१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

रोल्पा कि गजुलकोट !

नेपालको इतिहासमा सबैभन्दा कम उल्लेख भएको बाइसीराज्य मध्ये गजुलकोट पनि पर्छ। यसको स्थापना विसं १५०५ तिर भएको मानिन्छ। विसं १८४३ मा नेपाल एकीकरण हुने क्रममा गजुलकोटका राजा गजिन्द्र पाल सिनले दामोदर पाँडे नेतृत्वमा गएको टोलीले अत्याधुनिक हतियार भएको गोर्खाली सैनिकसँग खुकुरी, तरबार, धनुष, घुँएत्रो, गुलेलीलगायत हतियारबाट स्वतन्त्रता कायम राख्न नखोजेका होइनन्। तर झरालु सैनिकका भरमा करिब पाँच सय जनाको गोर्खाली पेसावाल तथा अत्याधुनिक शस्त्र लिएका सैनिकसँग लड्नु सम्भव थिएन। फलस्वरूप विसं १८४३ कात्तिकमा गजुलकोट राजाको छत्रभंग भयो।

नेपालमा एकीकरण भइसकेपछि गजुलकोट राज्य चीर निद्रामा सुतेको अवस्था रह्यो। तत्कालीन विदेशीले बाइसी राज्यको सूची बनाउँदा यसको नामोच्चारण आफ्नै हिसाबले गरे, तर यसको विस्तृत अध्ययन गर्ने प्रयास गरेनन्। इतिहासविद् प्राध्यापाकद्वय सूर्यमणि अधिकारी र राजाराम सुवेदीले यस राज्यबारे केही केलाउने प्रयास गरेका छन्।

गजुलकोट रोल्पा जिल्लाको गजुल गाविसको नामले चिनिन्छ। हालका करिब ३८ गाविस तथा सदरमुकाम लिवाङ पनि यसै राज्यअन्तर्गत पर्थ्यो। त्यस बेला यसको आबादी करिब दुई हजार घरधुरी रहेको मानिन्छ।

लिवाङदेखि पूर्व २२ किलोमिटर दुरीमा पर्छ, गजुलकोट। व्यापारिक केन्द्र सुलिचौरबाट करिब २० किमि दुरी तथा स्वर्गद्वारी जाने बाटो भिंग्रीबाट ५० किमिमा पर्छ। रोल्पाको मिझिङसम्म काठमाडौं, बुटवल, नेपालगन्ज, दाङको घोराही तथा तुलसीपुरसँग पिच बाटोले जोडिएको छ र नियमित बस सेवाबाट पुग्न सकिन्छ। मिझिङदेखि गजुलकोटसम्म १२ किमि कच्ची छ। हिउँदमा सुलिचौर या लिवाङबाट जीप लिएर जान सकिन्छ। हाइकिङप्रेमीका लागि बाटोे आकर्षक छ। करिब तीन घन्टामा मिझिङबाट गजुलकोट पुगिन्छ।

गजुलकोटको मौसम समशीतोष्ण छ। धेरै गर्मी पनि नहुने तथा धेरै जाडो पनि नहुने। गजुल खोलाले सिँचाइ गरेको हुँदा यहाँ धान तथा गहुँ र सिँचाइ नहुने ठाउँमा मकै, जौ, कोदो, दाल दलहन तथा आलु प्रशस्त उत्पादन हुन्छ। मौसमी फलफूल पनि।

नुवाकोट
मिझिङदेखि गजुलकोट जाने बाटोमा नुवाकोट पर्छ। यसको ऐतिहासिक नाम नुवाकोट नभई नयाँकोट थियो। गजुलकोटे राजासँग कुरा नमिल्दा उनकै भाइले दरबार बनाएर 'नयाँकोट' नाम राखिबसेको भनाइ छ। कालान्तरमा नाम परिवर्तन भई नुवाकोट भएको बुझिन्छ। हाल यहाँ मन्दिरको भग्नावशेष छ। दरबारको भग्नावशेष भेटिन्छ।

ठाँटी–चौतारा
सात वटा बाटा जोडिने यस संगमस्थलमा एउटा चौतारी छ। यसलाई ऐतिहासिक रूपमा ठाँटी पनि भनिन्छ। यहाँ ५५ वर्षअघि स्थापना गरिएको शिलालेख छ, जसले गजुलकोट स्थापनाबारे बताउँछ। यो संरक्षणको पर्खाइमा छ। भनिन्छ, गजुलकोटका प्रथम राजा तथा सिनले यही चौतारीमा पगरी फुकाली पिपलको रूखमुनि विश्राम लिएको समयमा स्थानीयले उनलाई गजुलकोटको राजा हुन आग्रह गरेका थिए। त्यसपछि उनी गजुलकोट राज्यका संस्थापक भए। जुन ताम्रपत्र तथा सुवेदी वंशावली उल्लेख छ।

पाटेश्वरी मन्दिर
गजुलकोट दरबार जाने बाटोमा पर्ने मन्दिर ऐतिहासिक महŒवको मानिन्छ। राजा तुथा सिनले विसं १५०९ मा स्थापना गराएको मन्दिर। राजा भइसकेपछि देवी दुर्गाको पूजा गर्न मन्दिर बनाइएको र त्यस बेलादेखि नै वर्षको दुईचोटि असोज र चैतमा दसैं (अष्टमी) का दिन मेला लाग्छ र बलि चढाइन्छ।

विगतमा गजुलकोट राज्य अन्तर्गतका सबै गाउँबाट मन्दिरमा नियमित अन्न, फलफूल तथा बलिका लागि जनावर ल्याइन्थ्यो। तर, 'पञ्चायतीकरण' तथा गाविसकरण भइसकेपछि यो क्रम टुट्दै जाँदा आयस्ता घटी मन्दिर कमजोर अवस्थामा छ।

गजुलकोट दरवार
गजुलकोट टाकुरोमा छ। टाढाबाट हेर्दा ठ्याक्कै गजुरजस्तै देखिन्छ। गजुर आकार भएको टाकुरामा कोट भएकाले गजुलकोट भनिएको। गजुलकोटमा दरबार थियो। दरबारअगाडि चौर छ, जसमा सिपाही परेड खेल्थे। धनुषवाण अभ्यास गर्थे। ठेलो फाल्थे।

भनिन्छ, त्यस बेला दरबारअगाडि निकै ठूलो चौर थियो। पछि भूकम्प र मुसलधारे वर्षाले चारैतिरबाट काट्दै गर्दा सानो टाकुरोमात्र रहन गयो। संरक्षण अभावमा बिग्रँदै गएको छ। त्यस बेला भारतको तुल्सीपुरबाट कालिगड झिकाई इँटा र झिँगटी स्थानीय स्तरमै तयार पारी दरबार बनाइएको थियो। तीनतले दरबारको पहिलो तलामा पूर्वतिर पुरोहित र पूजाका लागि स्थान छुट्याइएको थियो भने पश्चिमतिर पूर्वाभिमुख पारी राजाको आसन। दोस्रो तलालाई बैठककोठा भनिन्थ्यो र सिंहासन पनि त्यहीँ थियो। तेस्रो तला राज परिवारको शयनागार थियो।

१९९० सालको भूकम्पले दरबारलाई क्षति पुर्यातयो। यसको संरचना कमजोर हुँदै गयो र २०२० सालतिर आइपुग्दा–नपुग्दै छाना भत्कियो। चारैतिर घेरिएको काठे बार्दली पनि मक्कियो। स्थानीयको श्रमदानबाट खरको छाना लगाइयो। त्यो पनि धेरै दिन टिकेन। विसं २०३८ मा आएको भूकम्पले दरबार क्षतविक्षत भयो। दरबारका इँटा र समान चोरिए या जमिनमुनि दबे। अतः गजुलकै जनताको श्रमदानबाट विसं ०४२–४३ तिर पुरानो दरबारको भग्नावशेष भत्काई सानो आकारको ढुंगा र माटोको जोडाइ भएको र प्लास्टर गरिएको दुईतले पक्की घर बनाइयो। यही नै हालको गजुलकोटको चिनारी बनेको छ।

पानी पोखरा
गजुलकोटदेखि उत्तर करिब ३० मिनेट पैदल दुरीमा पानी पोखरा भन्ने ठाउँ छ। यस ठाउँमा योद्धाले लडाइँ गरेर फर्केपछि तरबार, खुँडा, खुकुरीजस्ता हतियार धुन्थे। पछिसम्म पोखरीमा घर पाल्तु जनावरलाई पानी पिउन निषेध थियो।

एकीकरणपछि नेपाललाई प्रशासनिक रूपमा बाँड्ने क्रममा प्युठानलाई गौंडा कायम गरी गजुलकोट राज्यलाई बाइसखुवा थुम नामकरण गरिएको बूढापाका बताउँछन्। २२ वटा गाउँबाट धेरै किसिमका वस्तु कूतका रूपमा बुझाइने भएकाले गजुलकोट राज्यको नाम 'बाइसखुवा थुम' नामकरण गरिएको अनुमान छ। राणाकालमा पनि बाइसखुवा नाम प्रचलनमा रह्यो। पञ्चायतकालमा सबै गाउँ 'पञ्चायत' र बहुदल पछि गाविसमा परिणत भए।

यसरी समयको चक्रमा 'गजुलकोट' राज्यका धेरै ऐतिहासिक कुरा समयको गर्भमा पुरिए। पुरातात्विक उत्खनन पनि नभएको अवस्थाका साथै दस्तावेज पनि नभएकाले यसको गरिमा ओझेल परेको छ। अन्य बाइसी र चौबीसी राज्यका बारेमा व्यापक चर्चा र अन्वेषण भए पनि गजुलकोट सदैव उपेक्षित रह्यो।

हाल नेपालका माओवादी भन्नेबित्तिकै रोल्पाको नाम टाँसिन आइपुग्छ, जसले गर्दा ऐतिहासिक 'गजुलकोट' राज्यका सन्दर्भमा कालो दाग लागेको महसुस हुन्छ। जब कि यसको आफ्नै गौरवपूर्ण अतीत छ। इतिहासको एउटा कालखण्डमा स्वतन्त्र राज्य भएर करिब साढे तीन सय बर्ष बाँचेको गजलुकोट अस्तित्वविहीन जस्तै बनाइएको छ। जब कि लामो इतिहास बोकेको हिसाबले रोल्पाको नाम 'गजुलकोट' जिल्ला रहनुपर्ने होे। जाजरकोट, कालिकोट, पाल्पा, मकवानपुर या गोरखाजस्तै। अब यो जिम्मा संघीयताको नामकरण गर्ने पण्डितलाई।

हेरौं, उनीहरूले इतिहासलाई कत्तिको सम्मान गर्छन्!

प्रकाशित: २५ असार २०७२ २१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App