एकजना दौडँदै आए र उनको जिउमा पत्रिका फ्याँक्दै भटभटाउन थाले।
'तिमी घाममा निदाइराख, तिम्रो भगवानलाई बेच्न लागिसके,' ती अपरिचित अधवैंशे आत्तिएको देखेर छक्क परे उनी।झनक्क रिस उठे पनि आफूलाई सम्हाल्दै प्रितमले भने, 'बस्नुस्, कुरा के हो?'
ती अपरिचतले भने, 'पत्रिका पढ, सबै कुरा त्यसमै छ।'
आफू नेपाली भाषा राम्रो नजान्ने बताएपछि प्रितमलाई तिनैले पत्रिका पढेर सुनाए।
'उसले पत्रिका पढेर जे सुनाउँदै थियो, प्रत्येक कुरा मेरो टाउकोमा परमात्माले घन हानेजस्तो हुँदै थियो,' चार वर्षअघि हिउँदयामको त्यो घटना सम्झँदै सरदार प्रितमले नागरिकसँग भने, 'त्यस्तो काम कसरी हुनसक्छ? त्यसलाई जसरी पनि रोक्नुपर्छ।'
कुरो के रहेछ भने विष्णुमती किनारमा रहेको 'गुरु नानक मठ' ले चर्चेको ३५ रोपनी जग्गा गुठी संस्थानले ४९ वर्ष लिज (भाडा) मा दिने भन्दै पत्रिकामा सूचना निकालेको थियो।
गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष उनै थिए। उनै अघि सरे। त्यो 'विपत्ति' रोक्न। उक्त जग्गा मठको भएकाले लिजमा दिन नमिल्ने मागदाबी गर्दै प्रितमले सर्वोच्च अदालतमा मुद्दा दायर गरे।
अदालतले लिज प्रक्रिया रोक्न अन्तरिम आदेश दिएपछि उनी केही शान्त भए। जग्गा स्वामित्वको मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ।
...
सन् १९५८ मा तीनवटा ट्रक लिएर भाइसँगै नेपाल आएका प्रितम काठमाडौं बस्ने पहिलो पुस्ताका सरदार हुन्।
'भारत भ्रमणमा रहेको समयमा राजा महेन्द्रसँग भेट भयो। ट्रक लिएर नेपाल आउन आग्रह गरेपछि व्यवसाय गर्न यता आएको हुँ,' ५७ वर्षअघि नेपाल आउनुको कारण खोतल्दै प्रितमले भने, 'त्यसपछि जीवन यतै बित्यो। लामो समयसम्म यातायात क्षेत्रमा काम गरेँ।'
उनी अहिले शिक्षा क्षेत्रमा काम गर्छन्। उनी मोर्डन इन्डियन स्कुलका संस्थापक/सचिव हुन्। प्रितम नेपाल आउँदा अहिलेजस्तो बाटोघाटो थिएन।
त्रिभुवन राजपथ (बाइरोडको बाटो) भर्खरै बनेको थियो। त्यो पनि निकै साँघुरो र धेरै घुम्ती। त्रिभुवन राजपथमा ट्रक चलाउनु निकै कठिन थियो।
२१ वर्षको लक्का जवान। उनलाई पटना (बिहार) बाट ट्रक लिएर पहिलोपटक काठमाडौं आइपुग्न सात दिन लागेको थियो।
'अहिलेजस्तो बाटोघाटो र पुल थिएन। भारततर्फ पनि कति ठाउँमा ट्रकलाई कस्ती (डुंगा) मा हालेर नदी पार गराएका थियौं। वीरगन्जबाट अमलेखगन्ज गोरुगाडा हिँड्ने बाटोबाट ट्रक गुडाउन निकै कठिन भएको थियो,' उनले भने, 'जाडोको समय, निकै ठूलो पानी परेकाले वीरगन्जबाट अमलखेगन्ज आउनै एकदिन लाग्यो।' त्यहाँबाट तीन दिनमा काठमाडौं आइपुगेँ।'
त्यसपछि काठमाडौंमै बस्न थाले र क्रमैसँग अरू थुप्रै सरदारलाई यही कामका लागि नेपाल बोलाए उनले।
यसरी काठमाडौंमा सरदारहरुको बस्ती बाक्लियो।
'कुनै समय ट्रक (ढुवानी) व्यवसायमा सरदारहरुकै मनोपोली (एकाधिकार) थियो,' उनी सम्भि्कन्छन्, 'मेरै मात्र साढे ३ सय ट्रक थिए। सबैका गरी १ हजार जति।'
सरदार अर्थात् सिखधर्मीहरुको नेपाल सम्बन्ध भने नयाँ होइन। काठमाडौंबासीका लागि भने उनीहरु नौला नै लाग्थे।
सरदारहरु दुई शताब्दीअघि नै नेपालगन्ज वरपर आएर बसोबास गरेको इतिहास छ। सिख गुरु नानकको नेपाल आगमन त अर्काे वर्ष पाँच शताब्दी पुग्दैछ। 'टाउकामा फेटा (पगरी) गुथेको, दाह्री पालेको देख्दा मानिसहरु हामीलाई सरदारजी होइन, बाबाजी भन्थे,' काठमाडौं बसाइका सुरुसुरुका दिन सम्झँदै प्रितमले भने, 'भारतबाट पहिले–पहिले शिवरात्रिमा जटाधारी जोगी मात्र काठमाडौं आउँथे, हामीलाई पनि त्यस्तै सम्भि्कए।'
इतिहासअनुसार अंग्रेजसँग पराजयपछि भारत, पन्जाबका राजा रणजित सिंहकी रानी नोकरचाकरसहित नेपाल बस्न आइन्। त्यस समयदेखि नै नेपालमा सिखहरू बस्दै आएका छन्। बाँकेका तीन गाविस सिखनन्दपुर, जमुनाहा र वनकटवामा सिखकै बाहुल्य छ। पछि, व्यापारका सिलसिलामा आएकाहरु काठमाडौंबाहेक वीरगन्ज, धनगढी, पाल्पा र स्याङ्जाका बजार क्षेत्रमा पनि बस्न थाले।
'नेपाल–अंग्रेज युद्धमा रणजित सिंहले नेपाललाई हजारांै सैनिक सहयोग पठाइदिएका थिए,' प्रितमले सुनाए, 'सुगौली सन्धिपछि उनीहरु नेपालबाट फर्के तर पछि अंग्रेजसँग पराजित भएपछि रणजित सिंहकी रानी जिन्द कौर बस्ने गरी नेपाल आएकी थिइन्।' उनी केही समय यहाँ बसेर बेलायततिर लागिन्।
(सिखधर्मीहरु पुरुषले नामका पछाडि सिंह लेख्छन्, महिलाले कौर)
प्रितमभन्दा अघि दुई जना सरदार काठमाडौं आएका थिए, एक जना सडक विभाग र अर्को बिजुली अड्डा (अहिलेको नेपाल विद्युत प्राधिकरण) मा इन्जिनियर थिए।
काठमाडौंं बस्दा सरदार प्रितम विष्णुमती किनारामा रहेको गुरु नानक मठ नियमित जाने गर्थे। ५ सय वर्षपहिले मल्ल राजाका पालामा नेपाल आएका सिख धर्मका प्रवर्तक गुरु नानकको नाममा मल्ल राजा जगतजयले १ हजार ६ सय रोपनी जग्गा दिएका थिए। त्यहीँ गुरु नानक मठ थियो।
'बिस्तारै बस्ती विस्तारले अतिक्रमण हुन थाल्यो। साठीकै दशकमा मैले नै घेराबेरा गरेको थिएँ,' प्रितमले भने, 'अहिले ३५ रोपनी मात्रै बचेको छ, जहाँ गुरु नानक मठ छ।'
त्यही ३५ रोपनी जग्गा पनि गुठी संस्थानले लिजमा दिन टेन्डर आह्वान गरेको थियो।
'अदालतले अन्तरिम आदेश दिएपछि लिजमा दिने प्रक्रिया रोकिएको छ,' प्रितमले भने, 'तर अझै कानुनी लडाइँ जारी छ। सरकारबाट पनि अहिले सकारात्मक कुरा आएको छ।'
गुरु नानक नेपाल आएको अर्को वर्ष (सन् २०१६) ५ सय वर्ष पुग्दैछ जसलाई धुमधामसँग मनाउने सरदारजीहरुको योजना छ।
गुरु नानक त्यतिबेला डेढ महिना काठमाडौं बसेको सिख इतिहास छ। गुरु नानक देवजीको चार उडेसी (लामो धार्मिक भ्रमण) मध्ये तेस्रो उडेसी नेपालमा भएको मानिन्छ।
इतिहासअनुसार उनले पहिलो रात विष्णुमती किनारमा बिताएका थिए, साधुहरुसँग सत्संग गरेर। त्यसपछि उनी ज्ञानेश्वर र पशुपतिनाथमा बसेको प्रमाण भेटिएको कुपन्डोल गुरुद्वाराका पुजारी रामसिंह थापा बताउँछन्।
प्रितम सिंहले गुरु नानकका नाममा त्यस समय जग्गा दान गरेको प्रमाण जुटाउन धेरै मेहनत गरे। 'पुरातŒव विभागमा प्रमाण खोज्न मानिस खटाए। 'हामीले गुरु नानकलाई जग्गा दान दिएको ओरिजिनल डकुमेन्ट भेट्यौं,' सिंहले भने।
...
सरदारसँग सधैँ पाँच 'क' साथमा रहनु अनिवार्य छ। कपाल, काइँयो, कपाण (छुराजस्तो सानो हतियार), काडा (हातमा लगाउने बाला) र कच्छेरा (घुँडासम्म आउने कट्टु)। त्यसैले अन्यभन्दा परैबाट सरदारजीहरु फरक देखिन्छन्।
भारतमा पन्जाब राज्यका अतिरिक्त भारतप्रशासित जम्मु कस्मिरमा सिख समुदायको बाक्लो बसोबास छ। भारतमा जनसंख्याको करिब २ प्रतिशत रहेका सिखहरु उच्च पदमा पनि पुगेका छन्। पूर्वराष्ट्रपति ज्ञानी जेल सिंह र पूर्वप्रधानमन्त्री मनमोहन सिंह दुवै सिख समुदायकै हुन्।
यद्यपि, यो समुदाय भारतमा सधैं पीडित नै रह्यो। भारत–पाकिस्तान विभाजनमा त झन् ठूलो मारमा पर्योह। पन्जाब दुवै देशमा बाँडियो। गुरु नानकको जन्मस्थान रहेको नानक साहिब अहिले पाकिस्तानतिर छ।
पन्जाब छुट्टिएर हरियाणा र केही भाग हिमाचल प्रदेशमा पर्योस।
८० को दशकमा स्वतन्त्र खालिस्तानको सशस्त्र विद्रोहको मारमा पनि यही समुदाय पर्योि। त्यसअघि तत्कालीन सरकारले सशस्त्र विद्रोहीको नियन्त्रणमा रहेको अमृतसरस्थित स्वर्णमन्दिरलाई 'अपरेसन ब्ल्यु स्टार' चलायो। त्यस घटनाबाट आक्रोशित बनेका
सिख अंगरक्षकले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको निवासमै गोली हानी हत्या गरे। त्यसपछि भारतभर सिख समुदायविरुद्ध दंगा भड्कियो।
'त्यस समय १५ देखि २० हजारसम्म मारिएका थिए। जिउमा टायर राखेर आगो लगाएरसमेत हत्या गरियो,' प्रितमले सम्भि्कए, 'तर नेपालमा भने कहिल्यै असुरक्षित महसुस गर्नुपरेन।'
मध्यपूर्वका देश वा युरोपका भारतीय उपमहाद्वीपमा आक्रमण हुँदा भारत–पाकिस्तान) सीमा पन्जाब सधंै युद्धमैदानका रुपमा रह्यो। 'सिखहरु लडाकु हुनुमा त्यो समयले ठूलो भूमिका खेलेको छ,' उनले भने।
अधिकांश सिख भारतमा रहे पनि बेलायत, क्यानडा र अमेरिकामा पनि यस समुदायको बसोबास छ। जहाँ बसे पनि उनीहरुले आफ्नो पहिचान छाडेका छैनन्।
प्रितम सिंहको पुर्ख्यौली घर जम्मु हो। उनका भाइ जम्मु कस्मिरको क्षेत्रीय राजनीतिक दल पिपुल्स डेमोक्र्याटिक पार्टी(पिडिपी) का दोस्रो ठूला नेता हुन्। विधानसभा निर्वाचनमा यो दल जम्मु कस्मिरको सबैभन्दा ठूलो छ।
कुनै समय नेपालको ढुवानी क्षेत्रमा राज जमाएका धेरै सरदारजीहरुले अहिले नेपाल छाडिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वकालमा चक्काजाम, बन्द, आमहडतालजस्ता कारणले यातायात व्यवसाय नराम्रोसँग प्रभावित बन्यो।
'त्यसबेलाको त्रासले धेरैलाई विस्थापित गर्योे,' प्रितम भन्छन्।
पछिल्लो समय उनी गुरु नानक मठलाई नयाँ स्वरुप दिन जुटेका छन्। काठमाडौंमा सरदारजीका लागि केन्द्र बनाउने योजना अघि बढिरहेको छ। त्यसका लागि आवश्यक सहयोगसमेत जुटिसकेको छ। दुबईस्थित एक परोपकारी संस्थाले गुरु नानक मठलाई सिख धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थलमध्ये एक बनाउने योजना अघि सारेको छ।
दुबई बसेर व्यवसाय गर्दै आएका उद्यामी एसपी सिंह ओवरायले काठमाडौंमा गुरु नानक मठ संरक्षण र विकासका लागि '१ सय करोड भारतीय रुपैयाँ (१ अर्ब ६० करोड रुपैयाँं) को वैज्ञानिक योजना तयार पारेको हिन्दुस्तान टाइम्स पत्रिकामार्फत घोषणा गरेका छन्।
'गुरु नानकको जन्मस्थल नानक साहिब सिख धर्मावलम्बीको पवित्र स्थल हो, तर पाकिस्तानसँगको तनाबपूर्ण राजनीतिक सम्बन्धका कारण त्यहाँ जान खर्चिलो र झन्झटिलो छ,' एसपी सिंहले भनेका छन्, 'नेपाल विदेशी तीर्थयात्रीका लागि सहज छ।'
तीन वर्षअघि ओवराय नेपाल आउँदा सिंहले मठको दुरावस्थाबारे जानकारी गराएका थिए। अर्बपति ओवरायले विभिन्न परोपकार कार्यक्रम चलाउँदै आएका छन्।
नानक मठ रहेको स्थानमा पुरानो मन्दिरका अतिरिक्त कलेज, बालाश्रम, वृद्धाश्रम र २ सय मानिसलाई दैनिक निःशुल्क भोजन गराउन घर बनाउने उनको योजना छ।
त्यो सबै कामका लागि ओवराय एक्लैले आवश्यक रकम खर्च गर्ने जानकारी प्रितमले गराए। 'कोही सहयोग गर्छु भन्दै आए नगर भन्न सक्दिनँ तर आवश्यक सबै रकम खर्च गर्न म तयार छु,' प्रितमले ओवरायको भनाइ उद्धृत गरे।
नेपालको कर्मचारीतन्त्र र विविध अवरोधले मठ संरक्षण र विकास योजना सहज रुपमा अघि बढ्न नसकेको उनको गुनासो छ।
प्रकाशित: १८ पुस २०७१ २०:३३ शुक्रबार





