२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘राम-जानकीको बिहे भएको ठाउँ छोडेर ‘डेस्टिनेसन वेडिङ’ गर्न जयपुर किन जाने ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले विश्व प्रसिद्ध राम-जानकी विवाह सम्पन्न भएको पवित्र भूमि जनकपुरधामलाई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरेका छन्।

सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनकपुरको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई आर्थिक उपार्जनसँग जोड्न नसकिएको बताए।

बालेनले प्रश्न गरे, ‘विश्वकै सबैभन्दा प्रसिद्ध जोडी राम र सीताको विवाह यहीँ भएको हो। तर हामी र हाम्रा मान्छेहरू डेस्टिनेसन वेडिङ गर्न भारतको जयपुर गइरहेका छौँ। मिथिलामा त्यो वातावरण किन बनेन ?’

उनले जनकपुरलाई विश्वकै उत्कृष्ट विवाह गन्तव्यस्थल बनाउन सकिने प्रचुर सम्भावना भए पनि नेतृत्वको अदूरदर्शिताका कारण यहाँको विकास ओझेलमा परेको बताए।

बालेनले काठमाडौंमा आफूले पोखरी र सम्पदा संरक्षण गरेको उदाहरण दिँदै पोखरीहरूको सहर भनिने जनकपुरमा पोखरी मासिँदा पनि यहाँका नेता र जनता चुप लागेको भन्दै आश्चर्य प्रकट गरे।

‘हामीले काठमाडौंमा पोखरी र सम्पदा जोगायौँ, फल्चा बनायौँ। तर यहाँ जनकपुरमा ऐतिहासिक पोखरीहरू पुरिँदै छन्, अतिक्रमण हुँदैछन्,’ उनले  भने, ‘यहाँको सम्पदा मासिँदा, धुलो उड्दा र फोहोर हुँदा संरक्षणका लागि कोही किन बोल्दैन ?’

जनकपुरको विकास र यहाँको सांस्कृतिक वैभवलाई विश्वमाझ चिनाउन अब नयाँ भिजन र इच्छाशक्ति भएको नेतृत्व आवश्यक रहेको उनले औंल्याए।

प्रकाशित: ५ माघ २०८२ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App