काठमाडाैं- प्रकाशन भएको एकमहिना पूरा हुँदा पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको आत्मकथा 'राजनीति र कुटनीति'को दोस्रो संस्करण बजारमा आएको छ। प्रकाशनको पहिलो महिनामा पहिलो संस्करण सबै बिक्री भएर यसले नेपाली पुस्तक बजारमा नयाँ कीर्तिमान बनाएको दाबी प्रकाशक साङ्ग्रिला बुक्सले गरेको छ।
राजनीति र कुटनीतिसँगै पत्रकारिताको समेत अनुभव सम्हालेका पूर्वमन्त्री पाण्डेले पुस्तकमा ६ दशकको नेपाली राजनीति र कूटनीतिका क्षेत्रमा लुकेर रहेका सनसनीपूर्ण तथ्य एवं सारयुक्त अनुभवहरु लिपिबद्ध गरेका छन्।वि.सं. २००७ सालमा प्रजातन्त्रदेखि ०६४ मा गणतन्त्र घोषणा भएसम्मका राजनीतिक परिवर्तनको घटनाक्रम र सन्दर्भ यसमा समेटिएको छ। नेपालले सामना र निर्वाह गरेका सकारात्मक र नकारात्मक कुटनीतिक भूमिका र त्यसले नेपाली राजनीतिक विकासक्रममा पारेको दीर्घकालीन प्रभावको व्याख्या पुस्तकमा छ। नेपाली राजनीतिको विकासक्रम र परराष्ट्र नीति बुझ्न चाहनेका लागि पुस्तक सन्दर्भ सामग्री बनेको छ।
प्रकाशित: १० मंसिर २०७२ ०९:४९ बिहीबार





