२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

राष्ट्रपति आज चुनिँदै, मैदानमा भण्डारी र गुरुङ

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि बुधबार व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ। राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र प्रमुख विपक्षी नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य कुलबहादुर गुरुङ प्रतिस्पर्धामा छन्।

बहुमतीय आधारमा हुने मतदानबाट भण्डारी निर्वाचित हुनेमा एमालेसहित सत्तारुढपंक्ति ढुक्क देखिन्छ।

भण्डारी र गुरुङसँगै मंगलबार उम्मेदवारी दर्ता गराएका नेमकिपाका नारायण महर्जनले फिर्ता लिएपछि मैदानमा दुई मात्र छन्।

सत्तारूढ दलका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीले व्यवस्थापिका संसदको कार्यातालिकाअनुसार राष्ट्रपति पदमा सुरुमै उम्मेदवारी दर्ता गराएकी थिइन्। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेर नेत्री भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको उम्मेदवारी दर्ता कार्यक्रममा दाहाल र थापासहित माधवकुमार नेपाल, नेता दीपक बोहोरा, चित्रबहादुर केसीलगायत सत्तारूढ गठबन्धनका प्रमुख नेता र प्रमुख सचेतकको उपस्थिति थियो।

'व्यवस्थापिका संसदमा भएका सबैजसो दलको समर्थन जुट्ने आशा गरेकी छु र समर्थन जनाउन अपिल पनि गरेकी छु,' उम्मेदवारी दर्तापछि नेत्री भण्डारीले सञ्चारकर्मीसँग भनिन्।

उनले आफ्नो उम्मेदवारीले नयाँ संविधानमा रहेको व्यवस्थाअनुसार महिलाको प्रतिनिधित्वलाई क्रमशः सुनिश्चित गराउँदै जाने आधार खडा गरेको बताइन्। 'नयाँ संविधान जारी भएपछि महिलाको सहभागिता अझ बढ्नेछ भनेका थियौं, त्यसको उदाहरण मेरो यो उम्मेदवारी पनि हो,' उनले भनिन्।

आफ्नो उम्मेदवारीका लागि निर्णय गर्ने पार्टी र समर्थन जनाउने अन्य दललाई धन्यवाद ज्ञापन गर्दै भण्डारीले मत दिनका लागि अन्य दलसमक्ष आग्रह गरेकी छन्।

राष्ट्रपति पदका लागि महिला उम्मेदवार बनेको यो पहिलोपटक हो। 'नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि मार्गप्रशस्त भएको छ, संविधानको भावनाअनुसार मुलुक अगाडि जाने कोसिस गरिरहेको छ भन्ने सन्देश मेरो उम्मेदवारीले दिएको छ,' भण्डारीले भनिन्।

व्यवस्थापिका संसदभित्र प्रतिनिधित्व गर्ने १४ भन्दा बढी दलले भण्डारीको उम्मेदवारीमा समर्थन जनाएका छन्।

५४ वर्षीया नेत्री भण्डारी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन्। काठमाडौं १ का तत्कालीन सांसद मदनको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा विद्या भण्डारीले नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन्। उनी सातौं र आठौं दुवै महाधिवेशनबाट निर्वाचित पार्टी उपाध्यक्षसमेत हुन्।

भण्डारी हाल समानुपातिकतर्फबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्छिन्। दोस्रोपटक हुन लागेको राष्ट्रपति निर्वाचनमा विजयी भए नेत्री भण्डारी पहिलो महिला राष्ट्रपति बन्नेछिन्।

अर्का उम्मेदवार गुरुङलाई मंगलबार साँझसम्म आफ्नै पार्टी कांग्रेसको मात्रै समर्थन छ। व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल कांग्रेसले आफ्ना दुई महामन्त्री प्रकाशमान सिंह प्रस्तावक र कृष्णप्रसाद सिटौला समर्थक रहेर गुरुङको उम्मेदवारी दर्ता गराएको हो।

प्रधानमन्त्री निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका तराई–मधेसकेन्द्रित दलले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेकाले कांग्रेस एक्लो हुने सम्भावना छ।

'म जित्नका लागि उम्मेदवारी दर्ता गराउन आएको हुँ र पार्टीमा लागेपछि चुनाव लड्नुपर्छ, चुनाव लडेपछि जित्नुपर्छ, जिताउनुपर्छ,' गुरुङले सञ्चारकर्मीसँग भने, 'राष्ट्रपतिको उम्मेदवार हामी पनि हुन सक्छौं, हामी पनि जित्न सक्छौं भनेर कांग्रेसले मलाई उम्मेदवार बनाएको हो।' कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका ७९ वर्षीय गुरुङ इलामका स्थायी बासिन्दा हुन्।

उम्मेदवारी दर्तापछि गुरुङले आफूलाई समर्थन जनाउन अन्य राजनीतिक दलसमक्ष अपिल गरेका छन्। मत माग्ने क्रम सुरु भए पनि बहुमतीय प्रक्रियाभित्रै सहमतिका लागि अझै पनि प्रयास जारी रहेको गुरुङले बताए।

'नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भएका हुनाले र पार्टी योगदानका कारण मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको हुँ र जित्नुपर्छ भन्ने मेरो धारणा पनि हो,' गुरुङले सञ्चारकर्मीसँग भने।

व्यवस्थापिका संसद भवनमै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उम्मेदवार उठाउने निर्णय गरेलगत्तै गुरुङको उम्मेदवारी दर्ता भएको हो। उम्मेदवारीका लागि तय भएको ११–१ बजेको समयसीमा सुरु भएपछि गुरुङको उम्मेदवारी कांग्रेसले टुंगो लगाएको हो।

२०६५ जेठ १५ गते मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा संविधानसभाको अध्यक्षता गरेको हैसियतले गुरुङले नै गरेका थिए। पहिलो संविधानसभाको पहिलो बैठकलाई ज्येष्ठ सदस्यताका नाताले गुरुङले त्यतिबेला अध्यक्षता गरेका थिए।

प्रधानमन्त्री निर्वाचनमा पार्टी सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पराजित भएपछि व्यवस्थापिका संसदको सभामुख र उपसभामुखमा कांग्रेसले उम्मेदवारी दिएको थिएन।

यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेको सत्तारूढ गठबन्धनको एक घटक नेपाल मजदुर किसान पार्टीले राष्ट्रपति पदमा केन्द्रीय सदस्य नारायण महर्जनलाई अगाडि सारेको थियो। नेमकिपाले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार भण्डारीलाई समर्थन जनाउन पुगेको छ।

महर्जनले भण्डारीलगत्तै उम्मेदवारी दर्ता गराएका थिए। नेमकिपाका सांसद प्रेम सुवालको प्रस्ताव तथा अर्का सांसद डिल्लीप्रसाद काफ्लेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका थिए।

'देशको संकट समाधान गर्न र अन्तराष्र्ट्रिय सम्बन्धमा सुधार ल्याउनका लागि मेरो उम्मेदवारी दर्ता भएको हो,' महर्जनले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग भनेका थिए। तर, एमाले अध्यक्ष ओलीले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेपछि महर्जनको उम्मेदवारी फिर्ता भएको छ।

'राष्ट्रपति निर्वाचनका लागि ६ जनाले फारम लगे पनि समयसीमाभित्र ३ जनाको मात्रै उम्मेदवारी पर्योण,' व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले भने। उनका अनुसार उम्मेदवार उमेर पुगेको नेपाली नागरिक जो कसैले दिन सक्ने भए पनि प्रस्तावक र समर्थक भने अनिवार्य रूपमा मतदान गर्ने हैसियत प्राप्त सांसद हुनुपर्छ।

बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म राष्ट्रपति उम्मेदवारका लागि मतदान हुने कार्यतालिका छ। व्यवस्थापिका संसदमा कायम रहेका सांसदमध्ये ३०१ मत ल्याउने उम्मेदवार विजयी हुनेछन्। अन्य प्रमुख पदका लागि व्यवस्था नभए पनि राष्ट्रपतिको चयन भने गोप्य मतदानद्वारा गरिनेछ।

४५ वर्ष उमेर पुगेको तथा निर्वाचित र राजनीतिक निर्णयबाट मनोनीतसहित सरकारी लाभको पद नलिएकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिन सक्ने व्यवस्था छ।

उपराष्ट्रपति निर्वाचन शनिबार

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन बुधबारै हुने गरी बनाइएको कार्यतालिका संशोधन गरिएको छ। उपराष्ट्रपति निर्वाचन कात्तिक १४ गते शनिबार गरिने भएको छ।

व्यवस्थापिका संसद सचिवालयले विशेष कारणवश उपराष्ट्रपतिको निर्वाचन सार्नुपरेको जनाएको छ। 'उपराष्ट्रपतिको निर्वाचन १४ गते शनिबार बिहान ११ बजे गरिने भएको छ,' संसद महासचिव मनोहरप्रसाद भट्टराईले भने।

उपराष्ट्रपतिमा कांग्रेसले अमियकुमार यादवलाई र सत्तारूढ गठबन्धनतर्फबाट एमाओवादीले नन्दकिशोर पुनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्। उम्मेदवारी दर्ता भने शुक्रबार दर्ता हुने संशोधित कार्यतालिकामा उल्लेख छ।

'राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने संवैधानिक बाध्यताका कारण पहिला राष्ट्रपतिको निर्वाचन गरिन लागिएको हो,' एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'जुन लिंगको राष्ट्रपतिमा निर्वाचित हुन्छ, त्यसको विपरीत लिंगकालाई उम्मेदवार बनाउनुपर्छ।'

शीतल निवासमा शपथ तयारी
व्यवस्थापिका संसदले बुधबार नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएपछि राष्ट्रपति कार्यालय शीतलनिवासले नयाँ राष्ट्रपतिको शपथको तयारी गरेको छ।
नयाँ राष्ट्रपतिको बिहीबार नै शपथ गराउने तयारीसहित शीतलनिवासले मंगलबारबाटै तयारी थालेको हो।
प्रधानन्यायाधीशबाट नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै वर्तमान राष्ट्रपति रामवरण यादवले सोही दिन शीतल निवास छाड्ने तयारी गरेका छन्। 'नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्नुअघि नै निवर्तमान राष्ट्रपतिले बधाई दिनुहुन्छ,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'नयाँ राष्ट्रपतिले उहाँ (निवर्तमान राष्ट्रपति) लाई केही परसम्म पुर्याषएर बिदाइ गर्ने कार्यक्रम बनाएका छौं।'

प्रकाशित: १० कार्तिक २०७२ २१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App