होमस्टे पर्यटन गन्तव्यका रूपमा गोरखाको बारपाकले ख्याति कमाइसकेको थियो। भुइँचालोअघि २२ वटा घरमा होमस्टे थियो। केही होटल पनि थिए। देश/विदेशका पर्यटक आउँथे। रमाउँथे। कम्तीमा एक रात बसेर फर्कन्थे।
वैशाख १२ को भुइँचालोको केन्द्रबिन्दु बन्यो बारपाक। गाउँका घर भत्के भने ७२ जनाको ज्यान गयो। सबैको मनमा पीडा छ। सधैं रोएर चल्दो रहेनछ, उनीहरू नियमित काममा फर्किसके।
कतिले अस्थायी टहरा बनाइसके। कति पालमुनि छन्। कतिले त पुरानै घरको ढुंगा र काठबाट एकतले घर बनाए। कति बनाउँदै छन्। पुनर्निर्माणको चरणमा प्रवेश गर्दै छ, बारपाक।
गाविसका ४ देखि ९ वडा एकै ठाउँमा गुचुमुच्च बस्ती छन््। १ देखि ३ सम्मका ३ वडा मुख्य बारपाक गाउँभन्दा बाहिर छन्। घले, गुरुङ, परियार र विश्वकर्माको बसोबास छ। त्यहाँ ब्युटीपार्लरदेखि मोबाइल पसलसम्म छन्।
बारपाक जाने योजना धेरैपटक बनाएँ मैले। तर, भुइँचालोपछि भदौ २१ गतेमात्रै त्यहाँ पुग्ने सपना साकार भयो। गाउँको फेदी बालुवाबाट ६ घन्टा हिँडेर पुग्दा साँझ छिप्पिसकेको थियो। फेदीको झरना आँखामा सजाउँदै उकालियौं हामी।
गाउँलेले फूलमालाले स्वागत गरे। खानपिन गराए। र, साँझ ठूलो टेन्टमा सुत्ने व्यवस्था मिलाए। भुइँचालोपछि घुम्नै भनेर पर्यटक आएका छैनन्। तर, सामुदायिक होमस्टे पाहुनाको स्वागत गर्न तम्तयार अवस्थामा छ। गाउँमा मारुनी नाच, चुड्का र दोहोरीका कलाकार छन्।
बारपाक धेरै हिसाबले चर्चित छ। बौद्धका साथै गणेश, मनास्लु र शृङी हिमाल पनि देखिन्छ। इतिहास बोकेको छ गाउँले। विश्वयुद्धमा बेलायती महारानीबाट भिसी पदक पाउने गजे घले बारपाककै हुन्। उनले दोस्रो विश्वयुद्धमा वीरता देखाएका थिए। उनको सम्मानमा जन्मथलोमै प्रतिमा बनाउन जरुरी छ।
बारपाक हिमालको उज्यालोमा झलमल्ल छ। त्यहाँबाट नारदपोखरी (४,५०० मिटर) पुग्न सकिन्छ। पोखरी पवित्र तीर्थ हो। पोखरीमा जनै पुर्णिमा मेला लाग्छ।
बारपाकबाट ४ घन्टा हिँडे लाप्राक गाउँ पुगिन्छ। विदेशमा समेत चर्चित माउन्टेन गाइड सुनारबहादुर गुरुङको गाउँ लाप्राक। लाप्राक पनि भुइँचालोबाट बचेन।
एडभेन्चर ग्रामीण विकास कार्यक्रमको अग्रसरतामा ०६७ मा बारपाकमा होमस्टे सुरु गरिएको थियो। गुरुङ र घलेका घरमा। गाउँमा हेर्नलाई भिसी सामुदायिक संग्रहालय थियो। भुइँचालोले त्यो भत्कियो। त्यसैले सूचना केन्द्र भवनमा तला थपेर संग्रहालयका सामान सजाउने तयारी भइरहेको छ।
अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा बारपाक पुगेको भिटोफको टोलीले होमस्टे पुनर्निर्माणमा सघाउने वचन दिएको छ। गाउँलेको मागअनुसार उसले सुरुमा ६ वटा घर बनाइदिनेछ। 'दसैंपछि होमस्टे निर्माण सुरु गर्नेछौं,' कार्यक्रमकी अध्यक्ष दलकुमारी घलेले भनिन्।
बारपाकसम्मै सडक खुलेको छ। फोरवील जीप र बस गाउँसम्मै जान्थ्यो। बर्खाको पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध छ। पहिरो पन्छाउने काम भइरहेको छ। सामुदायिक होमस्टेकी अध्यक्ष मनोस घलेका अनुसार दुइटा डोजरले पन्छाउँदै छन्। 'असोजको पहिलो हप्ताभित्र पहिरो पन्छाइसक्ने योजना उनले सुनाइन्।
लार्केपास पदयात्रामा निस्कने कतिपय पदयात्री बारपाक हुँदै जान्छन्। मनास्लु पदमार्गको जगत खण्ड भुइँचालोपछि समस्यामा परेकाले पनि बारपाकतिरको गोरेटो राम्रो विकल्प बन्न सक्छ।
बारपाक पर्यटकीय गन्तव्य त हुँदै हो, भुइँचालोको इपिसेन्टरसमेत भएकाले त्यसको अध्ययन गर्नेहरूलाई समेत गाउँले लोभ्याउन सक्छ। पर्यटक आउनेमा गाउँलेहरू आशावादी छन्। त्यसैले एक रात बारपाक र अर्को रात लाप्राकमा बिताउने गरी घुमफिर योजना बनाउनु बेस हुन्छ।
प्रकाशित: १ आश्विन २०७२ २२:०२ शुक्रबार





