४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

सोचको खोज

व्यक्तिपिच्छेको स्वभाव बुझेर बुझिनसक्नुको हुन्छ। कहिलेकाहीँ त कतिलाई लाग्दो होला— यी भिन्नभिन्न स्वभाव र चरित्रका मानिसबीच सम्बन्ध सुधार्न सकिएला! हुन पनि यो सम्बन्ध भन्ने कुरा गजबकै हुने रहेछ।कहिले त्यही मानिसप्रति कैयौं नकारात्मकता झाँगिएको हुन्छ। सडकको एउटै किनारामा हिँडेको देखे पनि देख्नासाथ अर्को किनारामा पुगिहाल्ने अवस्था पनि आउने। फेरि समयको अन्तरालमा उही व्यक्ति आत्मीय, घनिष्ट र आँखैमा नबिझाउने व्यक्ति पनि बन्न पुगेको हुन्छ। यही कुरा कैयन् अरू विषयहरूप्रति पनि लागू हुन्छ।

यस्तो किन हुन्छ? कहिल्यै हामीले सोचेका छौं? व्यक्ति–व्यक्तिमा एक किसिमको कमजोरी उसको मनको अन्तरकुन्तरमा लुकेर बसेको हुन्छ। कुनै व्यक्तिको बारेमा कुरा गर्दा उसको जीवनको सानो हिस्साको पनि सानो हिस्सालाई लिएर टीकाटिप्पणी गर्न सुरु गर्छौं र मूल्यांकन गरिदिइहाल्छौं। राम्रो या नराम्रो भनिदिएर। अनि फेरि त्यही किञ्चित सत्यलाई पूर्ण सत्य ठानेर जीवनभर सँगालेर बस्छौं भने दोष कसको? कुनै व्यक्तिको बारेमा केही लेखिन्छ, बोलिन्छ भने पनि उसको जीवनको समग्र पक्षमा सबै कुरा आएकै हुँदैन। त्यही अर्धसत्य वा एकांकी कुराबाट जब हामी कुनै व्यक्तिसँगको सम्बन्धको कुरा गर्न थाल्छौं भने कहाँ, कहिले समग्रताको विषयका कुराहरू आउने? समग्रताको बारेमा जति जान्न खोजे पनि पार पाइने विषय होइन। कसको पछि को लागेर साध्य!
Govinda Tandan
कैयन् ठूल्ठुला भनिने व्यक्तिहरूका जीवनका अनेकौं पक्षका बारेमा पुस्तकहरू आएका हुन्छन्। त्यसले कतिलाई प्रेरणा दिन्छ कतिलाई मार्गदर्शन गर्छ। यसो हुँदाहुँदै पनि चाहे आफूले लेखून्, चाहे कसैले लेखिदिएको होस्; जीवनको समग्र पक्ष त्यहाँ समेटिन पाउँदैन। यो सकिने कुरा पनि होइन। भन्नलाई त मानिस भनिदिन्छन्— मलाई फलानाको बारेमा सबै थाहा छ। यो भन्नलाई बोलिदिएको मात्र हो। एकै घरको बाबुको कुरा छोरालाई थाहा हुँदैन, छोरीको कुरा आमालाई थाहा हुँदैन। लोग्ने र स्वास्नीबीचका कैयन् पक्ष एक–अर्काले थाहा नहुन सक्ने स्थितिमा हामी कसैले लेखिदिएको, भनिदिएको भरमा समग्रमा सबै बुझ्यौं भनेर गम्भीर भूल गरिरहेका त छैनौं?

अधिकांश हामी सबै खण्ड–खण्डमा जीवनयापन गरिरहेका हुन्छौं। घनिष्ट व्यक्तिसँगको सम्बन्ध नै अर्कै हुन्छ, अपरिचितसँगको कुरा गराइ नै भिन्न हुन्छ। कार्यालयमा एक किसिमको हुन्छौं, विद्यालय, कलेज, घरमा अर्कै किसिमका भइदिन्छौं। हुन सक्छ, मुखले एकदमै व्यावहारिक, सरल र भलादमी देखिने मानिस काम पर्दै गएपछि थाहा हुन्छ कि कत्तिको धूर्त र टपरटुइँया रहेछ भन्ने कुरा। लामो संसर्ग र संगत नगरीकन कहाँ मानिसलाई चिन्न सकिन्छ? विश्वबन्धुत्वको गुड्डी हाँक्ने मानिस आफ्ना छिमेकीहरूसँग ससाना विषयहरूमा पाखुरा सुर्कासुर्की गरिरहेको पनि नदेखिने होइन। बाहिर उदार, विशाल र महान् देखिने तुल्याउन अनेक दाउमा रमाएर यथार्थमा खोक्रो भएको पत्तै नपाउने नाटकहरू कैयौंका जीवनमा मञ्चन भइरहेको देख्दा हाँस्न मन लाग्दो हो। आफूसँग रहेको खण्डित जीवन र यसका प्रक्रियागत जालझेलप्रति जति सजग र सचेत हुन सक्छौं त्यति जीवनलाई यथार्थ रूपमा बुझ्न कठिनाइ पर्दैन। मानिसले गर्ने यावत् जालझेल, फट्याइँ र मुर्ख्याइँलाई पुरुषार्थ सम्भि्कनाले नै जताततै अप्ठ्यारा, षड्यन्त्र र झञ्झावातका सिकार स्वयं मानिस भइरहेको छ, समाज भइरहेको छ, राष्ट्र भइरहेको छ। कति दुःखलाग्दो!

जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा यो होइन कि मैले के पाएँ, बरु महत्वपूर्ण त यो हुनुपर्छ कि म के बन्छु र समाज, राष्ट्र, विश्वलाई के असल कुरा दिन सक्छु! जीवन बहुमूल्यमात्रै होइन अमूल्य छ। त्यसैगरी प्रत्येक व्यक्ति–व्यक्ति अमूल्य छन्, तर के हामीले सबैलाई अवसर र मौका दिइरहेका छौं? प्रश्न त्यहीँनिर गएर ठोकिन्छ। आफ्नो जाति, वर्ग, सम्प्रदाय, वाद र गुटका मानिसहरू सबैको राम्रो होस् अरूको जेसुकै होस् भन्ने निहित स्वार्थका कारण अनेक आरक्षणका पर्खाल, विभेदका भड्खालाहरू विधि, नीति र प्रक्रियाको नाममा यसरी जोडतोड गरेर ठडेयाइदिन्छौं कि असमझदारी सृजना भइहाल्छ। कारण, अनेक समस्याको तानाबाना जेलिन थाल्छ। जातीय, क्षेत्रीय, वर्गीय समस्या जन्मने नै यसैगरी हो। अहिले जताततै भएकै यही हो। अझ हाम्रोजस्तो अविकसित र पिछडिएको मुलुकमा आ–आफ्नै राजनीतिक स्वार्थका कारण बढ्दै गइरहेको दुर्भाग्यपूर्ण छ। यसको विपरीत सबैलाई हेर्ने दृष्टिमा समदृष्टि र समान अवसरको भावनालाई बढाउन थालौं त परिस्थिति नै सकारात्मक हुन थालिहाल्छ। तर यो सत्य कुरालाई मानिसले बुझ्नै चाहदैनन् या बुझेर पनि बुझ पचाउँछ।

जस्तोसुकै किसिमले होस् सत्ता, शक्ति, पद, प्रतिष्ठामा टाँसिएर रहनु नै अहिले मानिसको लागि प्राथमिकता बन्न थालेको छ। चाहे राजनीतिको क्षेत्रमा हेरौं चाहे सामाजिक, शैक्षिक, प्रशासनिक क्षेत्रमा; सबै क्षेत्रमा देखिएको हर्कतलाई सम्झने हो भने उदेक लागेर आउँछ। कुनै जमाना यस्तो थियो कि नदी, अग्नि र हिंस्रक जनावरबाट मानिसहरू बचेर हिँड्नुपर्थ्यो। तर अहिले परिस्थिति फेरिएको भान हुन्छ। मानिसदेखि मानिस डराउनुपर्ने, तर्सिनुपर्ने, भाग्नुपर्ने भयावह अवस्थाको सूत्रपात भएको छ। मानिसले गर्ने गरेको कर्तुत हेर्दा लाग्दैन कि मानिसमा कतै मनुष्यता छ, सिवाय क्रूरता र राक्षसीपना! हिंसामा पनि महिला हिंसाले किन यस्तोविधि टाउको उठाइरहेको छ? कहाँ के गल्ती भयो? दिनदहाडै काखका बालिका, विद्यालयका छात्रा, सुस्त मनस्थितिका महिला, पढ्न हिँडेका, कार्यालय जाँदै गरेका, विदेशबाट आफ्नो घर फर्कन एयरपोर्ट आइपुगेका दिदी–बहिनी, महिलाहरू बलात्कृत भएका समाचार एकपछि अर्को आउँदा पुरुष हुँ भन्न लाज लाग्ने स्थिति आइसकेको प्रतीत हुन्छ। भूकम्पमा सेवाको भावले राहत बाँड्न आएका विदेशी मारिन्छन्, लुटिन्छन् भने कस्तो विकृत मनस्थितिले समाजमा टाउको उठाउँदै छ? आश्चर्य लाग्छ।

शिक्षाको माध्यमबाट बाँड्नुपर्ने, चेतनाको नामबाट फैलाउनुपर्ने चरित्रका कुरा, नैतिकताका कुरा, मनुष्यता, सत्यता, आचरण एवं इमान्दारीका कुरालाई समाजमा जति धेरै विस्तार गर्नुपर्थ्यो त्यो हुन नसकेको कुरालाई अब नकार्नु हुँदै–हुँदैन। शिक्षालाई हामीले पुस्तकबाट मात्र दिन खोज्यौं, शिक्षकको आचरणलाई, नेतामा हुनुपर्ने महानतालाई बेवास्ता गरिनाको फल हो यो। आचरणको उदाहरणबाट दिइने शिक्षाजस्तो लाभदायक अरू हुनै सक्दैनथ्यो। त्यसलाई बिर्सिदिनाले यो बितन्डा मच्चिरहेको छ भन्नेतर्फ सोचेर कसले, कहिले सच्याउने? राजनीति नसु„ी नेता र कार्यकर्तामा सद्बुद्धि आउँदैन। राजनीतिप्रधान समाजनिर्माण द्रुततर गतिमा हुँदै गरेको अहिलेको अवस्थामा यसलाई कसरी निष्कलंकित तुल्याउन सकिन्छ तथा ...बहुजन हिताय बहुजन सुखाय' को स्थितिमा ल्याउन सकिन्छ, त्यो नै महत्वपूर्ण छ। भत्काउन, बिगार्न, नोक्सान पुर्याुउन, तहसनहस पार्न हरेक मूर्खलाई सजिलै आउँछ। त्यो न कुनै ठूलो कुरा हो न कुनै आश्चर्यको विषय। पौरख त त्यहाँ हुन्छ जहाँ बिग्रेकोलाई सपार्न र सुधार्न मन, मस्तिष्क लगाइन्छ र व्यवहारमा गरेर उदाहरण प्रस्तुत गरिन्छ। समाजलाई एक छिन नियालेर हेरौं त कहाँबाट आचरण सिक्ने? सहर–बजार–गल्लीका भित्ता र पर्खालहरूमा टाँसिएका अनेक सिनेमाका पोस्टरहरूले कस्ता खुराक मानिसलाई दिइरहेका छन्? रेडियो, टेलिभिजनमा ठूल्ठुला भनिने नेताका भाषणबाट के सिक्ने? जहाँ भत्काउने, बिगार्ने र क्रान्ति गर्ने, टुटाउने, फुटाउनेबाहेक कुरै हुँदैन। विद्यालय, कलेज, विश्वविद्यालयमा जीवनलाई चाहिने आत्मिक पोषणको कुरै हुँदैन, भौतिकता र बाह्य शिक्षाबाहेक। यस्तो विकराल र भयावह अवस्थाको सूत्रपात गर्न अरू कोही होइन मानिस नै जिम्मेवार छ।

जहाँ बसेका छौं, जहाँ रहेका छौं त्यसलाई विकास गर्दै लग्ने कि विनाश! विनाशलाई निम्त्याउने अरू कोही होइन स्वयं मानिसै हो। व्यक्ति आफैं हो। अरूलाई दोष दिएर हामी भूलमाथि भूल गरिरहेका हुन्छौं। दिशा परिवर्तन गरेर त हेरौं दशामा परिवर्तन आइहाल्छ। यस्तो गर्न नसक्ने हो भने त्यो ज्ञान बेकारको छ, जुन व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वको प्रयोगमा आँउदैन। त्यो शरीर, शक्ति, पद, प्रतिष्ठा पनि बेकम्मा छ, जुन तिलस्मी बनेर कुनै महत्ता र विशेषता हासिल गर्न सक्तैन भने। त्यो बुद्धि–विवेक पनि पनि बेकारको छ, जुन प्राणीमात्रको हित, उपकार र मानवताको श्रेष्ठताको खातिर परिचालित हुँदैन भने। त्यो धन, दौलत पनि निकम्माको छ, जसको केही अंश समाज, राष्ट्र र अन्ततोगत्वा समष्टिगत विश्वनिर्माण एवं मानवीयताको पुनीत कार्यमा उपयोगमा आउँदैन भने।

भूतकाललाई बिर्सौं, वर्तमान ठूलो अवसर बनेर आएको छ। वर्तमानको सही निर्णय, सही सदुपयोगले नै भविष्य बन्ने हो। समयको सही सदुपयोगले नै इतिहास लेखिन्छ भन्ने सम्झी उठेका संकट, देखिएका समस्याको बुद्धिमत्तापूर्ण समाधानमा जो जहाँ छौं त्यहीँबाट समय कत्ति नफाली लाग्नु अहिलेको आवश्यकता भएको छ।

प्रकाशित: २५ भाद्र २०७२ २२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App