४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

मुक्ति र सान्दाजुको महाभारत

लाजिम्पाट, उत्तरढोकास्थित थिएटर भिलेज। बाँसले बनाइएका टहराहरूको एउटा सानो गाँउजस्तो लाग्छ। त्यहीँ छ, बाँसैले नै बनाइएको सत्यमोहन जोशी नाटकघर। सुन्दर देखिन्छन्, यसको छानामा उम्रेका मसिना झारपातहरू पनि।वरिपरि ससना रूखहरू छन्। हरित छ परिवेश। यो दृश्य त प्रत्येक नाटक हेर्न जाँदा देख्न सकिन्छ। तर, यसपालि भने दर्शकहरू नयाँ दृश्य अनुभूत गर्न थाल्छन्, यो परिसरमा।

विश्वेश्वरप्रसाद कोइरालाका आकर्षक तस्बिरहरू यत्रतत्र झुन्ड्याइएका छन्। युवा, वयस्क अनि वृद्ध अवस्थाका बिपी। यी सबै तस्बिरमध्ये एउटाले भने सबैको ध्यान खिच्छ। त्यो तस्बिर, जहाँ बिपीको मुहारको फोटोसँगै एउटा गोलाकार चक्रको पेन्टिङको सम्मिश्रण छ। उनको चोरी औंला माथि आकाशतिर उठेको छ। उनको त्यो औंला ठ्याक्क गएर त्यही गोलाकार चक्रको केन्द्रबिन्दुमा परेको छ। मानौं त्यो औंलाले चक्रलाई गति दिइरहेको छ। चक्र (पांग्रा) रथको पनि हुन सक्छ, समयचक्र पनि हुन सक्छ। महाभारतलाई पनि यस्तै चक्रचित्रमा व्याख्या गरिएको हाम्रो अनुभूति छ। उनको औंलाले चलाएको यो चक्र निकै अर्थमा उनले चलाएको प्रजातान्त्रिक राजनीतिक समयको द्योतक हो।

गएको भदौ २४ गतेदेखि यहाँ नाटक हेर्न आउने दर्शकहरूमा अधिकांश बिपी कोइरालाका राजनीतिक अभ्यास र साहित्यिक रचनासँग परिचित छन्। संविधान बनाउने जिम्मा पाएका राजनीतिज्ञहरू पनि बेलाबेलामा झुल्किरहन्छन्। तिनको अनुहारमा कौतुहलता छ। यही परिसरमा देखिन्छन्, नाटककार अभि सुवेदी दिनहुँजस्तो। बिपीका कृतिहरूमाथि नयाँ व्याख्या गर्न माहिर सुवेदी यहाँ भेला भएका दर्शकहरूको आँखाको तारा हुने गर्छन्, प्रत्येक साँझ। कुनै बेला गुरुकुलमा पनि यसै गरी उभिइरहेका देखिन्थे।

साढे पाँच बज्दा नबज्दै हलको एक कुनामा झुन्ड्याइएको माइकबाट नाटकमा बोलिने बिपीको संवाद गुन्जिन थाल्छ। नाटक अब सुरु हुने बेला भयो। दुई चार जना कलाकार पुरानो समय सम्झाउने प्रहरीको पोसाकमा गेटमा देखिन थाल्दछन्। बिपी जेलमा छन् भन्ने आभास दिन्छ, यो दृश्यले। सबैको मनमा एउटा कोमल धुन बज्न थाल्छ। यही एक मुठी नरम मन लिएर दर्शकहरू भित्र पस्दै जान्छन्।

ठ्याक्कै दुई घन्टा लामो छ, 'सान्दाजुको माहाभारत'को प्रस्तुति। युवा निर्देशक विमल सुवेदीको काम प्रशंसनीय छ। दृश्य परिधान चलायमान। एउटा गोलाकार टेबल मञ्चमा देखिन्छ। त्यसमाथि सूत्रधार शलिल सुवेदी डिजेरीडु बजाउँदै उभिएका छन्। टेबुलको एक कुनाबाट अर्को कुनातिर चलायमान हुँदै जाँदा विषयबस्तुले गम्भीरता लिँदै जान्छ। यही प्रक्रिया नाटकको अन्त्यमा पनि दोहोरिन्छ।

नाटकको मुख्य दृश्य अदालत हो। बिपीलाई पटकपटक अदालतमा प्रस्तुत गरिन्छ। यही बेला बिस्तारै दर्शकदीर्घामा नरम प्रकाश पर्न थाल्छ। विमल सुवेदीले प्रयोग गरेको यो प्रकाश र बिपीले आम नागरिकको सम्मानको लागि गरेको राजनीतिक यात्राको संगम हुन्छ नाट्य प्रस्तुति चलिरहँदा। आम नागरिकको कुनै सम्मान नगर्ने राणा शासकहरूको प्रसंग पनि बेलाबेला आइरहन्छ। आम मानिस नजिक आएर भन्दा पनि दरबारको माथि बुर्जामा बसेर शासन गर्न रुचाउँथे यी राणा शासकहरू। यो ऐतिहासिक विषयलाई पनि दृश्यविधानबाट रचनात्मक ढंगमा उतारिएको छ। पर माथिको ‰यालबाट रूखो बोलीमा चन्द्र शमशेर बोल्छन्। कठोर लाग्छ यो अनुभव। यही अनुभव दृश्य विधाानबाट सशक्त ढंगमा वाचाल हुन्छ। राणा दरबारमा एउटा विशाल भोजको पनि आयोजना छ। सात सालको परिवर्तन उजागर गर्ने यो दृश्यमा निर्देशकले साइकलको प्रयोग गरेका छन्। आ–आफ्ना टाउकोमाथि ससानो टर्च बोकेर त्यहाँ उपस्थित हुन आउँछन्, मानिसहरू। यो विसंगत परिवेशमा बिपी र गणेशमानमात्र सजीव र विचारवान् देखिन्छन्। अदालतका न्यायाधीशहरू अमानवीय देखिन्छन्। न त तिनको बोलीमा केही स्पन्दन झल्किन्छ न तिनले बनाएको परिवेशमा। बाथ टबलाई कोसीमा बग्ने डुंगा बनाएर सुन्दर ढंगले दृश्यविधान रचिएको छ। नेसनल स्कुल अफ ड्रामाका सहपाठी शारिका पारीकले विमलको यो कामलाई सबल र वाचाल बनाइदिएकी छिन्।

नाटककार अभि सुवेदीले बिपीमाथि नाटक लेख्ने चुनौती यत्तिकै रहरमा सुरु गरेका होइनन् भन्ने खुल्दै जान्छ। उनले आम नागरिकको मुक्तिलाई नाटकको मुख्य विषय बनाएका छन्। आम मानिसको मुक्तिमा नै बिपीको राजनीतिक, बौद्धिक र साहित्यिक आयाम आएर सम्मिश्रण हुन्छ, नाटकमा। अभि सुवेदी यस अर्थमा निकै सफल छन्। यो देशमा युगौंदेखि निरीह भएर बसेका आम नागरिकको मुक्ति नै बिपीको एउटा खोजी थियो। नेपालमा प्रजातान्त्रिक राजनीति यही दिशातिर सोझिनुपर्छ भन्ने उनको बलियो अठोट थियो। यही अठोटले उनले प्रजातान्त्रिक चुनाव लडे। जनताले उनलाई माया गरेर जिताएका थिए। आम नागरिकले यो देशको इतिहासमा सबभन्दा पहिलोपटक चुनेर पठाएको प्रधानमन्त्री भए, उनी। राजनीतिमा आम मानिसको मुक्ति भन्ने ढुकढुकी चलिरहेको हुनुपर्छ। यही ढुकढुकी बचाउन जेल गए पनि त्यहाँ कथा र उपन्यास रचिरहे।

सुवेदीले लेखेको यो नाटक र बिपीले लेखेको सानो उपन्यास 'मोदिआइन'मा महिला भन्छिन्, 'ठूलो नबन्नु असल बन्नु, असल बन्नु नानी।' अर्जुन देवत्वले भरिएपछि झनै कमजोर भए। महाभारतको युद्धले सबभन्दा ज्यादा नोक्सान आम नागरिकलाई गरे। 'एक रात'मा एउटा मधेसी युवा छ। दुर्गानाथ झा। ऊ यो देशको आम जनताको मुक्तिको लागि आफूलाई समर्पण गर्छ। यस्तै युवाहरूले जिताएर पठाएका नेता थिए, बिपी। 'तीन घुम्ती'की इन्द्रमाया साधारण महिला पात्र हुन्। उनी प्रेम र यौन चाहनालाई केस्राकेस्रा केलाएर बोल्छिन्। निकै बलियो आधुनिक विचार छ, उनमा। 'श्वैतभैरवी'की फगुनी र उसको साथी साधारण किशोरकिशोरी हुन्। तर तिनको प्रेम महाकाव्यिक भएर जान्छ। बिपीले आफ्नो अदालतको बयानमा भनेका थिए, '०१७ सालको 'कू'ले यो देशका आम नागरिकले २००७ र ०१५ सालको आम चुनावमा भाग लिएर बडो मेहनत साथ आर्जन गरेको, तिनको अनुहारमाथि आकाशजस्तो टाँगिएर बसिरहने, आभा खोसेर लग्यो।' महेन्द्र राजामाथि बिपीको आरोप थियो, यो। सुवेदीको यो नाटकले यही ऐतिहासिक अदालतको बयानलाई आधार बनाएको छ। बिपीको राजनीतिक जीवन र साहित्य लेखनले उजागर गर्न खोजेको विषयलाई नाटकले बलियो ढंगमा अगाडि सारेको छ।

नाटकमा बिपी, उनका राजनीतिक साथीहरू, परिवारका सदस्य, उनका रचनाका पात्र छन्। विषयवस्तुलाई वाचाल बनाउन सुवेदीले नयाँ पात्रहरू थपेका छन्। प्रस्तुति हेर्दै जाँदा आम दर्शकलाई लाग्छ, नाटकको विषय गम्भीर छ। चलनचल्तीमा रहेका नाट्य प्रदर्शनभन्दा फरक छ, यो नाटक। नाटकमा बौद्धिकता धेरै छ तर यो बौद्धिकता केवल वुद्धिबिलास होइन भन्ने प्रस्ट हुन्छ। नाटकका दर्शक साधारण नागरिक हुन नसक्लान्, तर यही वर्गको मुक्तिको लागि राजनीति र साहित्य गर्ने वर्गले चाख दिएर नाटक हेर्न आएको निकै अर्थपूर्ण छ।

बिपीको भूमिकामा सञ्जीव उप्रेतीले अभिनय गरेका छन्, वौद्धिक खाल को। बिपीको हाउभाउभन्दा पनि उनको विचार वाचाल बनाउन निर्देशित छ, उप्रेतीको अभिनय। त्यसो त नाटकमा बिपीको पारिवरिक आयाम पनि बेलाबेलामा देखिन्छ। सुशीला भाउजूसँगको उनको संवाद सुरु भएको केही बेरमै राजनीतितिर सोझिन थाल्दछ। सुशीला भाउजूको पात्रलाई सूर्यमाला शर्माले शालिन ढंगमा प्रस्तुत गरेकी छिन्। मोदिआइनको वृद्धा पात्रलाई पनि उनले प्रभावकारी बनाएकी छिन्। चन्द्रशमशेरझैं देखिने कठोर शासक र मोहनशमशेरको भूमिकाका देखिएका सरोज अर्यालको अभिनयले दर्शकको मन सहजै जित्छ। लामो समयदेखि रंगमञ्चबाट अलग रहेका अर्यालको यो आगमन रंगकर्मीहरूका लागि खुसीको कुरा हो। सुत्रधारको भूमिकामा उत्रिएका शलिल सुवेदीले आख्यान कला र संगीतबाट नाट्य प्रस्तुतिमा ओज ल्याएको देखिन्छ। उनले बजाउने अस्ट्रियाली आदिवासीको डिजेरीडु बाजा, मुर्चुंगा र बिनले बिपीले बोध गरेको मानवीय शक्ति उजागर गर्छ। डिजेरीडुले कालिक चिन्ता उजागर गर्छ। त्यस्तै मुर्चुंगा र बिनले आम नागरिकले बोकेर हिँड्ने उच्छ्वास र जोस उजागर गर्छ। सान्दाजुको माहाभारत संगीतमा पनि बोध गर्न सकिन्छ। शलिल आम नरनारीका लागि एकल संगीत प्रदर्शन गर्छन्। विभिन्न भूमिकामा देखिएका दिव्य देवको आवाज रहरलाग्दो छ। नेपाली रंगकर्मीहरू संवादमा त्यत्ति ध्यान दिँदैनन् तर देवले ल्याएको नयाँ तरंग लोभलाग्दो छ। सानो भूमिकामा भए पनि प्रदीप चौधरीले गणेशमानलाई जीवन्त उतारेका छन्।

त्यसो त मञ्चमाथि टाँगिएका दुनाहरू त्यत्ति वाचाल छैनन्। नाटक छोट्याउनुपर्ने धुनमा केही पात्र त्यत्ति खुलेर आउँदैनन्। अदालतबाट दृश्यहरू एक्कासि बाहिर जान्छन्। दृश्यहरू छरपस्ट भएको दर्शकले महसुस गर्न सक्छन्।

बिपीको लेखनमा अनि नाटकको बिपी पात्र र सूत्रधारले बेलाबेलामा भनिरहने कुहिरोमुनि फाटेको लुगा लाएर हलो जोतिरहने त्यो साधारण नेपाली मञ्चमा एकपटक पनि देखिँदैन। अलि खल्लो लाग्छ। पारिजातको उपन्यासमाथि राखिएको बहस अलि बोझिल भएजस्तो लाग्छ। सम्पादन गर्नुपर्ने केही दृश्य हुँदाहुँदै पनि दुई घन्टाको नाटक बितेको पत्तै हुन्न।

प्रकाशित: १ आश्विन २०७२ २१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App