
तर, यो पहिलो पटक भने थिएन। हामीले पहिला पनि विपत्ति र संकटको घडीमा सञ्चारमाध्यमहरू संवेदनहीन हुने गरेको देखेका छौँ। मानवीयताको समान्य कडीलाई पनि कुल्चँदै समाचार कभरेज गर्ने नाममा उनीहरू विपत्ति परेको ठाउँमा यसरी झम्टिन पुग्छन्, मानौँ चिल र कौवा मासुको टुक्रामा झम्टिरहेका होऊन्। भारतीय सञ्चारमाध्यम यसलाई अर्थात् महाविपत्तिको समयलाई आफ्ना लागि आयोजन गरिएको कुनै समारोह ठानेर अत्यधिक सक्रिय हुने गरेका छन्। प्रिन्टको तुलनामा इलेक्ट्रोनिक मिडियामा यो रोग बढी छ। टीआरपी बढाउने होडले उसलाई निर्मम बनाइदिन्छ र अन्य च्यानलहरूभन्दा अगाडि देखिन उसले पत्रकारिताका न्यूनतम मापदण्ड पनि बिर्सने गर्छ। उत्तराखण्डमा आएको भीषण बाढीको बेलामा पनि हामीले यस्तै देखेका थियौँ। मानिसहरू राहत र उद्धारका लागि चिच्याउँदै थिए भने पत्रकारहरू सेनाको विमानमा सवार हुनका लागि लड्न र मर्न तयार थिए। उनीहरूलाई अप्ठेरोमा परेका मानिसलाई बचाउने र उनीहरूसम्म राहत पुर्यावउने कुरा महŒवपूर्ण हो, न कि टीभीमा धारावाहिक रुपमा त्रासदीका ती दृश्य देखाएर रहस्य–रोमाञ्च पैदा गर्ने बेला हो भन्ने कुराको अलिकति पनि हेक्का भएन। ती धारावाहिक दृश्यहरू मानवीय यातनाले भरिएका हुने गर्थे। उनीहरू यति निर्लज्ज भइसकेका छन् कि बारम्बार दुत्कारिँदा, सुधि्रन आग्रह गर्दा पनि जसै नयाँ त्रासदी अगाडी आउँछ, उनीहरू पहिलाकै शैलीमा अवतरित हुन्छन्। उनीहरू यसलाई आईपीएल अथवा कुनै सुपरस्टारको फिल्म रिलिज हुन लागेको अवसरलाई जस्तै जामा पहिर्यातउन लागिपर्छन्। यसबीच उनीहरूले लाइभ कभरेजको सर–सामान (इक्युपमेन्ट)मा पनि वृद्धि गरिसकेका छन् र पत्रकारहरूलाई कैयाँै समूहमा विभाजन गरेर सेनाले जस्तै दुर्घटनाग्रस्त स्थानमा झार्ने गर्छन्। त्यसपछि यिनीहरूको व्यवहार पनि सेनाको जस्तै हुने गर्छ। मानवीय संवेदनालाई पाखा लगाएर उनीहरू त्यसपछि ब्रेकिङ र एक्सक्लुसिभ न्युजको खोजीमा लाग्छन्। किनकि, त्यसैले उनीहरू र उनीहरूको च्यानललाई अगाडि लैजान्छ। यस्तोमा सूचनालाई आफू अनुकूल तोडमोड गर्ने र बढाइचढाइ गरेर देखाउने कुरालाई एउटा सामान्य परिघटना मान्न थालिन्छ।
नेपालमा हामीले यसलाई देाहर्यामइएको नै देखेका छौँ। एउटा च्यानलले एक दर्जन पत्रकार काठमाडौँमा ओराल्छ र सुरक्षित स्थानमा उभिएर पत्रकारले वीरता प्रदर्शन गर्न थाल्छ। तिनका यी हर्कतले उद्धार तथा राहत कार्यमा बाधा पुग्न थाल्यो। तर, यसले उनीहरूलाई केही फरक परेन। भारतीय पत्रकार सेनाका अधिकारीहरूसँग यस आधारमा लडेको देखियो कि समाचार पुर्यापउनु उनीहरूको अधिकार हो। उनीहरूको यस्तो विवेकमा हाँस्न पनि सकिन्छ। जब हजारौँ मानिस जीवन र मृत्युको दोसाँधमा छन्, त्यसबेला कुन कुरालाई प्राथमिकता दिनुपर्ने हुन्छ? यहाँ अर्को के कुरामा पनि हामीले ध्यान दिनुपर्छ भने भारतीय सञ्चारमाध्यमद्वारा सम्प्रेषित समाचारको विषयमा नेपालीहरू मात्र क्षुब्ध थिएनन्, भारतीय दर्शकले पनि न्युज च्यानलहरूले अति गरे भन्ने प्रतिक्रिया दिइरहेका थिए। दुःखको कुरा के छ भने यी अतिहरू बारम्बार भइ नै रहेका छन्। तर, भारतीय सञ्चारमाध्यम भने 'हामी कहिल्यै सुधि्रदैनौँ' भन्ने शैलीमा आफ्नो मूर्खता र धूर्तता प्रर्दशन गरि नै रहेको छ।
स्वयंसिद्ध कुरा के हो भने सञ्चारमाध्यम सूचनाहरूको आदान–प्रदान या जनमत निर्माणको माध्यम मात्र होइन। यो मुलुकको छवि निर्माणको सशक्त हतियार पनि हो। उसले आफ्नो सामग्री र त्यसको प्रस्तुतीकरणको शैलीले कुनै पनि मुलुकको राम्रो र नराम्रो छविको निर्माण गर्ने गर्छ र त्यसैलाई समग्र विश्वमा प्रक्षेपित गर्ने गरिन्छ। अमेरिका, युरोपजस्ता परम शक्तिशाली मुलुकदेखि अफ्रिका तथा एसियाका विपन्न राष्ट्रसम्मको जुन छवि हाम्रो मन–मस्तिष्कमा अंकित छ, त्यसलाई मूलतः मिडियाले नै स्थापित गरिदिएको हो। अधिकांशतः यसरी निर्माण गरिएका छवि वास्तविकताभन्दा पर हुन्छन् र निहित स्वार्थले प्रेरित भएर निर्माण गरिन्छन्। छवि निर्माणको यो काम उनीहरूको इच्छा र स्वार्थअनुरूप हुने गर्छ, जसको यस्ता माध्यममा नियन्त्रण र पहुँच हुने गर्छ। सञ्चारमाध्यमको स्वामित्वका साथै विभिन्न मुलुकका सरकार र उनीहरूको विदेश नीतिले पनि सञ्चारमाध्यमको यस भूमिकामा प्रभाव पार्ने गर्छ।
थाहा भएकै कुरा हो, भारतीय सञ्चारमाध्यम पनि यसलाई आफ्नो राष्ट्रिय दायित्व अथवा स्वार्थ ठानेर सरकार र प्रशासनका साथ मिलेर परोक्ष या प्रत्यक्ष रूपमा यी काम गर्ने गर्छ। नेपालमा आएको भूकम्पको कभरेजको बेलामा पनि उनीहरू समाचार आदानप्रदानको आफ्नो जिम्मेवारीमात्र पूरा गरिरहेका थिएनन्, उनीहरू त भारतको छवि निर्माण गर्ने लक्ष्यलाई पनि निष्कर्षमा पुर्याजइरहेका थिए। यो बेग्लै कुरा हो कि भारतीय सञ्चारमाध्यमले छवि निर्माण गर्नेभन्दा ध्वंस र विकृत गर्ने काम गर्यो। सञ्चारमाध्यमद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने घटनाहरूमा नेपालको कभरेज नजिरका रूपमा प्रस्तुत गरिनेछ। यदि यो केही सञ्चारकर्मीको अति उत्साह तथा केटाकेटीपन मात्र हुन्थ्यो भने एउटा कुरा थियो, तर यसमा त भारत सरकार पनि बराबरको सहयोगी र साझेदार थियो। वास्तवमा नेपालमा भएको भूलबाट के कुरा स्पष्ट हुन्छ भने विदेश मन्त्रालयको नेतृत्व सम्हाल्ने र विदेश नीतिलाई आकार दिनेहरूसँग अनुभव र बुझाइको कमी छ। अन्तर्राष्ट्रिय त्रासदीका बेलामा उनीहरू सञ्चारमाध्यममार्फत राजनीतिक लक्ष्य हासिल गर्ने यस्तो खेल खेल्दै थिए, जुन राष्ट्रिय हितको विरुद्ध जाने गर्छ। सायद यमनको बचाउ कार्यमा पाइएको सफलता र प्रशंसाका कारण उनीहरू अति सक्रिय भएका थिए। (यमनको उद्धार कार्यमा पाएको सफलताले गर्दा भारतीय विदेश मन्त्रालयका कर्मचारीहरू नेपालको उद्धार कार्यलाई विदेश मन्त्रालयको एउटा कुटनीतिक योजना ठान्दै 'डिजास्टर डिप्लोमेसी' भन्ने गर्थे।) तर, उनीहरूले विवेक प्रयोग गर्दै यमन अभियान र नेपालको त्रासदीमा भिन्नता केलाउँदै एउटा स्पष्ट रेखा कोर्नुपर्ने थियो। तर, उनीहरूले त्यसो गर्न सकेनन्।
सञ्चारमाध्यमका लागि यो नयाँ शिक्षा लिने समय हो। भारतीय सञ्चारमाध्यमले हेक्का राख्नुपर्ने हुन्छ कि ऊ सत्ता र यहाँसम्म कि भारतीय राष्ट्र–राज्यको हतियारसमेत नबनोस्। राष्ट्रविरोधी भनिने चुनौती सामना गरेर भए पनि उसले आफ्नो स्वायत्तता र स्वतन्त्रतालाई यथावत राख्ने आँट गर्नुपर्छ। होइन भने यसको छवि पनि त्यस्तै हुन जानेछ, जस्तो इराक युद्धको समयमा पश्चिमी मिडियाको थियो। अमेरिकी सञ्चारमाध्यमले सीआईए र पेन्टागनबाट लिएको सूचनाका आधारमा इराकले परमाणु हतियार बनाउँदै गरेको घोषणा गरिदिए। जसले अमेरिकी प्रशासनलाई इराकमा आक्रमण गर्ने आधार खडा गरिदियो। तर, पछि के भयो? ती सबै सूचना झुटा साबित भए। सञ्चारमाध्यम सरकारको विदेश नीतिको अंग कुनै पनि हालतमा हुन सक्दैन। मुलुक र सरकारको छवि चम्काउने अभियानको अंग त झन् बन्नै सक्दैन।
मिडियाले विपत्तिको समयमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि पाठ सिक्नुपर्ने हुन्छ। लोकप्रियता र मुनाफाको होडले उसलाई अमानवीय नबनाई देओस्। त्यसको व्यवस्था उसले गर्नुपर्ने हुन्छ। एउटा लक्ष्मणरेखा कोर्नैपर्छ र आत्मसंयमित हुँदै त्यसको पालना गर्नुपर्ने हुन्छ। जब कि आत्मनियमनका अनेक दाबी हास्यास्पद साबित भएका छन् र विनानियामक केही हुन्छ भनेर ठान्नु झुटो आशावाद हुनेछ। फेरि पनि जबसम्म नियामकको गठन र 'कन्टेन्ट कोड'को निर्माणमा कुनै प्रगति हुँदैन, त्यतिबेलासम्म तिनै सञ्चारमाध्यमसँग निवेदन र अपिल गरिराखिन्छ। उसले त्यो सुनोस् वा नसुनोस्।
(भारतीय मिडिया समीक्षक मुकेश कुमारको यो लेख 'नयाँ ज्ञानोदय'को जुन अंकबाट साभार गरिएको हो। यसलाई नरेश ज्ञवालीले नेपालीमा अनुवाद गरेका हुन्।)
प्रकाशित: १७ असार २०७२ ००:२५ बिहीबार





