आम पाठकको बुझाइमा उनी कथाकारबाहेक अरू होइनन्। साहित्यमा जति चर्चा कमाए, सरकारी राष्ट्रसेवकका हिसाबले उनले गरेको योगदान कम छैन।
त्यसो भए उनी साहित्य साधक हुन् कि कर्मठ सरकारी कर्मचारी?निजामती कर्मचारी र साहित्य साधकको समानान्तर आत्म–संस्मरण ‘जिन्दगीका मोडहरू'ले यिनै दुई पाटालाई पर्गेलेको छ। सरकारी जागिरको साढे दुई दशक र साहित्य यात्राका पाँच दशकका रोचक संस्मरण पुस्तकमा छन्। करिब दस वटा अफिसमा काम गर्दा उनले हजारौं सहकर्मीसँग संगत गरे। त्यहीँ थिएँ— अगाडि हुँदा प्रशंसाको माला पहिर्यादउने, अलि अगाडि बढेर उनी हिँड्दै गरेको बाटोमा काँडा बिछ्याइदिने। साम–दाम–दण्ड–भेदको प्रपञ्च रचेर उनलाई सफल हुन नदिने।
उनले थुप्रै हन्डर र ठक्कर खाए पनि हरेश कहिल्यै खाएनन्। इमान बेचेनन्, बरु स्वाभिमानको लडाइँमा डटेरै उभिए।
२०१४ सालमा काठमाडौं आएर दिएको एसएलसी उत्तीर्ण हुनेबित्तिकै आफैं पढेको विद्योदय हाइस्कुलमा अस्थायी शिक्षकको जागिर त पाउँछन्, तर डेढ महिनामै ‘तपाईंको सेवा आवश्यक नभएको' व्यहोराको अवकाश पत्र हात लाग्छ। जीवनको पहिलो जागिरबाटै विनाकारण निकालिन्छन्, उनी। बाँकी दिनहरूले पनि लगभग यसरी नै लखेटिइरहन्छन्।
प्रशासनका उच्च पदस्थ व्यक्तिहरू कसरी आफन्त र नातागोताको सेवासुविधा ख्याल गर्दै बढुवा गराउन उद्यत हुन्छन् र राजनीतिक झोला नबोकेकै कारण इमानदार राष्ट्रसेवक कसरी अपहेलित हुनुपर्छ भन्ने चित्र प्रधानको भोगाइले देखाउँछ।
प्रज्ञा प्रतिष्ठान र कवि केदारमान व्यथितसँगको संयोगचाहिँ रोचक छ, पुस्तकमा।
नेपाली साहित्य संस्थानले गरेको प्रतियोगितामा ‘फेरि आक्रमण' शीर्षकको कथा प्रथम भएपछि पुरस्कार लिन भोजपुरबाट झापा झर्दा व्यथितसँग भेट हुन्छ। व्यथितले ‘काठमाडौं आउनुस्, म जागिर दिन्छु' भनेपछि नै जीवनले अर्को ‘टर्निङ प्वाइन्ट' समात्छ— ०२४ सालमा। काठमाडौं प्रवेशसँगै साझा यातायातमा व्यथितको निजी सचिव र बोर्ड सचिव बनेर जागिरे यात्रा सुरु गरेका लेखकको बाँकी जीवन संघर्षपूर्ण बित्छ।
०२७ सालमा लोकसेवाअन्तर्गत शाखा अधिकृतमा नाम निस्किए पनि सेवा प्रवेश तालिममा नाम रोकिन्छ। सामान्य प्रशासनका सचिवले ‘पुलिस रिपोर्टमा भेट्रान कम्युनिस्ट भएको उल्लेख भएकाले जागिर रोकिएको' बताएपछि उनीमाथि पहाड खस्न पुग्छ। रन्थनिँदै उनी पुग्छन्, प्रज्ञा प्रतिष्ठानका कुलपति उनै व्यथितको शरणमा। उनकै पहलमा प्रधानले प्रतिष्ठानको अधिकृत स्तरको जागिर पाउँछन्। यही उदारमनाको कारण व्यथितलाई ‘गडफादर' नै मानेका छन्, लेखकले।
उनका यस्ता कैयौं स्मृतिहरू छन्, यहाँ। कति जेलिएका, कति अनावश्यक र संगति नमिलेका। आखिर, जीवन संगति नै संगति पनि कहाँ रहेछ र!
‘लेख्नु यौटा धर्म हो, यौटा सुकर्म हो र मोक्ष प्राप्तिको यौटा साधना हो। सन्तुष्टि आर्जन गर्ने यौटा बाटो पनि। लगभग यी सबै ‘फ्ल्यास–ब्याक' हुन्, ‘नोस्टाल्जिया' हुन्।' लेखकले यसो भन्दै पुस्तकमा आफ्ना नोस्टाल्जियालाई पाँच खण्डमा बाँडेका छन्— जीवन–संघर्ष, जागिरे जीवन, साहित्य–सन्दर्भ, सम्भि्कएका–बिर्सिएका साहित्यकार र विदेश र विदेशीका कुरा।
‘जीवन–संघर्ष'भित्र बाल्यकालीन अभाव र दुःखको मार्मिक कथा छ। सात सालको क्रान्तिपछि अन्जानवश पर्चा उप्काएकै कारण पक्राउ परेको, अन्तर्जातीय बिहेपछि समाज र घरपरिवारबाट अपहेलित हुनुपरेको जस्ता प्रसंग यसमा छन्।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण पेन्सिल र कापी किन्ने पैसासमेत हुँदैनथ्यो। उनी विभिन्न पार्टीले टाँसेका पर्चा उप्काउँदै हिँड्थे र पछिल्तिरको भाग पुछेर त्यसमै हिसाब गर्थे। यसखाले बाध्यता र पारिवारिक संकटको प्रसंग पढ्दा मन भक्कानिएर आउँछ।
प्रधानले आफ्ना आख्यानहरूमा सामाजिक परिवर्तनको जुन अपेक्षा राखेका छन्, उनले आफ्नै जीवनमा ‘क्रान्तिकारी परिवर्तन' गरेर देखाइदिए। एक नेवार युवकले ब्राह्मण युवतीसँग प्रेमविवाह गर्ने आँट गर्नु त्यो समयमा सहज थिएन। समाजको हेय दृष्टिबाट बच्न केही समय तराई र वाराणसीतिर लुक्न गएका उनले ‘२०२० साल भदौ १ गते नयाँ मुलुकी ऐन लागू भएपछि मात्र भोजपुरमा छाती ठूलो पारेर डुल्न समर्थ भएको' उल्लेख गरेका छन्।
आत्म–संस्मरणलाई आत्म–प्रशंसाको पुलिन्दा र झूटको दस्तावेज ठान्नेहरू धेरै छन्। पाँच वर्षयता नेपाली साहित्यमा भित्रिएको आत्मकथा/संस्मरणको बाढीले यसलाई पुष्टि पनि गर्छ। तर, प्रधान आफ्ना संस्मरणमा खुलेरै बोल्छन्। आफ्नै बुबाको खराब बानीका कारण परिवारको आर्थिक अवस्था गन्जागोल बन्न पुगेको अवस्थालाई हाकाहाकी लेख्छन्, उनी। ‘बाले जुवामा जित्नु र हार्नुसँग मेरो भाग्य सम्बद्ध थियो। जुवाको अनिश्चयता हुन्न भन्ने कुरा त छँदैछ, त्यसमाथि बा स्थानीय ठर्राहरू पनि मन पराउनुहुन्थ्यो। त्यति भएपछि परिवारको बिचल्ली हुन अरू थप कारण के चाहिन्थ्यो!' (पृ. ११)
पुस्तकको दोस्रो खण्ड ‘जागिरे जीवन'मा सरकारी सेवा प्रवेशपछि विभिन्न कार्यालयमा बिताएका संस्मरणहरू छन्।
०२७ सालमा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत शाखा अधिकृतका रूपमा सेवा प्रवेश गरेका उनी शिक्षा मन्त्रालयको उपनिर्देशक, प्रमुख जिल्ला अधिकारी, सूचना विभागका निर्देशक, स्थानीय विकास मन्त्रालयको क्षेत्रीय निर्देशक, स्वास्थ्य मन्त्रालयको उपसचिव र लोकसेवा आयोगको उपसचिवसम्म बने। यसअघि नै साझा यातायात, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र नेपाल राष्ट्र बैंकमा बिताएका सम्झनाहरू पनि पुस्तकका झल्याकझुलुक आइरहन्छन्। ‘साहित्य–सन्दर्भ' खण्डमा भने कथालेखनको सुरुवात, उपन्यासको सन्दर्भ, प्रज्ञा प्रतिष्ठानको तत्कालीन गतिविधि जस्ता विषयलाई अटाएका छन्।
प्रधानको लेखन कर्म कथामा मात्रै सीमित छैन। उपन्यास, कविता, बाल साहित्य, अन्तरवार्ता, नियात्रा आदिमा बाँडिएको छ। सिर्जनामा नवीनता रुचाउने उनले नेपाली साहित्यमा ‘कथोपन्यास' लेखनको प्रयोगलाई भिœयाए र स्थापित गरिदिए। ‘रचनागर्भ'का प्रथम प्रयोक्ता बने।
‘कथाले मान्छेसँग सिधै संवाद गर्न सक्नुपर्छ' भन्ने मान्यता राख्ने उनले परम्परागत कथालेखनको फ्रेम नै भत्काइदिए। ‘आजको कथा अलिकति कविता हो, अलिकति निबन्ध, अलिकति रिपोर्ट र अलिकति चरित्र हो' (पृ. ८६) भन्छन्, उनी। कथामा प्रयोगधर्मिताकै कारण ‘सीताहरू' र ‘घर' कथोपन्यास लेखेका उनी अहिलेे अर्को कथोपन्यास ‘सम्बन्ध'को साधनामा छन्।
साहित्य–जीवनका यस्ता प्रसंगहरू भने निकै कम छन्, पुस्तकमा।
दस जनाको संयुक्त लेखन ‘आकाश विभाजित छ' को पृष्ठभूमि भने रोचक छ। ०३१ सालतिर लेखकसहित ध्रुव सापकोटा, हरि अधिकारी, शैलेन्द्र साकार आदिले गरेको नयाँ प्रयोग थियो, यो उपन्यास। जसको पहिलो अध्याय प्रधानले नै लेखेका थिए।
पुस्तकको चौथो खण्ड ‘सम्भि्कएका–बिर्सिएका अनुहार'मा विभिन्न साहित्यिक व्यक्तित्वसँगका भेट र उनीहरूप्रतिका संस्मरण समेटिएको छ। कवि केदारमान व्यथित, डायमण्ड शमशेर, दौलतविक्रम विष्ट, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, वाशु शशि, लीलबहादुर क्षत्री, विन्द्या सुब्बासँगको संस्मरण पढ्दा उनीहरूको साहित्यिक जीवनको पनि केही पाटा बुझ्न सकिन्छ।
पुस्तकको अन्तिम खण्ड ‘विदेश र विदेशीका कुरा'मा बंगलादेश, जापान र अमेरिका यात्राका सन्दर्भ र त्यहाँ रहँदा गरिएका साहित्य सिर्जनाका सम्झनाहरू छन्।
तीन उपन्यास (संयुक्तसहित), १३ कथा संग्रह, दुई कथोपन्यास, एक दर्जन बालकथा संग्रह, दुई भूमिका संग्रह, तीन अन्तर्वार्ता संग्रह र अन्य विविध विषयका आधा दर्जन कृतिका सर्जक प्रधानले जागिरे जीवनका कठिन दिनमा पनि लेख्न छाडेनन्। ‘म सर्वप्रथम कथाकार हुँ र त्यसपछि मात्र केही हुँ।' उनको यही स्वीकारोक्तिले सिडिओजस्तो संवेदनशील पदमा रहँदा पनि कथा लेखिरहे। यसले उनको साहित्यप्रतिको लगाव र मोहलाई दर्शाउँछ।
उनी कहिल्यै बजार/विज्ञापन र चर्चाको हल्लामा कुद्दैनन्। ०६१ सालमै प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा सिफारिस तारानाथ शर्माले ‘प्राज्ञ सदस्य हुन' गरेको प्रस्ताव अस्वीकार गरेकैले पुष्टि हुन्छ, उनमा पदको लोभ कहिल्यै रहेन।
लोकसेवा आयोगको उपसचिव पदबाट राजीनामा दिई साहित्य सेवाकै लागि विराटनगर जाने योजना बनाएका उनको अर्को सफलता हो— वाणी प्रकाशनको स्थापना। कुनै बेला पूर्वी नेपालका साथै छिमेकी भारतका साहित्यकारका लागि चौतारी बनेको उक्त प्रकाशनले धेरै स्रष्टा जन्मायो। ०५१ सालमा संस्थापक अध्यक्ष रहेका उनी आफ्नै साथीहरूको विश्वासघातका कारण ०६२ मा छोड्न उक्त संस्था बाध्य भए। ०६६ फागुनका विराटनगर छोडेर काठमाडौं आएका प्रधानको ‘रिटायर्ड लाइफ' अहिले बानेश्वरभित्रको शान्त घरमा साहित्य साधनामै बितिरहेको छ।
आफूले विश्वास गरेका सहकर्मीको खुराफातकै कारण लेखकले जीवनमा धेरै दुःख खेपे। वास्तवमा यो पुस्तक उनको जीवनको संघर्ष–कथा नै हो। हाम्रो देशको प्रशासन संयन्त्र होस् या साहित्य–राजनीति, इमानदारहरूको सही मूल्यांकन हुँदैन भन्ने उनको भोगाइबाट थोरबहुत पुष्टि हुन्छ। धैर्य टुटेपछि उनी आफ्नो जन्मभूमिलाई कृतघ्न र बेइमानको देशसमेत भन्न पुग्छन्, जुन अलि पाच्य नहुन सक्छ। ‘प्रतिभा र सिर्जनाको सम्मान नहुने, नातावाद र फरियावाद मात्र चाहिने यो सतीबाट श्रापित देशमा जन्म लिने विचार छैन' (पृ. ११४) भनेर उनले अर्को जन्मको कुरा उठाएका छन्। नेपाली कथाका धरोहरबाट यस्तो विचार आउनु सुखद अवस्था होइन।
प्रधानको यो पुस्तक नै उनको जीवनको सम्पूर्णता होइन। त्यसो भएकाले पुस्तकमा धेरै सन्दर्भ छुटेका छन्, केही प्रसंग दोहोरिएका छन्। कवि केदारमान व्यथितसँगको भेट पटक–पटक उल्लेख भएको छ। कतिपय अनावश्यक प्रसंग पनि छन्। पुस्तकमा खड्किने पहिलो विषय नै आवश्यक सम्पादनको अभाव हो।
प्रकाशित: ११ असार २०७२ २१:३६ शुक्रबार





