'पीडित छन् यहाँ जनहरू, दुःखी छन् यहाँ मनहरू
बुझेर भित्री व्यथाहरू, गरिदेऊ काम नेताहरू
धरानका गायक सुमन श्रेष्ठले दोस्रो एकल एल्बम 'दृश्य'मा यसरी नेताहरूलाई जनताका पिरव्यथा बुझेर काम गरिदिन आग्रह गरेका छन्। गत वर्ष पहिलो एल्बम 'सुमन' बजारमा ल्याएका सुमनले दोस्रो एल्बमको तयारीसँगै नेतालाई काम बढी र कुरा कम गर्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेपछि अहिले पूर्वमा उनको चर्चा बढेको छ।
नेताहरूलाई समयमै संविधान बनाउन र चुनावका बेला जनतासँग गरेका बाचा पूरा गरी समृद्ध नेपाल निर्माण गर्न सन्देश दिनका लागि यस्तो गीत र भिडियो सार्वजनिक गरेको उनले बताए। सुमनकै शब्द र बीपी वाग्लेको संगीत रहेको गीतको भिडियोमा निर्देशक केदार धितालले शुरवीर पण्डित, पल शाह, लक्ष्मी बस्नेत, ह्यारी योञ्जन, दिव्य सुवेदी, सुरेश कार्की, दुर्गेस थापा र राजा राजेन्द्रलाई अभिनय गराएका छन्। रिलिज हुनेबित्तिकै यो गीत र भिडियोको चर्चा भएपछि मक्ख सुमन भन्छन्, 'पहिलो एल्बमले मलाई चिनायो। दोस्रो एल्बमको यो गीतले मलाई स्थापित गराउने आशामा छु।'
प्रकाशित: ३ पुस २०७१ ११:३५ बिहीबार





