५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

एक्सक्यूज मी म्याडम्

'मानिसको पहिलो 'इम्प्रेसन' उसको पहिरनले दिन्छ।'
महिला तथा बालबालिका मन्त्रालयकी अधिकृत शोभादेवी खरेल यो भनाइसँग सहमत छिन्। २०४९ सालबाट निजामती सेवामा प्रवेश गरेकी उनले त्यसयता सारी–चोलो, कुर्ता–सुरुवाल र सुट तीनै पोसाकको अनुभव सँगालेकी छिन्। उनीसँग भिन्नाभिन्नै अनुभव छन्।गिरका लागि नियुक्ति पाएपछि उनी सुरुवाती चरणमा सारी–चोलो लगाएर कार्यालय आउँथिन्। त्यसपछि कुर्ता–सुरुवालमा आउन थालिन्। 'कुर्ता–सुरुवाल लगाउँदा दिदी छाड्नुस् त भन्नेहरू सुटमा सजिँदा 'एक्सक्यूज मी म्याडम्' भन्न थालेका छन्,' अहिले सुटमा सजिएर आउजाउ गरिरहेकी उनले हाँस्दै भनिन्, 'सुट लगाएपछि मैले साँच्चिकै सशक्तीकरणको महसुस गरेको छु।' महिला कर्मचारीले लगाउने 'फर्मल' पोसाकका कारण सेवाग्राहीले गर्ने व्यवहार पनि फरक हुने उनको अनुभवले बताउँछ।

उनको अनुभवमा कुर्ता–सुरुवाल लगाउँदा सेवाग्राहीले महिलालाई खासै चासो दिँदैन थिए। कार्यालयमा सँगै रहेको पुरुष कर्मचारीलाई सर भन्दै कामको बारेमा सोधखोज गर्ने सेवाग्राही महिलालाई वास्ता गर्दैन थिए। 'सुट लगाउने महिलाले यसखाले विभेद हट्दै गएको महसुस गर्न थालेका छन्,' खरेल भन्छिन्, 'महिलामाथि हेर्ने दृष्टिकोणलाई पनि सुटले बदलिदिएको छ।'

खरेलले भनेजस्तै अधिकांश महिलाले सुटका कारण आफूहरूमा आत्मविश्वास बढेको सुनाए। कुनै पार्टीमा सरिक हुँदा होस् या कार्यालय जाँदा, सहरमा घुम्दा होस् या कलेज धाउँदा; सुटले आफूहरूलाई सम्मान दिएको उनीहरूको बुझाइ छ। महिलाका लागि सुट पहिरनमात्रै नभएर आत्मस्वाभिमानको कवच पनि भएको छ।

यस्तै बुझाइ छ, निर्मला पाण्डेको। रामेछापको गोलुङबाट अध्ययनको सिलसिलामा कुर्ता–सुरुवाल लगाएर काठमाडांै छिरेकी उनले सुट लगाउन थालेको दुई वर्ष भयो। 'यही दुई वर्षमा मैलै धेरै अनुभव सँगालेकी छु,' उनी गर्वसाथ भन्छिन्, 'कुर्ता–सुरुवालमा भन्दा सुटमा बढी सु'रक्षित महसुस गरेँ।'

राजधानीको एक कलेजमा स्नातक अध्ययन गर्दै गरेकी उनी पढाइसँग जागिर पनि गर्छिन्। उनी कलेज जाँदा नियमितजसो सुट लगाउँछिन्, अफिसमा लगाउने भिन्नै सुट छ। 'बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सुटमै हुन्छु,' उनले भनिन्, 'कुर्ता–सुरुवाल लगाउँदा र सुट लगाएर हिँड्दा अरूले हेर्ने दृष्टिकोण नै फरक हुँदो रहेछ।'

सुट लगाएर बोलेको कुरा अरूले गम्भीरतापूर्वक लिने गरेको अनुभव उनी सुनाउँछिन्। 'पहिला केही कुराबारे चासो राख्दा अरूले वास्तै गर्दैनथे,' उनी भन्छिन्।

सार्वजनिक सवारीमा यात्रा गर्दा वा भीडमा हिँड्दा सुट लगाएको छ भने धेरै सुरक्षित महसु''स हुने महिलाहरूको अनुभव छ।

जिम्मेवारी बढाउँछ
सरकारले २०६८ साउनबाट कर्मचारीका लागि पोसाक निर्धारण गरेको थियो। निजामती नियमअनुसार महिलाका लागि सारी–चोलो, कुर्ता–सुरुवालसँगै कोट पाइन्ट गरी तीनखाले पोसाक सिफारिस गरिएको छ। निजामती सेवामा कार्यरत ८० हजार कर्मचारीमध्ये १६ दशमल २ प्रतिशत महिला कार्यरत छन्। 'पछिल्लो समयमा धेरै महिला सुटतर्फ आकर्षित भएको पाएका छौं,' सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, 'सरकारले पोसाकका लागि भनेर वार्षिक ७ हजार ५ सय भत्ता दिने गरेको छ।'

सुटले व्यक्तित्व बढाउनेमात्र होइन योसँगै जिम्मेवार पनि बढाउने महिलाहरूको अनुभव छ। काठमाडौंस्थित सिएनके ट्राभल्सको रिसेप्सनमा कार्यरत उर्मिला विष्ट सुटले व्यक्तित्वसँगै सम्मान दिलाउने सुनाउँछिन्। दुई वर्षदेखि सुट लगाउन थालेकी उनी यसअघि सर्ट पाइन्ट र कुर्ता–सुरुवाल लगाउँथिन्। सुटमा सजिँदा सबैले ख्याल गर्ने भएकाले आफूहरूको जिम्मेवारी पनि बढ्ने उनले बताइन्।

सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय त ड्रेसकोडका कारण महिला–पुरुषबीचको विभेद घटेको बताउँछन्। 'सरकारी कार्यलयमा कार्यरत महिलाले सुट लगाउँदा उनीहरूमा आत्मविश्वास बढेको पाएको छु,' उनले भने।

ठमेलस्थित हिमालयन बैंककी सञ्चिता पाण्डेयसँग कामकाजी महिलाको लागि सारीभन्दा सुट नै सहज र छरितो हुने अनुभव छ। 'सारीको अल्झनभन्दा सुट निकै सजिलो छ,' उनले भनिन्, 'यसले महिलालाई स्मार्ट र आकर्षक देखाउँछ। सुट लगाएका महिलाका लागि क्षमता अभिवृद्धि गराउने हो भने 'सुटमा सुगन्ध' हुने थियो।'

नब्बे प्रतिशत सुटमा
कलेज पढ्ने किशोरीदेखि जागिर खाने महिलाहरूमा सुटको मोह बढ्दै जाँदा टेलर्सको संख्या पनि बढिरहेको छ। नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष रमानाथ श्रेष्ठका अनुसार कपर्ोेरेट सेक्टरमा कार्यरत ९० प्रतिशत महिलाहरू सुट लगाउँछन्। 'कलेज जानेदेखि कार्यलय जाने महिलासम्म सुटमा सजिन थालेका छन्,' उनले भने, 'सुटमा महिला स्मार्ट देखिन थालेका छन्। पछिल्लो समय उनीहरूको रोजाइ नै सुट बन्न थालेको छ।'

श्रेष्ठका अनुसार सामान्यतः सुटको मूल्य ६ हजार देखि १० हजारसम्म पर्छ। 'एक जोर सुटका लागि ३ मिटर कपडा आवश्यक पर्छ,' उनले भने, 'करिब १० हजारमा मध्यम खाले सुट तयार हुन्छ।' सुटको कपडा प्रतिमिटर ४ सय ५० देखि ३ हजारसम्म पर्छ। सिलाइ खर्च ३५ सय देखि ५५ सयसम्म पर्ने उनले बताए।

देशभरमा २५ हजार टेलर्स रहेकोमा तीमध्ये ५ हजार त सर्टिङ सुटिङकै छन्। उपत्यकामा मात्र १५ सय सर्टिङ सुटिङसहित टेलरको संख्या ३ हजार रहेको छ। यहाँ रहेका धेरैजसो सर्टिङ सुटिङमा महिलाहरूको सुट बन्ने गरेको छ।

सुरिक्षत सुट
फेसन डिजाइनर लक्ष्मी गिरीको बुझाइमा सुट संसारभरका महिलाको साझा पोसाक हो। सुट अन्य फेसनका कपडाभन्दा सरल र छरितो हुन्छ। 'सधैं कपडा चेन्ज गर्नुपर्ने बाध्यता रहँदैन,' उनी भन्छिन्, 'यसले महिलालाई अनावश्यक खर्च गर्नुपर्ने बाध्यताबाट बचत गराएको छ।'

कहिलेकाहीँ मोटरसाइकलमा सारी र सल अड्किएर महिला दु'र्घटनामा परेको खबर पनि आउने गरेका छन्। यस्तो अवस्थामा कामकाजी महिलाका लागि सुट सजिलो र सुरिक्षत छ। 'सुटमा सजिएका नेपाली महिला राम्रा देखिनुका साथै सुरक्षित पनि छन्। संसारका अन्य महिलाका अगाडि हामी पनि कम छैनौं भन्ने सन्देश सुटले दिन्छ,' गिरी भन्छिन्, 'सुटमा हिँड्दा अरूभन्दा भिन्न देखिने भएकाले काममै गइरहेको ठान्छन्, यसले महिलाको आत्मबल बढाउन सघाउ पुर्यािउँछ।'

सुटमा लोभिएका महिला हतपती सारी लगाउन मन गर्दैनन्। एक त लगाउने झन्झट, अर्को समयको बर्बादी। लगाउने समय पनि कम लाग्ने भएकाले यो किफायती हुने उनीहरूको भनाइ छ। 

प्रकाशित: २५ पुस २०७१ २२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App