फुल्चोकीबाट देखिएको दृष्यले सबैको मन र मस्तिस्कलाई शीतल बनाइदियो। मनसुनमा भुइँकुहिरोभित्र लुकामारी खेल्छिन् फुल्चोकी। छिनमै कुहिरो फाट्दा प्रकृतिको अदभूत सुन्दरता लिएर मुस्कुराउँछिन्।
बषैभरि शीतल हुन्छ फुलचोकी। काठमाडौं बासीको गर्मी छल्ने गन्तव्य फुल्चोकी (२,८०० मिटर)। असार २३ गते हामी प्रकृतिप्रेमी समूहका सदस्यहरुको ९९ औं हाइकिङ सृङखला फुलचोकीमा भएको थियो। 'आफ््न्ाो स्वास्थ्य आफ्नै हातमा' नाराका साथ उचित आहार, विहार र बिचारको अभ्यासले मात्र स्वस्थ रहन सकिन्छ भन्ने सञ्देश बाँड्दै हिँड्यौं हामी।
समूहले विगत १२ बर्षदेखि काठमाडौ वरपरका डाँडामा स्वास्थ्य पर्यटन प्रबर्धन गर्दै आएको छ। फुलचोकीमा सय जना पुगेका थियौं। भुइँचालो गएको दुई महिना वितिसक्दा पनि जनमानसमा डर कायमै थियो। सातदोबाटोबाट गोदावरी पुगुञ्जेल बाटो छेउछाउमा घरका भग्नावशेष देख्दा मन निमोठियो। हामी पक्कै उठ्नेछौं यो दुःखबाट।
फुल्चोकी हाफसम्म गाडीमा र त्यहाँबाट हिँड्ने हाम्रो योजना। करिब ९ बजे गाडीले ब्रेक लगायो। सबै ओर्लियौं २१ सय मिटरमा। बर्षामास भएकाले मुलबाटो हिँड्यौं। फुल्चोकी पुग्न गोदावरीको नौधाराबाट जंगलको बाटो पनि छ। तर, मनसुनमा चिप्लिने र जुका लाग्ने डरले गोरेटो नहिँड्नु नै बेस।
सुरुमै समूहका संस्थापक अध्यक्ष डा. उमेश श्रेष्ठले पदयात्राका नियम जानकारी गराएपछि हामीले फलफुल ब्रेक गर्यौं । पदयात्रा भनेकै हिँड्नु हो। जथाभाबी खाएर हिँड्दा स्वास्थ्यलाई हानी हुन्छ। त्यसैले हाम्रो समूहले दुई– तीन पटक मौसम अनुसार ताजा फलफुल र एकपटक स्वास्थ्यबर्द्धक तीन बरावर आहार खुवाउँछ।
पदयात्रा शरिरको उचित विहार अन्तर्गत पर्छ भने तीन बराबर खाना उचित आहार र सकारात्मक सोच उचित विचार अन्तर्गत पर्छ। सिजन भएकाले हामीले आँप खायौं।
गोदावरीबाट भित्र छिरेदेखिनै हाम्रा कान र आँखाले चराको चिरविर र प्रकृतिको सौन्दर्य रसपान गर्दै आएको थियो। गाडीको आवाज र धुँवाधुलोबाट विदा भएर हामी प्रकृतिको काखमा पुग्यौं। चिसो भएकाले ज्याकेट लगायौं।
मनसुनमा चारैतिर हरियाली हुन्छ। असार भएकाले किसान खेतमा पसिना चुहाउँदै थिए। कहिले निलो आकाश त कहिले सेतो बादल अनि कहिले चिसो बतास अनि इन्द्रेनीसंग पदयात्रा गर्यौं ।
'मामु तपाइँको खुट्टामा जुका हेर्नुस् त', ९ वर्षकी छोरी खुशीले भनिन्। म खुट्टै नहेरी चिच्याए। धन्न जुका रहेनछ। जुकासँग डराउने भएकाले छोरीले मलाई जिस्काएकि रहिछन्।
जति उचाई चढ्दै गयो उति तलबाट उडेर आएका भुइकुहिरोको चिसो चुम्बनले उकालो चढ्दा थाकेको मनमा स्फुर्ति बढाइदियो। करिब २ घण्टा उकालो चढाइपछि फुल्चोकीद्धार पुग्यौ। सैनिक क्याम्प छ फुलचोकीमा।
त्यहाँबाट देखियो काठमाडौ, भक्तपुर र ललितपुरका दृष्य। अघि हामी भन्दा अग्ला देखिएका डाँडा फुलचोकिबाट त हामी भन्दा मुनि साना पो देखिए। सबैभन्दा उचाइमा थियौं हामी। खुल्ला आकाश मुनि छिन् फुल्चोकी माई।
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फुलचोकीबाट चारैतिर देखिन्छ। फुल– चोकी अर्थात फुलै फुलको चोक भन्ने बुझिन्छ। धेरै फुल फुल्ने बगैचा भएकाले नाम फुल्चोकी रहन गएको भनाई छ। चैत–वैशाखमा राताम्य हुनेगरी गुराँस र लालुपातेले वनै ढाक्छ। उचाइमा हावा चल्छ। मौसम चिसो हुन्छ। चैत– बैशाख, फल्चोकी चढ्न उपयुक्त समय हो, त्यतिबेला बाटैभरी गुराँस हेर्दै एसेलु खाँदै हिड्न सकिन्छ।
फुलचोकि हिन्दु र बौद्धमार्गीको पवित्र तिर्थ हो। डाँडामा खुला आकाशमुनि ढुङ्गैढुङ्गाका मूर्ति र त्रिशुल छन्। अबिरले राताम्य फुल्चोकी। नजिकै बौद्ध स्तुप पनि। नयाँ बर्षमा यहाँ मेला लाग्छ।
पौराणिक भनाइ अनुसार फल्चोकीका चार दिदि बहिनी– चम्पादेबी, नागार्जुन जामाचो, शिवपुरी र फुल्चोकी हुन्। दिदिबहिनी मध्ये सबैभन्दा उचाइमा भएकाले फुल्चोकी हिमालय दृश्याबलोकन गर्न प्रख्यात छ। त्यहाँ पुस–माघमा हिउँ पर्छ।
फल्चोकीबाट चारै दिशाको दृश्य राम्रोसंग देख्न सकिन्छ। उत्तरतिर मौसम खुलेका बेला हिमालको लर्कन देखिन्छ। पश्चिम देखि दक्षिणसम्म हरिया पहाड र तराइका दृश्य देखिन्छ भने फुल्चोकीको मुनि काठमाडौं उपत्यका। अनि छिन छिनमै उडेर आएका बादलले डाँडामा रहेका बस्तीलाई छोपिदिँदा स्वर्गझै देखिन्छ। रमणीय छ फुल्चोकी।
डाँडामा हवाइजहाजलाई सिग्नल दिने र टेलिभिजनलाई सिग्नल पठाउने टावर छन्। सूर्योदय र सूर्यास्तका लागि समेत फुलचोकी उपयुक्त छ। डाँडामा होटल तथा रिसोर्ट छैन। सामान्य खाजा पसल मात्रै छ। राम्रा होटल र रिसोर्ट भैदिने हो भने काठमाडौंबासीको सप्ताहन्त मनाउने राम्रो ठाउँ बन्न सक्छ। साताभरको थकाई मेटेर शीतल हावामा दिमागलाई रिचार्ज गर्न सकिन्छ।
गोदावरीबाट फुल्चोकी जाने दुई बाटा छन्। नौधाराबाट जंगलको ठाडो बाटो र कुण्डबाट कच्ची मोटर गुड्ने तेर्स्रो बाटो। झरी पर्दा तेर्स्रो बाटो हिड्ने र अरुबेला गोरेटो। ठाडो उकालो र ठाडै ओरालो भएकाले जंगलको बाटो सहासिक छ। घना जंगलमा वनस्पति र चराचुरुङी अवलोकन गर्न सकिन्छ।
जंगलमा चितुवा, विरालो, लोखर्के, कालो भालु पाइन्छ। बाँदर त सधैं भेटिन्छन्। किरा फटयाङग्रा र रंगविरंगका पुतलीहरुले लोभ्याउँछ।
फुल्चोकीको आधार गोदावरी आफैंमा वनस्पति केन्द्र हो। गोदावरी ललितपुरको प्रख्यात पिकनिक स्पट हो जहाँ वनस्पति अध्ययन गर्न सकिन्छ। मिश्रित जाति बसोबास रहेको गोदवरी धार्मिकस्थल पनि हो। त्यहाँ नौधारा र कुण्ड छन्।
फुल्चोकी पुग्दा मध्यान्ह १२ बजिसकेको थियो। सबै थाकिसकेका र भोकले लखतरान थिए। हाम्रो लागि तीन बराबर आहार भोजन तयार भैसकेको थियो। तीन बराबर भन्नाले एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग काँचो सलाद भन्ने बुझिन्छ। यसरी मिलाएर खाँदा शरीरलाई चाहिने छोक्रा बोक्राको पूर्ति हुन्छ। कब्जियत हुँदैन। परिणाम : शरिर स्वस्थ्य हुन्छ।
खानापछि अन्तरक्रिया र नाचगान गर्यौंद। फुल्चोकी टावरै गुन्जियो नाचगानले। साइकलमा दिपक श्रेष्ठ दाइको समूह पनि फुल्चोकि आएको रहेछ। ललितपुरको छाप डाँडाबाट फुल्चोकी आइपुगेका। साइक्लिङका लागि समेत फुल्चोकी वेस्ट छ।
प्रकृतिको नियम : जति उकालो चढ्यो उति ओरालो झर्नै पर्ने। हामी पनि अघि आएकै बाटो ओरालो झर्यौंछ जहाँ हामीलाई बस कुरिरहेको थियो।
कसरी पुग्ने : काठमाडौं–गोदावरी १५ किमि। लगनखेल बसपार्कबाट गोदावरी पुग्न गाडिमा एक घन्टा। गोदावरीबाट हाइकिङ गर्ने। डाँडा चढ्न ३ घन्टा र ओर्लन २ घन्टा। हाइकिङ दुरी करिब १८ किमि। जीप र मोटरबाइक फुल्चोकीसम्मै पुग्छ। हाइकिङ, बाइकिङ र साइक्लिङका लागि उपयुक्त छ।
प्रकाशित: २२ श्रावण २०७२ २२:४४ शुक्रबार





