जन्मथलो सिन्धुपाल्चोक चौताराबाट आठ वर्षको उमेरमा काठमाडौँ झरेँ। बुबा व्यापारी भएकाले यता पनि घर बनाउनुभएको थियो। यतै पढाइ सुरु गरियो।
मेरो परिवारिक माहोल नै संगीतमय भएकाले सानैदेखि संगीतमा अभिरुचि थियो। स्कुल, छिमेक सबैतिर मैले गाएको सुन्न चाहन्थे। 'यस्तो मीठो गीत गाउने मान्छेको नाम गणेशध्वज सुहाएन' भनेर प्रधानाध्यापक प्रेम सरले आफ्नै नामबाट मेरो नाम प्रेमध्वज राखिदिनुभयो।२००७ सालतिर आमा प्राणदेवी प्रधान रेडियो नेपालमा गीत गाउन जाँदा म पनि पछि लागेर गइरहन्थेँ। त्यही मौकामा मैले पनि स्वर परीक्षा दिन पाएँ। २००९ सालमा 'क' श्रेणीमा स्वर परीक्षा पास भइयो। त्यसपछि औपचारिक रूपमा गायन सुरु भयो। सुरुमा मैले भैरवबहादुर थापाको 'याद कसैको आइरहेछ, यो अँधेरी रातमा' बोलको गीत गाएँ। त्यतिबेला एउटा गीतको १० रुपैयाँ पारिश्रमिक दिइन्थ्यो। महिनामा दुईतीनटा गीत गाउन पाइन्थ्यो। आमाबुबाको सम्बन्ध विच्छेद भएकाले मलाई कमाएर आमाछोरा पालिनुपर्ने बाध्यता आइलाग्यो। त्यति पैसाले खर्च नटर्ने भएपछि अरू काम खोजियो। १६ सालमा अमेरिकन लाइब्रेरीमा टाइपिस्टको काम पाएँ। दिनको पाँच मोर आईसी कमाउन थालेपछि घरको खर्च चल्न थाल्यो। आमाले पनि गुडिया बनाएर केही पैसा आर्जन गर्नुहुन्थ्यो। खर्चको तनावबाट मुक्त भएपछि गायनतिर पनि समय दिन थालेँ। बीचमा दुईतीन वर्ष छाडेर २०१३ सालमा एसएलसी पास भइयो। पढाइलाई पनि निरन्तरता दिँदै बीएसम्म पुर्या एँ।
कम बोल्ने, लज्जालु स्वभावको थिएँ। गीत गाउन भने कहिल्यै लाज लागेन। जाँडरक्सी, चुरोट नखाने भएकाले साथी, सर्कल एकदम सानो थियो। पछि माछामासु पनि खान छोडेपछि संगतको घेरो अझ साँघुरियो। सानैमा थाप्लोमा जिम्मेवारी महसुस भएकाले होला, आफ्नो भविष्यबाहेक अन्त ध्यान दिइएन। धेरै फ्यानले पछ्याउँथे। फोन गर्थे। बिहेको प्रस्ताव आइरहन्थे। तर, मलाई वास्ता हुन्थेन। आमाकै चिनजानबाट २८ सालमा मागी बिहे गरेँ। त्यो बेला रेडियोमा बच्चुकैलाश, नारायण गोपाल र म धेरै रुचाइन्थ्यौँ। हाम्रा फ्यानको संख्या ठूलै थियो।
हरेक क्षेत्रमा सफल बन्न अनुशासन सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। कला क्षेत्रमा लागेका धेरै नयाँ अनुहारहरू मसँग सहयोग, सल्लाह, सुझाव माग्न आउँछन्। उनीहरूलाई म अनुशासित होऊ मात्र भन्छु। बैँसलाई अनुशासनले बाँध्न सक्यो भने सबै कुरा ठीक हुन्छ। जुनसुकै कुराको मात वा लत लाग्यो भने समस्या हुन्छ। अर्को कुरा, जुनसुकै क्षेत्रमा हात हाल्ने प्रवृत्तिले पनि सफल हुन दिँदैन। म त भन्छु, 'ज्याक अफ अल, मास्टर अफ नन' हुनु हुँदैन। 'ज्याक अफ अल, मास्टर अफ वन' बन्नुपर्छ। मैले पनि गायनमा मात्र एकाग्र हुन चाहेँ। बाँच्नका लागि टाइपिस्टको जागिर खाएर गायक नै बन्ने धुनमा थिएँ म। अन्त कतै पनि मन डुलाइएन। त्यसैले त म टाइपिस्टको जागिरमा ३३ वर्ष र रेडियो नेपालमा ६० वर्ष टिक्न सकेँ।
प्रकाशित: १ माघ २०७१ १२:०४ बिहीबार





