जाडो छ है गुरुजी?
साह्रै छ नि। म त यसैबेला बिरामी परेर झन् जाडो लागिरा'छ।
के भयो?
उहिलेको मापसे देखियो अहिले। दिनमा चार लिटरसम्म धोकिन्थ्यो उतिबेला।
दिनमा चार लिटर?
ट्यांकरै थिएँ नि।
अहिले पनि गरिन्छ मापसे?
छोडियो अहिले त। मापसे कडाइ गरेर मलाई त फाइदै भयो।
कति भयो गाडी चलाउन थालेको?
२०३८ सालदेखि चलाएको।
ट्याक्सीचाहिँ कहिलेदेखि?
४९–५० सालतिरबाट होला।
उहिले र अहिलेको ड्राइभिङमा के फरक छ?
उहिले खाली सडकमा जसरी हाँके पनि हुन्थ्यो। अहिले जामैजाम। ५१ रुपैयाँमा लाइसेन्स लिएको हुँ। मापसेसापसे केही मतलब हुन्थेन।
ट्याक्सीको आम्दानीमा पनि?
उहिले औँलामा गन्न मिल्ने ट्याक्सी थिए। यात्रु फालाफाल पाइन्थे। अहिले त कुरेको कुर्यै् गर्नुपर्छ। साहूको भाडै तिर्न मुश्किल अचेल।
गाह्रोसाह्रो पहिला र अहिले?
अहिले साह्रै गाह्रो। ट्यापेफटाहा यात्रुको हैरानी। ट्राफिकको तनाव। अझ भएन भनेर अहिले त अख्तियार पनि हाम्रै पछि लागेको छ।
के गर्छ अख्तियारले?
दुःख दिन्छ हामी जस्ता निमुखालाई। भ्रष्टाचार गरेर कुम्ल्याउनेहरूलाई केही गर्न सक्ने होइन। भुरा मार्न पल्केको अख्तियार। ठूला माछादेखि डराउँछ।
मिटर बिगारेपछि आउँदैन त अख्तियार?
मैले त कहिल्यै बिगारिनँ मिटर। कसैलाई ठगेको पनि छैन। सोझालाई फसाउने जाल रचेर आउँछन् सीआईडीहरू।
कहिलेसम्म गर्ने यो पेशा?
सकुञ्जेल यही ट्याक्सी चलाउने हो। ६० पुग्न लागिसकियो। अब त ठूला गाडी चलाउन पाइन्न होला।
आफ्नै गाडी किनिएन त?
दुइटा किनियो। घाटा लागेपछि बेचियो। गाडी साहू हुन भाग्यमा लेखेको छैन।
यत्रो वर्ष गाडी चलाएर के पाइयो?
छोराछोरी पढाइयो। जिन्दगी गुजार्नेबाहेक अरू केही गर्न सकिएन।
घर कता हो?
दोलखा, लाकुरी।
राजधानी के निहुँमा छिर्नुभो?
२०२६ सालमा काम खोज्दै गाउँलेको पछि लागेर छिरियो राजधानी।
आमाबुबा के गर्नुहुन्थ्यो?
खेतीपाती। कहिलेकाहीँ अरूको भारी बोक्नुहुन्थ्यो।
खेतीपाती गर्न मन लागेन?
खेतीपातीभन्दा त परदेशमै ठीक भन्ने सोचिन्थ्यो। गोरु जोत्न जानिएन। घरमा त अहिले पनि भैँसी पालेकै छ परिवारले।
कस्ता गीत सुनिन्छ?
लोकगीत। समाचार पनि धेरै सुन्छु।
प्रकाशित: १ माघ २०७१ १२:०९ बिहीबार





