४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

'म अक्षरको खेती गर्ने सानो कदको व्यक्ति'

थारु भाषामा निरन्तर लेखिरहने साहित्यकार हुन्, कृष्णराज सर्वहारी। उनका थारु तथा नेपाली भाषामा थुप्रै किताब प्रकाशित छन्। उनीसँग शुक्रवारका लागि मदन चौधरीले गरेको कुराकानीः

तपाईंको लेखन यात्रा कहिले सुरु भएको हो?
२०४५ सालमा दाङ, घोराहीबाट प्रकाशित 'दृष्टिकोण' साप्ताहिकमा मेरो पहिलो कविता 'घोराही' छापिएको थियो। थारु भाषामा भने २०४६ मा 'गुलाबके काँटा' कथा छापिएको थियो। स्कुले जीवनदेखि नै

कथा, कविता लेख्थेँ।

तपाईंका कति किताब प्रकाशित छन्?
बालसाहित्य र अन्य साहित्य गरी मेरा २० वटा किताब प्रकाशित छन्। बालसाहित्यतर्फ 'सुख्ली', 'जोन्हू मामा', 'हलो जोत्ने माछा', 'अनारकलीको अन्तरकथा', 'तुलारामको चर्तिकला' आदि प्रकाशित छन्। थारु भाषाका पुस्तकमा 'फुटल करम', 'दोसर घर जाइबेर गन्तव्य' आदि प्रकाशित छन्। 'थारु इन्डिजिनियस नलेज एन्ड प्य्राक्टिसेज' पनि लेखेको छु। कक्षा १ देखि ५ सम्मको थारु भाषामा पाठ्यपुस्तक पनि लेखेको छु।

तपाईंको कुन किताब पाठकले बढी मन पराए?
'फुटल करम'। थारु भाषाको यो पहिलो उपन्यासले मलाई साहित्यकारको रूपमा चिनायो।

थारु कविताको अवस्था कस्तो छ?
थारु कविता लेखन उभारमा छ। ठाउँ–ठाउँमा थारु कविता शंृखला सञ्चालन गरिएका छन्। थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल दाङले थारु भाषाको पहिलो पत्रिका 'गोचाली' २०२८ सालमा प्रकाशन गर्यो्। वास्तवमा गोचाली आन्दोलनको रूपमा चिनिने यसले नै थारू कवितालाई उचाइमा पुर्यातयो। तर, संस्थाका पदाधिकारीलाई तत्कालीन पञ्चायती प्रशासनले धरपकड गरी जेलनेलको यातना दिएपछि आन्दोलन सेलायो। प्रजातन्त्र पुनःस्थापनापछि राजधानी बस्ने खासगरी पूर्वीय थारु युवा साहित्यकारहरूले २०४७ सालमा थारु साहित्य गोष्ठी परिवार गठन गरे। यसले राजधानी र मोफसलमा कविता शंृखलाहरू चलायो। जनआन्दोलन २०६२/६३ पछि थारु भाषामा थुप्रै साहित्यिक अभियान सञ्चालित छन्।

थारु भाषामा बर्सेनि कतिजति पत्रिका र पुस्तक प्रकाशन भइरहेका छन्? के लेखकहरू सन्तुष्ट छन्?
थारू भाषाको पहिलो पत्रिका गोचाली प्रकाशन भएको ४३ वर्ष भयो। यसबीचमा करिब एक सय पत्रिका प्रकाशन भए। पुस्तक पनि एक सयकै संख्यामा प्रकाशित भएका छन्। प्रकाशनको चार दशकको अवधिलाई जोड्ने हो भने वार्षिक रूपमा औसत पाँच वटा पत्रिका र पुस्तक प्रकाशन भइरहेका छन्। पत्रिका नियमित छैनन्। पुस्तकमा कविता, गजलको संख्या बढी छ। खटेर वितरणमा लाग्ने लेखकहरू आफ्नो लगानी उठेको बताउँछन्। तर, सबै लेखकले वितरणको व्यवस्था मिलाउन सक्दैनन्। असन्तुष्टिले होला, निरन्तर लेख्ने कम छन्।

थारु साहित्य किन उकासिन सकेन?
थारु पत्रिका र पुस्तकको वितरण प्रणाली अत्यन्त फितलो छ। जुन जिल्लाबाट पत्रिका प्रकाशित हुन्छ, सोही जिल्लाको एक कुनामा मात्रै सीमित हुने स्थिति देखिएको छ। २४ जिल्लामा संगठन विस्तार भएको थारु कल्याणकारिणी सभाको मुखपत्र 'थारु संस्कृति' पनि स्थगित छ। थारु साहित्यिक पत्रपत्रिकाको सन्दर्भमा सबैभन्दा अहम् सवाल भनेको यसको नियमितता के गरी गर्न सकिन्छ भन्ने नै हो। नियमितताका लागि चाहिन्छ, थारु साहित्यिक आन्दोलन। जो काठमाडौँदेखि कैलालीसम्म सुखद ढंगले पुगेको छ। तर, थारु लेखकहरूको राष्ट्रिय भेला हालसम्म भएको छैन। थारु कल्याणकारिणी सभाले निकै पहिलेदेखि भाषा, साहित्य विभाग गठन गरेको छ। तर, यसले सिन्को पनि नभाँचेकाले होला, थारु साहित्यको अवस्था उकासिन सकिरहेको छैन। थारु साहित्यमा लाग्ने स्रष्टाहरूलाई कुनै पुरस्कार, सम्मानको व्यवस्था पनि छैन।

थारु युवा पुस्तामा साहित्यप्रतिको आकर्षण कस्तो छ?
आकर्षण बढ्दै गएको छ। खासगरी गजल लेखनमा बाढी आएको छ। तर, लेख्न चाहनेहरूमा अध्ययनको कमी देखिएको छ। सैद्धान्तिक पुस्तक झन कम पढ्छन्। त्यसैले वाह! भन्ने खालका पुस्तक निकै कम छन्।

सर्वहारीका आँखामा सर्वहारी को हो?
अक्षरको खेती गर्ने सानो कदको व्यक्ति। उसलाई आफू जन्मेको समुदाय थारु र देश नेपालप्रति गर्व छ। अनुसन्धान, साहित्य र पत्रकारिताको माध्यमबाट कलमलाई हतियार बनाएर दौडिरहको एउटा योद्धा।

प्रकाशित: १४ असार २०७२ ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App