वर्तमानमा बाँचिरहेका र लेखिरहेका नेपाली लेखक वास्तवमै भाग्यमानी हुन्। यिनले यो सानो र सुन्दर देशको विभिन्न प्रकारका मुहार देख्ने सौभाग्य पाएका छन्। अति निरंकुशता र अति स्वतन्त्रता यही समयका मान्छेले भोग्न पाए। सबैभन्दा बढी राजनीतिक द्वन्द्व यही समयमा भएको छ। त्यतिमात्र होइन महाभूकम्प, बाढीपहिरोजस्ता प्रकोप पनि यसैबखत आइपरेका छन्। त्यसकारण पनि यो पुस्ता दुर्भाग्य भोग्न बाध्य सौभाग्यशाली बन्न पुगेको छ। अब प्रश्न उठ्छ, साहित्य यथार्थको कोरा बयानमात्रै हो त? त्यसमा कल्पनाशीलता आवश्यक छैन? यदि छैन भने समाचार र साहित्यमा के फरक भो त? उत्तर पनि सहज नै छ। साहित्यले कल्पनाशीलता र कलात्मकताको माग अवश्य गर्दछ। समाचार सत्य, तथ्य र सन्तुलनमा आधारित हुन्छ। कतिपय अवस्थामा समाचार निबन्ध बनेका छन्, निबन्ध समाचार बनेका छन्। त्यसैकारण पछिल्लो समयका भनिएका अधिकांशः लेखकले पाठकको ध्यान बलियोसँग आकृष्ट गर्न सकिरहेका छैनन्। यो दशकलाई लिएर एउटा भनाइ व्याप्त छ सञ्चारको दुनियाँमा— 'डेथ अफ जर्नलिस्ट एन्ड बर्थ अफ एस्सेइस्ट'। मेरो विचारमा यो एउटा आरोपमात्रै हो। पत्रकार पनि एउटा लेखक नै हो, उसले साहित्यका विविध विधामा कलम चलाउन सक्छ। कुनै पत्रकारले उपन्यास वा निबन्ध लेख्दैमा उसको पत्रकारिता समाप्त हुन्छ भन्नु काँचो बुझाइ हो। यद्यपि, निबन्ध तथा उपन्यास र समाचारमा भेद भने हुनुपर्छ। आफू सञ्चारमाध्यममा रहेकै भरमा आफ््ना कृतिलाई 'महान्' साबित गराउने उद्देश्यले संलग्नताको दुरुपयोग हुनु हुँदैन।
गुटमा विभक्त हुनु नेपाली साहित्यकारको एउटा निको नहुने रोग बन्दै आएको छ। नेपाली साहित्य यो दशकमा पनि त्यसबाट मुक्त हुन सकेन। गुटले अहिले फरक आकार लिएको छ। हामी क्षेत्रीय, जातीय, लिंगीय परिभाषामा आफूलाई खोज्न थालेका छौं। एक–अर्कालाई सम्मान गर्न भुलेका छौं। अरूको मानमर्दनमा आफ्नो सम्मान देख्न थालेका छौं। यो झनै खतरनाक अवस्था हो।
नेपालको सांस्कृतिक, भौगोलिक, धार्मिक तथा विभिन्न परम्परा अन्य मुलुकका पाठकका निम्ति अत्यन्तै रुचिकर विषयका रूपमा रहँदै आएको छ। हामीले त्यसलाई पनि रोचक ढंगमा साहित्यमा उतार्न सकिरहेका छैनौं। दशक लामो सशस्त्र द्वन्द्वबारे थुप्रै पुस्तक बजारमा आएका छन्। तर ती अधिकांश एकांगी छन्। कि त अति प्रशंसामा आएका छन् कि त घोर निन्दामा। यसबाट त्यो राजनीतिक घटनाले साहित्यिक कलमबाट न्याय अझै पाउन सकेको छैन। कतिपय जातजातिका मान्यता वा संस्कृति अनौठा र लोभलाग्दा छन्। त्यही संस्कृतिको सेरोफेरोमा साहित्य किन नलेखिएका होलान्? पछिल्लो समय अस्तित्वको खोजमा नेपाली लेखक बलियोसँग लागिपरेका छन्। अस्तित्वको खोज गर्ने क्रममै विगतमा विनाकारण किनारामा धकेलिएका वर्गबारे साहित्य लेखन आरम्भ भएको छ। यो सुखद सुरुवात हो।
लामो समयदेखि नेपाली साहित्य किन अन्य मुलुकका पाठकका निम्ति रुचिकर हुन सकेन भन्ने विषय सतहमा आएको छ। र, कारण एउटै देखाइँदै आएको छ— हाम्रा लेखकले अंगे्रजीमा लेख्न नसक्नु वा स्तरीय अनुवाद हुन नसक्नु। तर, उल्लिखित दुवै तथ्य नेपाली साहित्य नफैलनुका कारण होइनन्। नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक ओह्रान पामुकले कहिल्यै अंग्रेजीमा लेखेनन्। उनले सधैं आफ्नो मातृभाषा टर्किसमा नै साहित्य लेखे। उनका विश्वप्रसिद्ध कृतिहरू सबै नै अनूदित हुन्। केही समयअघि मात्रै निधन भएका अर्का ख्यातिप्राप्त कोलम्बियाली लेखक तथा पत्रकार गाब्रियल गार्सिया मार्खेजले पनि अंग्रेजीमा लेखेनन्। उनले सधैं स्पेनिस भाषालाई प्रेम गरिरहे। सन् १९६७ मा प्रकाशित उनको उपन्यास 'वान हन्ड्रेड इयर्स अफ सोलिच्युड' १९७० मा अंग्रेजीमा अनूदित भयो। यो पुस्तक संसारभर नै आजपर्यन्त धेरै पढिने कृतिमा पर्दछ। वैदेशिक रोजगारीलाई विषय बनाएर 'गोट डेज' उपन्यास लेखेर प्रसिद्धि पाएका छिमेकी भारतका लेखक बेन्यामिनले पनि अंग्रेजीमा लेखेनन्। अझ उनले त हिन्दी पनि होइन, भारतको क्षेत्रीय भाषा मलयालममा उक्त उपन्यास लेखेका थिए। सन् २०१२ को नोबेल पुरस्कार पाएका थिए सामाजिक यथार्थवादी चिनिया लेखक मो यानले। उनी पनि अंग्रेजीमा लेख्दैनन्। उनका अधिकांश कृति अंगे्रजीमा अनुवाद गरिएका छन्। त्यसकारण अंग्रेजी भाषामा लेख्न नसक्नु साहित्यको समस्या होइन। साहित्यमा भाषा भनेको एउटा माध्यममात्रै हो। जुन भाषामा साहित्य लेख्ने हो त्यसमा चाहिँ दह्रो ज्ञान र शिल्प हुनु अत्यावश्यक छ। र, साहित्यिक कृतिमा मूल कुरो त विषय, प्रस्तुति, शिल्प, कल्पनाशीलता र कला नै हो। करिब सवासय भाषा रहेको नेपालमा नेवारी, मैथिली, भोजपुरी, राई, लिम्बु आदि जुन भाषामा साहित्य लेखे पनि हुन्छ। अंग्रेजी नजान्नु दुर्भाग्य होइन, स्तरीय साहित्य लेख्न नसक्नुचाहिँ दुर्भाग्य हो।
नेपाली साहित्यका कृतिहरूको अंग्रेजी अनुवाद पटक्कै नभएको होइन। तर, अत्यन्तै न्युन संख्यामा भएको छ र अनुवादको स्तर पनि कमजोर रहेको प्रतिक्रिया सुन्न पाइन्छ। कुन कोटीका कृति अनुवाद भएका छन्, अनुवादको स्तर कस्तो छ, त्यो महŒवपूर्ण कुरा हो। झुर कृति अनुवाद गरेर अन्तर्राष्ट्रिय पुस्तक बजारमा पठाउनुभन्दा अनुवाद नै नगर्नु उत्तम हुन्छ। अनुवाद गर्ने कामचाहिँ समग्र नेपाली साहित्यको प्रवर्द्धन गर्न भनी सरकारी ढुकुटीबाट सञ्चालित नेपाल प्रज्ञा–प्रतिष्ठानको हो। तर, दुर्भाग्य त्यो राजनीतिक भजनमण्डलीबाट साहित्यको प्रवर्द्धन हुने अपेक्षा गर्न अहिले सकिन्न।
नेपाली साहित्यलाई देशबाहिरका पाठक तथा समालोचकले बेवास्ता गर्ने क्रममा यो दशकमा पनि सुधार आएन। नेपाली साहित्यबारे अनुसन्धान गरिरहेका विद्वानले पनि यसको वास्तविक तस्बिर उतार्न सकेनन्। राजनीतिक परिवर्तन, सांस्कृतिक–रीतिरिवाज तथा धार्मिक संक्रमणले किनारीकृत नागरिकको जनजीवन कष्टकर बनाइदिएको छ। यस्ता विषयमा पछिल्लो समयका केही लेखक आकृष्ट भइरहेका छन्। तर, त्यसमा पाठकको दृष्टि अपेक्षित रूपमा पर्न सकेको छैन।
उपन्यास र संस्मरण
यो दशकमा उपन्यास र संस्मरणमा उल्लेख्य संख्यामा पुस्तक आए। नयाँ पुस्ताले उपन्यासमा दरिलो पकड जमाए। उपन्यासमा एक दशक लामो माओवादी सशस्त्र द्वन्द्व मूल विषय बन्यो। यद्यपि, सशस्त्र द्वन्द्व, त्यसले नेपाली समाज तथा आर्थिक रूपमा पर्न गएको प्रभावको वास्तविक तस्बिर उत्रन नसकेको अनुभव पाठकले गरिरहेका छन्। द्वन्द्वलाई विषय बनाएर उपन्यास लेख्ने लेखक दुईखालका देखापरे। जसले उक्त द्वन्द्वलाई भोग्यो, त्यसमा समाहित भयो त्यस्ता लेखकले माओवादी द्वन्द्वलाई महान् देख्यो। र, महानता प्रमाणित गर्न उपन्यासभरि प्रयत्न गरिरह्यो। अर्काखाले लेखकचाहिँ द्वन्द्वलाई अति निकृष्ट देखाउन प्रयत्नरत रहे।
संसारभरिका पाठक नेपालमा चलेको सशस्त्र द्वन्द्वबारे बुझ्न र पढ्न चाहन्छन्। तर, त्यस्तो कृति अन्तर्राष्ट्रिय स्तरको हुनपर्नुका साथै त्यसको अनुवाद पनि उत्कृष्ट हुनुपर्छ। दुर्भाग्य त्यसो हुन सकेको छैन। सशस्त्र द्वन्द्वलाई विषय बनाएर लेख्ने अर्को थप वर्गका लेखक पनि यही दशकमा देखापरे। तिनले अखबार वा अन्य सञ्चारमाध्यममा आएका समाचारहरूलाई आधार बनाएर द्वन्द्व उपन्यास लेख्ने प्रयास गरे। ती सर्वथा सतही बन्नपुगे। आशा गरौं यो दशकमा नेपाली साहित्यले उत्कृष्ट द्वन्द्व उपन्यास पाउनेछ।
विभिन्न प्रशासनिक, सुरक्षा निकाय, व्यापार–व्यवसाय तथा अन्य पेसागत पद ओगटेर बसेका व्यक्तिहरू यो दशकमा संस्मरण वा आत्मकथा लेख्नतिर आकर्षित रहे। त्यस्ता संस्मरणहरू साहित्यिक दृष्टिमा कस्ता रहे त्यो त भविष्यले नै बताउला, तर पाठकीय दृष्टिबाट तिनको आकर्षण बढी नै रह्यो। इतिहासका दृष्टिमा पनि तिनको महŒव रहने अनुमान गर्न सकिन्छ।
बजार अर्थशास्त्रका दृष्टिकोणमा यो दशकमा उपन्यास र संस्मरण वा आत्मकथाले उल्लेखनीय स्थान लिएको पाइन्छ। एक हजारप्रति पुस्तक बिक्री हुन वर्षौं लाग्ने अवस्थाको अन्त्य यही दशकमा भएको छ। उचित प्रवर्द्धन र स्तरीय लेखन भएका कृति हजारौं प्रति बिक्ने वातावरण यही दशकमा बनेको छ। यसरी बढी बिक्री हुने विधामा उपन्यास र संस्मरण (आत्मकथा) ले अन्य विधालाई उछिन्न सफल रह्यो।
निबन्ध, कथा र कविता
अघिल्लो दशकको तुलनामा यो दशकमा निबन्धप्रतिको आकर्षण थोरै भए पनि बढ्न गयो। नयाँ प्रतिभाका साथै पत्रकारहरू पनि निबन्धतिर आकर्षित भए र निबन्धका आशालाग्दा कृति बजारमा देखापरे। त्यस्ता निबन्धको स्तर साहित्यिक दृष्टिमा पनि स्तरीय नै रहेको देखिन्छ।
कथा र लघुकथाको बजार भने विस्तार हुन सकेको छैन। लघुकथाका क्षेत्रमा उल्लेखनीय नवप्रतिभा आएको देखिएन। लघुकथामा प्रतिस्पर्धा पनि हुन थालेको छ, त्यस्ता प्रतियोगिताले भने केही लघुकथाकार जन्माएको छ। केही वर्षअघिदेखि नै लघुकथा लेखिरहेका प्रतिभाका पुस्तकहरू भने आइरहेकै छन्।
कथालाई त एक प्रकारले संकट नै आइपरेको महसुस हुन्छ। कथाका संकलनहरूले बजारमा उतिसारो प्रभाव जमाउन सकेको देखिँदैन। केही आशालाग्दा नवप्रतिभा कथा लिएर साहित्यमा प्रवेश गरेका छन्। तिनका कथा स्तरीय पनि छन्। पुराना कथाकारका पनि संग्रह आएका छन्। तर, बजारमा तिनको असर प्रभावकारी बन्न सकेको छैन। नेपाली कथालेखनले विभिन्न मोड पार गरेर आजको अवस्थामा आइपुग्दा एकखाले उचाइ प्राप्त गरेको त छ, तर बजारमा चर्चा उति चर्चा छैन। कतिपय कथासंग्रह राम्रा हुँदाहुँदै पनि पाठकका आँखामा पर्न सकेका छैनन।
उसै पनि कविता बढी पढिने र कम बिक्री हुने विधामा पर्दै आएको छ। नयाँनयाँ कविप्रतिभा नेपाली साहित्यको दुनियाँमा आएका छन्। प्रभावशाली कविता प्रस्तुत पनि गरिरहेका छन्। यो बजारनियन्त्रित समयमा कविताले बजारमा पकड जमाउन नसके पनि नेपाली कविताको स्तरले भर्यारङ भने उक्लिरहेको छ।
नाटक लेखनमा भने यो दशकमा उतिविधि उत्साह देखिएको छैन। एकातिर रंगमञ्चमा दर्शकको उपस्थिति बढ्दै गएको छ भने अर्कोतिर नाटक लेख्ने लेखकको अभाव खड्किएको छ। त्यही कारण कतिपय नाट्यशालामा अनूदित वा पुरानै नाटक मञ्चन भइरहेका छन्।
अखबारीय र सञ्जाल-साहित्य
यो दशकमा दैनिकका साथै साप्ताहिक वा पाक्षिक–मासिक पत्रपत्रिकाले पनि साहित्यलाई महŒवपूर्ण स्थान दिएका छन्। सधैं राजनीतिकर्मीको विचार वा वार्ता प्रकाशित–प्रसारित गर्ने सञ्चारमाध्यमले साहित्यलाई स्थान दिनु सुखद अवस्था हो। अधिकांश दैनिक अखबारले सप्ताहन्तमा साहित्यलाई प्रधानता दिएर सामग्री प्रकाशित गरेको पाइन्छ।
फेसबुक, ट्वीटर, ब्लग लगायतका विद्युतीय सामाजिक सञ्जालको प्रभाव यो दशकमा निकै बढेको छ। यस्ता सञ्जालमा राखिने वा देखिने साहित्यको प्रभाव दिगो नभए पनि नाम स्थापनाका निम्ति यी प्रभावकारी माध्यम हुन्। यस्ता सञ्जालको उपयोग धेरै नेपाली लेखकले गरिरहेका छन्। कतिपय अवस्थामा सामाजिक सञ्जालले जन्माएका र चर्चामा ल्याएका लेखक एकदमै छोटो समयमै बिलाएर गएका पनि छन्। त्यसलाई लेखन र तत्काल प्रतिक्रियाका निम्ति उपयोग गरेर दिगो माध्यममा आएका लेखक भने स्थापित हुने सम्भावना पनि उत्तिकै छ।
यो दशकमा साहित्यिक पत्रिकाको अवस्था भने निकै निराशाजनक रह्यो। स्पष्ट भन्नुपर्दा साहित्यिक पत्रिकामा अहिले मधुपर्क एक्लो उभिएको छ। साझा प्रकाशनमा चरम राजनीति र भ्रष्टाचारका कारण गरिमा मासिक बन्दजस्तै हुन पुगेको छ भने नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने विभिन्न पत्रिका बजारमा देख्न पनि पाइँदैन। तिनमा छापिएका कतिपय रचना स्तरीय छन्, आवधिक रूपमा प्रकाशित पनि भइरहेका छन्, तर लेखक तथा पाठकका हातमा पर्न नसकेको अवस्था छ। बजार व्यवस्थापनको अभाव छ, प्रज्ञामा।
यसै दशकमा केही साहित्यिक अनलाइन पनि विद्युतीय भित्तोमा देखापरेका छन्। तिनले पनि उद्देश्य नेपाली कला–साहित्यको उत्थान गर्ने नै राखेका छन्। तर, ती अधिकांश नेपाली साहित्यका पाठकका आँखामा पर्न सकेका छैनन्।
नेपाली साहित्यका विभिन्न विधाका सामयिक संकलन धेरै अघिदेखि नै हुँदै आएको इतिहास छ। यहिले पनि उक्त कार्यले निरन्तरता पाएकै छ। यसमा पनि कथाका संकलन बढी प्रकाशित भएका छन्। कविता, निबन्ध, नाटक, संस्मरणजस्ता विधाका संकलन पनि बजारमा आए। समसामयिक कथाका संकलन भने तुलनात्मक रूपमा बढी नै आए। उत्कृष्ट कथा, प्रेमका कथा, यौनकथा, द्वन्द्व र युद्धका कथा, नेपाली राजनीतिक कथा, तराई–मधेसका कथाजस्ता सामयिक संकलनलाई यो दशकको उपलब्धि मान्न सकिन्छ।
मिडिया सिन्डिकेट
अखबार वा अन्य सञ्चारमाध्यमले साहित्यलाई स्थान दिएर एकातिर गुन लगाएका छन् भने अर्कोतिर एक प्रकारको सिन्डिकेट बनाएर कमजोर साहित्यको प्रचार बढी गरिदिने काम गर्नाले समग्र नेपाली साहित्यलाई हानि पुगेको अवस्था छ। अखबारले खोजी गर्नुपर्ने हो, तर त्यसमा पत्रकारको उतिसारो रुचि छैन। जसका कारण स्तरीय तथा अग्रज लेखक कहिलेकाहीँ आफ्नो मानमर्दन भएको अनुभूति गरिरहेका छन्। सञ्चारमाध्यमका कार्यालयसम्म धाउन सक्ने, मित्रता गाँस्न जान्ने वा सन्ध्याकालीन उठबसका कारण कमजोर साहित्यले अखबारमा बढी र निरन्तर मौका पाउँदै आएको गुनासो यो दशकमा झनै बढेको छ।
हामी उभिएको ठाउँ
आधुनिक नेपाली साहित्यको जग कमजोर छैन। हामी उभिएको ठाउँ मजबुत छ। पारिजात, रमेश विकल, पोषण पाण्डे, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्लजस्ता लेखकका कथा, लक्ष्मीप्रसाद देवकोटा, धच गोतामे, लैनसिंह वाङ्देल, जनकलाल शर्मा, शंकर लामिछाने जस्ताका निबन्ध, कवितामै पनि देवकोटाका साथै गोपालप्रसाद रिमाल, भूपि शेरचनले एउटा बलियो परम्परा बसालिदिएका छन्। यसैबाट बुझ्न सकिन्छ नेपाली साहित्यको जग कमजोर छैन। यसमा देवकोटा र रिमालको स्वच्छन्दता, भूपिको उन्मुक्तता, पारिजात, लामिछाने र बिपीको कलात्मकताको विरासत छ। मल्ल दाजुभाइ, विकल, मोहन कोइरालाजस्ता हस्तीले चलाएको कलम अझै शताब्दियौं जीवित रहने विश्वास छ।
यहाँ एउटा प्रश्न उठ्छ- साहित्यको पनि 'टार्गेटेड गु्रप' हुन्छ? कि साहित्य सबैका निम्ति र सधैंका निम्ति हुनुपर्छ? निबन्धकार शंकर लामिछानेले 'मैले लेखेको साहित्य ५० वर्षपछिका पाठकले बुझ्नेछन्' भनेका थिए। खुल्ला बजार अर्थशास्त्रको सिद्धान्तले भन्छ- सबै वस्तु सबैका निम्ति र सधैंका निम्ति हुन सक्दैन। त्यसैले 'टार्गेटेड गु्रप' पहिचान गर्न सक्नुपर्छ। अन्यथा, उत्पादित वस्तु नचल्न सक्छ। व्यवसाय डुब्न सक्छ। अब साहित्य पनि 'वस्तु' नै त भइसकेको छ! नहुनुपर्ने हो साहित्य वस्तु, तर अब त्यसो नहुनबाट जोगाउन कठिन छ। चाउचाउ वा पेय पदार्थले जस्तै पुस्तकले पनि बजार अध्ययन र प्रवर्द्धन गर्नुपर्ने अवस्था जो अहिले छ। त्यसैले अब साहित्य पनि सबैका निम्ति र सधैंका निम्ति नहुन सक्छ। हाम्रो सन्दर्भ पनि योभन्दा पृथक् छैन। पछिल्लो पुस्ता खुल्ला बजार अर्थतन्त्रमा विश्वास गर्छ। त्यसैले उसले किताब किन्दा यो आफ्ना निम्ति उपयोगी छ कि छैन भनेर हेर्छ।
परम्परा तोड्न खोज्ने, संस्कृति भञ्जनमा रमाउने केही उत्ताउला र अचेत लेखकका कारण कहिलेकाहीँ नेपाली साहित्य जगविनाको घरजस्तो पनि प्रतीत हुन्छ। यो ढल्लाढल्ला झैं पनि हुन पुग्छ। यति हुँदाहुँदै पनि यही पुस्ताले केही यस्ता लेखक पनि पाएको छ, जसले नेपाली साहित्यको धरोहर थाम्ने क्षमता राख्छन्। तिनले कविता, कथा, उपन्यास, निबन्धजस्ता साहित्यका मूल विधामा कलम चलाउँदै आएका छन्। अब ती प्रतिभाशाली तथा अध्ययनशील लेखकले अगाडि आएर नेपाली साहित्यमा दह्रो हस्तक्षेप जनाउनु आवश्यक छ। राजनीतिक कोटरी, क्षेत्रीय कोटरी, जातीय वा लिंगीय कोटरीलगायत हानिकारक कोटरी भत्काउँदै सञ्चारमाध्यमका सिन्डिकेट तोड्नु आवश्यक छ। साहित्यले आफ्नो आयतन खुम्चाउने होइन फैलाउँदै जानुपर्छ। आगामी समयमा यो काम युवा पुस्ताबाटै हुने विश्वास गर्न सकिन्छ।
प्रकाशित: ९ आश्विन २०७२ ००:०१ शनिबार

