पोखरा- गीतकार विनोद गौचनको सम्झनामा विनोद गौचन स्मृति प्रतिष्ठान स्थापना गरिएको छ। प्रथम स्मृति दिवसमा आइतबार विनोदका दाइ विश्वमोहन गौचनको अध्यक्षतामा प्रतिष्ठान घोषणा गरियो।
प्रतिष्ठानले कला, साहित्य र संगीत प्रवर्द्धनमा योगदान गर्ने गौचनले जानकारी दिए। 'विनोदका सहयात्री समेटेर हामीले प्रतिष्ठान बनाएका हौं,' उनले भने, 'डेढ लाख रुपैयाँ राखेर अक्षय कोशसमेत सुरु गरेका छौं।' उक्त कोशबाट हुने आम्दानीले गीतकारहरुलाई प्रोत्साहन गरिने जानकारी उनले दिए।
'पोखरामा फूल फुल्दैन', 'ढुँगेसाँघुको मेलामा' लगायत पुस्तकका लेखक गिौचनको २०७० पुस २० मा निधन भएको थियो। उनको 'जति माया लाए पनि', 'तगारोमा रुमाल राखी', 'कस्तो ठाउँमा फुल्यौ तिमी', 'चरा भएर बाँच्न सिक' लगायत दर्जनौं चर्चित गीत रेकर्ड भइसकेका छन्।
विनोदको परिकल्पनामा कास्कीको लुम्ले गाउँलाई २०६५ मा कविता गाउँ घोषणा गरिएको थियो। प्रतिष्ठानले कविता गाउँलाई अघि बढाउने अध्यक्ष गौचनले बताए। शनिबार गायक दिलु गुरुङ, पत्रकारहरु बद्रीविनोद प्रतीक, केशवशरण लामिछाने, अमृत भादगाउँले, लुम्ले गाउँका भक्तिराम देवकोटा, उद्यमी राजेन्द्र लालचन लगायतले विनोदको कृति र व्यक्तित्वबारे बोलेका थिए।
प्रकाशित: २१ पुस २०७१ ००:१२ सोमबार





