२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

मनकामनामा अपहरण, पोखरामा उद्धार

पोखरा-नयाँ वर्ष मनाउन पोखरा आएका भारतीय पर्यटकलाई बन्धक बनाएर ५० लाख रुपैयाँ फिरौती मागेका ६ जना भारतीय तथा नेपाली अपहरणकारीलाई कास्की प्रहरीले सोमबार पक्रेको छ।
लेकसाइडको हङकङ होटलमा बन्धक बनाइएका दुई जना भारतीय पर्यटकलाई सोमबार मध्याह्न १२ बजे प्रहरीले उद्धार गरेको हो। अपहरणकारी त्यही होटलबाट समातिएका हुन्।एक्कासि सयको संख्यामा गएका प्रहरीले होटललाई चारैतिर घेराउ गरी बन्धक पर्यटकलाई उद्धार गरेको थियो। होटलको छत, बरन्डा र वरिपरि चारैतिर प्रहरीले घेराउ गर्दा स्थानीय बासिन्दा द्वन्द्वकालमा समेत अनुभूत नगरेको प्रहरी अप्रेसनको साक्षी बनेका थिए। 
भैरहवानजिकको भारतीय सीमा सहर नौतनहवाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई होटलमा बन्धक बनाएर अपरहणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ। उनीहरू अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा घुम्न आएका थिए। यही थाहा पाएर पछिपछि आएका नौतनहवाका राजेन्द्र कसोधन, महाजन गुप्ता र राजेश कसोधनले नेपाली लगाएर सिंह दाजुभाइको अपहरण गरेका हुन्। 
पोखरामा नयाँ वर्ष मनाएर आइतबार गोरखाको मनकामना मन्दिर पुगेका सिंह दाजुभाइसहित ६ जनालाई रोहित सुनार, कमल पुनमगर र सुरज सेनको सहयोगमा अपहरण गरी सोही दिन साँझ पोखरा ल्याइपुर्या्इएको थियो।
‘अरू चार जना साथीलाई ३५ हजार रुपैयाँ लिएर छाडेछन्,' प्रहरी स्रोतले भन्यो, ‘सिंह दाजुभाइका बाबुलाई फोन गरी ५० लाख नेपाली रुपैयाँ मागेछन्।' स्रोतका अनुसार अपहरितका बाबुले नेपाल प्रहरीलाई खबर गरेपछि उनीहरूको खोजी गरी बन्धक बनाइराखिएको होटलबाट उद्धार गरिएको हो। 
अमृतपाल र गुरुदीपपाल सिंहका भाइसँग आफूहरूले २८ लाख रुपैयाँ लिनुपर्नेमा नदिएकाले अपहरण गरेको प्रारम्भिक बयान अपहरणकारीले प्रहरीलाई दिएका छन्। उनीहरूले चितवनमा आफूहरूले चिनेका व्यक्तिमार्फत कास्की सिक्लेसका रोहित, म्याग्दीका कमल र स्याङ्जा चिन्नेबासका सुरजको सहयोग लिएका थिए।
‘अपहरणपछि मागिने फिरौतीको २० प्रतिशत दिने सर्तमा नेपाली युवा प्रयोग गरेका रहेछन्,' प्रहरी स्रोतले भन्यो। उता ५० लाख माग्ने र आफूहरूले उठाउनुपर्ने २८ लाखको २० प्रतिशत मात्रै दिने दाउमा उनीहरूलाई प्रयोग गरेको एक प्रहरी अधिकारीले बताए। 
हङकङ होटलमा बन्धक बनाएर राखिएको अवस्थामा तीन भारतीयसहित कमल समातिएका थिए भने रोहित र सुरजलाई कास्कीकै आर्बा गाउँबाट सोमबार साँझ प्रहरीले पक्रेको हो। उनीहरूलाई अपहरण तथा ज्यान बन्धकसम्बन्धी मुद्दा लगाउने तयारी कास्की प्रहरीले गरेको छ।

प्रकाशित: २१ पुस २०७१ १९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App