काठमाडौं— राष्ट्रपतिमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका कुलबहादुर गुरुङले हारलाई प्रजातान्त्रिक प्रक्रिया भन्दै सामान्य रुपले स्वीकार्नु पर्ने बताएका छन्। उनले नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन्।संसदबाट बाहिरिने क्रममा उनले आफ्नो पराजयलाई 'प्रजातान्त्रिक प्रक्रियाको अभ्यास' भनेर टिप्पणी गरे। 'प्रजातान्त्रिक प्रक्रियामा हार र जितलाई अर्को ढंगले लिनु हुँदैन। आज जुन ढंगले निर्वाचन भएको छ यो प्रजातान्त्रिक थियो', उनले भने, ' उहाँको कार्यकाल अत्यन्त राम्रोसँग जावस् । संविधानको संरक्षक हुनुहोस्। उहाँको कार्यकाल रामोसँग जावस्। धेरैधेरै शुभकामना।'
बुधबार संसदमा भएको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारी राष्ट्रपति चयन भइन्। भण्डारीले ३२७ मत पाएर विजयी भएकी थिइन्। गुरुङले २१४ मत पाएका थिए।
प्रकाशित: ११ कार्तिक २०७२ ०६:१० बुधबार