कुनै सेलिब्रिटीले लगाएजस्तो भन्दा पनि उनलाई आफ्नै स्टाइल मन पर्छ। गर्मीमा उनलाई मन पर्ने फेसन नै कटनको क्रप टिशर्ट, हाइ वेस्ट प्यान्ट, लेगिङ्गस र कुर्ती हो। 'जाडोमा उलन वान पिस, कोट र बुट मेरो रोजाइको पहिरन हो,' उनी भन्छिन्। फेसनेबल त हो तर सुन्दरताको पनि चिन्ता छ उनलाई। त्यसैले सन बर्नको चिन्ताले फूल स्लिभ टिशर्ट वा सर्ट लगाएर हिँड्छिन्।
कोटेश्वरकी आभाषणा दाहाललाई ट्रेन्डमा चलिरहेको पहिरन लगाउन त्यति मन पर्दैन। चलिरहेको भन्दा अलि फरक 'एन्टीकरेन्ट' हुन रुचाउँछिन्, उनी। आफू त्यति धेरै फेसनेबल नठान्ने दाहाल सबैको आ–आफ्नै व्यक्तित्व हुने र त्यसैअनुसार फेसनको 'स्टाइल' हुने बताउँछिन्। लगाउने कपडामा मात्र फेसन नझल्किने र त्यो व्यक्तित्वअनुसार हुने उनको तर्क छ।
यी किशोरीजस्तै धेरै जना मौसमअनुसार आ–आफ्नो स्टाइलमा रमाउन चाहन्छन्। गर्मी महिना अर्थात् 'समर' लाग्नासाथ लगाउने लुगाको ट्रेन्ड पनि फरक हुँदै जान्छ। व्यापारीहरूका लागि गर्मी सुरु हुनासाथ व्यापार बढ्दै जान्छ भने पारखीहरूका लागि 'हट' वा 'कूल' देखिने अवसर सिर्जना हुन्छ। काठमाडौंको मुटु छुने चिसोले शरीर पूरै ढाक्नुपर्ने अवस्था आए पनि फेसन घट्ने भने होइन। समरमा चलेको 'हट प्यान्ट'को ठाउँ 'टाइट लेगिङस्'ले लिन्छ। गर्मीको स्यान्डललाई जाडोमा लङ बुटले प्रतिस्थापन गर्छ।
नेपालका सहरी क्षेत्रका मात्र नभई गाउँका युवा पुस्ता पनि 'फेसनेबल' बन्दै गइरहेका छन्। उनीहरू अचेल स्टाइल, रङ र ढाँचासँग परीक्षण गर्न रमाउँछन्। सूचना प्रविधि, फेसन च्यानलहरू, फिल्म र म्युजिक भिडियोमा अभ्यस्त भइरहेका पुस्ता अझ धेरै 'फेसन कन्सस' छन्। राजधानी र देशका प्रमुख सहरमा देखिने स्टाइलहरू अन्तर्राष्ट्रिय ट्रेन्ड र फेसनबाट प्रभावित देखिन्छन्। यसबाहेक नेपाली परम्परागत र पश्चिमा दुवैको मिश्रण भएको फेसन ट्रेन्ड पनि नेपाली बजारमा देख्न पाइन्छ।
छनोट थरीथरीका
नेपालका चर्चित सेलिब्रेटी र मिस नेपाल प्रतियोगिता लगायतमा फेसन डिजाइन गरिसकेका उत्तम बनेपाली यो वर्षको गर्मी याममा हल्का उज्यालो रङको लुगा धेरै चलेको र त्यसैको ट्रेन्ड रहने बताउँछन्। झिलिमिली पहिरनभन्दा धेरै 'कूल' खालको लुगा अबको बजारमा धेरै चल्ने प्रक्षेपण उनको छ। पहिलेपहिले झिलिमिली लुगा धेरै चल्ने गरेकोमा अब हल्का रंगप्रति रुचि बढ्दै गरेको उनको अनुभव छ। 'अघिल्लो वर्षसम्म बिहेको भोज र समारोहमा पनि ब्राइट हेभी वर्क लगाउँथे, अब त्यो ट्रेन्ड हट्न थालिसक्यो,' उनले भने।
चाहे जाडो होस् वा गर्मी, काठमाडौं बुढानीलकण्ठ बस्ने १९ वर्षीया दीपा खड्कालाई कसरी 'फेसनेबल' देखिने भन्ने चिन्ता हुन्छ। यस्तो चिन्ता प्रायः सबै केटीलाई हुने गरेको बताउने उनी कक्षा १० पढ्न थालेदेखि 'स्टाइलिस' हुन थालेकी हुन्। गर्मीमा लगाउने लुगा र अन्य 'एक्सेसरिज'मा उनको विशेष रुचि छ।
बनेपालीले भनेजस्तै उनी पनि झिलिमिलीभन्दा हल्का लुगा लगाउन रुचाउँछिन्। आफूलाई 'बोल्ड' लुकभन्दा पनि 'सिम्पल' तर 'स्वीट' देखिन मन पराउने बताउने उनीसँग फूलको प्रिन्ट भएको लुगा धेरै छन्। 'निलो, सेतो र हल्का गुलाबी रङको लुगा मन पर्छ। प्रायः स्कर्ट, सर्ट र प्यान्ट नै लगाउँछु,' उनी भन्छिन्। समर र विन्टरलाई भनेर छुट्टाछुट्टै लुगा खरिद नगर्ने उनले जाडो महिनामा गर्मीकै लुगामाथि अरू न्यानो लुगा लगाउने गरेकी छन्। 'जाडो महिनामा सर्टमाथि ओभरकोट, ज्याकेट अनि स्कर्टमा लेगिङ्स स्टकिङ्स र खुट्टामा प्रायः बुट लगाउँछु,' जाडो महिनाको पहिरनको ट्रेन्ड बताउँदै उनले भनिन्। आफूले लगाउने धेरैजसो लुगा आमाले छानिदिने गरेको उनले सुनाइन्। 'मम्मी पनि फेसनेबल हुनुहुन्छ। त्यसैले मलाई उहाँको छनोट निकै मन पर्छ,' खड्काले भनिन्। दसैंका बेला जाडो पनि नआइसक्ने र असिनपसिन बनाउने गर्मी पनि नहुने भएकाले टिशर्ट र स्कर्टमा क्वाटर वा हाफ कोट उनको रोजाइमा पर्ने फेसन हुन्।
डिजाइनर बनेपालीका अनुसार, हरेक १० वर्षमा फेसन परिमार्जित भएर दोहोरिन्छ। अहिले धेरै चलेका प्यारालल कुर्ता सलवार, चुज प्यान्ट पनि पुरानो फेसन अहिले परिमार्जित भएर दोहोरिएको उनको अनुभव छ। 'मैले काम गरेको २० वर्षको अनुभवमा हरेक १० वर्षमा फेसनको ट्रेन्ड परिवर्तन हुँदै गइरहेको छ,' बनेपाली भन्छन्। फेसनको बारेमा चासो राख्ने युवामा आफू कसरी राम्रो देखिने चिन्ता हुने गरेको र कुनै सेलिब्रिटीले लगाएकोभन्दा आफूलाई कसरी राम्रो देखिन्छ भन्नेमा उनीहरूले मिहिनेत गर्ने आफूले पाएको उनी बताउँछन्। 'अहिले चल्ने गरेको अनारकली कुर्ता मैले १५ वर्षअगाडि पढ्दा नै डिजाइन सिकिसकेको थिएँ। १५ वर्षअघि आमाको लागि डिजाइन गरेको कुर्ता अहिले छोरीले लगाउँछन्,' उनले भने। यस वर्षको दसैंमा भने युवतीहरूका लागि वान पिस, स्कर्ट, कोटजस्ता पहिरन बढी चल्ने बनेपालीको अनुमान छ।
यो वर्षको फेसन ट्रेन्ड पहिलेको भन्दा फरक र राम्रो भएको आभाषणालाई लागेको छ। आफू अलि 'बोइस' खालको केटी भएको महसुस गर्ने उनले धेरैजसो कार्गो प्यान्ट, रिप्ड जिन्स अनि साधारण बुट्टेदार टिसर्ट लगाउन रुचाउँछिन्। पार्टी वा अन्य 'इभेन्ट'मा भने अलि फरक हुन्छ। 'मेरो फेसन विन्टरमा धेरै चेन्ज हुँदैन। तर मलाई ओभरकोट एकदमै मन पर्छ। जे भए पनि सजिलो भएसम्म मलाई कुनै समस्या छैन,' उनी थप्छिन्। आफ्नो लागि यो वर्षको समरको खास फेसन ट्रेन्ड 'रिप्ड जिन्स' रहेको उनले बताइन्। गत वर्ष कोरियन जिन्स धेरै चले पनि आफूलाई मन नपरेको र यो वर्ष भने 'रिप्ड जिन्स' धेरैलाई तानेको उनको तर्क थियो।
धेरै मानिसले प्रयोग गर्न थालेपछि फेसनको ट्रेन्ड आफंै स्थापित हुने फेसन डिजाइनर बनेपाली बताउँछन्। उनले २० वर्षअघिदेखि नै मिनिस्कर्ट लगाउने युवती देखे पनि त्यो संख्या निकै कम हुने र त्यसको बारेमा चर्चा भने धेरै हुने गरेको देखेका थिए । '१७ वर्षअघि मेरो दिदीले स्किनी प्यान्ट लगाउँदा आमाले लामो टिसर्ट वा कुर्ता लगा भन्नुहुन्थ्यो। अहिले मेरो छोरीले हाफ प्यान्ट वा सर्ट लगाएर हिँड्दा पनि हामीलाई केही आपत्ति हुँदैन,' उनी भन्छन्।
केटीहरूको तुलनामा केटाहरू अलि कम फेसन कन्सस भएको उनको अनुभव छ। अहिले केटाहरूको कोट फर्मल पार्टी वेयर र धेरै खालका सर्ट र टिसर्ट फेसन ट्रेन्डको रूपमा विकास हुँदै गरेको उनी बताउँछन्। 'प्राकृतिक नियमअनुसार नै छोरी मान्छेहरू धेरै सुन्दर देखिन खोज्छन्। केटाहरू आफ्नो शरीरको आकारअनुसार लुगा लगाउँछन्,' उनी थप्छन्, '२५ प्रतिशत केटा र ७५ प्रतिशत केटीहरू फेसन कन्सस हुन्छन्।'
चाहे पुरुष होस् वा महिला, कोही पनि अब पहिरनसँग 'एक्सपेरिमेन्ट' गर्न डराउँदैनन्। अझ आफूलाई राम्रो सुहाउने र व्यक्तित्व झल्किने पहिरनप्रति हरेक वर्गको पुस्ताको रुचि हुन्छ। 'मेरो विचारमा प्रायः सबै टीनएजर र युथ अझ विशेषगरी ड्रेसअप गर्न अलि रुचाउने मान्छे 'फेसन कन्सस' हुन्छन्। अन्तर्राष्ट्रिय सेलिब्रिटीको बारेमा अपडेट हुने मान्छेहरू र कुनै फेसन उद्योगसँग सम्बन्धित अलि धेरै चासो राख्छन्,' आभाषणा भन्छिन्।
फेसनले मानिसको व्यक्तित्वलाई असर गर्ने हुनाले नै राम्रो फेसन गर्न जरुरी भएको फेसन डिजाइनर तथा कोरियोग्राफर जयान सुब्बा मानन्धरको भनाइ छ। अहिलेको समयमा फेसनबाट कोही पनि अछुतो नभएकाले फेसन गर्दा सुहाउने खालको गर्नुपर्ने उनको सुझाव छ। मौसम, अवसर वा कार्यक्रम, आफ्नो शारीरिक बनावट, छालाको रङलगायतका कुरालाई ध्यान दिएर आफ्नो पहिरन र छनोट गर्न सकेमात्र मान्छे फेसनेबल देखिने उनको भनाइ छ। 'अरूलाई सुहाएको पहिरनले आफूलाई पनि सुहाउँछ भन्ने हुँदैन। फेसन सजिलो हुनुपर्छ जसले गर्दा यसले ऊर्जा र आत्मविश्वास दिन सक्छ,' मानन्धर भन्छिन्। गर्मी मौसममा फेब्रिक पहिरनले कुल लुक देखिने र शरीरमा शीतलता प्रदान गर्ने भएकाले यो सबैभन्दा उपयुक्त हुन्छ। तर जाडोमा फेब्रिक लगाउनु मुर्खता हुन जान्छ।
३० वर्षदेखि व्यापार गर्दै आएका अनुप इम्पोरियका व्यापारी अनुप रौनियारले काठमाडौंमा फेसनको बदलिएको रूप देखेका छन्। 'पहिला केटीहरूको लागि धेरै किसिमका भेराइटी आउँथे तर केटाको लागि च्वाइस नै थिएन,' उनी भन्छन्, 'अहिले केटाहरूले पनि छानीछानी आफूलाई सुहाउँदो लुगा लगाउन पाउँछन्।' केही वर्षअघिसम्म धेरै पसल नभएकाले पहिरनमा विविधता नभएको उनी बताउँछन्। थाइल्यान्ड वा हङकङबाट लुगा ल्याएर बिक्री गरिन्थ्यो। अहिले अन्य मुलुकबाट पनि फेसनेबल लुगा आउँछन्। चाइनाले सस्तोमै लेटेस्ट डिजाइन बनाइदिने हुँदा त्यसको धेरै माग रहेको उनको अनुभव छ। 'अहिले धेरै युवा फेसनेबल हुँदै गएका छन्,' उनी थप्छन्, 'अहिले त काठमाडौंका सहरिया युवायुवती हेर्दा कुनै फेसन शोमा भाग लिन गएका भन्दा कम देखिँदैनन्।'
नेपालमा धरान फेसनमा सबैभन्दा अगाडि मानिने ठाउँ हो। लाहुरे परिवार बढी बसोबास गर्ने धरानलाई फेसनको सहर पनि भनिन्छ। नेपालमा विश्वमा चलेको फेसनको सुरुवात धरानबाट हुने र त्यसपछि काठमाडौं, पोखरा हुँदै विभिन्न सहरमा फैलिँदै जाने मानन्धरको अनुभव छ। तर उनलाई अहिले त्यसमा पनि बिस्तारै परिवर्तन भइरहेको लाग्छ। 'धरानलाई फेसनमा काठमाडौंले उछिनिसक्यो,' उनले भनिन्, 'बरु अहिले काठमाडौं र धरानभन्दा पोखरा अगाडि होला।'
अहिलेका युवामा कोरियन फेसन ट्रेन्ड धेरै प्रचलित भएको समेत उनी बताउँछिन्। 'अब बिस्तारै केटाहरू पनि फेसनको मामलामा केटीकै हाराहारीमा छन्,' मानन्धर थप्छिन्, 'युवामात्र होइन, अब पाको उमेरका पनि आफूले लगाउने हरेक पहिरनप्रति सचेत देखिन थालेका छन्।'
पहिरनसँगै अन्य एक्सेसरिज
पहिरनसँगै फेसनेबल पुस्ताको रुचि गगल्स, ब्याग, घडी, गरगहनामा पनि छ। गर्मी महिनामा युवायुवतीका ध्यान विभिन्न स्टाइलिस गगल्समा हुन्छ भने जाडो महिनामा स्टाइलिस क्याप, स्कार्फ र मफलरमा। घाम, हावा, धुवाँ, धुलोबाट आँखा बचाउनका साथै फेसनेबल देखिनका लागि गगल्स अपरिहार्य वस्तुजस्तै बनेको छ। ललितपुरकी बन्दना पौड्याल घरबाट निस्किँदा गगल्स लगाउन कहिल्यै छुटाउँदिनन्। स्टाइलिस पहिरनसँगै गर्मी मौसममा आफूलाई पृथक् देखाउन रेबनको गगल्स लगाएर बाहिर निस्कने उनी बताउँछिन्। घामबाट आँखाको सुरक्षा हुने र स्टाइलिस देखिनको लागि गगल्स अधिकांशको रोजाइ बनेको छ। समान्य देखिने 'लुक'लाई समेत गगल्सले विशेष बनाइदिन्छ। विभिन्न कलरमा पाइने फेसनेबल गगल्सले आँखाको सुरक्षा र लुक्स पनि भिन्न बनाउन मद्दत गर्ने फेसन एक्पर्ट मानन्धर बताउँछिन्।
आकर्षक देखिनका लागि पहिरन सँगसँगै जुत्ता, चस्मा, क्याप, ह्याट, एक्सेसरिजको मुख्य भूमिका हुने फेसन कोरियोग्राफर मानन्धरको भनाइ छ। 'यसबाहेक गर्मीमा सनस्त्रि्कन क्रिम, लोसन, डियोड्रेन्ट र हेयर स्टाइलको पनि उत्तिकै महत्व हुन्छ। गर्मी मौसमको लागि खुट्टाको पर्फेक्ट एक्सेसरिज भनेको नै फ्िलप फ्लप हो । त्यस्तै जाडोमा लेदरको र अन्य कपडाका लङ बुट, सर्ट बुट अधिकांशको रोजाइमा पर्ने गरेको उनले बताइन्।
प्रकाशित: ८ आश्विन २०७२ २३:२८ शुक्रबार




