३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

बयान

सुकमायाले एकपटक झ्यालबाहिर हेरी। सुनसान थियो गाउँ। परतिर धान काटिरहेका महिलाहरू भूकम्पलाई विषय बनाएर गीत गाइरहेका थिए। गीतले कुनै उत्साह जगाउँदैनथ्यो। एक प्रकारले नीरस थिए, ती गीत। अघिल्ला वर्षहरूमा गाइने गीत र यसपटकको गीतका विषय फरक थिए। पहिलापहिला मायापिरतीका विषयले गीत भरिएका हुन्थे।तिनमा भरपूर व्यंग्य मिसिएका हुन्थे। कतिपय अवस्थामा ती गीत पुरुषका निम्ति बिझाउने काँडा बन्थे। तिनले केहीबेर नै भए पनि दुःख भुलाउँथे। गीतसँगै छिल्लिन्थे महिलाहरू, मनोरञ्जन गर्थे। तर यसपटक त्यो रौनक थिएन। गीत पुरानै लयमा थियो। त्यही लयमा भुइँचालोको विषय जबर्जस्ती घुसाइदिएका थिए उनीहरूले।

सुकमायाले मनमनै भनी, ...किन गाउँछन् यी आइमाई यो भुइँचालाको गीत?'

प्रहरी चौकीको झ्यालबाट केही नयाँ घर देखिन्थे। नयाँ घर नाममात्रका थिए। जस्तापाताले बारेका र छानो पनि जस्तापाताकै। झ्याल–ढोकाचाहिँ पुरानो। टल्कने जस्तापातामा पुराना काठका झ्यालढोका असाध्यै नसुहाउने देखिन्थे। त्यस गाउँका सबै घर भुइँचालोले भत्काइदिएको थियो। घरवारविहीन गाउँलेलाई सरकारले राहतस्वरूप जस्तापाता दिएको थियो। सुरुका दिनमा टाउको लुकाउन त्रिपाल र खान चाउचाउ–चिउरा दिएको थियो। टाठाबाठाहरूले तीन–चारपटक त्रिपाल लिएका थिए, चिउरा र चाउचाउ त एक वर्षसम्म खानपुग्ने गरी लिएका थिए। जस्तापाता पनि त्यसैगरी आवश्यकताभन्दा बढी लिएका थिए।

अरूले जस्तै सुकमायाले पनि त्रिपाल र जस्तापाता पाएकी थिई। तर एकपटक मात्रै लिएकी थिई। उसले भत्किएको घरको भग्नावशेष पन्छाएर केही काठ निकालेर नयाँ घर बनाएकी थिई। ऊ एक्लैले घर बनाउन कसरी सक्थी र! गोरेबहादुरले उसलाई सघाएको थियो। भुइँचालोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो। कतिपयलाई एक्लो बनाइदिएको थियो। उसको पति हीरा घरभित्रै पुरिएको थियो। निपर्सीपल्ट मात्रै उसको लास सशस्त्र प्रहरीले निकालेको थियो।

होटेल थियो गाउँमा सुकमायाको, घरभन्दा केही पर मान्छेको ओहोरदोहोर बढी हुने ठाउँमा। श्रीमान्–श्रीमती मिलेर झन्डै वर्ष दिनअघिदेखि चलाएको उक्त होटेलमा निकै राम्रो व्यापार थियो। भुइँचालोले होटेलको पनि नामनिसाना राखेको थिएन। भुइँचालो आउँदा सुकमाया होटेलमै थिई। हीरा भने घर गएको थियो। हीराले त्यस दिन बिहानैदेखि रक्सी खाएको थियो। खाली पेटमा रक्सी परेपछि के चाहियो र! ऊ काम गर्न नसक्ने अवस्थामा थियो। त्यसैले १० बजेतिरै सुकमायाले एक जना चिनजानको मान्छेको साथ लगाइदिएर हीरालाई घर पठाइदिएकी थिई। भुइँचालो आउँदा हीरा घरमा मस्त सुतिरहेको थियो।

जमिन अनौठो ढंगमा हल्लन थालेपछि सुकमाया छिँडीमा रहेको होटेलबाट फुत्त बाहिर भागी र बाँची। मध्याह्नको समय भएकाले होटेलमा ग्राहक थिएनन्। उसको आँखाअघिल्तिर नै होटेल जमिनमा मिल्न पुगेको थियो। हुन सक्छ, नशामा रहेको गोरेले भुइँचालो आएको पत्तै पाएन। र, आफ्नै घरले किच्यो उसलाई। उसले मोबाइल निकालेर हीराको नम्बरमा डायल गरी। तर सम्पर्क हुन सकेन। दर्जनौंपटक गरी, तर लागेन फोन। त्यसपछि ऊ कुद्दै घरतिर गई। घर बाँकी थिएन। त्यहाँ उसको घर माटोको ढिस्कोमा परिणत भइसकेको थियो। झ्यालढोका ढिस्को छेडेर बाहिर निस्कन खोजिरहेका थिए। घर भत्किएर धुलो उडिरहेको थियो।

भुइँचालोले सारा बस्ती नै सखाप पारिसकेको थियो। ऊ चिच्याई। हीरालाई बोलाई। कसैले सुनेन। सुन्ने मान्छे नै बाँकी नरहेजस्तो लाग्यो उसलाई। बस्तीमा आफू एक्लै जीवित रहेको हो कि भन्ने लाग्यो।

श्रीमान्को मृत्युले केही दिन त विक्षिप्त नै बनायो सुकमायालाई। तर बिस्तारै आफूलाई सम्हाल्न थाली।

गाउँमा बाँचेका पुरुषमध्ये सबैभन्दा खाइलाग्दो र सहयोगी भावना भएको एकमात्र व्यक्ति सायद गोरे नै थियो। बालबालिका र बूढाबूढी केही बाँचेका थिए। सुकमाया सरकारले दिएको जस्तापाता तानिरहेकी थिई त्यस दिन, अचानक गोरे आएर उसलाई साथ दिएको थियो।

उसको एक्लोपन एक महिनामात्र रह्यो।

...यो पेटचाहिँ कसको हो नि?' टोलाइरहेकी सुकमायामाथि महिला प्रहरीलेे बर्साएको प्रश्न उसलाई बिल्कुलै मन परेको थिएन, ...यो तिम्रो अन्तिम बयान हो। यही बयानका आधारमा तिम्रो सजाय तोकिनेछ।' यो प्रश्नले सुकमायालाई सबैभन्दा बढी घोचेको थियो। तर जवाफ त दिनैपर्थ्यो। नत्र तिनले नराम्ररी कुट्थे।

...कसको हुनु नि, त्यही मुर्दारको हो। गोरे गधाको,' सुकमायाले भुइँतिर हेर्दै जवाफ दिई।

त्यस बेलासम्म पुरुष प्रहरी दायाँबायाँ लागिसकेका थिए।

महिला प्रहरीहरू सुकमायाको जवाफ सुनेर अवाक् भए। तिनीहरूको उत्सुकताको पारो अचानक उकालो लाग्यो। अब तिनलाई सुकमायाले कसरी र किन गोरेको हत्या गरी भनेर सिलसिलेवार ढंगमा सुन्न मन लाग्यो। सुकमायाले आफ्नै पति हीराको पेट हो भन्छे होली भन्ने तिनको अनुमान थियो। तर सोझी गाउँले सुकमायाले आफूलाई ढाँट्न सकिन। त्यो जवाफ उनीहरूको कल्पनाभन्दा बाहिर थियो। हरेकपटकको बयानमा उसले एउटै कुरा दोहोर्या।ई, सत्य खोली।

...सुकमाया तिमी कसरी गोरेको कपटको सिकार बन्यौ? हामी सुन्न चाहन्छौं। तिम्रो बयान हामीलाई चित्तबुझ्दो भएमा सजाय कम पनि हुन सक्छ। त्यसका लागि हामी पहल गर्नेछौं। एक शब्द पनि नढाँटी भन्न सक्छौ?' एउटी महिला प्रहरीले भनी।

प्रहरीले उसलाई एउटा शान्त कोठामा लिएर गए। उसको अघिल्तिर चिसो पानीको बोतल राखिदिए। सुकमायाले एकैपटकमा झन्डै एक मानो पानी खाई। झ्यालबाट आफ्नो घर भएको स्थानतिर हेरी। घर त भुइँचालोले बाँकी राखेको भए पो देखोस्! साँझपखको गोधूलिमा जस्तापाताका घरहरू टल्किरहेका थिए। केही गोठाला गाईबाख्रा धपाउँदै घर फर्किरहेका थिए।

...मैले जीवनमा ढाँट्न कहिल्यै जानिनँ। तपाईंहरूले सोधिहाल्नुभयो म एक शब्द पनि नढाँटी भन्छु। पत्याउनु–नपत्याउनु तपाईंहरूको कुरो।

हीरासँग मेरो बिहा भएको भुइँचालो आएको दिन ठ्याक्कै दुई वर्ष पुग्यो। हामीले वैशाख १२ गते बिहा गरेका थियौं। मलाई ऊ पहिल्यैदेखि मनपर्थ्यो। हामीले एसएलसी एकैपटक दिएका हौं। एसएलसी दिँदा म बीस वर्षकी थिएँ। उसको उमेर पनि त्यस्तै हुँदो हो। दस कक्षासम्म यही गाउँको विद्यालयमा पढेका हौं। मलाई हीरा सात–आठ कक्षा पढ्दादेखि नै मनपर्थ्याे। मैले नै उसलाई प्रेम प्रस्ताव राखेकी हुँ। ऊ अलि लजालु स्वभावको थियो। त्यही स्वभाव मलाई बढी मनपर्थ्यो। उसको नाक थेप्चो थियो, मलाई मनपर्ने। जतिबेला हामी बिहा गर्ने निर्णयमा पुग्यौं, त्यतिबेला हामीले एसएलसी परीक्षा दिएर अनुत्तीर्ण पनि भइसकेका थियौं। ऊ र म दुवै जना अंग्रेजी, हिसाब र विज्ञानमा अनुत्तीर्ण भएका थियौं। त्यसपछि हामी दुवैलाई फेरि एसएलसी दिन मन लागेन। सल्लाह गरेरै पढ्न छाडेका हौं। हामीले भागी विवाह गर्यौंु। परिवारले स्वीकारेन। जात पनि मिल्दैनथ्यो। बाँच्नका निम्ति कमाउनैपर्थ्यो। त्यसैले हामीले होटेल खोल्यौं। मलाई हीराको दुइटा कुरा मन पर्दैनथ्यो। अलि बढी रक्सी खान्थ्यो ऊ। र, बिहा गरेको दुई वर्षसम्म पनि हाम्रो कुनै सन्तान भएको थिएन। सन्तान नहुनुमा मैले सधैं हीरालाई दोष दिएँ। मलाई एउटा सन्तान किन दिएनौ तिमीले भनेर म उसलाई सधैं घोचिरहन्थेँ। तर ऊ हाँसीमात्रै रहन्थ्यो। सन्तान जन्म्यो भने माया बाँडिन्छ भन्थ्यो।

रक्सी कहिलेकाहीँ त म पनि खान्थेँ, तर ऊ दिनहुँ खान्थ्यो— थोरैथोरै। भुइँचालो आएको दिन भने बिहानै खाएछ, मैले नदेख्ने गरी। अलि बढी नै खाएछ।

तर मेरो हीरा साँच्चैको ...हीरा' थियो— मेरो जिन्दगीको चमक। मलाई खुब माया गर्थ्यो। मलाई ...सुख' भन्थ्यो। र, सधैं सुख नै दिएको थियो। उसले मलाई कहिल्यै दुःख दिएन।'

सुकमायाको गला अवरुद्ध भयो। ऊ भक्कानिन थाली। आँखा आँसुले टिलपिलाउन थाले।

छेउमै रहेकी प्रहरी हवल्दार मीराले उसलाई नरुन भनी। आँसु पनि पुछिदिई। र, गोरेको हत्याबारे बताउन भनी।

केही मिनेटमा सुकमाया पुनः बोल्न थाली।

...त्यस दिन म सरकारले दिएको जस्तापाता बोकेर घर बनाउने ठाउँमा पुगेकी मात्र थिएँ। मेरो अघिल्तिर गोरे देखापर्योद। गाउँमा सबै आ–आफ्नो घर बनाउन व्यस्त थिए। घर त मेरो पनि बनाउनुपर्ने थियो। तर एक्लै कसरी बनाउने होला भनी म चिन्तित भएकी थिएँ। त्यहीबेला गोरे आफ्नो अघिल्तिर देख्दा मलाई निकै भरको महसुस भएको थियो। मैले उचालिरहेको जस्ता उसले उचालिदियो। घर बनाउन सघाउने वचन पनि दियो उसले। त्यहीबेला मेरो हात र उसको हात ठोक्किन पुग्यो। हामी दुवै एकछिन रोकियौं।

गोरे पनि हाम्रै गाउँको ठिटो थियो। पाँच कक्षासम्म एउटै विद्यालयमा पढेका हौं। पछि उसले पढ्न छाड्यो। उसको उमेर पनि अलि छिप्पिइसकेको थियो। सोही कारण पनि हुन सक्छ उसले पढ्न छाडेको। केही वर्षपछि ऊ काम गर्न भारततिर गएको सुनेकी थिएँ। कहिले नेपाल फर्कियो थाहा भएन। तर जब हामीले होटेल खोल्यौं, ऊ हाम्रो नियमित ग्राहकजस्तै बन्यो। एउटा विश्वासिलो ग्राहक थियो ऊ, कहिल्यै उधारो नखाने। गाउँमा उधारो नखाने कोही थिएन। तर ऊ सधैं नगद तिरेर खान्थ्यो। पैसा कहाँबाट ल्याउँथ्यो, उसले के काम गर्थ्यो मलाई थाहा थिएन।

भुइँचालो आएको केही दिनपछि सरकारले दिएको त्रिपाल हाल्न पनि उसले मलाई सघाएको थियो। तर जस्तापाताको घर बनाउन ऊ नहुँदो हो त म एक्लै कसरी सक्थेँ हुँला र! घर बन्न झन्डै दुई दिन लाग्यो। जुन दिन घरको छानो हालियो, घर तयार भयो— मैले उसको अनुहारमा नियालेर हेरेँ। ऊ असाध्यै खुसी देखिन्थ्यो। उसको अनुहारमा छाएको खुसी देखेर मलाई पनि निकै आनन्द लागेको थियो।

भुइँचालोले भत्काएको घरबाट काठ निकाल्न र त्यहाँ भएका केही सामान तथा पैसा निकाल्न पनि मलाई उसले सघाएको थियो। केही पैसा होटेलमा पनि राखेकी थिएँ मैले। त्यो खोज्न पनि उसैले सघाएको थियो। गोरेप्रतिको मेरो विश्वास अब सीमातीत भइसकेको थियो। हामीले मिलेर पैसा गन्यौं। झन्डै डेढ लाख रुपैयाँ रहेछ। अलिअलि सुन पनि थियो। त्यो तीन तोलाजति रहेको गोरेले अनुमान गर्यो । सुनका गहना मलाई हीराले बनाइदिएको थियो। सुन लगाउने रहर मलाई खासै थिएन। तर पनि कहिलेकाहीँ अप्ठेरोमा काम लाग्छ भन्दै हीराले किनिदिएको थियो बजारमा, मलाई पनि सँगै लगेर। उसैको कर र अनुरोधमा चाडपर्वमा म त्यो सुन लगाउँथेँ।

एक दिन साँझ मलाई गोरेले आफ्ना कुरा सुन्न अनुरोध गर्योि। आफू जिन्दगीमा साह्रै दुःखी रहेको बतायो। घरपरिवारले पनि आफूलाई केही नदिई निकालिदिएको बतायो। मलाई उसले आफू बिहा नगरी एक्लै बसेको बतायो। मैले हीरालाई मन पराएकोमा आफूलाई खुबै चित्त दुःखेको र सोही कारण बिहा नगरेको उसले रहस्य खोल्यो। यो वाक्यले मेरो भित्री मनको तहसम्म हल्लाइदिएको थियो। म उसलाई स्कुल पढ्दादेखि नै मन पर्थें रे! यति भनिरहँदा उसले मेरो हात च्याप्प समातिसकेको थियो। मैले उसको हात फुत्काउन सकिन वा चाहिन, त्यो म भन्न सक्दिनँ। तर कताकता मलाई ऊ बलियो सहारा लाग्न थालेको थियो। म उसको अलि चुच्चो नाक हेरिरहेकी थिएँ। हेर्दाहेर्दै त्यो नाक थेप्चो भएको थियो— हीराको जस्तै।

रात छिप्पिँदै थियो। मैले उसलाई यहाँ नबस भन्न पनि सकिनँ। त्यो रात हामी गफ गर्दागर्दै निदायौं। अलिअलि रक्सी दुवैले खाएका थियौं। बिहान उठ्दा गोरे त्यहाँ थिएन। कतै गयो होला भन्ने लाग्यो। त्यस बिहान मेरो जिउ चंगाजस्तो भएको थियो। मलाई उडूँउडूँ–नाचूँनाचूँ लागेको थियो। बिहान सुनौलो बनेर अघिल्तिर तेर्सिएको थियो। मैले भुइँचालोको त्रास र जीवनमा आइपरेका सारा दुःखको अन्त्य भएको महसुस गरेकी थिएँ। सायद हीरा नहुनुको पीडा पनि बिर्सिएकी थिएँ। अचानक आज किन यस्तो भयो! म छक्क परेकी थिएँ।

घर वरिपरि सफासुग्घर गर्ने, भुइँचालोले भत्काएको घरमा काम लाग्ने सामान केही छन् कि भनी खोज्ने लगायतका काम गर्दागर्दै दिन बित्यो। चिसो साँझ जब सुरु हुन थाल्यो, मैले गोरेलाई सम्झेँ। सम्झेको के थिएँ, ऊ टुप्लुक्क ढोकामा देखापर्योु।

अब जिन्दगीले अर्कै बाटो समातेको थियो। जिन्दगी एउटा नयाँ लय समाउन तयार भएको थियो।

गोरे र मैले सँगै जिउने वाचा गरिसकेका थियौं। केही समयपछि उसैगरी होटेल चलाउने र जिन्दगीको गाडी अघि बढाउने सम्झौता हामीबीच भएको थियो। म ऊप्रति पूरै समर्पित भइसकेकी थिएँ। र, हीरासँग मैले माफी पनि मागिसकेकी थिएँ। एक रात सपनीमा आएर मेरो हीराले मलाई माफ पनि दिएको थियो। ...तिम्रो सुखका लागि म जे पनि सहन तयार छु मेरी सुख' उसले मसँग भनेको थियो। त्यसपछि त म गोरेमा हीरा देख्न थालेकी थिएँ। उसको चुच्चो नाक हीराको जस्तै थेप्चो र सुन्दर देख्न थालेकी थिएँ।

तर मेरो जिन्दगीको गाडी एकै महिनामा अग्लो पहाडबाट तल भीरमा गुल्टियो।

त्यस दिन हामीले अघिपछि भन्दा अलि चाँडै भात खाएका थियौं। मलाई अलि बढी रक्सी खान उक्साइरहेको थियो गोरे। ऊ कतै बाहिरै खाएर आएको रहेछ। हामी सुखद भविष्यको कुरा गरिरहेका थियौं। म निकै भावुक भएकी थिएँ, त्यस दिन। म उसको काखमा पल्टिएकी थिएँ, इन्द्रेणी भविष्यको कल्पना गर्दै। ऊ मेरो कपाल मुसारिरहेको थियो। ऊ मलाई माया गरेर रक्सी खुवाइरहेको थियो। उसले कति खायो मलाई थाहा भएन।

अचानक राति मेरो निद्रा खुल्यो। कोठामा सर्या कसुरुक आवाज आइरहेको थियो। मैले टर्च बालेर हेरेँ। गोरे पैसा र सुन पोको पारिरहेको थियो। म ओछ्यानबाट जुरुक्क उठेँ र उसको हात समातेर सोधेँ— तिमीले के गरेको गोरे यस्तो? ऊ मेरो हात फुत्काएर भाग्न खोज्यो। मलाई तथानाम गाली गर्यो— उसले। मैले त्यसो नगर्न अनुरोध गरेँ। जिन्दगी लामो बाँकी रहेको र पैसा कमाउन सकिने बताएर उसलाई फकाउन खोजेँ। ऊ जसरी हुन्छ पैसा र सुन बोकेर भाग्न खोजिरहेको थियो। म ढोकामा गएर उभिएँ। उसले मलाई लछारपछार पारेर भाग्ने प्रयास गर्योग। त्यसपछि मैले घर बनाउन प्रयोग गरेको ठूलो घन उचालेर गोरेको टाउकामा हानिदिएँ। ऊ त्यहीँ फुत्रुक्क ढल्यो। केहीबेर त मैले उसलाई उठाउन पनि खोजेँ। पानी छम्किएँ, उसको मुखमा पानी हालिदिएँ। तर ऊ उठेन। एक शब्द पनि बोलेन। केही घन्टा त अब के गर्ने होला भनेर म त्यसै टोलाएर बसेँ। जब मिर्मिरे बिहान भयो त्यसपछि मैले प्रहरीमा आफंै गएर खबर गरेँ।'

बयान लिन बसेका प्रहरीहरूलाई सुकमायाको दर्दनाक घटनाले झस्काइदिएको थियो। उनीहरूमा सुकमायाप्रति अलिकति पनि शंका थिएन। आफ्नो जीवनरक्षाका निम्ति सुकमायाले गोरेमाथि आक्रमण गरेकी थिई भन्ने कुरामा उनीहरू विश्वस्त थिए। उनीहरूले सुकमायालाई सकेसम्म कम जेल सजाय दिन लेखिपठाउने निर्णय गरे।

जेलमा सुकमायाले छोरो जन्माई। छोरोको अनुहार गोरेको जस्तो कुनै पनि कोणबाट थिएन, त्यो त हीराजस्तो थियो। त्यो नवजातको नाक थेप्चो थियो— काटीकुटी हीराको जस्तो।

प्रकाशित: १८ असार २०७२ २०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App