२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

गजे घलेको बारपाक

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले नेपालमा महाविपत्ति ल्याएको छ। त्यसपछि पनि घरिघरि गएका हजारौं भूकम्पका परकम्पले अकल्पनीय क्षति पुर्यारएको छ। गोरखा, दोलखा, सिन्धुपालचोक, काठमाडौं खाल्डोलगायत देशका विभिन्न ठाउँमा धनजनको यति क्षति भयो कि यसको फेहरिस्त नियाल्दा मन काँपेर आउँछ। भूकम्पले सर्वसाधारणको धनजनको क्षतिमात्र होइन हाम्रा ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक धरोहर जो विश्व सम्पदा सूचीमा परेका थिए, तिनको पनि ठूलो क्षति हुन गएको छ। भूकम्पले कतिपय आफ्नै पहिचान बोकेका ठाउँ खण्डहरमा परिवर्तन भएको अवस्था छ।महाभूकम्पको चपेटामा परेको गजे घलेको ‘बारपाक' पनि एक हो। गोरखा जिल्लाको दरौंदी नदीको पूर्वपट्टि बारपाक छ। मसेल दोभानबाट लाँकुरी बोट तथा सौरपानी हुँदै उत्तर लागेपछि भेटिने एउटा ठूलो घले गुरुङको गाउँ बारपाक हो। सदरमुकामदेखि १६ कोष दुरीमा रहेको डाँडाको थली (सम्म ठाउँ) मा अवस्थित यो घले गुरुङको गाउँ ‘बारपाक'को प्राकृतिक मनोरमताले बारपाक आउने पर्यटकका आँखालाई थुनिराखूँझैं गराउँछ। 
अक्षत पर्यटकीय गन्तव्य बारपाक दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने गजे घलेको जन्मथलो हो। आज राहतका हवाईजहाज आयो कि भनी सुदूर क्षितिज चियाइरहने बारपाकको आफ्नै इतिहास छ। आफ्नै गौरव छ।
द्रव्य शाहले १५ दिनसम्म लडाइँ लड्दा पनि गोरखा विजय गर्न सकेका थिएनन्। पछि भेद नीति अपनाएर शाहको हातबाट खड्का राजा मारिएपछि विजय भई शाहवंशीय गोरखा राज्यको स्थापना भएको थियो। लिच्छवि वंशको राज्यकालका लिच्छविकालीन अभिलेखलाई नियाल्दा गण्डकीवारिका भूभाग मानदेवको पालामा राजधानीबाट सोझै शासन हुने प्रदेशको रूपमा थियो। त्यसबखत गोरखाको नाम के थियो भन्न सकिँदैन। किनभने प्राप्त शिलालेखमा गोरखा भेकका बासिन्दालाई ‘जनलोकान्' भनी सम्बोधन गरिएको छ भने शिलालेखमा ‘जनपद' लेखिएको छ। त्यस शब्दभन्दा अगाडिको शब्द खिइएकाले पढ्न सकिन्न। यसर्थ, लिच्छविकालमा गोरखालाई के नामले पुकारिन्थ्यो, भन्न नसकिने बेला ‘बारपाक राज्य'को अस्तित्व आफ्नै थियो। साथै शक्तिशाली राज्य बारपाकको अधिनमा अजिरगढ, सिह्रानचोक लगायत १८ सय खोला आदि राज्य थिए। 
‘बारपाक राज्य'लाई गोरखा राज्यको अधीनमा ल्याउन शाहवंशका राजाहरूले मनसुवा र धेरै कोसिस गरेका थिए। तर, बारपाकलाई शाहहरूले आफ्नो अधीनमा ल्याउन सकेका थिएनन्। ११ वर्षसम्म राज्य गरी ईसं १५७० मा द्रव्यशाहको मृत्यु भएपछि गोरखाका राजा पूर्ण शाह भए। उनको शासनकालमा बारपाकसँग युद्ध भयो, तर सो युद्धमा गोरखाको हार भएपछि जरेभर (सो व्यापारिक केन्द्र ११ सालको बाढीले बगाएको थियो) को बाटो भएर आउने भोटेनुन र पाखी बारपाकले बन्द गरिदिए। 
नुन आउन बन्द भएपछि गोरखामा हाहाकार हुँदा यस दुःखबाट छुटकारा पाउन गोरखाले बारपाकसँग सुलह गर्न खबर पठायो। बारपाकसँग सन्धि भएपछि बारपाकबाट नुन र पाखी गोरखामा आउन थाल्यो। यतिले मात्र पूर्ण शाहलाई चित्त बुझेन, बारपाकलाई अधीनमा राख्ने महत्र्वाकांक्षा जाग्न थाल्यो। अन्य उपायबाट आफ्नो महत्र्वाकांक्षा पूर्ण नहुने देखेर भेद नीति अपनाई बालुवाब्याँसीमा विनाहतियार सन्धि गर्न बोलाइ, निहुँ निकाली, बालुवामा लुकाएको हतियारले बारपाकका राजालाई मारी पूर्ण शाहले बारपाकलाई कब्जामा लिए। तर ‘श्री ५ महाराज पुरंदर शाहबाट....बार्पाकीसँग लडाञी गर्नु भयो बार्पाक लिनुभयो. श्री ५ महाराज राम शाहबाट... बार्पाक उकासनुभयो' लेखिएका वंशावलीका यी हरफले बारपाकलाई आफ्नो अधीनमा ल्याउन पटकपटक गोरखाले बारपाकसँग युद्ध गरेको र गोरखाले सर गरेको देखिन्छ। साथै त्यसको प्रतिकार गर्दै बारपाकले आफ्नो राज्य पटकपटक फिर्ता लिई बारपाक राज्य कायम गरेको देखिन्छ। 
यसरी आफ्नै पहिचान, वीरता र ऐतिहासिकतालाई बोकेको बारपाकलाई गजे घलेले विश्वसामु चिनाएका थिए। तत्कालीन दुई नम्बर, पश्चिम नेपालको गोरखा जिल्लाअन्तर्गत बारपाक गाउँमा सन् १९१६ को हिउँदताका पिता विक्रम घलेका पुत्रका रूपमा साधारण किसानका घरमा जन्मेका गजे घले, हस्तराम गुरुङका साथ लागि सन् १९३४ मा सेकेन्ड फिप्थ गोरखा राइफलमा ब्योइमा भर्ती भएका थिए। २४ मे देखि २७ मे १९४३ मा बर्माको चीन हिल्समा जापानी सेनासँग भएको भीषण युद्धमा हवल्दार गजे घलेले आफ्नो मातहतमा रहेको प्लाटुनको उच्चतम नेतृत्व गरेका थिए। 
आफ्नो पाखुरा, छाती र खुट्टामा गोली लागेर घाइते भएर पनि लडाकु सेनाहरूलाई ‘आयो गोर्खाली' भन्ने गगनभेदी हुँकार गर्दै दुस्मनमाथि जाइलाग्ने हौसला बुलन्द गराएका थिए। नेता गजे घलेको प्रवल इच्छाबाट उत्साहित जवानहरूले ज्यानको परबाह नगरी गोलाबारुद र गोलीको पर्रालाई झेल्दै दुस्मनको किल्ला आफ्नो पक्षमा लिएका थिए। घाइते गजे घलेले लड्दालड्दै आफ्नो पोष्ट सुदृढ गरिसकेपछि मात्र उपचार गर्नतिर लागेका थिए। घलेको वीरता, धीरता, धैर्य र साहसको कदरस्वरूप दोश्रो विश्वयुद्ध चलिरहेकै बखत ‘भिक्टोरिया क्रस'बाट दिल्लीमा उनलाई सम्मानित गरिएको थियो। तत्कालीन भाइसराय फिल्ड मार्शल लर्ड ओभेलबाट उनले पदक थापेका थिए। 
घलेको यो वीरगाथा ‘लन्डन गजेट'मा लिपिबद्ध छ। संसारलाई चकित पार्दै नेपालीहरूको वीरता, धीरता, रणकौशल, इमानदारितालाई एकपटक फर्केर हेर्न बाध्य पार्ने यिनै गजे घलेकोे बारपाक हो। यतिमात्र होइन जापानी र इटालीहरूसँग भएको युद्धपछि ‘भिक्टोरिया क्रस'ले सम्मानित हुने गोरखा जिल्ला फाल्पुका राइफलम्यान भानुभक्त गुरुङ तथा गोरखाको उत्तरी गाउँ सिङलाका राइफलम्यान थमन गुरुङहरु गोरखाली नै हुन्। 
गोरखाको माटोमा थुप्रै समर नायकहरू जन्मे। पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, भगीरथ जैसी अनि अंग्रेजको इकोनोमिक इन्जिनको रूपमा रहेको कम्पनी सरकारलाई समर भूमिबाट पटकपटक खेद्ने समर सौन्दर्यका नायक उजीरुसिंह थापालगायत थुप्रै युगान्तकारी परिवर्तनका संवाहकहरूको जन्मथलो रहेको गोरखा भूकम्पले छियाछिया परेको छ। 
बारपाकमा मानव निर्मित दोस्रो प्रकृतिको महाविनाश भएको छ। खण्डहर बनेको छ। धरती धाँजा फाटेर चिराचिरा परेको छ। तर, प्राकृतिक मनोरम भने जस्ताको तस्तै छ। इतिहास मेटिएको छैन। वीरता लत्रिएको छैन। गजे घले जिउँदै छ। पहिलो र दोस्रो विश्वयुद्धमा अनि १८५७ को गरदमा मित्रहरूको नाक जोगाइदिने नेपालीहरूको इतिहास ज्युँका त्यूँ छ। हामीमा असल मित्रहरूलेे साथ दिएकोमा उनीहरूको सम्मान गछार्र्ंै। निषेधको लागि निषेध गर्ने हाम्रो बानी पनि छैन। कसैको दयाविना पनि समस्यासँग जुध्ने हाम्रो परम्परा छ। इतिहास छ। हामी त पानी नखाएर पनि कसैसँग नझुकी आफ्नो गौरवका लागि लडेका नेपाली हौं। 
‘सयौं दर्द लुकाएर बाँच्न सक्छौ हामी नेपाली,
विपत्तिको बेलामा पनि बाच्न सक्छौं हामी नेपाली।
दिनेश खड्काको शब्द रचना, सुरेश सेन्चुरीको संगीतसँगै कोकिल कण्ठबाट सरिता पन्थीले भूकम्प प्रभावित क्षेत्रमा गएर ती आहत मनभित्र जुन राष्ट्रियता र आत्मस्वाभिमानको उजागर गर्न विगुल फुकेकी छिन्, यो सुन्दा लाग्छ— राष्ट्रियता र स्वाभिमान त नेपालीमा नै अन्तर्निहित रहेछ! आज हामी खुट्टा दिएर बैसाखी लिने जुन प्रवृतिको विकास भएको छ, यसलाई मिनमेख पार्दै अरुणोदयको लालिमासँगै आफ्नो गाउँ आफैं बनाउन कम्मर कस्नुपर्ने बेला आएको छ।

प्रकाशित: ११ असार २०७२ २१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App