३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

हेर्नै पर्ने नाटक : कोही किन बर्बाद होस्!

सुनील पोखरेल नेपाली नाट्य–कलाकारमध्येका शिखर पुरुष नै हुन्। 'प्रतिभा आकाश खोज्छे' नाटकमा उनले दुष्ट देवरको जीवन्त अभिनय गरेर मलाई आजभन्दा २५–३० वर्षअगाडि नै तानिसकेका थिए।
भानुभक्त मेमोरियल उच्च मा.वि.मा मैले सञ्चालन गरेको एकल नाट्य अभिनयसँगै अन्तर्विद्यालय–स्तरीय प्रतियोगिता सञ्चालन गर्दा २०४७ सालतिर हरिहर शर्मा, सुनील पोखरेल, रमण घिमिरे, वीरेन्द्र हमाल र प्रभाकर शर्मालाई निर्णायकत्वको भूमिका सुम्पिएको थिएँ। उनको निर्देशकीय योग्यता उहिल्यै पाकिसकेको थियो। २०७१ पौष १४ गते सुनील पोखरेलबाट अभिनीत 'कोही किन बर्बाद होस्' नाटक हेर्ने र रसास्वादन गर्ने सुअवसर पाएँ। म विजय मल्ल दाइको प्यारो कान्छो भाइ। उहाँ प्रज्ञा–प्रतिष्ठानको उपकुलपति हुनुहुँदा हामीबिच बाक्लो परिचय र आत्मीय नाता जुटेको हो, 'सिर्जनात्मक लेखन कार्यशाला, गोष्ठी'मा। पौष १४ गते विजय दाइको सशरीर स्वदेश प्रत्यागमन भएको अनुभूति गर्न पाएँ। एक झल्को न्याँस्रो मेटिदिए कलाकारहरूले। सिकारु कलाकारहरू पनि सुनीलका शिष्यमण्डलीकै सदस्य भएकाले होला तिनको अभिनय प्रखर थियो।
त्यसै दिन बिहान ९ बजे नाटकका निर्देशक तथा परिकल्पनाकार शङ्कर रिजालजीले निम्तो दिनुभयो। सदैव सविनय र शालीन रिजालजीको निर्देशकीय भूमिका यति परिपक्व होला भन्ने कल्पना मैले गरेकै थिइनँ। उहाँ पनि सुनील पोखरेलबाटै सुप्रशिक्षित शिष्य हुनुहुँदो रहेछ। शङ्करजीलाई सप्रेम साधुवाद! 'कोही किन बर्बाद होस्' नाटक लेख्न र खेल्न चाहनेले त नहेरी हुँदैन। आजका निजी विद्यालय सञ्चालकहरूले यो नाटक हेरेनन् भने ती पछुताउनेछन्। अनामनगरस्थित नाट्यशालाको दर्शन गर्न सबै जनालाई मैले चुले निम्तो गरेँ। आजका आधुनिक अभिभावकहरूले हेर्न छुटाए भने तिनीहरू पनि अभागीकै पङ्क्तिमा देखिनेछन्।
सुनीलजीले पहिले नै भन्नुभएको थियो, हाम्रो आलोचना गरिदिनुहोला। मबाहेकका सबै दर्शकहरू लेखक, निर्देशक र अभिनेताजत्तिकै शालीन थिए, तिनले आलोचना गर्ने कुरै आएन। कोकिल–स्वरमा प्रशंसाको वर्षा गरे। आलोचना गर्ने दायित्व चाहिँ मै कागेको भागमा परेको जस्तो लाग्यो। मैले जम्मा दुइटा शब्दका विषयमा मात्रै सुटुक्क सुझाउ दिएँ किनभने प्रशंसक दर्शकले सुनेका भए तिनले मलाई मुक्क्याउने थिए। मैले जे सुझाएँ, शङ्करजीले सहर्ष त्यसलाई स्वीकार गर्नुभयो त्यसका लागि पनि उहाँको विनयशीलता र शालीनतालाई धन्यवाद दिनैपर्छ। मैले के भनेँ र उहाँले के स्वीकार गर्नुभयो त्यसका सम्बन्धमा आजै उल्लेख भइहाल्नु उत्ताउलोपन हुनेछ। निर्देशक, अभिनेता र दर्शकहरूकै अपमान हुनेछ। मुक्त कण्ठले मैले पनि हृदय खोलेरै भन्नुपर्छ, 'नाटकको लेखनलाई निर्देशन र अभिनयले पर्याप्त सम्मान गरेको छ। मजस्तो ढुङ्गो पनि पटक–पटक रसायो भने हृदयहरू कति पग्लिए होलान्! सवा घण्टा एक मिनेटजस्तो लाग्यो। संवादको स्वाभाविकतालाई नै मैले केन्द्रविन्दु बनाएको थिएँ। विजय दाइ हुनुभएको भए अभिनयकर्मी र निर्देशकका गालामा म्वाइँ खाँदा–खाँदा थाक्नुहुने थियो तर थाकेको स्वीकार चाहिँ गर्दै गर्नुहुने थिएन। नाटकको संवादलाई स्वाभाविक बनाउनका लागि बलाघात वा स्वराघातमा सचेत हुनुपर्छ। कहाँ लेग्रो तान्ने र कहाँ नतान्ने विचार पुर्यााउनुपर्छ। उच्चारण गर्दा कहाँ जोड दिने र कहाँ नदिने भन्नेमा पनि विचार पुर्या उनुपर्छ। संवाद हृदयदेखि बोलिनुपर्छ। कलाकारहरू उपर्युक्त गुणहरूले भरिभराउ छन्। निर्देशकको परिकल्पनाले लेखनको मौलिकतालाई यथेष्ट सम्मान गरेर मात्रै आधुनिकतालाई आत्मसात् गरेको छ।

प्रकाशित: २ माघ २०७१ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App