३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

कलम बोक्ने जेम्स बन्ड!

कहिले जर्मनी, कहिले फ्रान्स त कहिले स्विटजरल्यान्ड। उनको यात्रा देख्दा लाग्छ, उनी फिल्म दुनियाँका सबैभन्दा ग्ल्यामरस हिरो जेम्स बन्ड हुन्। जेम्सलाई झैं उनलाई पनि कहीँ जान रोकटोक छैन। अझ उनीसँग जेम्सको भन्दा खतरानक हतियार छ, बन्दुक होइन कलम।गोर्खालीको गौरवगाथा जहाँजहाँ फिँजिएको छ, त्यहाँभन्दा पनि बाहिरसमेत उनी पुगिसकेका छन्। उनलाई यो अवसर उनकै कथासंग्रह ‘गुर्खाज् डटर'ले दिलाएको हो। नेपाल, भारत, भुटान र अमेरिकामा फरकफरक जीवन बाँचिरहेका नेपालीका कथाव्यथा छन् यस संग्रहमा।
‘तपाईंको लाइफस्टाइल त जेम्स बन्डको जस्तै रहेछ नि?' प्रतिक्रिया सुनेपछि खुलेर हाँसे उनी अर्थात् लेखक प्रज्वल पराजुली। ‘सुन्दा जेम्स बन्डजतिकै ग्ल्यामरस र लोभलाग्दो लाग्न सक्छ मेरो घुमफिर, तर वास्तविकता त्यस्तो होइन,' अहिले स्विटजरल्यान्डको ज्युरिकमा रहेका प्रज्वलले भिन्नता केलाए, ‘जेम्स बन्ड केही न केही सिकार गर्न हिँड्छ तर म कहिले पनि सिकार खोजेर हिँड्दिनँ।'
अरू लेखक र आफ्नो आनीबानी फरक लाग्छ उनलाई। ‘धेरैजसो लेखक यात्रा गर्दा सधैं कथा वा पात्रहरू खोजिरहन्छन्, तर म त्यसो गर्दिनँ,' उनले मनको कुरा खोले, ‘म घुम्ने बेला घुम्छु, लेख्ने बेला लेख्छु। दायाँबायाँ सोच्दिनँ।' तैपनि यात्रा गर्दा आफूलाई अवचेतन तहमा पुग्न सक्ने फाइदादेखि उनी बेखबर छैनन्। भन्छन्, ‘यात्रा मेरो लेखनका लागि फाइदाजनक नै होला।'
प्रज्वलको पहिलो अंग्रेजी कथासंग्रह ‘गुर्खाज् डटर' बेलायतको क्वर्कश प्रकाशनले सन् २०१३ मा छापेको थियो। बेलायतको झन्डामुनि संसारका विभिन्न युद्धभूमिमा लड्न पुगेका गोर्खालीझैं प्रज्वलको यो कथासंग्रह अंग्रेजी पाठक रहेका सबैजसो देशमा वितरण भइसकेको छ। यही किताबलाई नेपालय प्रकाशनले नेपाली भाषामा ‘गोर्खाकी छोरी'को रूपमा बजारमा ल्याएको छ।
‘गोर्खाकी छोरी' निस्किएकोमा उनी जति खुसी छन्, त्यति दुःख यसलाई अन्माउन नपाएकामा छन्। काठमाडौंमा आएर पाठकसँग अन्तर्त्रि्कया गर्दै किताब सार्वजनिक गर्ने चाहना उनको थियो। तर, खँदिलो दैनिकीले उनी यो चाहना पूरा गर्न असमर्थ भए। पाठकसँग माफी माग्नुको विकल्प उनीसँग छैन।
फ्रान्समा ‘राइटर इन रेजिडेन्स' अर्थात् ‘गुप्तबास' बसिरहेका प्रज्वल हावा खानलाई स्विटजरल्यान्डको ज्युरिक पुगेका हुन्। उनको ज्युरिक बसाइ केही दिनको मात्र हुनेछ। त्यसपछि फ्रान्सको एउटा सुदूर गाउँ पुग्नेछन्, जहाँ उनको ‘गुप्तबास' चल्दै छ। १५ दिनपछि उनी ‘गुप्तबास'बाट निस्कनेछन्।
यो अवधिभित्र लेख्नैपर्छ भन्ने दबाब वा करबल उनीमाथि छैन। केही नलेखे पनि हुन्छ। तैपनि दुइटा जति छोटो कथा लेख्न तत्पर छन् उनी।
एक वर्षअघि उनको दोस्रो कृति ‘ल्यान्ड ह्वेयर आई फ्िल' नामक उपन्यास बजारमा आइसकेको छ। उक्त उपन्यासको अमेरिकी संस्करण आगामी अप्रिलमा रिलिज हुँदै छ। ‘अमेरिकी संस्करण भएकोले आवरण, लेआउट र व्याकरणसमेत फरक हुनेछ त्यसमा,' ज्युरिकबाट भाइबरमा उनले भने, ‘त्यसैको कामको अल्झाइमा छु र त्यो निस्किसकेपछि पनि केही समय व्यस्त हुनेछु।'
पहिलो कृतिको नेपाली संस्करण निस्किँदै गर्दा उनले तेस्रो कृतिको खाका उतारिसकेका छन्। तर, उक्त कृति कुन विधाको हुनेछ र कहिले छापिनेछ भन्ने रहस्यमै राख्न चाहन्छन्, ‘तेस्रो कृतिको बारेमा सायद चार–पाँच महिनापछि मात्र बोल्न सक्छु होला म। अहिले सबै कुरा सेत्रे्कट नै राख्छु।'
सन् २०१४ मा प्रज्वललाई निकै धपेडी भयो। दुई दर्जनजति साहित्य मेलामा भाग लिँदालिँदा उनी लखतरान भए। अमेरिका, युरोप, एसिया र अफ्रिका महादेशका मेलाहरूमा उनले पाठकसँग साक्षात्कार गरे। ‘केन्या र दक्षिण अफ्रिकामा समेत मेरो किताब पढ्नेहरू भेटिए, मैले सोचेको पनि थिइनँ,' उनले सुनाए, ‘सायद प्रेम, ईर्ष्या र अरू संवेदनाहरू युनिभर्सल हुन्छन् क्यारे, त्यसैले त मैले लेखेको कथा अफ्रिकीले पनि पढे।'
यात्राको दौरान उनीसँग गैरनेपाली मात्र होइन नेपाली साथीभाइ पनि भेट हुन्छ। नामुददेखि नामै नसुनेका सहरहरूमा बसेका नेपाली र उनीहरूका कथाले उनलाई सधैं चिमोट्छ। ‘गोर्खाकी छोरी'मा खापिएको ‘प्रवासी' शीर्षकको कथा त्यसैको एउटा उदाहरण हो। अमेरिकामा निर्वासित नेपालीहरूको जीवनलाई रचनात्मक रूपमा उतारेको छ कथाले।
नेपाली मूलका भारतीय बुबा र नेपाली आमाको कोखबाट सिक्किममा जन्मिएका ३० वर्षे प्रज्वलले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा क्रियटिभ राइटिङ विषय अध्ययन गरेका हुन्। साहित्यमा रुचि पलाउनुको श्रेय उनी आफूले स्कुलमा पढेका नेपाली साहित्यकारहरूलाई दिन्छन्। भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, इन्द्रबहादुर राईलगायतका रचनाहरू उनले हाइस्कुलको कोर्समा खुब पढे।
तर, कलेजमा भर्ना भएपछि चाहिँ नेपाली साहित्यदेखि उनी टाढिए। अहिले चर्चामा रहेका समकालीन नेपाली साहित्य उनले पढ्न पाएका छैनन्। यसमा ठूलो पछुतो छ। नारायण वाग्लेको ‘पल्पसा क्याफे'को अंग्रेजी संस्करण र रवि थापाका अंग्रेजी कथाहरू मात्र उनले पढेका छन्।
नेपाली पाठकको माग बढ्दै गएपछि प्रज्वललाई ‘गोर्खाज् डटर' नेपाली भाषामा पनि निकाल्नुपर्छ भन्ने लागिरहेको थियो। आयरल्यान्ड, अमेरिका, बेलायत, न्युजिल्यान्ड, हङकङ, मलेसिया, भारत र फिलिपिन्सका प्रकाशकले समेत बेग्लै संस्करणमा निकालिसकेको ‘गोर्खाज् डटर' नेपालबाट निकालेन भने नेपाली पाठकप्रति अन्याय नै हुने थियो। 
उनी आफैंले एउटा कथालाई नेपालीमा अनुवाद गरे। कहिल्यै नसुनेका शब्दहरू खाँचो पर्दै गएपछि उनले अनुवादको जिम्मा बुबा बिसी शर्मा र आमा सरला भट्टराईलाई दिए। नेपाली पाठकसँग पुग्ने बाटो खनिदिने आमाबुबाप्रति उनी आभारी छन्।
उनी पछिल्लो तीन वर्षको अवधिमा दुईपटक नेपाल आएका थिए। फाइनप्रिन्टको आयोजनामा भएको लिटरेचर फेस्टिभलमा भाग लिन आउँदा उनले काठमाडौंको साहित्य जमातसँग भिज्ने अवसर पाए। ‘नेपालमा साहित्यप्रति गम्भीर रुचि राख्ने र छलफल गर्ने माहोल रहेछ, नेपाली साहित्यका लागि यो एउटा सकारात्मक लक्षण हो,' उनले भने, ‘नेपालमा नयाँ पुस्ताका साहित्यकारहरू राम्राराम्रा काम गरिरहेका रहेछन्, त्यसैले मलाई काठमाडौं आउँदा मज्जा लाग्छ।'
काठमाडौंभन्दा पोखरा उनलाई मन पर्छ। उनले कारण दिए, ‘प्राकृतिक सुन्दरता पोखराको अनुपम छ, त्यसैले पोखरा तीनखेप आइसकेको छु।' उनी भारतचाहिँ वर्षमा दुईपटक जसरी पनि पुग्छन्। नेपालचाहिँ कहिलेकाहीँ मात्र जुर्ने हो।
अहिले आफूलाई फुलटाइम लेखकका रूपमा चिनाउन नहिच्किचाउने प्रज्वल लेखेरै बाँचेका छन्। उनको दायाँबायाँ कुनै व्यवसाय छैन। किताबको रोयल्टीबाट उनको अमेरिकी र युरोपेली जीवन चलिरहेको छ।
उनी धेरैजसो लन्डन र न्युयोर्कमा बस्छन्। तर लन्डनभन्दा न्युयोर्क उनलाई फाप्छ। ‘खाना मिठो न्युयोर्कमै हुन्छ, जाडो याममा लन्डनमा घाम नै लाग्दैन, तर न्युयोर्कमा हिउँ परे पनि घाम लाग्छ,' प्रज्वलले कारण दिए। लन्डनसँग उनको एउटा लोभ गाँसिएको छ। ‘लन्डन विश्वको केन्द्रविन्दुजस्तो छ, यहाँबाट जहाँ पनि जान सकिन्छ,' उनले भने।
तेस्रो विश्वका लेखकहरूको कृतिप्रति पश्चिमाहरूको आकर्षण बढेको छ। ‘सायद पश्चिमा पाठकहरूलाई हामी दक्षिण एसियाका खुराक ताजा र नयाँ लाग्छ होला,' प्रज्वलले सम्भावना देखाए, ‘हाम्रा धेरै मौलिक कथाहरू पश्चिमा पाठकसमक्ष पुग्न बाँकी छ।'
‘गोर्खाकी छोरी'मा समावेश आठ वटा कथा मन परेमा नेपाली पाठकहरूमाझ आफू अझ बढी चिनिन पाउनेछु भन्ने विश्वास प्रज्वलको छ। त्यसपछि सायद काठमाडौंका साहित्यिक जमघटहरूमा उनको उपस्थितिको माग बढ्नेछ। तर, उनी अनिश्चित छन्। ‘थुप्रै वचन दिइसकेको छु, ती पूरा भएपछि मात्र म फ्रि हुने हो,' उनले आश्वासन दिए, ‘तैपनि तपार्इंहरूले भनिहाल्नुभो, वचनहरू पूरा गरेपछि नेपाल पक्कै आउनेछु।'
नेपालमा लामो समय व्यतित गरेको नभए पनि प्रज्वलका कथा पढ्दा उनी काठमाडौंकै रैथाने लाग्छन्। ‘खुँडो ओठ' र ‘गोर्खाकी छोरी' शीर्षकका कथाहरूमा नेपालीको सूक्ष्म आनीबानी केलाइएको छ। ‘खुँडो ओठ'की कालीले मुम्बईमा गएर हिरोइन बन्ने सपना पालेकी हुन्छे। उसलाई सबैले ‘काली, काली' भनेर सम्बोधन गर्छन्। ऊ अपहेलित महसुस गर्छे। 
यस्तो अपहेलनासँग कालीमात्र होइन संसारभर छरिएका सबैजसो नेपालीले दिनहुँ सामना गरिरहेका छन्। प्रज्वलले उजागर गर्न खोजेको यही हो सायद। उनलाई बेलायती निर्देशक डेनी बोयलसँग तुलना गर्न मिल्छ। बोयलले फिल्म ‘स्लमडग मिलिनियर'बाट मुम्बईको कथालाई संसारभर फैलाए। प्रज्वलले नेपालीका कथालाई फैलाउँदै छन्।

प्रकाशित: २ माघ २०७१ २३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App