाजस्तो उल्लास छैन,' उनले भने, 'ग्राहकले धेरै सोचेजस्तो र पहिलाको वर्षजस्तो भने हुँदैन होला।'

उनका अनुसार अहिले प्रायः रेस्टुरेन्टमा फिउल मेनु छ, खानामा पनि कटौती गरिएको छ। त्यसैले खानाको भेराइटीहरू कम र महँगा छन्। 'रेस्ट्रिक्टेड मेनुले धेरैलाई खल्लो महसुुस हुनेछ,' जैसवाल भन्छन्, 'मान्छेको मुभमेन्ट पनि कम हुन्छ। पहिलाजस्तो डुलेर हिँड्दैनन्। आफूलाई पायक पर्ने ठाउँमा गएर मनाउँछन्।' पहिला ललितपुरको मान्छे दरबारमार्ग, ठमेलतिर रमझम हेर्न जान्थे भने अहिले काठमाडौंको मान्छे, काठमाडौं, ललितपुरको मान्छे ललितपुर नै जाने गरेको उनी बताउँछन्।

क्रिसमसकै अवसरमा झकिझकाउ हुने काठमाडौंका तारे होटलहरूले यो वर्ष धेरै ठूलो र भव्य कार्यक्रम आयोजना नगरे पनि ग्राहकलाई निराश नबनाउने होटल एशोसिएसन नेपालका अध्यक्ष्य विनायक शाह दाबी गर्छन्। सामान्य कार्यक्रम गरेरै क्रिसमसलाई स्वागत तथा बिदाइ गर्ने योजना उनीहरूको छ।

शाहका अनुसार अहिले असामान्य अवस्था भएकैले गर्दा खासै धुमधामसँग क्रिसमस मनाउने कार्यक्रम कुनै पनि होटलले बनाएको छैन। 'पहिलाभन्दा पर्यटक निकै घटेका छन्। मान्छेको मुभमेन्टमा पनि कमी आएको छ,' उनले बाध्यता सुनाए, 'त्यसैले विशेष योजना बेगरै यसपालि क्रिसमस मनाउनुको विकल्प छैन।'

नेपालीहरूले बन्द, अभाव र तनावका बीच रमाइलो गर्न जानिसकेका छन्। कुनै न कुनै कारणले एकपछि अर्को असामान्य स्थिति पैदा भइरहेको छ। 'तर राजनीतिक अड्चन र समस्याकै बीच रमाइलो गर्ने, साथीभाइ र परिवारसँग भेटघाट गर्नेले गरिरहेका छन्,' सचिव शाह भन्छन्, 'असामान्य अवस्था त नेपालीहरूको जीवनशैली बनिसक्यो।'

भूकम्पपछिको नाकाबन्दीले जर्जर बनाएको नेपाली जीवनशैलीलाई निराश नबनाउन व्यवायीहरू लागिपरेका छन्। 'हाम्रा ग्राहकलाई दिइरहेको सेवा बन्द गर्नु पनि भएन,' उनले भने, 'त्यसैले प्रायः सबै होटलले पहिलेभन्दा सानो स्केलमा भए पनि कार्यक्रमहरू आयोजना गर्नेछन्।'

क्रिसमसमा विशेषगरी खानाका लागि होटलहरू बढी फोकस हुन्छन्। टर्कीको परिकार र विभिन्न प्राइज र गिफ्टहरूमा ग्राहकको रुचि रहन्छ। न्यु एयरमा भने म्युजिकल इभेन्ट र ड्रिंकमा झुम्ने बढी हुन्छन्। 'डिस्काउन्ट रेट विभिन्न होटलले उपलब्ध गराउने नै छन्,' उनले भने, 'ग्राहकको पेइङ क्यापासिटी हेरेर २० देखि २५ प्रतिशतसम्म डिस्काउन्ट दिइन्छ।'

नेपालको पुरानो पाँचतारे होटल सोल्टीको पनि यो वर्षको क्रिसमसका लागि ठूलो योजना नरहेको मार्केटिङ तथा पब्लिक रिलेसन एसिस्टेन्ट म्यानेजर अनुपमा आचार्य महर्जनले बताइन्। उनका अनुसार पोहोरभन्दा यो वर्ष ग्राहकमा निकै कमी आएको छ। त्यसैले खानेकुरा तथा कोठामा यो अवधिका लागि केही छुटको व्यवस्था छ। 'खानेकुराको छुटमा विशेषगरी नेपाली ग्राहकलाई लक्ष्य गरिएको छ। कोठामा गरिएको छुट भने पर्यटकका लागि हो,' उनले जानकारी गराइन्।

दसैं र तिहारमा धेरैजसो आ–आफ्नो घर जाने भएकाले काठमाडौंमा चहलपहल कम हुन्छ। क्रिसमस, अंग्रेजी नयाँ वर्षजस्ता अवसरमा भने सबैजना यहीँ हुने भएकाले रौनक एकाएक बढ्छ। नेपालमा इसाइ धर्म मान्नेहरूको बढ्दो संख्यास"गै क्रिसमस पर्वको लोकप्रियता पनि चुलिँदो छ। पछिल्लो समय सामाजिक इभेन्टलाई युवापुस्ताले नै बढी अँगालिरहेका छन्। बाहिर गएर खाना खाने, नाच्ने, साथीभाइबीच जमघट गर्ने बहानाको लागि पनि क्रिसमस मनाइने व्यवसायीहरू बताउँछन्। अधिकांशको सोचमा परिवर्तन आएका कारण हिन्दु धर्मावलम्बीले चर्चमै गएर नमनाए पनि साथीहरूसँग घुम्ने, होटलमा डान्स पार्टी गर्ने प्रचलन बढ्दै गएको छ।

सर्लाही घर भएकी २५ वर्षीया मीना साह बानेश्वको होस्टलमा बसेर पढ्दै छिन्। काठमाडौं आएसँगै उनले क्रिसमस मनाउन थालेकी हुन्। साथीहरूको जमघट र यताउता डुल्न पनि सहज भएकाले उनलाई क्रिसमस मन पर्छ। 'दसैं–तिहार बाहेकका अरू पर्वमा चहलपहल नै हुँदैन,' उनले भनिन्, 'क्रिस्मस, न्यु एयरमा सबैतिर झिलिमिली, छुट, पार्टी हुन्छ।'

क्रिसमस र न्यु एयरमा साथीहरूसँग रातिसम्म बाहिर टहलिनुको मजै बेग्लै हुन्छ। 'अरू बेला ७ बजे नै पुग्नुपर्ने होस्टलमा पनि त्यो दिन केही छुट मिल्छ,' उनी खुसी छिन्, 'त्यसैले पनि राति अबेरसम्म निर्धक्कसँग घुम्न पाउने भएकाले यो पर्व मन पर्छ।'

क्रिसमस बढीजसो रेस्टुरेन्ट र पार्टी प्यालेसमा केन्द्रित हुनुलाई उनी नयाँ पुस्ताको बदलिँदो रुचिको रूपमा बु‰नुपर्ने बताउँछिन्। उनी भन्छिन्, 'तीजजस्तो हाम्रै मौलिक चाड त अब रेस्टुरेन्ट र पार्टी प्यालेसतिर मनाउन थालियो भने क्रिसमस र अंग्रेजी नयाँ वर्ष ती ठाउँमा मनाउनु नौलो होइन।'

प्रकाशित: ३ पुस २०७२ २३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App