अनुसन्धान अधिकारीका अनुसार कलवारले अपहरणको योजना बनाएर नारायणटारस्थित गिरीको डेराबाट गौरीघाटसम्म बालक ल्याउने जिम्मा शर्मालाई दिएको र राख्ने जिम्मा आफुले लिएका थिए।
योजनाअनुसार शनिबार शर्मा नारायणटार गएर बिहान १० बजे बालकलाई घुम्न जाने भन्दै फकाएर गौरीघाट ल्याई कलवारको जिम्मा लगाए। कलवारले दिनभर बालकलाई गौरीघाट र पशुपति क्षेत्रमा घुमाएर बेलुका पशुपतिको सत्तलमा सुताउँदा थिङ कुरुवा बसेको प्रहरीले जनाएको छ।
आइतबार बिहान थिङले बालकलाई सत्तलबाट कुमारीगालस्थित आफ्नो डेरामा लगेर राखे। उता कलवारले गिरीलाई फोन गरी 'छोरा सकुशल चाहिने भए ७० हजार ल्याउनु' भन्दै धम्क्याएका थिए।
बारम्बार फोनमार्फत् धम्की आएपछि गिरीले प्रहरीलाई जानकारी गराए। अनुसन्धानमा खटिएको टोलीले शर्मालाई पक्रेेपछि बालक थिङको कोठामा रहेको खुल्यो र प्रहरीले आइतबार बालकको उद्धार गरी दुवै जनालाई पक्राउ गरेको थियो।
डिएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा काम गरेवापतको मजदुरी नदिएका कारण बालक अपहरणको योजना बनाएको पाइयो। थिङ र शर्मा पक्राउ परे पनि कलवार फरार छन्। पक्राउ परेका दुवै युवालाई महाशाखाले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।
प्रकाशित: २५ श्रावण २०७२ २०:०३ सोमबार





