लहान– १ को यो मुसहर बस्तीमा दुईसय परिवार सुकुम्बासी बसोबास गरिरहेका छन्। उनीहरु ऐलानी जमिनमा टहरो बनाएर वर्षौंदेखि सुकुम्बासी जीवन बिताइरहेका छन्। उनीहरुको रोजगार भनेको जमिन्दारको जमिनमा मजदुरी गर्ने र रिक्सा चलाउने हो।
शीतलहरका बेला जाडो छल्न यहाँ न सरकारी सामग्री पुग्छ न त निजी संघ–संस्थाले नै केही दिन्छन्। कठ्यांग्रिँदो जाडोमा पनि यो बस्तीका बालबालिका कसैको ढाडभन्दा माथिको शरीर जेनतेन छोपिएको थियो भने कसैको तल्लो भाग मात्रै ढाकिएको थियो।
बस्तीका वृद्धवृद्धासँग च्यातिएको एउटा ओढ्ने छ, जाडोभरि उनीहरु यही ओढ्छन्। ६० वर्षीया श्रीवती सदा आफूसँग भएको ओढ्ने जाडोयामभरि नधुने बताउँछिन्। ‘महाजनले दिएको एउटा ओढ्ने छ, त्यो पनि धोइहाले कसरी चिसो छल्ने?’ पति असक्त छन्, काम गर्न सक्दैनन्,' उनी भन्छिन्, ‘एक्लो कमाइले छाक टार्नै मुस्किल पर्छ, न्यानो लुगा कसरी किन्ने?’
गत वर्ष यो बस्तीका वृद्धवृद्धाका लागि गाउँकै स्कुलमा कम्बल बाँडियो। कम्बल कसले दिएको हो भन्ने उनीहरुलाई कसैले जानकारी दिएन। ‘जसले दिएको भए पनि कम्बलले शरीर अलिक न्यानो पारेकै छ,' उनी बताउँछन्।
बिहान र बेलुकीको चिसो छल्न यस बस्तीका विपन्न घुर लगाउँछन् र धुनी ताप्छन्। राति सुत्न चिसो भँुइमा पराल ओछ्याएर न्यानो पार्छन्। परालले न्यानो दिने भएकाले उनीहरु चिसोबाट केही राहत पाउँछन्। जाडोको मार त उनीहरुले जेनतेन खेपेकै छन्, सँगसँगै लामखुट्टेको टोकाइबाट बच्ने उपाय पनि खोज्नुपरेको छ।
जाडो र लामखुट्टे दुवैबाट बच्न धुनी बाल्नुपर्ने पुनिता सदा बताउँछिन्। ‘धुनी बालिदिएपछि न्यानोसँगै धुवाँले लामखुट्टे पनि भगाइदिन्छ,’ उनले भनिन्।
पाहोर यो बस्तीका चारजनाले कठ्यांग्रिएर ज्यान गुमाएका थिए। सुखिया सदा, सुनरी सदा, ठोही सदा र डम्बर सदाको मृत्यु भएको ठकनी सदाले बताइन्। ‘मृत्यु भएको खबर पाएर लहानका प्रहरी आएका थिए, खोलामा लगेर जलाउनु भन्दै फकिए,' पुनिताले भनिन्।
जाडोबाट मृत्यु भएका परिवारका लागि सरकारले राहत व्यवस्था गरेको यो बस्तीका मान्छेलाई थाहा छैन। जाडोका कारण कसैको मृत्यु भए पनि उनीहरु सरकारी पक्षको मुख ताक्नुभन्दा आफैं अन्त्येष्टिको जोहो गर्नतिर लाग्छन्।
शीतलहरले बालबालिका, वृद्ध र श्वासप्रश्वासका बिरामीलाई बढी असर पर्ने लहान अस्पतालका डा. मिश्रीलाल साह बताउँछन्।
प्रकाशित: २७ मंसिर २०७१ ००:५३ शनिबार





