वर्षाका कारण शनिबार दिउँसोदेखि बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो। वर्षा र बाढीका कारण आज (आइतबार) पनि यो खण्ड बन्द गरिएको छ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ।
वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो। गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो।
यसैबीच राजमर्गा अवरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ। गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो।
हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
प्रकाशित: १३ वैशाख २०८३ ०९:१९ आइतबार





