लामो समयदेखि फिल्म क्षेत्रमै रहे पनि अभिनेत्री नन्दिता केसीले उतारचढाव महसुस गर्न पाएकी थिइनन्।
तर, पछिल्लो समय उनीसँग फिल्मको संख्या भने कम हुँदै गएको छ। केही समयदेखि फिल्मको पर्दामा नदेखिएकी नन्दिता हराइ नै सकेकी भने होइनन्। उनी अभिनीत एउटा फिल्म रिलिजको क्रममा छ, 'लोग्ने मान्छे'। नाम लोग्ने मान्छे भए पनि सम्पूर्ण रूपमा नारीप्रधान रहेको फिल्म निर्माण पक्षले जनाएको छ। यो कुरा सही हो भने नन्दिताले पहिलोपल्ट फिल्ममा बलियो भूमिका पाएकी छिन्। फिल्म करिअर ढलपल भइरहेका बेला यस्तो फिल्म पाउनु उनका लागि पनि राम्रै कुरा हो। लय संग्रौलाले निर्देशन गरेको फिल्म माघ २३ मा रिलिज हुनेछ। यो दिन नन्दिताका लागि परीक्षको घडी पनि हो। फिल्म 'लोग्ने मान्छे'ले उनको करिअर धर्मराउनबाट रोक्ला वा अरू हिरोइनले झैँ 'लोग्ने मान्छे' खोजेर गृहस्थीको बाटो रोज्नुपर्ला ?
प्रकाशित: १७ पुस २०७१ १२:२० बिहीबार





