१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ग्वलाबारी सामुदायिक वनमा आश्रय स्थल निर्माण

कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवर्द्धनको सङ्गम स्थलका रूपमा विकास हुँदै गएको छ। वन संरक्षणलाई प्राथमिकतामा राख्दै यहाँ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निर्माण र सौन्दर्यकरणका काम सञ्चालन भइरहेका छन्।

सामुदायिक वनको कार्यालय परिसर तथा वनभित्र रहेका प्राकृतिक तालहरूलाई रङ्गीबिरङ्गी झन्डाले सजाइएको छ। यसले हरियाली वनसँगै तालहरूको प्राकृतिक सौन्दर्य अझै आकर्षक बनेको छ।

सामुदायिक वनका अध्यक्ष गोपाल भारतीका अनुसार करिब तीन हजार छ सय मिटर क्षेत्र झन्डाले सजाइएको छ। 'वन र ताल अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि बस्न मिल्ने बेन्च तथा खरले छाएका ससना आश्रय स्थल निर्माण गरेका छौँ,' अध्यक्ष भारतीले भने, 'त्रिकेश्वर महादेव तालको वरिपरि २० र झरना तालको वरिपरि १० आश्रय स्थल निर्माण गर्ने योजना छ।'

उनका अनुसार हालसम्म ११ आश्रय स्थल निर्माण सम्पन्न भइसकेका छन्भने २० बेन्च राखिएका छन्। थप ३० बेन्च निर्माण भइरहेको छ। सामुदायिक वनभित्र रहेका दुवै तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ। 'दुवै तालमा दुई–दुईवटा डुङ्गा सञ्चालन गर्ने तयारी गरेका छौँ,' अध्यक्ष भारतीले भने, 'डुङ्गा माग गरिसकेका छौँ, यसबाट पर्यटकहरूले डुङ्गा सयर गर्दै प्राकृतिक आनन्द लिन सक्नेछन्।'

त्यसैगरी, बालबालिका, युवापुस्ता र वयस्कलाई लक्षित गर्दै सामुदायिक वनभित्र झुला राख्ने तयारी पनि भइरहेको छ। झुला खरिदका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य भइरहेको अध्यक्ष भारतीले जानकारी दिए। 'लुम्बिनी विकास बैङ्कसँग सहकार्य गरेर तीनवटा झुला राख्ने योजना छ,' उनले भने।

सामुदायिक वनको कार्यालय परिसरमा गोलघर निर्माण भइसकेको छभने प्रवेशद्वार (गेट) निर्माणको कार्य अगाडि बढाइएको छ। पिकनिक स्पट निर्माणको कामसमेत सुरु भइसकेको र माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष भारतीले बताए।

पर्यटन प्रवर्द्धनसँगै वन संरक्षणका गतिविधि पनि निरन्तर रूपमा सञ्चालन भइरहेको सामुदायिक वनका उपाध्यक्ष प्रकाशनाथ योगीले बताए। उनका अनुसार वनभित्र विभिन्न प्रजातिका बिरुवाको नर्सरी निर्माण गरिएको छ। 'बाँसको नर्सरी निर्माण गरी बिरुवा रोपिसकेका छौँ भने विजयसाल र रक्तचन्दनको नर्सरी निर्माण भइरहेको छ,' उपाध्यक्ष योगीले भने।

सामुदायिक वनले उपभोक्तालाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि अघि सारेको छ। त्यसका लागि सालको टपरी तथा विजयसालका भाँडा बनाउने उपकरण समेत खरिद गरिएको छ। यसबाट स्थानीय उपभोक्ताको आम्दानी वृद्धि हुनाका साथै वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

वन संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै ग्वलाबारी सामुदायिक वनलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको सामुदायिक वन समितिले जनाएको छ। रासस

प्रकाशित: २९ पुस २०८२ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App