नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जहाँबाट चुनावमा उठे पनि ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता बस्नेतले बालेनलाई असफल मेयरको संज्ञा दिँदै यस्तो बताएका हुन्।
नेता बस्नेतले बालेनलाई भक्तपुर वा झापा भन्दा पनि आफ्नो पुर्ख्यौली थलो महोत्तरीबाट चुनाव लड्न चुनौती दिए।
‘बालेनजी जहाँ उठे पनि जित्दैनन्, अब उनको हिम्मत र आँट छ भने महोत्तरीबाट उठ्नुपर्यो,’ बस्नेतले भने, ‘संसदीय मोर्चामा भाग लिएको नेताले आफ्नै क्षेत्रबाट उठ्ने हो, उहाँको हिम्मत छैन भने झापा जानै पर्दैन।’
उनले बालेन अहिले फोटो सर्कलमा मात्र रहेको र रास्वपा सभापति रवि लामिछानेको प्रकरणले अत्तालिएको टिप्पणी समेत गरे।
‘रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा किन फिराद लाग्यो भनेर उहाँ अहिले फस्न आँटे कि भनेर अत्तालिनुभएको छ,’ बस्नेतले भने।
झापाबाट बालेन चुनाव लड्ने चर्चाप्रति व्यंग्य गर्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको गढमा बालेनले चुनाव जित्नु त परको कुरा, भाडामा कोठासमेत नपाउने जिकिर गरे।
‘केपी ओलीले ४५ वर्षदेखि अभिभावक भएर रगत पसिना बगाएको ठाउँ हो झापा। त्यहाँ बालेनले पार्टी कार्यालय र बस्ने कोठा खोज्दा पनि पाएनन्,’ उनले भने, ‘न संगठन छ, न कहिल्यै गएको छ, एकदिन झुल्केको भरमा झापा जितिन्छ ?’
बस्नेतले काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन पूर्ण रूपमा असफल भएको आरोप लगाए। नदी किनारको मापदण्ड र सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर उनले बालेनलाई ‘दानव’ को संज्ञा दिए।
‘४० मिटरको मापदण्ड बनाएर ५८ हजार नागरिकलाई घरबारविहीन बनाउने षड्यन्त्र भएको छ। नदी किनारमा बस्ने, साना व्यवसायी र सुकुम्बासीलाई दुःख दिएर उहाँ दानव रूपमा प्रकट हुनुभयो,’ बस्नेतले भने।
उनले काठमाडौं महानगरलाई सबैभन्दा बढी भ्रष्टाचार हुने, बेरुजु भएको र पुँजीगत खर्च गर्न नसक्ने नगरपालिका भन्दै बालेन सर्वाधिक ‘फ्लप’ मेयर भएको दाबी गरे।
आगामी चुनावमा बालेन भक्तपुर आए पनि वा झापा गए पनि एमालेलाई कुनै फरक नपर्ने र उनी पराजित हुने बस्नेतको ठोकुवा थियो।
प्रकाशित: ३ माघ २०८२ १८:३३ शनिबार





