२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

वक्रासन : पत्तै नपाई...

स्वास्थ्यप्रति सचेत महानगरवासीहरू जाडोको मेख मारेर टुँडिखेलमा कसरत गर्दै थिए। कोही जीउ तन्काउँदै थिए, कोही पुसअप गर्दै थिए, कोही दौडिरहेका, कोही उफ्रिरहेका थिए। अनि जवानी र लावण्य गुमाउँदै गएका केही अधबैँसे महिला तिनको पुनप्र्राप्तिको आशमा योगमा लीन थिए। आस्था च्यानलप्रभृति भन्छन्– योगले निरोगी बनाउँछ, जवान देखाउँछ, बुढ्यौलीलाई पर धकेल्छ।
जे होस्, अचेल महानगरवासीको कामना–सूचीमा 'फिटनेस' दोस्रो नम्बरमा छ। (पहिलो नम्बरमा त उही पैसा छँदैछ।)
टुँडिखेलको एउटा कुनामा उभिएर एकजना मान्छे महानगरवासीको प्रभातकालीन सक्रियता खूब तन्मयतापूर्वक नियालिरहेको थियो। ओभरकोट र माकल टोपी धारण गरेको थियो उसले। अलिकति नजिक गएर हेरेको, उनी त प्रधानमन्त्री सुशील कोइराला रहेछन्। बिना अंगरक्षक, बिना सहयोगी, बिना चाटुकार, प्रधानमन्त्री यसरी भेटिनु दुर्लभ संयोग थियो। स्वास्थ्यलाभमा व्यस्त मानिसहरूलाई एउटा प्रौढ कायामाथि ध्यान दिने न फुर्सद थियो, न कुनै अभिरुचि।
मैले उनलाई नमस्ते गरेँ। उनले नमस्ते फर्काए। आश्चर्यमिश्रित भावमा भनेँ, 'ओहो, प्रधानमन्त्रीज्यू, हजुर यहाँ ? एक्लै ?'
'खै, कसरी आइपुगेँ, पत्तै भएन,' भुलक्कड प्रधानमन्त्री भूलवश टुँडिखेलभित्र छिरेको प्रस्ट भयो।
'तपाईं धेरै कुराको पत्तो पाउनुहुन्न,' मैले उनको विस्मरण व्याधि (एम्नेजिया)लाई संकेत गरेँ, 'देश धर्मनिरपेक्ष भएको पनि तपाईंलाई पत्तै भएन । गिरिजाबाबुले प्रस्ताव गरेको धर्मनिरपेक्षतालाई तपाईंले समर्थन गर्नुभएको होइन ?'
'मेरो जन्म नै गिरिजाबाबुलाई समर्थन गर्न भएको हो,' सुशीलदाले भने, 'उहाँसँग विमति राख्नु वा उहाँको विरोध गर्नु मेरानिम्ति पतनको रसातलमा जाकिनु हुन्थ्यो। धार्मिक पतन, नैतिक पतन, चरित्रगत पतन, सबै
खाले पतनका रसातल ! गिरिजाबाबुका एक–एक बोलीमा ल्याप्चे ठोक्नु मेरो परम धर्म थियो। र, मलाई गर्व छ, म कहिल्यै धर्मच्यूत भइनँ। तर, मुलुक धर्मनिरपेक्ष भएको मलाई पत्तै भएन।'
'भनेपछि, तपाईंलाई सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारी, ८ बुँदे सहमति, नेपाल सरकार र माओवादीबीच सम्पन्न २५ बुँदे आचारसंहिता, विस्तृत शान्ति सम्झौता...केहीको पनि हेक्का छैन होला ? यी यावत् घटना भएको तपाईंलाई पत्तै भएन होला, है ?'
सुस्त प्रधानमन्त्रीको अनुहार अलिकति राँकियो। 'तपाईंले भन्न खोजेको के ? बुँदा–सुँदा, प्वाइन्ट–स्वाइन्ट कण्ठ गरेर बस्ने म लोकसेवा आयोगको परीक्षार्थी हुँ ? प्राइममिनिस्टर पो हुँ त।'
एकछिन उनले कसरतमग्न मान्छेहरूलाई हेरे। यत्तिकैमा मोबाइलको घण्टी बज्यो। उनले ओभरकोट, प्यान्टका बगलीमा छामछुम गरे। घण्टी बन्द भयो। श्रीसम्पत्तिका नाममा घोषित जम्माजम्मी तीन थान मोबाइलमध्ये कुनमा घण्टी बजेको हो ? सायद उनले पत्तो पाएनन्।
'तपाईं के काम गर्नहुन्छ, भाइ ?' प्रधानमन्त्रीले चस्माको सिसामा जमेको शीतको पातलो पत्र पुछ्दै सोधे।
'तपाईंहरूको राजमा सामान्य नागरिकले के गर्छ ? दुःख पाउने काम गर्छ। त्यही गरिरहेको छु,' मैले भनेँ।
'अनि तलब चाहिँ कति पाउनुहुन्छ नि ?' उनले चस्मा लगाउँदै सोधे।
हुस्सु फाट्दै थियो। म हुस्सु प्रधानमन्त्रीलाई हेर्दै थिएँ। भन्नु के, नभन्नु के ?
सुशीलदा मेरो जवाफको प्रतीक्षा नगरी जगिङ गरिरहेको एकजना युवालाई हेर्न थाले। त्यसपछि केही सम्झिने प्रयत्न गरे, 'म कहाँ जान हिँडेको थिएँ...खोइ पत्तै पाइनँ।'
प्रधानमन्त्रीले पत्तै नपाई यो देशमा धेरै कुरा भए।
मलाई उनको पत्तो नपाउने रोगको गम्भीरता जाँच्न मन लाग्यो।
मैले उनलाई सम्झाउँदै गएँ–
'जनआन्दोलन भाग–२ ले राजतन्त्र फ्याँक्यो र देश गणतन्त्र भयो।'
खै, मलाई त पत्तै भएन।
'माओवादी मूलधारको राजनीतिमा आयो।'
मलाई त पत्तै भएन।
'संविधानसभाको दुइटा चुनाव भयो।'
मलाई त पत्तै भएन।
'माओवादी फुटेर तीनचार टुक्रा भयो।'
मलाई त पत्तै भएन।
'ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई झन्–झन् भ्रष्ट मुलुक भनिरहेको छ।'
मलाई त पत्तै भएन।
राजेश हमालले बिहे गरे।
त्यो त थाहा छ मलाई। उनकी दुलही मधु भट्टराई त हुन् नि।
हलिउडका कलाकार रविन विलियम्सले आत्महत्या गरे।
त्यै त, साह्रै दुःख लाग्यो। उनी ग्रेट एक्टर थिए।
म पत्तो पाइरहेको थिइनँ– उनलाई विस्मरण व्याधि छ कि छैन ?
मैले थप सोधेँ, 'देश संघीयतामा गएको त पत्तो होला नि तपाईंलाई ?'
उनले माकल टोपी तानतुन पार्दै भने, 'खोइ, त्यो त पत्तै भएन। संघम् शरणम् गच्छामि भन्थे। मैले त संघीयता भन्या पनि त्यस्तै त होला नि भन्ठानेँ।'
अवाक् थिएँ म। यिनलाई केही पनि पत्तो छैन। अथवा, यो एम्नेजिया अभिनयमात्र थियो। तर, जे थियो, त्यो खतरनाक थियो। डरलाग्दो थियो।
यस्तै सोचिरहेको थिएँ म।
प्रधानमन्त्री झल्याँस्स ब्युँझेजस्तो भए, 'बल्ल सम्झेँ। म त बीपीको सन्देश पु¥याउन पो हिँडेको हुँ।'
'कस्तो सन्देश ?'
'सान्दाजुले राजा र कांग्रेस मिलेर देश बचाउनुपर्छ भन्नुभा'छ,' हातमा पापा या खेलौना परेको बालकझैँ फुरुङ्ङ परेर उनले भने, 'त्यही कुरा बिन्ति गर्न म महेन्द्र सरकारकहाँ जाँदैछु।'
पत्तै नपाई प्रधानमन्त्री कता जाँदैछन् ?
पत्तै नपाई यो देश कता जाँदैछ ?

प्रकाशित: १८ पुस २०७१ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App