इसब खाना पकाउँदै गरको ठाउँमा उसका दाजु जेकप भोकले आक्रान्त भएर पुगे र भने, 'भाइ, मलाई केही खान देऊ।'
इसाबले भने, 'दिन त दिऊँला, तर तिमीले आफ्नो पुस्तैनी अंश मलाई छाड्दिनुपर्छ।'
'भाइ, यसै पनि म मर्नै आँटेको छु, भोकले। मेरो अंशको मलाई के काम? त्यो तिम्रो हो। मलाई केही खान देऊ,' जेकपको जवाफ थियो।
तैपनि इसबले वाचा–कसम गराएरै छाडे, र अंश हत्याए। त्यसपछि मात्रै उनले दाजुलाई खाना ख्वाए। जेकबले भोकको अगाडि अंशको पनि कुनै महत्ता देखेनन्।
भोक इतिहास र साहित्यको यस्तै एउटा जब्बर विषय हो। सोफोकल्से ऐजियन सागरमा सुने भोकको रोदन। कुब्ला खाँको आलिसान दरबार वरिपरि गुन्जन्थ्यो भोकको आर्तनाद। आदि–सृष्टि नाश हुने बेला, प्राण धान्नकै लागि एक ऋषिले सुँगुरको मासु खाए। विल्हेम ग्रिमले संकलन गरेका अधिकांश मध्ययुगीन दन्त्यकथाको अन्तर्वस्तु भोक हो। चेखबको 'द बेग्गर', टेगोरको 'द होम कमिङ्', जयन्ता महापात्रको 'हङ्गर', जामिल अहमदको 'द वन्डरिङ् फेल्कोन', चार्स डिकेन्सका 'ग्रेट एक्स्पेक्टेशन' र 'ओलिभर टि्वस्ट', फ्रान्ज काफ्काको 'द हङ्गर आर्टिस्ट' सुजेन कोलिन्सको 'हङ्गर गेम', सरत कुमार चक्रवर्तीको 'द ड्रट एन्ड अदर स्टोरिज' गोविन्दबहादुर मल्ल गोठालेको 'भोको घर' आदि भोकलाई विषय बनाइएर लेखिएका केही प्रसिद्ध रचना हुन्।
नेपाली भोक–वाङ्मयका एउटा बुलन्द इँटा थपेको छ, हरिहर तिमिल्सिनाको पछिल्लो काव्यकृति 'गाउँ हराएको साँझ'ले। ५८ थान कविता सगृहीत यस कृतिका कविताको विषय, व्याप्ति, आयतन र परिमिति निकै व्यापक भए पनि धेरैजसो कविता मान्छेका आधारभूत समस्याहरूमाथि निर्मित भएको हुँदा तिनीहरू प्रत्यक्ष वा परोक्ष भोककै वरिपरि बुनिएका शब्द–बान्कीहरू हुन्।
समाज र मानवीय अन्तरसम्बन्धबाटै टिपिएका हुनाले हरिहरका कविताका विषयवस्तु आदर्शवादी र स्वैरकल्पनाको संसारबाट आउने अतिशय रुमानी कविताभन्दा निकै भिन्न छन्। सुन्दर गीत लेख्नमा खप्पिस हरिहरले जनजिब्रोको शब्दलालित्य र सरलतालाई टिपेर आफ्नो काव्यशिल्प निर्माण गरेका छन्। भोक र भोकसँग नजिकको सम्बन्ध राख्ने विषयवस्तु— आक्रोश, सत्ताविरोध, अन्याय र अत्याचारभाथि हमला, मान्छेभित्रको पाशविक प्रवृतिमाथि प्रहार, बढ्दो भूमण्डलीकरण र सहरीकरण, त्रासद समयको मनोवैज्ञानिक कुप्रभाव र खस्कँदो मानवीय मूल्यप्रतिको खिन्नता कविताका प्रमुख स्वरहरू हुन्। स्पष्ट प्रगतिशील चेतना बोकेका यी कविता गुम्दै गरेको स्वतन्त्रता, गाउँमा सहरीकरणको बढ्दो प्रकोप, निष्ठुर सन्तानहरूले बाआमालाई गरेको दुर्व्यवहार, अन्धविश्वास र आयातित विचारहरूको बिगबिगीप्रति पनि निकै रुष्ट देखिन्छन्। केही निजी विषय, जस्तोः बढ्दो उमेर र खुम्चँदो समय, अतीतको मृदु सम्झना र परपीडाबोध पनि यस संग्रहले समेटेको विषयवस्तुहरू हुन्।
भोक र मान्छेका नैसर्गिक यथार्थको बुनियादमा उभिएका हरिहरका कविताले सूक्तिजस्ता लाग्ने अत्यन्त बलिया तर्क र अभिव्यक्तिका कारण लोकप्रिय गीतका स्थायीजस्ता गरिहो छाप छोड्न सक्ने ल्याकत बोकेका छन्।
'दुःखले मारेपछि मेरो प्रेम अमर भयो' (१), 'सहरमा हल्ला नहुनु खतारोका सूचको हो' (११) , 'घृणा गर्न थालेपछि मैले मेरो प्रेमको शक्ति थाहा पाएँ' (१५), 'तिमीले हेर्दाहेर्दै मेरा आँखा उडे र चरा भए' (२२), 'भ्रम छ दुखियाँलाई सर्पले काँचुली फेर्छ, तर मान्छेबाटै सिकेको हो सर्पले काँचुली फेर्न' (५०), 'आफैं जन्मिन नसक्ने रहिछन्, आमालाई जन्माउने त उनका सन्तान पो रहेछन्' (५३) र 'यो देशका लागि गृहकार्य गर्नुपर्नेचाहिँ सानाले मात्रै हो?' (८९) जस्ता शक्तिशाली हरफहरू छन्। उनको काव्यिक उत्कर्षको एउटा नमुना यो पनि हुन सक्छ—
आफ्नो बैंसजस्तो
फक्रिन लागेको सूर्यमूखी फूललाई थालीमा बोकेर
सुरक्षित भविष्यको आशीर्वाद लिन
मन्दिर पुगेकी किशोरीलाई
मूर्तिले बलात्कार गर्योव।
(पृ. ७५)
हरिहरको यो पहिलो कविता संग्रह हो। यस संग्रहले दिने जश र यशलाई जोगाइराख्न हरिहरले आफ्नो अभिव्यक्ति र सम्प्रेषण कलामा अझ निखार ल्याउनु जरुरी त देखिन्छ नै। उनको कवितामा राजनीतिले अविधात्म घुसपैठ गरिरहेको हुन्छ, जसलाई न्युनीकरण गर्नु, कि त व्यञ्जनात्मक कलेवर दिनु जरुरी हुन जान्छ। 'झन्डाको रातो अर्थ थाहा छ तिमीलाई?' जस्ता हरफहरूले झन्डाको बहुअर्थी सामर्थ्यलाई खुम्च्याइदिएको भान हुन्छ, जो एक उदाहरणमात्र हो। संग्रहका अन्य कवितामा पनि राजनीतिले अर्थ खुम्च्याएको देखिएको छ। 'यात्रामा छुटेको जिन्दगी' शीर्षकको कवितामा उनले केटा साथीलाई पनि 'सखी' भन्दिनाले भाषिक बेमेल हुन गएको छ। अधिकांश कविता चलनचल्तीकै विषय अर्थात् भोक, राजनीतिक कुसंस्कार, अन्याय र वर्गभेदका कविता भएका हुँदा कथ्यमा एउटा निजी नवीनता स्थापित गर्नुपर्ने चुनौती पनि कविका अगाडि भएकै भान हुन्छ। थुप्रै कविताका कतिपय हरफ अनावश्यक लाग्छन्, जसलाई हटाउँदा कविताको घनत्व बढ्नेछ। उदाहरणका लागि 'गाई र उत्तराधुनिक चितुवा' शीर्षकको कवितामा एउटा सिंगै अनुच्छेद आवश्यक छ जस्तो लाग्दैन, जसमा कवि लेख्छन्—
गाईले दूध दिन्छ
चितुवाले दूध दिँदैन
गाईले चितुवा मार्दैन
चितुवाले गाई मार्छ
गाईले मासु खाँदैन
चितुवाले मासु खान्छ।
(पृ. ११८)
हरिहरसँग लोकभाष्यको बलियो सञ्चयन र हृदयको एक संवेदनशील झंकार छ। जीवनका अनुभवहरूले नै उनलाई मान्छेका विविध आयामहरूसँग परिचित गराएको छ। यो एउटा बलियो काव्ययात्राका लागि उनको सम्भावनाको प्रत्याभूति हो। कविहरूका भिडमा उनले यी बलिया सम्भावनालाई कसरी पृथक र विशिष्ट राजमार्गबाट डोर्यााउँछन्, त्यो समयले नै देखाउनेछ।
कृति : कविता
लेखक : हरिहर तिमिल्सिना
प्रकाशकः शब्दहार क्रिएसन्स
पृष्ठ : १२३, मूल्य : २००/-
प्रकाशित: १५ श्रावण २०७२ २२:२३ शुक्रबार





