१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

प्रेमको धरहरा

धेरैपछि यो पुरानो अल्बम फेला परेको हो। अनायासै पल्टाउन मन लाग्यो। पल्टाएर के हेरेथेँ, अचानक सम्झनाको तस्बिर पल्टियो। मुसुक्क मुस्कुराइरहेकी उनको तस्बिरले म झस्किएँ। आँखा जमेजस्तै भइदियो। हात टक्क अडिए। अब अल्बमका पाना पल्टिन सकेनन्। उल्टै मेरा हातसँगै मुटुको धड्कन रोकिएलाझैं भइदियो।सम्झनाको यो तस्बिर कहिले खिचेको? त्यो मलाई अहिले ख्याल छैन। तर, अहिले नै बोल्न लागेझैं उनको तस्बिरले मलाई अतीतको त्यो क्षणमा पुर्‍यायो।
...
काठमाडौं छिरेको सात महिनापछि मात्रै मैले काम पाएँ। काम खोज्न मैले कम्ता सास्ती खपेको थिइनँ। बिहान कलेज सकेर कोठामा पुगेर खाना बनाएर खान्थेँ। त्यसपछि पूरै काठमाडौं चहार्थें। मार्केटिङको काम पाएपछि भने केही राहत महसुस गरेँ। त्यहीँ भेटेको हो मैले सम्झनालाई। उनी मभन्दा पहिलेदेखि नै त्यहीँ काम गरिरहेकी रहिछन्।

'आज तिम्रो र मेरो एउटै रुटमा मार्केटिङको काम परेको छ। सँगै जाऔं है!' एक दिन उनले मलाई बोलाइन्। एउटै अफिसमा काम गरेको भए पनि हामी कहिल्यै बोलेका थिएनौं। मैले बोलाउने आँट त कहिल्यै गरिनँ। आज उनले बोलाउँदा भने मेरो मुटु टक्क रोकिएलाझैं भइदियो। सास अवरुद्ध भएझैं लाग्यो। तर पलभरमै आफू पुरुष भएको घमण्डले मलाई भन्यो— तँ आफूलाई सम्हाल्!

आखिर बोल्नैपर्ने भयो र भनेँ, 'हुन्छ, आखिर एउटै ठाउँ जानुछ भने किन छुट्टिएर जानू! जान–आउन पनि सजिलो हुन्छ।'

पहिलो दिन हामी अफिसको कामकै लागि जुट्यौं। दुई जना मिलेर काम गर्दा समय पनि कम लाग्दो रहेछ। भोलिपल्ट पनि हाम्रो काम सँगै पर्योु। यसपटक उनले मलाई तयार रहनमात्र भनिन्। हिँड्ने बेला उनले इसारा गरिन्। म उनको पछिपछि लागेँ।

काम सकेपछि उनले भनिन्, 'एक छिन हिँडौं है?'

उनको लोभलाग्दो प्रस्तावलाई नकार्ने मेरो हिम्मत कहाँ थियो र! त्यसमाथि उनले सोध्नासाथ मेरा आँखामा एकटकले हेर्न थालेकी थिइन्। मैले स्वीकारेँ। उनको विभिन्न प्रश्नहरूको जवाफ दिन थालेँ। उनी मेरा बारेमा बुझ्न चाहन्थिन्।

म सिन्धुपाल्चोकको दुर्गम बस्तीको किसानको छोरो। हाम्रो घर ठूलो सिरुबारीमा थियो। सानामा बाले कुन विचारले पढाए थाहा भएन। तर मेरो पढाइका लागि बाले निक्कै दुःख गरे। बाको दुःखको अगाडि मैले राम्रोसँग पढ्नु थियो। त्यसैले मैले एसएलसीमा राम्रै अंक ल्याएर पास गरेँ। यसपछि शिक्षकहरूले बालाई भनेछन्, 'छोरालाई काठमाडौं पढ्न पठाउनू।' बाले त्यसै गरे। बाआमाको सपना बाकेर म काठमाडौं छिरेँ। सहर हामीजस्ता गाउँबाट आएकाहरूका लागि होइन रहेछ। यहाँ हामीले देखेको सपनाले कहिल्यै ल्यान्डिङ गर्न पाउँदैन रहेछ। बाले धेरै समय दुःख गरेर पढाउनुभयो। तर म काम गरेर पढ्न चाहन्थेँ। काम खोज्दा बल्लतल्ल यहाँ काम पाएको हुँ।

मेरो बेलीविस्तारले उनी ट्वाँ भइगइन्। मलाई सुनिरहेकी थिइन्। लाग्यो— उनी मेरो घरको अवस्था र मेरो कठिन जीवनचर्याले भित्रैबाट अवाक् भइन्। हुन सक्छ, उनले मेरो वास्तविकतालाई अनौठो मानिन् होला। हामी चर्को घाम सहँदै पैदल हिँडिरहेका थियौं। हावा कतैबाट बहेको थिएन। यो अवस्थामा हामी पसिनासरि भएका थियौं। ठिक त्यही बेला अचानक पानी दर्कियो। मलाई लाग्यो भिज्नुभन्दा होटलमा छिरौं। होटल अलिपर थियो। त्यहाँ पुग्न कुद्यौं। झन्डै आधा भिजेको शरीर लिएर हामी होटलभित्र छिर्यौंभ। भिजेको लुगा नसुकुन्जेलसम्म हामी चिया पिउन थाल्यौं। त्यो दिन त्यसरी नै रमाइलोसँग बित्यो।

भोलिपल्ट उनले एउटा प्याकेट मेरो हातमा थमाइन्। पहिले त समाउन पनि अप्ठ्यारो लाग्यो। संकोच मान्दै उनलाई हेरेँ। उनको नशालु नयनले मलाई समाउन आग्रह गरिरहेको थियो। पछि त उनले करै गरिन्, 'समाउन।'

समाउन करै लाग्यो। के समातेको थिएँ, उनले मिठो लयमा भनिन्, 'ह्यापी बर्थ डे टु यु।'

म छक्क परेँ। मेरो जन्मदिन समेत उनले ख्याल गरेकी रहिछन्। उनले मेरा लागि टिसर्ट दिएकी थिइन्। उनको आग्रह थियो, म त्यो सधैं लगाऊँ। त्यस दिन उनले मलाई नगरकोटको डाँडा घुमाइन्।

सम्झनाको घर हेटौंडा। तर उनी काठमाडौंमै मावलमा हुर्किएकी थिइन्। सानैमा आमा बितेकाले बाबुले सौतेनी आमा ल्याएपछि मामाले काठमाडौं ल्याएका थिए। सानैदेखि काठमाडौं बसेको हुनाले उनलाई घरको बारेमा केही थाहा थिएन। उनको बुबा कहिलेकाहीँ काठमाडौं आउँदा उनलाई भेट्दा रहेछन्। सानैमा आमा गुमाउनुपरेको पीडा उनको मनमा गडेको थियो। भन्थिन्, 'मलाई आमाको याद धेरै आउँछ। उनको फोटो सिरानीमै राखेर सुत्ने गरेकी छु।'

उनको कुराले मलाई छुन्थ्यो। बिचरीप्रति मलाई माया लागेर आउँथ्यो। आमा गुमाएकाहरूप्रति मेरो सधैं सहानुभूति हुन्थ्यो। मैले उनलाई बिस्तारै मन पराउन थालेको रहेछु। कोठा पुगेपछि भोलि कुन बेला हुन्छ र अफिस जाऊँ हुन्थ्यो। हुन त हिजोआज उनले मलाई एकोहोरो हेर्ने भएकी थिइन्। उनी मलाई जूनलाई हेरेझैं हेर्थिन्। अफिसमा पनि एक छिन छोड्थिनन्। सधैं हाम्रो काम एउटै लोकेसनमा मिलाउँथिन्। मलाई लाग्थ्यो— उनी मेरो निक्कै ख्याल गर्थिन्। बिहान–बेलुकीको मेरो दिनचर्याको सोधीखोजी गर्थिन्। खाए/नखाएको सोधिरहन्थिन्। सायद यसैलाई त प्रेम भनिदो हो!

प्रेम आफैं हुन्छ। यो गरेर हुने होइन। साँच्चै भनेका रहेछन्। हामीबीच त्यहीँ भइदियो। न उनले प्रस्ताव राखिन् न त मैले नै शब्दद्वारा व्यक्त गरेँ। हामीले बुझ्दै गयौं हामी प्रेममा परिसक्यौं। हो, यही त रहेछ प्रेम!

त्यो दिन सायद घाम लागेकै थिएन। बिहानैदेखि सम्झनाले दुईपटक फोन गरिसकेकी थिइन्। उनले सोधेकी थिइन्, 'तिमी तयार भयौं?'

म आफूलाई तयार गर्न सक्दो कोसिस गरिरहेको थिएँ। बाहिर घाम नलागेको यो क्षण किन हो नराइलो थियो। आकाशको अवस्था हेर्दा लाग्थ्यो, आज पानी पर्नेछ। हामी आज घुम्नेबारेको योजना निक्कै पहिलेदेखिको थियो। त्यसैले पानी नपरिदिए हुन्थ्यो, म यस्तै सोच्दै झ्यालबाहिर आँखा पुर्यानउथेँ। उनले उपहारमा दिएको टिसर्ट र जिन्सको पाइन्ट लगाएर आफूलाई तयार गरेँ। लगभग दस बजे म बागबजारमा पुगेँ। उनी आइपुगेकी थिइनन्। केही बेरको पर्खाइमा उनी आइन्, सँगै थिए एक अधबैंसे पुरुष पनि।

मेरो अघिल्तिर आउनासाथ बोलिन्, 'मेरो बुबा।'

उनको आवाजसँगै म अत्तालिन पुगेँ। हुनेवाला ससुराबासँगको पहिलो भेटमा म के गरूँ र कसो गरूँ द्विविधामा थिएँ। तर पनि मेरो हात अनायासै उठिसकेको थियो। दुई हात जोड्दै 'नमस्ते'चाहिँ भनिदिएँ। सायद मेरो ओठ थरथराएको हुनुपर्छ। अनुहारको चमक उडेको हुनुपर्छ। निधारबाट पसिना आउलाझैं भएको थियो।

सम्झनाले मोबाइलमै बुबा पनि सँगै आउँदै हुनुहुन्छ भनेकी भए पनि हुन्थ्यो। म आफूलाई तयार त राख्थेँ! मनमनै मुर्मुरिएँ म।

आफूलाई सहज बनाउँदै म उनको बुबाको प्रश्नहरूको जवाफ दिइरहेको थिएँ। कस्तो कठिन परिस्थिति थियो भने, हामी उभिएरै कुरा गरिरहेका थियौं। न मैले कतै बसेर कुरा गरौं भन्न सकेँ। न त उनैले भनिन्। छोटो कुराकानीपछि पछि भेटौंला भनेर बुबा बिदा हुनुभयो।

'बुबा पनि आउँदै हुनुहुन्छ भनेर भन्नु पर्दैन!' उहाँ अलिपर पुग्नसाथ उनलाई घुर्क्याएँ।

'भर्खरै बागबजारको बाटोमै भेट हुनुभएको हो। मलाई उहाँ भेटिनुहुन्छ भन्ने के थाहा?' उनले यति भनेपछि पो थाहा भयो। बुबा त अकस्मात् भेटिनुभएको।

'जेहोस् हुनेवाला ज्वाइँलाई भेट्न पाउनुभयो,' सम्झना जिस्किने मूडमा थिइन्।

घाम लाग्ने कि नलाग्ने भन्ने अलमलमा थियो। यो अलमलमा हामी भने घुम्ने पक्कापक्कीमा थियौं। धेरै पहिलेदेखिको हाम्रो योजना थियो। काठमाडौंको वसन्तपुर, कृष्ण मन्दिर, कीर्तिपुर, चोभार धेरैपटक घुम्दा पनि सम्झनाले कहिल्यै धरहरा चढौं भनिनन्।

'धरहरा म कहिल्यै चढेको छैन,' टुँडिखेलको चौरमा बसेर घाम ताप्दै बदाम टोक्दै गर्दा एक दिन उनले भनेकी थिइन्। हाम्रो अघिल्तिर नौतले धरहरा आफ्नो छाती फुलाएर ठिंग उभिएको थियो। यस्तो लाग्थ्यो— धरहरा आफ्नो शिर उँचो राख्न उभिएको छ। लगत्तै मैले सोधेको थिएँ, 'काठमाडौंमा हुर्किएर पनि चढेको छैन रे! किन?'

'मेरो बुबा र आमाको पहिलो भेट यही धरहरामा भएको थियो रे! त्यसपछि प्रेम भएर विवाह भएको हो। मेरो मामाले बेलाबेला मलाई सुनाउनुहुन्थ्यो। आमा र बुबा धेरैपटक बिहे हुनुअघि यहीँ भेट्नु हुन्थ्यो रे!' यति भन्दैगर्दा उनको आँखा रसाउन थालेका थिए। उनलाई लाग्थ्यो— त्यहाँ पुग्दा आमाको सम्झनाले सताउँछ। मैले त्यसो हुँदैन भनेर धेरै पटक सम्झाउनुपर्योथ।

सम्झनाले धेरैपछि त्यहाँ जाने साहस जुटाइन्। त्यसैले हामी आज त्यतै लाग्दै थियौं। शनिबार भएकोले बाटोमा खासै सवारीसाधनको घुइँचो थिएन। हामी पैदल यात्रामा रमाइरहेका थियौं। बाटोभरि उनले मेरो हात छोडेकी थिइनन्। उनको मुलायम हातमा मेरो हातको स्पर्शले मलाई समेत आकर्षित गरिरहेको थियो। आज उनको मुहारमा भिन्नै किसिमको उमंग र उत्साह देखिन्थ्यो।

हामी झन्डै ११ बजेर ३३ मिनेट जाँदा धरहराको टिकट काउन्टरमा पुग्यौं। त्यहाँसम्म पुग्दा अलिकति थाकेका थियौं। तर मनमा उत्साह मरेको थिएन। टिकट दिनेले हाम्रो टिकटमा २०७२ वैशाख १२ गतेको लेबल छापिदियो। आजकै मिति लेखिएको थियो। टिकट उनैले समाइन्। टिकट लिएर हामी धरहरा चढ्न अघि बढ्यौं। यति बेला हामी धरहराको फेदमा थियौं। टिकट गेटैमा बुझाएर हामी धरहरा उक्लिन तयार भयौं।

सम्झनाले मेरो हात कस्सेर समाएकी थिइन्। एकपटक उनले मेरो अनुहारमा हेरिन्। उनको आँखाले जाने र? भनी सोधेझैं लाग्यो।

'मेरी आमा यही बाटो भएर हिँडेकी थिइन् होला। के मेरी आमाले यसैगरी मेरा बुबाको हात समएकी थिइन् होला!' अनायासै उनी बोलिन्।

उनको प्रश्नमा म के बोलूँ? चुपचाप उनको अनुहारतिर हेरेँ। भर्खरै अघिसम्मको चञ्चल मुहारमा उदासी छाएको थियो। मलाई लाग्यो— उनी आमाको प्रतिविम्ब यहाँ खोजिरहेकी छिन्। भीमसेन थापाले पहिलोपटक बनाएर दुईपल्ट ढलिसकेको धरहरामा हामी निर्धक्क उक्लिन थाल्यौं। उनको उदास मुहार देखेर म जिस्किन थालेँ, 'हामी उक्लँदाउक्लँदै यो माटोको ढिस्कोझै धरहरा ढल्यो भने के हुन्छ?'

मैले यति के भनेको थिएँ, उनी चिसिइन्। मेरो हात कस्सेर समाउदै भनिन्, 'यो पनि जिस्किने कुरा हो!'

उनको हात छुटाएर म मास्तिर उक्लिएँ। मलाई समात भन्दै म कुदेको थिएँ। उनी म कुदेको देखेर मलाई समाउन कुदिन्। जब उनी म नजिकै पुग्थिन् म दौडिन्थेँ। उनी थाकेपछि म दौडिन छाडेँ। उनले यसपटक भने मेरो हात कस्सेर समाउनुअघि अंकमाल गरिन्। त्यतिन्जेलसम्म हामी धरहराको टुप्पोमा पुगिसकेका थियौं। जीवनमै हामी दुईको धरहराको चढाइ यो पहिलो थियो। पुग्नासाथ काठमाडौंलाई उनले नियालिन्। पूरै सहर हाम्रोअगाडि सानो देखिन्थ्यो। सडकमा कमिलाझैं मान्छेका ताँती र गाडीहरूको लस्कर देखिन्थे। आँखै नचिम्ली हामी चारैतिर हेर्न थाल्यौं। यो अनुपम दृश्य देख्न पाउँदा मनमा रमाइलो अनुभूत भइरहेको थियो।

वसन्तपुरतिर चराका हुल यतैतिर उडेको देख्यौं। हेर्दाहेर्दै एक्कासि हामी हल्लियौं। अघिदेखि हेरेको घर, रूखहरू हल्लिएको देखेर मनमा डर पस्यो। धरहरा हल्लिन थाल्दा हामी तलतिर कुद्यौं। मुटु जोडजोडले धड्किँदै थियो। भित्र मान्छेहरूमा कोकोहोलो मच्चिएको थियो। धरहराले पिङ खेल्न थालपछि लाग्यो, अब हामी बाँच्दैनौं। सम्झनाले मलाई कस्सेर अंगालिन्। म भने बित्थामा आइएछ भन्ने सोच्न थालेँ। एकै छिनमा धरहरा ठूलो आवाजका साथ भाँचिन थाल्यो। मैले सम्झनालाई गम्लङ्ङ छोपेँ। आँखामा अन्धकार छायो। बेहोसझैं भएँ। एउटा ठूलो आवाजसँगै हामी पछारियौं।

होस खुल्दा मेरो निधारबाट तरर्र रगत बगिरहेको थियो। गोडामा असाध्यै पीडा भएको महसुस गरेँ। आफूलाई उचाल्न खोजेँ। अहँ सकिनँ। गोडा चलेको होइन। सम्झना खोइ? उनलाई सम्भि्कनासाथ मन अत्तालियो। आँखा राम्रोसँग उघ्रेको होइन। जताततै धुलो उडेको थियो। तैपनि भ्याएसम्म हेरेँ। आफ्नोअगाडि जुद्धशमशेर लेखिएको इँटाको थुप्रो छ। पर लासहरू देखिन्थ्यो। त्यो देखेर एकपल्ट त रोएँ। 'सम्झना' चिच्याएँ। कसैले सुनेनन् होला। मेरो आवाज दबिएको थियो। राम्रोसँग चिच्याउन नपाउँदै म फेरि ढलेँ।

अस्पतालको बेडमा एउटा गोडामास्तिर झुन्डिएको थियो, जब म बिउँझिएको थिएँ। गोडा भाँचिएको रहेछ। पीडा अलिअलि भए पनि मलाई सम्झनाबारे बुझ्न हतारो थियो। तर कसलाई सोध्ने? आफैं खोज्न जाऊँ भने यो अवस्थामा कसरी हिँड्नु? म बेडमै छटपटाउन थालेँ।

भोलिपल्ट धरहरामा मृतकरूको लिष्ट कसैले ल्याइदियो। त्यहाँ उनको नाम पुछारमा लेखिएको पाएँ। म पानीविनाको माछोझैं छटपटाउन थालेँ। अस्पतालै थर्काउने गरी रोएँछु।
...
यति बेला उनको तस्बिर मेरो अघिल्तिर छ। जुन वैशाख ११ गते खिचिएको थियो। अहिले बल्ल सम्भि्कएँ।

त्यो नमिठो अतीतले आज बेस्सरी घोच्यो। मन कुँडियो। अल्बम टेबलमा त्यसै राखिदिएँ। टेबलमा भने नयाँ क्यालेन्डर ठडिएको छ— आज २०८२ वैशाख १२ गते। वैशाखको पानामा नयाँ बनेको धरहराकै तस्बिर राखिएको छ। आखिर किन राख्या होला? कति तलाको धरहरा बन्यो होला भनेर मैले कहिल्यै बुझ्ने कोसिस गरिनँ। सम्झना भन्ने गर्थिन्, 'यो धरहरासँग मेरो आमाको याद छ। जसले मलाई सताउँछ। त्यसैले म जान्नँ।'

मेरो त त्यो धरहरासँग सम्झना छ, जहाँ म कहिल्यै नगएकै भए हुन्थ्यो। आखिर किन लगेँ मैले धरहरामा त्यस दिन? म कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छु। आफू एक्लो हुनुको बोध गर्छु। र, फेरि एकटकले सम्झनाको तस्बिर सुमसुम्याउँछु।

प्रकाशित: २९ जेष्ठ २०७२ २२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App