२८ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

अवैध संस्था चलाउने २३ सञ्चालक हिरासतमा

काठमाडौं- विदेशमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिने भन्दै अनुमतिबिनै कन्सल्टेन्सी सञ्चालन गरी ठगेको आरोपमा प्रहरीले उपत्यकाका २३ वटा कन्सल्टेन्सीमा छापा मारी सञ्चालक पक्राउ गरेको छ।शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा एवं सम्बन्धित निकायमा दर्ता नै नगरी गैरकानूनी रुपमा सञ्चालित कन्सल्टेन्सीमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेको थियो।

छापा मारिएका कन्सल्टेन्सीबाट प्रहरीले ६९ वटा राहदानीसहित विभिन्न विश्वविद्यालयलगायत अनेकौं छाप फेला पारेको थियो। सञ्चालकले सञ्चालन अनुमति पत्र पेस गर्न नसकेपछि प्रहरीले पक्राउ गरेको थियो।

'सर्वसाधारण बेरोजगार युवा र विद्यार्थिसँग ठूलो रकम लिई ठगीरहेको सूचनाका आधारमा छापा मार्दा दर्ताबिनै अवैध काम गरेको फेला परेपछि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले जानकारी दिए।

महाशाखाका अनुसार सञ्चालकले साईप्रस, क्यानडा, अस्ट्रेलिया, जापानलगायत देशमा उच्च शिक्षा र रोजगारीमा पठाइदिने भन्दै १२ देखि १५ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ।

महाशाखाले मंगलबार ललितपुर कुपन्डोलस्थित ग्रिन माउन्टेन कन्सल्टेन्सीका सञ्चालक राजेन्द्र पोखरेल, फरच्युन एजुकेसनका विजयकुमार बस्नेत, सिएसी नेपालका बिरेन्द्र बज्राचार्य, शुभारु र न्युम्यान कन्सल्टेन्सीका अञ्जनकुमार थापा र रश्मी श्रेष्ठलाई पक्राउ गरेको छ।

यसैगरी बागबजारस्थित एटुजेडका शिव अर्याल, ग्लोबल सेन्टर एजुकेसनका डा एरिस उप्रेती, क्यानन इन्टरनेसनलका लोकेन्द्र सुवेदी, ओएसिस माइग्रेन्टका राम थापा, सबलाइम एजुकेसनका समर शाह, थिंक एजुकेसनका जीवन थापा तथा सुदिपचन्द्र पारेल र मिराई जापानी ल्यांग्वेजका सुदिप पराजुलीलाई ठगी अभियोगमा हिरासतमा राखी कारबाही अघि बढाएको छ।

पुतलीसडकको नाइस एजुकेसन, वेभ इन्टरनेसनल, बानेश्वरको एडिफाई एजुकेसन, ग्लोबल एडु हब र पास्कल टेक्नो एजुकेसनका सञ्चालक क्रमशः दामोदर शर्मा, दिपक पुडासैनी, ऋषि थपलिया, सपना पौडेल र देवकृष्ण केसी अवैध कन्सल्टेन्सी सञ्चालन गरी ठगेको अभियोगमा पक्राउ परेका छन्।

चाबहिलस्थित सेक्योर लाइफ इन्टरनेसनलका ज्ञानचन्द्र सिंखडा र लोटस फ्लावरका शिशिर वाग्ले पक्राउ परेका छन् भने कमलादीस्थित मिसन अल एजुकेसनका प्रभात श्रेष्ठ, चाबहिलको स्काइवार्ड एजुकेसन एन्ड रिसर्च सेन्टरका किरण अधिकारी र पुतलीसडकको इस्टवेस्ट जापानी ल्यांग्वेजका रोशन गुरुङ पक्राउ परेका छन्।

महाशाखाका अनुसार कन्सल्टेन्सी सञ्चालकलाई ठगी मुद्दामा अनुसन्धान गर्न काठमाडौं परिसर, गौशाला वृत्त, बानेश्वर वृत्त र महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। प्रहरीले उच्च शिक्षा अध्ययनका लागि ती कन्सलटेन्सीमा रकम बुझाएका विद्यार्थीसँग महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ।

प्रकाशित: २ भाद्र २०७२ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App