६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

शिर उठाउँदै साँखु

वैशाख १२ गते शनिबार साँखु इपाटोलस्थित नानीमयजु मल्लको घरमा सधैंभन्दा बेग्लै रौनक थियो। सासू, श्रीमान्, छोरी–ज्वाइँ र दुई नातिनीहरूको जमघटमा उनको खुसी निकै बढेको थियो। आफन्तसँगै बसेर खाना खाँदै गर्दा एकाएक घटटट–कररर गर्दै धरती काँप्न थाल्यो।७.६ रेक्टर स्केलको भूकम्पलाई कच्ची घरले थेग्नै सकेन। गर्ल्यामगुर्लुम ढल्यो। त्यही घरले किचिएर श्रीमान् हरिशरण, सासू मिश्रीमाया, छोरी ललिता, ज्वाइँ प्रेम अनि सात र तीन वर्षका दुई नातिनीको मृत्यु भयो। नानीमयजु मुस्किलले बाँचिन्।

क्षणभरको कम्पनले आफन्तसँगै सर्वस्व गुमाएकी नानीमयजु त्यसको केही हप्तासम्म बोल्न पनि सकिनन्। चौबीसै घन्टा उनको आँखाबाट शालीनदी बगिरहन्थ्यो।

शनिबार परेकाले बज्रयोगिनी मन्दिर दर्शन गर्न गएका छोरा भने बाँच्न सफल भएका थिए। तिनै छोराको काँधमा टाउको राखेर उनले झन्डै दुई महिना त रोएरै बिताइन्।

एकातिर आँसुको भेल। अर्कोतिर झमझम असारे वर्षा। प्रकृतिले सधैं विपत्मात्रै लिएर आउँदैन, प्रकृतिले बाँच्ने साहस पनि जगाइदिन्छ। सायद, उनले यही सोचिन् र आँसु बगाउन छाडेर झरी छिचोल्दै खेततिर लागिन्। धानको बीउ जुटाइन्, बिस्तारै रोपाइँको चटारो सकाइन्। बल्ल उनको मन केही हल्का भयो। गुमेका आफन्तको पीडामा भुलेकी उनी बाँचेको तिनै छोराको अनुहारमा आफ्नो भविष्य देख्न थालिन्। असारमा छोराको बिहे गराइन्। नयाँ बुहारी भित्रिएपछि अँध्यारो टहरोमै भए पनि आशाको दियो जागेको छ। 'रोएर मात्र कति बस्ने?' टहरोमै आश्रय लिँदै आएकी उनले टाउको केही उठाएर भनिन्, 'अब बाँच्ने मेलोमा जुटेका छांै।'

भूकम्पपछि थला परेको काठमाडौंको उत्तरपूर्वी भेगको व्यापारिक सहरका रूपमा चर्चित ऐतिहासिक, सांस्कृतिक र पुराताŒिवक साँखु बजारले बिस्तारै आफ्नो शिर उठाउँदै छ। सुनसान रहने यहाँका पसलमा बिस्तारै चहलपहल बढ्दै छ। नानीहरू रमाउँदै विद्यालय जान थालेका छन्। महिलाहरू खेतमा धान गोड्नमा व्यस्त छन्। पाटीमा बसेकाहरू भत्केका घर बनाउँदै आफ्नै बासमा फर्कंदै छन्। भूकम्पमा उल्झेको साँखु समयसँगै सुल्भि्कन थालेको छ।

साँखु सुनटोलकी ६२ वर्षीया सानुमैया मानन्धरले चर्खा चलाउन थालेको डेढ दशक भइसक्यो। ज्यालामा स्वेटर बुन्ने काम गर्दै आएकी उनी यही कामबाट गुजारा चलाउँछिन्। भूकम्पले उनको घर पनि बाँकी राखेन। स्वेटर बुन्न बनाइएका तान भताभुंग बनाइदियो। धागाहरू असरल्ल भए।

भूकम्पपछि बेघर भएकी उनी लामो समय पाटीमै बसिन्। घरलाई मर्मत गरे पनि अहिले उनी आफ्नै बासस्थान फर्केकी छिन्। उनी भूकम्पको पीडा भुलेर अहिले तिनै चुँडिएका धागा जोड्न थालेकी छिन्। उनको जीवनले फेरि गति लिन थालेको छ।

'कति एउटै कुरामा अल्भि्करहने?' चुँडिएको धागोलाई जोड्दै गरेकी उनले भनिन्, 'जसरी भए पनि बाँच्नेहरूले त जीवन चलाउनुपर्योै नि।' उनको अहिलेको कमाइले नातिनातिनाको पढाइ खर्च जुट्ने गरेको छ। उनी चर्खा काटेर स्वेटर बुन्छिन्, नातिहरू रमाउदै स्कुल जान थालेका छन्।

भूकम्पको दुई महिनासम्म त राति निदाउनै नसकेको सुनाउँछिन्, उनी। 'आको आयै गर्छ, लामो समयसम्म डरसरि भएर बस्नुपर्योह,' मुखभित्र बाँकी दुई–चार दाँत देखाउँदै उनी हाँसिन्, 'वा मरु, न्ह्लिा चोना (दात नभए पनि हाँसो त छ नि)।'

नानीमयजु र सानुमैयाले जस्तै यहाँका धेरै भूकम्पपीडितले नयाँ जीवनको सुरुवात गर्दै छन्। युवाहरू पौरख बजाइरहेका छन्। महिलाहरू धान–चामल पुरिए फेरि पनि त फल्छ भन्दै खेतमा पाखुरी घोटिरहेका छन्। बूढापाकाहरू दुःख सधैं रहँदैन भन्ने अनुभव बाँड्दै युवापुस्तालाई बाँच्ने हौसला दिइरहेका छन्।

साँखु सुनटोलका ४४ वर्षीय श्याम मानन्धर भूकम्पको समयमा अपांगता भएका दुई छोराका साथ घरमै थिए। एक्कासि आएको धक्काले उनलाई ठाउँको ठाउँ पुरिहाल्यो। आधा घन्टापछि उनले आफूलाई थिचेको माटो र काठलाई हटाउँदै बाहिर निस्किए। त्यसपछि छोराहरूलाई निकाले। धन्न उनीहरू बाँचे। त्यसयता उनीहरूको बास नै नजिकको पाटीमा बन्यो।

यति बेला उनी आफ्ना दुई दाजुभाइको सहयोगले भत्किएको घर उठाउँदै छन्। 'अरूको भर परे कहिले–कहिले,' उनमा आशा पलाएको छ, 'आफन्तको सहयोगले घर बनिरहेको छ। जतिसुकै आपत परे पनि ओत लाग्ने छानो त लगाउनैपर्योछ नि।'

अहिले साँखुका बासिन्दा वैशाख १२ अघिका दिनजस्तै नियमित काममा लागिसकेका छन्। राख्ने ठाउँ नभए पनि आबु भिœयाएका छन्। धानको बीउ घरभित्रै पुरिए पनि बाहिरबाट जुटाएरै रोपाइँ गरे। पीडाको क्षणमा उनीहरूले सक्दो आँसु बगाए, अहिले परिश्रम गर्दै पसिना बगाइरहेका छन्। उनीहरूले बुझेका छन्— आँसुले कमजोर बनाउँछ, पसिनाले जिउने शक्ति दिन्छ।

भूकम्पले घर भत्काएपछि जस्ताको टहरोमा बस्दै आएकी लक्ष्मी मल्ल त बुधबार तरतरी पसिना चुहाउँदै मकै गोड्न व्यस्त थिइन्। बारीमा अन्य आश्रितले टहरो बनाएका कारण धान र मकै ढिलो रोपे पनि अहिले बाली सप्रेर आएको उनले बताइन्। 'अब हामी त खेतीपातीमा लागेका छांै,' उनले भनिन्, 'धान पुरिएर घरभित्रै पालइसकेको थियो। कताकताबाट जुटाएर रोपाइँ पनि सक्यौं। राम्रै फल्ला।' उनीसँगै रहेकी मायालक्ष्मीले काममा फर्कंदा मनको डर हटेको सुनाइन्। 'चुप लागेर बस्दा मात्रै मनमा कुरा खेल्दो रहेछ, डर लाग्दो रहेछ,' उनले भनिन्, 'साथीसंगीसँगै माटोसँग रमाउँदै खेल्दा जमिन हल्लेको पत्तो पाइँदो रहेनछ।'

साँखु पुरानो सहर पनि हो। भूकम्पका कारण शंकरापुर नगरपालिका क्षेत्रमा मात्रै करिब छ हजार घर ध्वस्त भएका छन्। सर्वसाधारण यही भग्नावशेषमा उभिएर नयाँ घर निर्माणमा जुटेका छन्। वैशाखयता सुस्ताएको यहाँको व्यापार–व्यवसायमा बिस्तारै चहलपहल बढेको छ। चिया पसलमा टोलबासी जम्मा हुन थालेका छन्। कपडा पसलमा सर्वसाधारण देखापर्न थालेका छन्। भाँडा पसलको कारोबार बढेको छ। 'गाग्री, फोसी, कुकर, थाल र बाटाहरू पहिलेजस्तै बिक्न थालिसके,' भाँडा पसले मन्दिरा बानियाँले भनिन्, 'ठप्प नै थियो व्यापार, अब कारोबार सुरु हुन थालेको छ।'

भूकम्पमा डराएका नानीहरूको अनुहारमा चमक देखिन थालेको छ। उनीहरू रमाउँदै साथीहरूसँग खेल्न पाउँदा दंग छन्। कोलाहलमय भएको भग्नावशेष आसपास अहिले केटाकेटीहरूको हाँसो गुन्जिन थालेको छ। कक्षा पाँचमा पढ्ने रुबिया श्रेष्ठले सुरुमा विद्यालयमा डर लागे पनि अहिले रमाइलो लाग्न थालेको सुनाइन्। 'साथीहरूसँग रमाउँदा सबै कुरा बिर्सन थालेका छांै,' उनले भनिन्।

भूकम्पपछि बिदेसिएका युवाहरू गाउँ फर्केका छन्। उनीहरूको आगमनले त झन् परिवारमा नयाँ आशा भित्रिएको। धेरैजसो युवा अब यहीँ बसेर काम गर्ने योजनामा छन्। 'भूकम्पले घर भत्काइदियो। अब यहीँ बस्ने हो,' भूकम्पपछि दुबईबाट फर्केका विकेश डंगोलले भने, 'यहीँ पसिना बगाएर नयाँ घर बनाउनुपर्छ।'

भूकम्पबाट शंकरापुर नगरपालिकामा एक सय १५ व्यक्तिले ज्यान गुमाएका छन्। साँखुको मुख्य क्षेत्रमा मात्रै ४५ जनाको मृत्यु भएको नगरपालिकासँग तथ्यांक छ। सयौं घर भत्केका छन्।

नयाँ आशा र आत्मविश्वास बोकेर अगाडि बढेका साँखुका सर्वसाधारण सरकारले नहेरेको गुनासो गर्छन्। जस्ता किन्नका लागि १५ हजार दिनेबाहेक अरू केही नगरेको अधिकांशको भनाइ सुनिन्छ। सरकारले केही सहयोग गर्दिए नयाँ जीवन जिउन सहज हुने उनीहरू बताइरहेका छन्।

साँखु पुनर्निर्माण समितिका अध्यक्ष सुरेश प्रधान स्थानीयको अनुहारमा मुस्कान देखिए पनि यहाँको समस्या भने बाँकी नै रहेको बताउँछन्। भग्नावशेषहरू हटाउन बाँकी रहेकाले थुप्रै मानिस घर फर्कन नसकेको उनको भनाइ छ। 'हामी दुःखमा पनि हाँस्न सक्ने रहेछौं,' उनले भने, 'तर, धेरै समस्याको समाधान हुने समय लाग्छ नै।'

सरकारी निकायले खासै चासो नदेखाएका कारण साँखुका टोलवासी, सामाजिक संघसस्था र राजनीतिक दल मिलेर समिति निर्माण गरेको उनले सुनाए। 'हामीले सर्वसाधारणले गर्नुपर्ने काम, नगरपालिकाले गर्नुपर्ने र केन्द्रीय तहले गर्नुपर्ने जिम्मेवारी तोकेका छांै,' उनले भने, 'त्यहीअनुसार कामको बाँडफाँट गरे अगाडि बढिरहेका छौं।'

साँखुका सर्वसाधारणको मुख्य पेसा कृषि र व्यापार नै हो। सरकारले जीविकोपार्जनका लागि यी क्षेत्रमा विशेष सहयोग गर्न स्थानीयहरूले माग गरेका छन्।

'आफन्त र घर सबै गुमाएका छौं,' परिवारका छ सदस्य गुमाएकी नानीमयजुले भनिन्, 'सरकारले घर बनाउन सहयोग गर्दिए, धेरै राम्रो हुने थियो।'

यही सहरकी राज्यलक्ष्मी मानन्धरको चारतले घरको माथिल्लो तलामा भूकम्पले क्षति पुर्यानएको छ। सामान्य क्षति भएपनि जिन्दगी बचेकोमा उनी निक्कै खुसी छिन्।। 'भूकम्पमा जोगिएर हामीले नयाँ जीवन पाएका छौं,' उनले भनिन्, 'अब आफूलाई र गाउँसमाजलाई हुने नयाँ काम गर्नुपर्छ।'

प्रकाशित: १५ श्रावण २०७२ २२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App