स्याउ जहाँ पायो त्यहीँ फल्दैन। चिसो ठाउँ चाहिन्छ। हिमाली जिल्ला चिसा ठाउँ हुन्। तर, सबै हिमाली जिल्लामा मुस्ताङको जस्तो स्याउखेती छैन। त्यसमाथि हिमाली जिल्ला दुर्गम छन्। त्यसैले जो कोहीलाई स्याउ बगान हेर्ने मौका जुर्दैन। दुर्गममा हुने खेती धेरैथरी होलान् तर, पौष्टिकता र स्वादका हिसाबले स्याउजत्तिको उत्कृष्ट फलफूल विरलै छन्। भदौ/असोज स्याउ पाक्ने मौसम हो। अहिले मुस्ताङी बगानका बोटमा लटरम्मै परेका स्याउले रङ फेरेर रातो बनाइसके। भदौको सुरुसुरु ताका स्याउमा पूरै गुलियो पसेको हुँदैन। धेरै किसानले भदौ अन्तिम र असोजतिर मात्रै स्याउ टिप्छन्। 'स्याउ पाकेका बेला त बगानमात्रै होइन, मार्फा गाउँ नै बसाउँछ,' अधिकारीले भने।
मुस्ताङको भूगोल अरू जिल्लाका सँग मेल खाने खालको छैन। बालुवा र ढुंगागिटीको पहाड र समथर भाग छ यहाँ। रूखपातसम्म नभएका त्यस्ता डाँडाकाँडा र मैदानमा अरू खेती हुने कुरै भएन। तर, केही होचोहोचो ठाउँमा भने खेती हुन्छ। यहाँको माटोमा हुने र धेरै फाइदा दिन सक्ने उपयुक्त खेती नै स्याउ हो। त्यसैले सदरमुकाम जोमसोमभन्दा तल र केही माथिल्लो भागसम्म स्याउ खेती छ। 'मुस्ताङको एक प्रतिशत जमिन मात्रै खेतीयोग्य छ,' कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत राजाराम अधिकारी भन्छन्, 'त्यही एक प्रतिशतमध्ये धेरैमा स्याउ खेती हुन्छ।' तल्लो भेगमा थकाली र उपल्लोतिर गुरुङ, ठकुरी र विष्ट अनि दलित जातिको बसोबास छ। उनीहरूले परम्परागत रूपमा उवा, जौ, आलु, फापर र मकै खेती गर्छन्। २०२३ सालमा तत्कालीन सरकारको पहलमा न्युजिल्यान्डबाट बिरुवा ल्याएर मुस्ताङमा स्याउ खेती सुरु गरिएको हो। शीतोष्ण बागवानी बाली विकास केन्द्र पनि त्यही बेला खुल्यो। यो अड्डाले चिसो मौसममा हुने खेतीपाती गर्न किसानलाई सघाउँछ। त्यसमध्येको मुख्य खेती नै स्याउ हो।
वरिष्ठ कृषि अधिकृत अधिकारीका अनुसार पोहोरसम्म मुस्ताङमा ८८३ हेक्टरमा स्याउ खेती भएको थियो। त्यति जमिनमा ४५ हजार किलो स्याउ फल्यो। यहाँ मुख्यतः दुई किसिमको स्याउ लगाइन्छ। एकथरी रातो अर्थात् रेड एप्पल र अर्काेथरी पहेँलो अर्थात् गोल्डेन एप्पल। रातो स्याउ धेरै उपभोक्ताको रोजाइमा पर्छ। त्यसैले बजारमा यही जान्छ। पहेँलोचाहिँ स्याउको मदिरा 'ब्रान्डी' बनाउन प्रयोग हुन्छ। चाना काटेर सुकुटी पनि पहेँलोकै बनाइन्छ। जुस बन्ने पनि यसैको हो। मुस्ताङी स्याउ अर्गानिक हुन्छ। 'किसानले नीलो तुथो र प्राकृतिक एवं जैविक मलमात्रै हाल्छन्,' बागवानी केन्द्र प्रमुख अधिकारीले भने। स्याउका लागि तीन/चार वटा पकेट क्षेत्र छन्। मार्फा, टुकुचे र कोबाङ धेरै स्याउ फलाउने गाउँ हुन्। नरबहादुर हिराचन र इन्द्रबहादुर शेरचन जिल्लाकै ठूला स्याउ किसानमा गनिन्छन्।
सात वर्षदेखि म्याग्दीको बेनी हुँदै मुस्ताङसम्म मोटरबाटो सुरु भएको छ। त्यसयता स्याउको भाग बढ्यो। १०/२० रुपैयाँ किलोमा पाइने स्याउलाई अचेल मार्फामै ७०/८० पर्छ। पहिला–पहिला खच्चड र मान्छेले बोकेर पोखरा झारिने स्याउ अचेल ट्रक र बसले नै ओसार्छन्। मुस्ताङी स्याउ पोखराका अलावा काठमाडौं, चितवन र बुटवलको बजारसम्म पुग्छ। बजार बढ्न थालेपछि स्याउखेती पनि फैलिँदो छ। 'यो वर्षमात्रै सय हेक्टरमा स्याउखेती थपियो,' वरिष्ठ कृषि विकास अधिकृत रामराजा अधिकारीले भने, 'ठूल्ठुलो क्षेत्रफलमा स्याउ लगाउन थालिएको छ।' कागबेनीभन्दा माथि ताङ्बे गाउँमा मात्रै स्थानीयले १० हजारभन्दा बढी बिरुवा गएको वर्षमात्रै रोपेका छन्।
...
मुस्ताङका थुप्रै विशेषता छन्, जुन अरू ठाउँसँग मेल खाँदैनन्। जिल्ला सदरमुकाम वरिपरि र माथिल्लो भूभाग नांगो पहाड र समथर छ। बालुवा र ढुंगागिटी मात्रै भरिएका डाँडामा काँडाका ससाना बुट्यान देखिन्छ। माटोका मात्रै पनि अग्लाअग्ला डाँडा छन्। ती डाँडाका भित्तामा गुफा छन्, जुन पुराताŒिवक हिसाबले महŒवपूर्ण मानिन्छ। २५ सय ३ हजार वर्षअघि ती गुफामा मान्छे बस्थे भन्ने अनुसन्धानले देखाएको छ। पानी खासै नपर्ने हुनाले उपल्लो भूभागका बालुवा र माटोका पहाडमा भूक्षय भएको छैन। दामोदर कुण्ठबाट बग्दै आउने कालीगण्डकीको पानी कालो र धमिलो छ। यो नदीमा अर्बाैं वर्ष पुराना जीवहरूको अवशेषयुक्त चट्टान अर्थात् शालिग्राम पाइन्छ।
मुस्ताङको यात्रा म्याग्दीको बेनीबजारबाट सुरु हुन्छ। पोखराबाट बेनी र बेनीबाट सिधैं मुस्ताङ प्रवेश गर्न सकिन्छ। पहिला–पहिला पोखराबाट हिँडेर जाँदा एक साता लाग्थ्यो। अचेल मोटरबाटो बनेको छ। अर्काे साधन जहाज हो। पोखराबाट सिधै जहाजमा जान पनि सकिन्छ। जहाज भाडा एक जना नेपालीलाई पाँच हजार रुपैयाँ। बेनीबाट मुस्ताङको घाँसासम्मको मोटर भाडा ३७० रुपैयाँ छ। घाँसाबाट जोमसोम जान ३९० रुपैयाँ लाग्छ। मार्फा गाउँ जोमसोमभन्दा वरै हो। मुक्तिनाथ जान भने जोमसोम कट्नुपर्छ। त्यो बाटोमा जीप वा मोटर जेमा गए पनि एक जनाको भाडा तीन सय। मोटरबाटो हुँदै पोखराबाट एकै दिनमा जोमसोम पुग्न सकिन्छ। मुक्तिनाथसम्म पुग्न अर्काे दुई घन्टा लाग्छ। माथिल्लो मुस्ताङ पुग्न भने थप एक दिन नखर्ची हुँदैन। जहाजले भने पोखराबाट १६ मिनेटमै जोमसोम पुर्या्उँछ। पर्यटकको बाटो पर्ने जहाँकहीँ पनि होटल र रेस्टुरेन्टको राम्रो सुविधा छ। तिनमा हेरीहेरी एट्याच बाथरुम ट्वाइलेट भएका होटलमा एउटा कोठाको १५ सय रुपैयाँसम्म तिर्नुपर्छ। मासुखानाको पाँच सय र सादाको २५० रुपैयाँ।
मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिर छ। बौद्ध र हिन्दुको उत्तिकै आस्थाको केन्द्र मुक्तिनाथमा दुवै धर्मका पुजारी छन्। तीर्थयात्री बाहेक युरोप–अमेरिकाबाट पदयात्रामा आउनेहरू मुक्तिनाथ मन्दिरको दर्शन गर्छन्। मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव ध्रुव सुवेदीका अनुसार हालै मन्दिरको हालैमात्रै जीर्णाेद्धार भएको छ। तिब्बती मूलका नेपालीको बसोबास भएको मध्य र माथिल्लो मुस्ताङ 'मिनी तिब्बत'का नाममा पनि परिचित छ। यार्तुङ, तिजी र ल्होसारजस्ता चाडपर्वले यहाँको संस्कृतिलाई धनी बनाएको छ। बर्खा ऋतु सकिएको संकेतस्वरूप यहाँ यार्तुङ मनाइन्छ। 'यार्तुङका बेला घोडा दौडाएर रमाइलो गरिन्छ,' मुक्तिनाथ गाउँका स्थानीय छिरिङ ङोटुकले जानकारी दिए, 'यो पर्वका बेला थुप्रै देशीविदेशी पर्यटक आउँछन्।' मुक्तिनाथतिर अचेल यो पर्व जनैपूर्णिका दिन मनाउन थालिएको छ।
मुस्ताङ पुगेपछि थाहा हुने नेपालको विविधता र विचित्रतामध्ये अर्काे कुरा हिमाल पनि हो। अधिकांश नेपालीले मुलुकको उत्तरमा हिमाल छ भनेर बुझेका छन् र हिमालको काखमा नेपाल छ भन्ने पढेका छन्। तर, मुस्ताङ र मनाङ हिमालपारि पर्छन्। मुस्ताङ पुगेपछि हिमाल उत्तरमा होइन्, दक्षिण दिशामा देखिन्छ। अनि थाह हुन्छ, हिमालको काखमा नेपाल होइन, नेपालको काखमा हिमाल छ।
.............................................
होटलै होटल
सुरज गुरुङ
होटल व्यवसायी, मुक्तिनाथ
पहिले पहिले तीर्थयात्री सातु–सामल बोकेर मुक्तिनाथ आउँथे र धर्मशालामा बस्थे। अझै पनि मुक्तिनाथमा पर्यटकलाई चाहिने खालका होटल छैनन् होला भन्ने भ्रम छ। अहिले मुक्तिनाथमा करोडौं लगानीमा होटल बनेका छन्। ३० होटल छन्। एट्याच बाथरुम भएका कोठाको मूल्य अधिकतम रातको १५ सय रुपैयाँ छ। सादा खाना २५० रुपैयाँ।
———
विचित्र मुस्ताङ
श्रद्धा श्रेष्ठ
पश्चिमाञ्चल प्रमुख, पर्यटन बोर्ड
विविधता र विचित्रताका हिसाबले मुस्ताङ र अरू ठाउँको तुलनै हुँदैन। तिब्बती मूलका नेपाली र थकाली संस्कृति आफैंमा यहाँका सांस्कृतिक सम्पदा हुन्। अनौठो भूबनोट र स्याउबारी देखेर पर्यटक त्यसै लोभिन्छन्। यार्तुङ मेला मुस्ताङमा भर्खरै सकिएको छ। पर्यटकलाई तान्ने यस्ता अनेक संस्कृति र सम्पदा भएकैले पर्यटन बोर्डले यसपालिको यार्तुङ मेलालाई सघाएको थियो।
प्रकाशित: १८ भाद्र २०७२ २३:१८ शुक्रबार





