बाँकेको पूर्वी क्षेत्रमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका र छिमेकी जिल्ला दाङको सीमावर्ती क्षेत्रमा एकैसाथ पाटेबाघ र चितुवाको चहलपहल बढेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको हो।
विशेषगरी बाँकेको राप्ती सोनारी गाउँपालिका-१ अन्तर्गत पर्ने कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रका मानव बस्ती नजिकै हिंस्रक जनावरहरू दिनहुँजसो देखा पर्न थालेका छन्।
जंगलमा मात्र नभई घरआँगन र खेतबारीमै बाघ तथा चितुवा देखिन थालेपछि स्थानीय बासिन्दाहरू घरबाहिर निस्कन समेत डराउने अवस्था सिर्जना भएको छ।
केही दिनअघि मात्रै बाँकेको राप्ती सोनारी–१ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। भण्डारीको मृत्युले शोकाकुल बनेको यस क्षेत्रमा त्यसको केही दिन नबित्दै छिमेकी जिल्लाहरूमा समेत बाघको आक्रमणका घटनाहरू दोहोरिएका छन्।
भण्डारीको घटनाको केही दिनपछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने सुर्खेतको सीमावर्ती क्षेत्रमा एक जना र बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र सल्यानको कालिमाटी गाउँपालिकामा दुई जनाको पाटेबाघको आक्रमणबाट मृत्यु भइसकेको छ।
राप्ती सोनारी–१ बर्दापुरका स्थानीय बासिन्दा रुद्र ओलीका अनुसार अहिले गाउँ नजिकैको वन र जंगलमा पाटेबाघ र चितुवाको उपस्थिति सामान्य जस्तै भएको छ।
‘दिनहुँजसो बाघ र चितुवा देखा पर्न थालेपछि हामी निकै त्रसित छौं,’ ओलीले भने, ‘बाघ र चितुवा गाउँमै डुलिरहेको देख्दा हामीलाई अत्यावश्यक काममा बाहिर हिँडडुल गर्न पनि निकै डर लाग्न थालेको छ।’
सम्भावित खतराबाट बच्न र वन्यजन्तुलाई टाढैबाट देख्न सकियोस् भनेर स्थानीय बासिन्दाले गाउँ वरपरका झाडी र बुट्यानहरूको सरसफाइ अभियान समेत चलाएका छन्।

यसैगरी, राप्ती सोनारी-१ खोकरीका स्थानीय कृष्ण चौधरीले शनिबार मात्रै पनि पाटेबाघ देखिएको बताएका छन्।
उनका अनुसार बाँकेको सीमा क्षेत्रमा रहेको दाङको राजपुर गाउँपालिका-७ हाड्बास गाउँको उत्तरतर्फ रहेको राप्ती बगरको नर्सरीमा बाघ देखा परेको थियो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत अमिलियादेखि राप्तीपारि पर्ने उक्त नर्सरी क्षेत्रमा बाघ लुकेर बसेको स्थानीयले प्रत्यक्ष देखेको चौधरीले बताए।
वन्यजन्तुको आतंक बढेसँगै बाँके राष्ट्रिय निकुञ्जले निगरानी बढाएको छ। निकुञ्जका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले स्थानीय बासिन्दाबाट बाघ र चितुवा गाउँ नजिक आएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा गस्ती र निगरानी बढाइएको जानकारी दिए।
‘हामीले बाघको आक्रमणबाट मरिचमान भण्डारीको मृत्यु भएको स्थानमा क्यामेरा राखेर निगरानी गरिरहेका छौं, यद्यपि अहिले बाघ उक्त स्थानमा देखिएको छैन,’ प्रमुख कँडेलले भने, ‘अचेल बाँकेको पूर्वी क्षेत्रमा बाघ र चितुवा बस्ती नजिक आइरहेको भन्ने जानकारी आएपछि हामीले त्यतातिर पनि सुरक्षा निगरानी केन्द्रित गरेका छौं।’
बाघ र चितुवा मानव बस्ती नजिक आउनुमा मौसम र प्रजनन समय मुख्य कारण रहेको संरक्षण अधिकृत कँडेलको विश्लेषण छ।
उनका अनुसार चिसो मौसममा बाघहरू घनाजंगल भन्दा केही न्यानो र खुला स्थान खोज्दै आउने गर्छन्। ‘चिसोमा बाघ र चितुवा केही अल्छी हुन्छन् र जंगलभित्र शिकार खोज्न जाँगर मान्दैनन्, जसका कारण सजिलो शिकारको खोजीमा गाउँ नजिक आउँछन्,’ कँडेलले सुनाए।
यसका साथै, अहिलेको समय बाघको प्रजनन (भाले लाग्ने) समय पनि भएकाले भाले बाघहरू बढी आक्रामक हुने र अगाडि जो देखा पर्छ उसैमाथि आक्रमण गर्ने स्वभावका हुन्छन्।
गाउँ बस्ती नजिकै हिंस्रक वन्यजन्तुको बाक्लो उपस्थिति देखिएकाले निकुञ्ज कार्यालयले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी बिहान र बेलुकाको समयमा एक्लै हिँडडुल नगर्न, जंगल क्षेत्रमा जाँदा समूहमा मात्र जान र होहल्ला गर्न निकुञ्जले सुझाइएको छ। स्थानीयलाई सचेत गराउनका लागि माइकिङ गर्ने तथा विभिन्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्ने काम भइरहेको प्रमुख कँडेलले जानकारी दिएका छन्।
प्रकाशित: ३ माघ २०८२ १५:०१ शनिबार





