५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

जोकोभिच र दिदीबहिनी सफल

न्युयोर्क- विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसमा आइतबार स्पेनका रोबर्टो बाउटिस्टालाई पराजित गर्दै लगातार २६औं पटक ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनल पुगेका छन्। २०११ को उपाधि विजेता सर्बियाका जोकोभिचले ६–३, ४–६, ६–४, ६–३ को सेटमा जित निकालेका थिए। उनले अब स्पेनका भेट्रान फेलिसिएनो लोपेजविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

जोकोभिच दोस्रो सेटमा ४–२ ले अगाडि रहेर पनि २३ औं वरीयताका बाउटिस्टालाई नतिजा सुम्पेका थिए। बाउटिस्टाले स्पेनिस क्लब भिल्लारियालको युथ टोलीबाट फुटबल पनि खेलेका थिए।

'उनले संघर्ष गरे जित निकाले। यो निकै रोमाञ्चक खेल भयो,' जोकोभिचले भने, 'दोस्रो सेटमा जित निकाल्न मलाई दुई अंकमात्र चाहिएको थियो। तर, मैले पूरा गर्न सकिनँ, जसले खेलमा नयाँ मोड लियो।'

३३ वर्षे लोपेज पहिलोपल्ट युएस ओपनको क्वार्टरफाइनल पुगेका हुन्। उनले इटालीका फाबियो फोग्निनीलाई ६–३, ७–६(७/५¬¬), ६–१ को सेटमा पराजित गरेका थिए। फोग्निनीले अघिल्लो चरणमा राफेल नाडाललाई हराएका थिए।

'सेप्टेम्बरमा म ३४ वर्ष लाग्नेछु, मलाई यस्तो प्रदर्शनबाट राम्रो महसुस भइरहेकोछ। पहिलोपल्ट युएस ओपनको क्वार्टरफाइनलपुगेको छु,' लोपेजले भने, 'जब जोकोभिचले राम्रो खेल्छन् विपक्षीलाई सम्हालिने मौकै दिँदैनन्। उनको खेलमा कुनै कमजोरी हुँदैन।'

मंगलबार हुने अर्को क्वार्टरफाइनलमा साबिक विजेता मारिन किलिक र जो–बिलफ्राइड सोङ्गाबीच प्रतिस्पर्धा हुनेछ।

फ्रान्सका जेरेमी चार्डीलाई ६–३, २–६, ७–६(७/२), ६–१ ले हराएका किलिक क्वार्टरफाइनल पुगेको यो चौथोपल्ट हो। गत वर्ष यसै सहरमा पहिलो ग्रान्ड स्लाम उपाधि जितेका क्रोएसियाका नवौं वरीयताप्राप्त किलिकको यो लगातार ११औं जित हो।

'दोस्रो सेटमा मेरो कुर्कुंच्चामा केही समस्या भएपछि त्यसले मेरो खेलमा असर गरेन,' २६ वर्षे किलिकले भने, 'तेस्रोको सुरुसम्म केही असर देखिए पनि पछि मैले कुनै समस्या झेल्नुपरेन।'

१९औं वरीयताका सोङ्गाको दोस्रो युएस ओपन क्वार्टरफाइनल हो। उनले आफ्नै देशका बेनोइट पैरेलाई ६–४, ६–३, ६–४ को सेटमा पराजित गरेका थिए। पैरेले पहिलो चरणमा जापानका चौथो वरीयताप्राप्त केइ निशिकोरीलाई पराजित गरेका थिए। सोङ्गासँग यसअघिको भेटमा किलिकको पक्षमा ४–१ को नतिजा छ।

'मैले जीवनकै राम्रो राम्रो टेनिस खेलेको अनुभव भइराखेको छु। आशा छ यसलाई निरन्तरता दिनेछु ,' सोङ्गालेे भने।

महिलातर्फको क्वार्टरफाइनलमा भने विलियम्स दिदीबहिनी एकआपसमा भिड्ने भएका छन्। २२औं ग्रान्डस्लाम जित्ने अभियानमा रहेकी विश्व नम्बर एक सेरेनाले आफ्नै देशकी १९औं वरीयताप्राप्त म्याडिसन केसलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन्।

२३औं वरीयताकी भेनसले स्टोनियाकी एन्नेट कोन्टाभेइटमाथि ६–१, ६–२ को सहत जित निकालेकी थिइन्।

'हामी दुवै तयारी अवस्थामा छौं,' भेनसले भनिन्, 'आफ्नै बहिनीसँग खेल्ने भए पनि राम्रो तयारी त गर्नैपर्छ। यसमा हाम्रो तयारीमा केही फरक ल्याउने छैन।'

३३ वर्षीया सेरेनाले टेनिसका मुख्य चार प्रतियोगिताको उपाधि जितीसकेकी छन्। उनी स्टेफी ग्राफले १९८८मा बनाएको २२औं ग्रान्डस्लाम उपाधिसँग बराबरी गर्ने अभियानमा छिन्।तर, दुई वर्ष जेठी भेनसले २००० र २००१को युएस ओपन र पाँच विम्बल्डनको उपाधि जितेपछि उनको प्रदर्शन खस्केको थियो।

'कसैले पनि आफ्नो प्रदर्शन बिगार्न चाहन्छ भन्ने मलाई लाग्दैन,' भेनसले भनिन्, 'तर, वातावरण आफू अनुकूल नभए पनि सबै जितका लागि केन्द्रित हुन्छन्।'

शुक्रबार 'लकर रुम' मा लडेपछि टाउकोमा लागेको चोटका कारण युज्नी बुचार्डले प्रतियोगिता त्यागेपछि इटालीकी रोबेर्टा भिन्ची क्वार्टरफाइनलमा पुगेकी छन्। २१ वर्षीया बुचार्डले गत वर्ष फ्रेन्च र अस्ट्रेलियन ओपनको सेमिफाइनल यात्रा तय गरेकी थिइन् भने २०१४ को विम्बल्डन फाइनलमा पेट्रा भिटोभासँग पराजित भएकी थिइन्।

प्रकाशित: २१ भाद्र २०७२ २०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App