दल्चोकीको पूर्वमा चौघरे, नल्लु, भारदेव, बुखेल, मानिखेल र फूल्चोकी टप देखिन्छ भने पश्चिममा भट्टेडाँडा गाविस। उत्तरमा सेता हिमाल र तलतल काठमाडौं, टीकाभैरव र लेले गाविस देखिन्छ। दक्षिणतिर हरिया डाँडाको लहर।
अनौठो मौसम हुन्छ, दल्चोकीमा। छिनमै घाम लाग्छ, छिनमै बादल मडारिन्छ। भुइँकुहिरोभित्र लुकिरहन्छ दल्चोकी। जंगलको बाटोमा चितुवा, मृग, वनबिरालो, खरायो, कालिजलगायत जीवजन्तुसँग जम्काभेट हुन सक्छ।
हरेक महिनाको चौथो शनिबार काठमाडौं उपत्यकामा हाइकिङ गराउँदै आएको प्रकृतिप्रेमी समूहले दल्चोकीमा निरोगआनन्दधाम निर्माण गरिरहेको छ। समूहको १००औं हाइकिङ दल्चोकीमै गरियो। ०७२ साउन २३ गते हाइकिङमा तीन सय जना हाइकर्स थियौं।
बिहानैदेखि सिमसिम पानी पर्दै थियो। सातदोबाटोबाट हामी नौ वटा गाडीमा चापागाउँ, टीकाभैरव हुँदै लेले बिर्खेधारासम्म गयौं। पानी नपरेको भए टीकाभैरव मल्ल होटलबाट ठाडो उकालोबाट सैनिक क्याम्प भएर दल्चोकी पुग्ने योजना थियो। पानी परेकाले कच्ची मोटरेबल सडकमा हिँड्यौं।
बिर्खेधाराबाट पदयात्रा सुरु भयो। बिर्खेधारा कान्ति राजपथमा पर्छ। जहाँबाट तीनपाने भञ्ज्याङ हुँदै हेटौंडा पुगिन्छ। छाता ओढेका हाइकर्सको लस्कर, कमिलाको ताँतीझैं देखियो। उत्साहित थियौं। १००औं हाइकिङ भएकाले मनमा आनन्द र खुसी छाइरहेको थियो।
आकाश खुल्दै गयो, अनि देखियो चारैतिर हरियाली। छिनमै उडेर आएको भुइँकुहिरोको स्पर्शले फ्रेस बनायो। धानबाली, काठमाडौं र ललितपुरका बस्ती, हरिया डाँडा नियाल्दै करिब दुई घन्टा हिँडेपछि पुगियो निरोग आनन्दधाम (२,१७५ मिटर)।
समूहले उचित आहार, बिहार र विचारको अभ्यासबाट आनन्दित रहने ज्ञान बाँड्न आनन्दधाम बनाएको हो। अहिलेको समय अधिकांश मानिस अनुचित आहार, अनुचित बिहार र अनुचित विचारका कारण रोग र दुःखको भुमरीमा छन्। त्यसबाट उनीहरूलाई निरोग आनन्दको सरल, प्राकृतिक, फराकिलो राजमार्गमा हिँडाउन जरुरी छ।
निरोगी रहनु नागरिकको अधिकार हो। जनस्तरबाटै, समूहका सदस्य र शुभेच्छुकको सहयोगले आनन्दधाम निर्माण भइरहेको छ। तीनतले भवन बनेको छ। फिनिसिङ गर्न बाँकी छ। अर्को तला थप्ने योजना समूहका संस्थापक डा. उमेश श्रेष्ठ बताउँछन्। भवन पूरा गर्न लाखौं रुपैयाँ लाग्छ। त्यसका लागि सहयागी मनहरूको खाँचो छ।
आनन्दधाम हाताको क्षेत्रफल सात रोपनी छ। त्यहाँ सय जना अटाउने डाइनिङ र योग हल बन्दै छ। त्यहाँ बसेर, ध्यान, योग र अभ्यास गर्न पाइनेछ ।
त्यो दिन हामीले वृक्षरोपण गर्यौं । हाइकर्सले प्रियजन, इष्टमित्र र आफ्नै नाउँमा बिरुवा रोपे। वातावरण जोगाउन बिरुवा रोप्दा सबैको अनुहार उज्यालो थियो। वृक्षरोपण शुभारम्भ जेष्ठ सदस्य चन्द्रमाया श्रेष्ठबाट भयो। उनले ७५ वर्ष उमेर भएको उपलक्ष्यमा ७५ वटा बिरुवा रोपेर सबैको कल्याण होस् भन्ने कामना गरिन्। छोरी खुसी, साथी सरिता र मैले पनि रोप्यौं।
प्रकृतिमै रहेको सरल विधि उचित आहार, बिहार र विचार अवलम्बन गरे आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सकिन्छ। उचित आहार खानेकुरा हुन्, बिहार शरीरले गर्ने गतिविधि हुन् भने उचित विचार भन्नाले सकारात्मक चिन्तन हो। हाइकिङ उचित बिहारमा पर्छ। हाइकिङका साथै हामी बेलाबेलामा बहुदिने पदयात्रा गर्छौं। घुम्दा जीर्ण, दीर्घ रोग निको पार्न र मोटोपन घटाउन परामर्श गर्छौं।
त्यो दिन वृक्षरोपणपछि हाइकर्सलाई तीन बराबर खाना खुवाइयो। ब्राउन राइसको चिनी र दूधविनाको खीर, दुईथरी हरियो तरकारी, दुइथरी आलु,, काँक्रो र गाजरको अचार र सलादमा स्याउ। यसरी तीन बराबर आहार खाँदा पचाउन सजिलो हुन्छ। खानाबाट हुने एसिडिटीलाई सलादले न्युटि्रलाइज गर्छ। त्यसैले सलाद अन्त्यमा खानुपर्छ।
सबैले मिठो मानेर खाए। तीन बराबर आहार भन्नाले एक भाग पकाइएको अन्न, एक भाग हरियो तरकारी र एक भाग काँचो सलाद बु‰नुपर्छ। यसरी खाँदा कब्जियत हुँदैन। ब्राउन राइसजस्तो छोक्रा बोक्रा भएका खाना खानुपर्छ। मैदाबाट बनेका चिजमा छोक्रा हुँदैन। फलस्वरूप पचाउन गाह्रो हुन्छ। त्यसबाट मोटोपनलगायत रोग आउँछ। त्यसैले ब्राउन राइस, चोकर भएका आँटा, मकै, च्याँख्ला खानु स्वास्थ्यवर्द्धक हुन्छ।
खानापछि अन्तरक्रिया गर्यौंआ। त्यसमा पुरेन्द्र विक्रम लाखे, रमेश चित्रकार, सरिता डंगोल, भरत महर्जनलगायत सक्रिय भए। कार्यक्रमपछि बिर्खेधारासम्म हिँडेर गाडीमा फर्कियौं।
वैशाख १२ को भूकम्पले दल्चोकीलाई पनि क्षति पुर्यामएको छ। घर भत्केका छन्। 'हामीले पर्यटकलाई टेन्टमा बस्ने व्यवस्था मिलाएका छौं,' सामुदायिक होमस्टेका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले भने 'भुइँचालोपछि पनि पर्यटक आइरहेका छन्।'
दल्चोकीमा मनकामना र दल्चोकी माइको मन्दिर छन्। त्यहाँ सामान्य खाजा पसल छन्। हाइकिङका लागि राम्रो गन्तव्य हो। होमस्टेसमेत भएकाले रात बिताउन सकिन्छ। हाइकिङ, बाइकिङ र जीप राइडका लागि समेत उपयोगी छ। त्यो दिन दीपक श्रेष्ठ दाइको समूह साइकल कुदाउँदै त्यहाँ आइपुगेको थियो। साइक्लिङ गर्दा पनि पसिना निस्कन्छ। स्वास्थ्यलाई राम्रो हुन्छ।
असोजदेखि हिमाल खुल्छन्। त्यति बेला उत्तरतिर चाँदीझैं टल्किन्छन्, हिमाल। दल्चोकी प्रचुर पर्यटन सम्भावना भएको ठाउँ हो। प्रदूषणबाट टाढा। काठमाडौंबाट मात्र २१ किमि दक्षिणमा अवस्थित दल्चोकीलाई काठमाडौंको भेडेटार भने फरक पर्दैन।
हाइकिङका धेरै फाइदा छन्। नयाँ गाउँ र जनजीवन बु‰न पाइन्छ। साथी बनाउन पाइन्छ। गाउँ डुल्दा भाइचारा बढ्छ। हाम्रो अभियानले हाइकिङ चेतना बढाएको छ। स्वास्थ्य चेतना बढाएको छ। अचेल हाइकर्स आ–आफ्नै किसिमले पनि बिदाका दिन डाँडापाखा चढ्छन्।
सकिन्छ भने साताको एक दिन पसिना चुहाउँदै हिँड्नु उत्तम हो। नत्र कम्तीमा महिनाको एकपटक हाइकिङ गर्नैपर्छ। पसिनासँग विकार बाहिर निस्किन्छ। स्वच्छ ठाउँमा फोक्सोले सजिलै अक्सिजन पाउँछ। जोर्नीको राम्रो कसरत हुन्छ। हामीले बिहान चिसो हावामा एक घन्टा नियमित हिँड्ने बानी गर्नुपर्छ।
पदयात्रा भनेकै स्वास्थ्यका लागि हिँड्नु हो। जथाभावी खाएर हिँड्दा हानि गर्छ। भारी खानाले शरीर भारी भई हिँड्न गाह्रो हुन्छ। हलुका खाना खानुपर्छ। ठोस आहारभन्दा एक घन्टाअगाडि र पछाडि मात्रै पानी पिउनुपर्छ। घन्टा घन्टामा एक गिलास पानी पिउनु बेस हुन्छ।
आफ्नै कुरा गर्ने हो भने म धेरैपटक हाइकिङमा सहभागी भइसके। हाइकिङ गर्नुअघि मलाई काठमाडौं वरपरको ज्ञान थिएन। केही वर्र्षमै काठमाडौं सेरोफेरोका अधिकांश गाउँ चिनिसकेँ। प्राकृतिक रूपले सुन्दर गाउँ विकासका दृष्टिले पछाडि छन्। मोटरबाटो राम्रो छैन। युवा बिदेसिने क्रम बढेको छ। गाउँमा केटाकेटी र बूढाबूढी मात्रै छन्।
हाम्रा गाउँठाउँमा भएका सम्पदा संरक्षण र सदुपयोग गर्न सके हामी समृद्ध बन्नेछौं। हामीसँग के छ? के गर्न सकिन्छ? आफूलाई चिनेर काम गर्नुपर्छ। गाउँको आवश्यकता बुझेर विकास गर्नुपर्छ।
लामो पदयात्रामा पनि निस्केको छु। समूहसँगै थोराङ्ला, सिरुबारी, घलेगाउँ, लाङटाङ, मुक्तिनाथलगायत ठाउँ पुगिसके। लाङटाङ, घलेगाउँ र सिरुबारीका होमस्टेमा पाएको न्यानो माया सम्भि्करहन्छु। नेपाल साँच्चै सुन्दर छ भन्ने कुरा घुमेपछि मात्रै थाहा पाइन्छ।
सुरुका दिनमा ३०–३५ जनाबाट सुरु भएको हाइकिङले व्यापकता पाइसकेको छ। आज एकैपटक दुई सय हाराहारीमा हाइकर्स हुन्छन्। सात वर्षका बालकदेखि ८० वर्षका पाकासम्म हाइकिङमा आउँछन्। २५ वर्ष देखि ६० वर्षसम्मका बढी हुन्छन्। समूहले मध्यम गतिमा हाइकिङ गराउँछ।
हाइकिङ अभियानको १००औं सृङखलासम्म आइपुग्दा हजारौं हाइकर्सले हातेमालो गरिसकेका छन्। हाम्रो यात्रा जारी छ।
कसरी पुग्ने : सातदोबाटोबाट २० किलोमिटर दुरीमा दल्चोकी। लगनखेलबाट लेले जाने गाडीमा टीकाभैरव झर्ने। टीकाभैरवबाट दाया" गोरेटो दक्षिण लाग्ने। हाइकिङ दुरी १६ किलोमिटर। मोटरबाटो दल्चोकीसम्मै पुग्छ। पदयात्रा सिजन असोजदेखि फागुनसम्म। तर, वर्षैभरि पदयात्रा गर्न सकिन्छ। दल्चोकी टपबाट पूर्व ठाडो ओरालो झर्दै मनकामना मन्दिर हुँदै गोठ भन्ज्याङ, बासुकी, शिखर्पा हुँदै टीकाभैरवसम्म पदयात्रा गर्न पनि मिल्छ। जताबाट जाँदा पनि चढ्न तीन घन्टा र ओर्लन दुई घन्टा।
स्वास्थ्य नै धन
रमेश चित्रकार
अध्यक्ष, प्रकृतिप्रेमी समूह
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। स्वास्थ्य भएन भने हामी केही गर्न सक्दैनौं। प्रकृतिमै भएको सरल विधि अनुशरण गरे जीवनभर स्वस्थ रहन सकिन्छ। यही कुरा जीवनमा लागू गर्दै जनमानसमा स्वास्थ्य ज्ञान फैलाउन हामीले हाइकिङ गर्दै आएका छौं। समाजमा स्वास्थ्य ज्ञान फैलाउने हाम्रो अभियानलाई सबैको सहयोग जरुरी छ।
अगुवा
उचित आहार, बिहार र विचारबाट मात्रै 'आफ्नो स्वास्थ्य आफ्नै हातमा' लिन सकिन्छ भन्ने अभियानका अगुवा डा. उमेश श्रेष्ठ हुन्। सबैभन्दा धेरै हाइकिङ गर्ने अभियन्ता पनि उनै हुन्। राजनीति त्यागेर प्रकृतिमा रहेको सरल विधि उचित आहार, बिहार र विचार फैलाउन उनी खटिएका छन्। मानिसलाई रोग र दुःखबाट मुक्त गराउने अभियानमा लागेका छन्, उनी।
प्रकाशित: १८ भाद्र २०७२ २३:१५ शुक्रबार

