२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

एयर होस्टेसको माग बढ्दो

एयर होस्टेस करिअरमा आकर्षण कस्तो छ?
आकर्षण चुलिँदोछ। प्लस टू सकेपछि प्राथमिकतामै पर्ने करिअर हो यो। ग्ल्यामरस पेशा बन्न सफल छ एयर होस्टेस।
यो तालिम कसले लिन सक्छन्?
पाँच फिट दुई इन्च उचाइ भएको, प्लस टू उत्तीर्ण, १८ देखि २८ वर्ष उमेरका युवाले यो तालिम लिन सक्छन्।
आकर्षक अनुहार र 'फिगर' भए पुग्छ भनिन्छ। सत्य हो?
त्यति मात्रले पुग्दैन। अनुशासन, प्रतिस्पर्धा गर्न सक्ने क्षमता, सञ्चार कलालगायत कुरा पनि आवश्यक हुन्छन्।
Vacancy py
पुरुष पनि एयर होस्टेस बन्न सक्छ?
अवश्य सक्छ। नेपालका घरेलु वायु सेवा कम्पनीहरूमा पुरुष एयर होस्टेस नराख्ने गरिए पनि इन्टरनेसनल कम्पनीमा राम्रो अवसर छ। यद्यपि, महिला प्राथमिकतामा पर्छन्। चार महिलामा एक पुरुष अनिवार्य गरिएको देखिन्छ विदेशतिर। नेपालमा पुरुषले ग्राउन्ड होस्टेस, हेलिकप्टर, अफिसतिर काम पाउँछन्।
यो पेशा लामो समयका लागि सोच्न सकिन्न भन्नु ठीक हो?
नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० वर्षको उमेरसम्म एयर होस्टेस हुन दिन्छ। व्यक्तिको क्षमता हेरेर अन्य कम्पनीमा पनि लामै समय काम गर्न पाइन्छ।
विवाहितले पनि अवसर पाउन सक्छन्?
सकभर अविवाहित हुँदा राम्रो। विवाहित भए पनि दुईतीन वर्ष पूरा समय दिने गरी काम गर्ने सर्तमा अवसर दिन सक्छ कम्पनीले।
कामको अवसर मिल्ने सम्भावना कति हुन्छ?
वार्षिक सय जतिले तालिम लिन्छन्। त्यसमध्ये ७० देखि ८० प्रतिशतले एयर होस्टेसकै काम पाउँछन्। यसवर्ष मात्र हाम्रोबाट ९० जनाले त्यो अवसर पाए। सात वर्षको अवधिमा लगभग पाँच सयले काम पाइसके फ्लाइटेकबाट।
यो तालिम गर्नेले अन्य क्षेत्रमा पनि काम गर्न सक्छन्?
ग्राउन्ड होस्टेस, एयरलाइन्सको अफिससँगै हस्पिटालिटी क्षेत्रमा यो तालिम गरेको जनशक्तिलाई उच्च प्राथमिकता दिइन्छ। होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले यो तालिम गर्दा होटलमा अन्तर्वार्ता नै नदिई सीधै काम पाएका उदाहरण धेरै छन्।
कति खर्च लाग्छ?
बेसिकमा २५ हजार र एडभान्स्डमा २८ हजार तिर्नुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत बेसिकमा डोमेस्टिक एयरतर्फको ज्ञान दिइन्छ। इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनबाट स्वीकृत एड्भान्स्ड कोर्समा भने डोमेस्टिक र इन्टरनेसनल दुवै एयरका लागि दक्ष जनशक्ति उत्पादन गरिन्छ।
केके सिकाइन्छ?
तीनमहिने कोर्समा सर्भिस, मेकअप, सेफ्टी, फस्ट एड, फायर फाइटिङ, इन्फ्रास्ट्रक्चर ह्यान्डलिङ, इन्फरमेसन सेयरिङलगायत कुरा सिकाउँछौँ।
नेपालमा यो तालिम सञ्चालन गर्न केही समस्या छ?
विदेशमा अभ्यासका लागि प्लेनभित्रै जान पाइन्छ। यहाँ त विमानस्थल छिर्नै मुस्किल पर्छ। त्यसैले हामी आफैँले २५ सिटे एयरक्राफ्ट कार्यालयभित्रै जडान गरेर अभ्यास गराउँछौँ।
अहिले धेरै एयर होस्टेस जनशक्तिको ध्यान विदेशतिरै हुन्छ, हो?
आकर्षक सुविधाका कारण धेरैजसो विदेशी एयरलाइन्स नै ताकेर तालिम लिन्छन्। हामीले विश्वका ५२ वटा एयरलाइन्ससँग समन्वय तथा हवाइ क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय निकाय आईएओ, आईएएफ र जेएएसको समेत अनुमति लिएर तालिम दिइरहेका छौँ। यसले गर्दा विदेशका एयरलाइन्समा धेरैले काम पाइरहेका छन्। पछिल्लोपटक नेपालमै पनि एयरलाइन्स थपिँदै गरेकाले यहाँ पनि माग बढ्दो छ।

प्रकाशित: १ माघ २०७१ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App