फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे नेपालमा मनाउने चलन बढ्दै गएको छ। पश्चिमा देशबाट सुरु भएको यो चलन विश्वव्यापी रूपमा फैलिएको छ। शहरका युवायुवतीले प्रेम दिवसका रूपमा यसलाई धुमधामसँग मनाउने गरेका छन्। नेपालको इतिहास केलाउँदा प्रेममा परी गरिएका धेरै राम्रा तथा नराम्रा कामको सूचि लामै बन्न सक्छ। केही प्रतिनिधि घटना :
१.वि.सं. १३८३ मा ३० वर्षको उमेरमा उपराज रुद्र मल्लको मृत्यु भयो। रुद्र मल्लका छोरा नभएकाले छोरी नायकदेवी उनको उत्तराधिकारीको रूपमा रहेकी नायकदेवीकी आमा रुद्र मल्लसँग सती गएकी हुनाले नायकदेवीको हेरचाहको काम बज्यै पदुमलदेवीले गरिन्। यस काममा पदुमलदेवीलाई देवलदेवी (कर्णावंशी राजा) हरसिंहदेवी महारानीले सघाइन्। वि.सं. १३८६ मा नायकदेवीको विवाह काशीको राजवेशका हरिचन्दसँग भयो। उपराजकी पतिको हैसियले हरिचन्दको नेपाल खाल्डोको राजकाजमा हैसियत बढ्दै गयो। वि.सं. १३८९ असोजमा बुढी सासु पदुमलदेवीको मृत्यु भएपछि हरिचन्दको पक्ष अलि कमजोर भयो। यसपछि भक्तपुरमा टिक्न हरिचन्दलाई गाह्रो भयो र उनी काठमाडौँमा शरण पर्न आए। काठमाडौँमा आएको दुई वर्षपछि वि.सं. १३९२ जेठमा विष प्रयोगबाट हरिचन्दको मृत्यु भयो। देवलदेवीका छोरा जगतसिंह थिए। एउटै दरबारमा सँगै रहेको हुँदा जगत सिंह र नायकदेवीमा प्रेम सम्बन्ध भयो र यसले पछि विवाहको रूप लियो। यसरी नायकदेवीको जगतसिंहसँग दोस्रो विवाह भयो। वि.सं. १४०३ पुसमा नायकदेवी तर्फबाट जगतसिंहकी छोरी राजल्लदेवीको जन्म भयो। राजल्लदेवीको जन्म भएको १० दिनपछि नायकदेवीको मृत्यु भयो। देवलदेवीले नातिनी राजल्लदेवीलाई बडो जतनसँग हेरचाह गरी हुर्काइन्। वि.सं. १४११ मा आठ वर्षकी राजल्लदेवीको वरका रूपमा बाहिरबाट भक्तपुर ल्याइएको स्थितिराज मल्लसँग विहे भयो।
२.
प्रताप मल्ल शक्तिशाली शासक थिए। उनले आफ्ना वरपरका राज्यहरूलाई दबाई शासन गरेका थिए। वि.सं. १७३१ वैशाख ९ गते प्रताप मल्लको मृत्यु भयो। आफू पछि आफ्ना मन परेकी रानीपट्टिका छोरा महिपतेन्द्र मल्ललाई राजा बनाउने भन्ने व्यवस्था प्रताप मल्लले गरेका थिए। तर, महिपतेन्द्र मल्लभन्दा जेठा दुई जना नृपेन्द्र मल्ल र पार्थिवेन्द्र मल्ल त्यसबेलासम्म बाँचेका थिए। त्यसैले काठमाडौँको एक पक्षले दाजुहरू हुँदाहुँदै भाइ राजा हुन सक्दैनन् भन्ने कुरा उठायो र त्यसमा प्रताप मल्लका काकाका छोरा पाटनका राजा श्रीनिवास मल्लको बल पनि मिल्यो र प्रताप मल्ल मरेको तीन महिनापछि नृपेन्द्र मल्ल गद्दीमा राखिए। त्यस बेला नृपेन्द्र मल्ल १२ वर्षका थिए। त्यसैले काठमाडौँ राज्यमा त्यसबेला चौतारा (मुख्यमन्त्री) चिकुटीको प्रभाव रह्यो। राजा भएको ६ वर्षपछि वि.सं. १७३७ जेठमा नृपेन्द्र मल्लको मृत्यु भयो। नृपेन्द्रका छोरा नभएकाले प्रताप मल्लका अर्का छोरा पार्थिवेन्द्र मल्ल काठमाडौँका राजा भए। पार्थिवेन्द्रकी रानी ऋद्धिलक्ष्मी नामकी थिइन्। पुराना चौतार चिकुटीलाई धपाई लक्ष्मीनारायण जोशी शासनमा आए। लक्ष्मीनारायण जोशी शासनमा आएपछि ऋद्धिलक्ष्मीसँग उनको लसपस बढ्दै गयो। यो लसपस बढ्दै जाँदा पार्थिवेन्द्र मल्ल र उनको परिवार लक्ष्मीनारायण र ऋद्धिलक्ष्मीको आँखाको कसिंगर भयो र पार्थिवेन्द्र उपर विष प्रयोग भयो। खानेकुरामा भएको विष प्रयोगले असर गर्योर र वि.सं.१७४४ असारमा पार्थिवेन्द्रको मृत्यु भयो। यसपछि काठमाडौँको गद्दीमा पार्थिवेन्द्रका ८ वर्षका छोरा भूपालेन्द्र मल्ल राखिए। चौतारा पद लक्ष्मीनारायण जोशीले पाए। यस पछि ऋद्धिलक्ष्मी नाठो लक्ष्मीनारायण जोशीसँग लागिन्। मरु टोलमा घर भएका लक्ष्मीनारायण जोशी हनुमानढोका दरबारमा राजमाता ऋद्धिलक्ष्मीसँग एउटै पलङमा बस्न थाले।
३.
वि.सं. १९३४ मा ३० वर्षको उमेरमा युवराज त्रैलोक्यविक्रम शाहको मृत्यु भयो। त्रैलोक्य विक्रमका तीनवटा रानी थिए। यी तीनैजना श्री ३ जंगबहादुरका छोरी थिए। वि.सं. १९३८ मा राजा सुरेन्द्रविक्रम शाहको मृत्यु भएपछि उनका नाति पृथ्वीवीरविक्रम शाह राजा भए। त्यसबेला पृथ्वीवीरविक्रम ६ वर्षका मात्र थिए। श्री ३ रणोद्दीप सिंहले राजा पृथ्वीवीरविक्रम साना भएका र आफ्ना दाजु जंगबहादुरका नाति (छोरीका छोरा) पनि भएकाले उनलाई आफू बसेको नारायणहिटी दरबारमै ल्याए। त्रैलोक्यविक्रम शाहकी माहिली महारानी राजमाता भएकीले नारायणहिटी आइन्। बालक राजाकी प्रतिनिधि जेठी मुमा बन्ने प्रथाअनुसार त्रैलोक्यविक्रमकी जेठी महारानी पनि नारायणहिटी दरबार आइन्। सन्तान नभएकी त्रैलोक्यविक्रम शाहकी कान्छी महारानी हनुमानढोकामै बसिन्। त्यहाँ रहँदाबस्दा एकजना दरबारीय पन्त पुरेतका छोरासँग उनको प्रेम पर्योन। पछि श्री ३ वीरशमशेरको समयमा त्यो कुरा खुल्न गई पन्त पुरेतका छोरा मुडिई झ्यालखानामा राखिए। उनका परिवारको सर्वस्वहरण भयो र उनका परिवार काठमाडौँ खाल्डोबाट धपाइए। त्यसै अभियोगमा केही मानिस काटिए र कान्छी महारानी कडा नजरबन्दमा राखिइन्।
४.
वि.सं. १९४२ मा ठाइँला बाबु रणोद्दीप सिंहलाई मारेर र अरू जेठाबाहरूका सन्तानलाई धपाएर वीरशमशेरहरू शक्तिमा आए। वीरशमशेर शक्तिमा आउनमा उनका माइला भाइ खड्गशमशेरको ठूलो हात थियो। त्यसैले खड्गशमशेर र वीरशमशेरको टक्कर पर्दै गयो र वीर शमशेरद्वारा खड्गशमशेर पाल्पा धपाइए। पाल्पाको शासक बनेर बसेका खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्मानमा रानी महल बनाउन लगाए र त्यो रानी महल अहिलेसम्म पनि महत्वपूर्ण सम्पदाको रूपमा रहेको छ।
प्रकाशित: १ फाल्गुन २०७१ ०६:५६ शुक्रबार





