६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

रंगमञ्च र समाज

मेरो नितान्त नजिकको सहकर्मी/रंगकर्मीको गुनासो रहने गरेको छ– 'मैले समाजको लागि गरेँ तर समाजले मलाई हेरेन। त्यसैले यो समाजसँग मेरो असहमति छ।'
उनको आशय के हो भने हामीले गरेको रंगकर्म हामीले समाजका लागि गरेका हौँ र त्यसको सोधभर्ना समाजले पनि गर्नुपर्छ। अर्थात् हामीले गरेको रंगकर्म देशको कला, साहित्य, संस्कृतिको उन्नति, प्रगतिका खातिर भएकोले देश र समाजको पनि हाम्रो उन्नति र प्रगतिमा अनिवार्य योगदान हुनैपर्छ। यो विषयमा हामी बीच लामो समयदेखि सम्मति र विमतिको सनातनी समस्या रहँदै आएको छ।यसमा विवाद छैन– रंगकर्मीहरूका कारण नेपाली कला, साहित्य, संस्कृतिको प्रगतिमा योगदान भएको छ। तर, रंगकर्मीलाई रंगकर्म गर भनेर कसले भनेको हो? समाजले, देशले, सरकारले वा कसले? पाठशालामा भनियो कि? संघसंस्थाले भन्यो कि? अभिभावकले भने कि स्थानीय नेताले?
होइन, कसैले भनेको होइन। रंगकर्म रंगकर्मीहरूको नितान्त निजी चयन हो। कसैले भनिहालेको भए पनि त्यो रंगकर्मीको निजी निर्णय हो। त्यसैले यसका परिणामका भागीदार पनि ऊ स्वयं हो। हाम्रो समाज आफैँ विभिन्न समस्याले यतिविघ्न ग्रस्त छ कि त्यसले आफ्नो अत्यन्तै निजी कुराबाहेक अरू सोच्न समेत पाउँदैन। कुल जनसंख्याको आधा प्रतिशतबाहेक बाँकी सम्पूर्ण नेपाली बिहानको खाना खाएपछि भरे के खाने, कसरी खाने भन्ने मेसोमै दौडिरहनुपर्ने बाध्यतामा हुन्छन्।
धारामा पानी आउँदैन, घरमा बत्ती बल्दैन, समयम ग्यास पाइँदैन, यातायात सुलभ छैन, महँगी नियन्त्रणबाहिर छ, भ्रष्टाचार खुल्लमखुल्ला छ, घुस नदिई कुनै काम हुँदैन। यस्तोमा नेपाली समाज र रंगकर्मले कहाँनिर तादात्म्य राख्दछ? मानिस आफ्ना यी आधारभूत आवश्यकताकै समस्याबाट नउम्की रंगकर्म, कला, साहित्यमा रमाउन नसक्ने रहेछ। ती त दोस्रो प्राथमिकताका कुरा रहेछन्। रंगकर्मी र दर्शक समाजका यी दुई तत्त्वहरूको समस्यामा जबसम्म तादात्म्य कायम हुँदैन, तबसम्म यो निरन्तर जारी रहने रहेछ।
अनि यो अवस्थामा समाजले किन गरिदिने? समाजले अधिकतम रूपमा केसम्म गरिदिन सक्छ भने रंगकर्मीका राम्रा–राम्रा काम र सिर्जना पैसा तिरेर हेरिदिन सक्छ, प्रशंसा गरिदिन सक्छ। समाजले गरेको भनेकै यति हो।
नेपालका रंगकर्मी रंगकर्मको एउटा समयावधिमा पुगेपछि निराश भएको पाइने गरेको छ (सबैमा यो लागू नहुन सक्छ)। निराशाले उत्कृष्ट सिर्जना हुन सक्दैन। उत्कृष्ट सिर्जना गर्न उत्साह चाहिन्छ। त्यस्तो उत्साहको निर्माण कसरी गर्ने भन्ने चाहिँ सवाल हुन सक्छ।
युवावस्थाको जोश र उत्साह ढल्कँदो उमेरसँगै चरम निराशामा बदलिएको पाइएको छ। यस्तोमा केही अग्रजहरूको गम्भीरता जरुरी देखिएको छ। यसलाई निराशाको काम होइन भन्नेमा अग्रजहरूको सचेतना आवश्यक देखिएको छ। नयाँ आउने पुस्तालाई प्रतिबद्ध रंगकर्मी बनाउन मार्ग स्पष्ट पार्नु उहाँहरूको पनि दायित्व हो।

प्रकाशित: १ माघ २०७१ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App