१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अन्य

हामी रहरले अराजक बनेका होइनौँ : कवि हाङयुग अज्ञात

कवि हाङयुग अज्ञात पचासको दशकको उत्तरार्धदेखि नेपाली कवितामा प्रवेश गरेका प्रयोगशील कवि हुन्। राजन मुकारुङ, उपेन्द्र सुब्बा र उनी मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई नेपाली साहित्यमा गति दिए। अज्ञातले मूलतः उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरेको पाइन्छ। चारवटा कविताको मात्रै सङ्कलनका रूपमा दश वर्षअघि प्रकाशित उनको 'करङको हिरासत'को दोस्रो संस्करण थप दश कवितासहित हालै प्रकाशित भएको छ। हङकङमा बसेर काव्य साधना गरिरहेका कवि अज्ञातसँग कुशल मंगलका लागि सङ्गीतश्रोता र दीपक सापकोटाले गरेको कुराकानी :

तपाईंका कविता बौद्धिक छन्। तर, मिथकको अति प्रयोग र विम्बको भुलभुलैयाले धेरै कवितालाई बोझिल बनाएका छन्। के अस्पष्ट र बोझिलो कविता लेखेर धेरै पाठक बनाउन सकिएला?२०४६ सालको राजनीतिक परिवर्तनले नेपाली साहित्यलाई कला, दर्शन, चिन्तन र वास्तविक नेपाली जीवनको सापेक्षमा उठाउन नसकेको भान हामीलाई भएपछि नै कवितामा नेपाली मिथक र नेपाली विम्बको प्रयोग गरेका थियौँ। पुराणका मिथक र विम्ब पढ्ने बानी भएका पाठकलाई नेपाली किरात मिथक र विम्ब नौलो र अप्ठ्यारो लाग्नु स्वाभाविकै हो। अझ आफ्नो जातिको मिथक र विम्ब मात्रै सुन्दर र जीवनोपयोगी छ भन्ने मान्यताले धृतराष्ट्र हुँदै गएका लेखक–कवि (जो मेरो कविता पढ्छन्) लाई मेरा कविता बोझिल लाग्न सक्छ। मिथक र विम्बको सघन प्रयोगले लाखौँ पाठक बनाउन नसकिएला तर यसप्रकारका कविताका विशेष पाठक हुन्छन्, जो वास्तविक पाठक पनि हुन्। २०५५ देखि २०६० सम्मको समयावधिमा लेखिएका कविता मैले आम पाठकलाई भन्दा पनि 'कविहरूका लागि' लेखिदिएको हुँ।
 
तपाईंको 'करङको हिरासत'को दोस्रो संस्करण विमोचनमा कवि श्रवण मुकारुङले 'हाङयुगका कविता पाठकको परीक्षणमा पर्नेवाला छन्' भनेर तपाईंको लेखनमाथि औँलो उठाए नि?
पुस्तक प्रकाशन गरेर बजारमा लानु भनेकै पाठकको परीक्षणमा पर्नु हो। सायद प्राज्ञ श्रवण मुकारुङज्यूले आफ्नो कविता 'बिसे नगर्चीको बयान'को पपुलारिटीको सापेक्षमा 'हाङयुगका कवितालाई' उभ्याउन खोज्नुभएको होला। सडक कविता र बौद्धिक कविताका आ–आफ्नै सत्ता हुन्छन्। म चाहिँ कवितामा प्रयोग गर्न मन पराउने कवि भएकाले पनि पाठकहरूको परीक्षणमा बारम्बार उभिन पाए हुन्थ्यो जस्तो लाग्छ। जुन दिन पाठकले कवि–लेखकको परीक्षण गर्न छोड्छ, त्यो दिन कवि–लेखकको मृत्यु हुने गर्छ।
 
तपाईंहरूले 'सृजनशील अराजकता' आन्दोलन कुन उद्देश्य र लक्ष्य प्राप्तिको लागि सुरु गर्नुभएको थियो? त्यो कहा"सम्म पुग्यो? मूर्त रूपमा भनिदिनुस् न।
प्रचलित नेपाली साहित्यमा आदिवासी–जनजाति, उपेक्षित, उत्पीडित जातिको जीवन र जगत लेखिएको छैन, प्रचलित नेपाली साहित्यमा तथाकथित उच्च जातको धर्म र संस्कार लेखन मात्रै भएको छ भन्ने निष्कर्ष निकाल्दै प्रचलित नेपाली साहित्यलाई आम नेपाली जातिको भावनाको साझा घर बनाउन नेपाली समाजको इन्द्रेणी रूपलाई लेखौँ भन्ने उद्देश्य र लक्ष्यका साथ राजन मुकारुङ र उपेन्द्र सुब्बाको साथमा 'सृजनशील अराजकता'को आन्दोलन सुरु गरियो। वैरागी काइँला कुलपति हुनु, श्रवण मुकारुङ प्राज्ञ हुनु, राजन मुकारुङले मदन पुरस्कार पाउनु, व्याकुल माइलाको गीत राष्ट्रगान चुनिनु, दयाहाङ राई नेपाली फिल्ममा सुपरस्टार हुनु, संघीय समाजवादी पार्टी नै गठन हुनुजस्ता घटनाहरूतिर इंगित गर्नुभएको हो भने यी सबै 'सृजनशील अराजकता'का वस्तुगत प्राप्ति नै मान्दा पनि हुन्छ। तर, सबैभन्दा महत्त्वपूर्ण सफलता भनेको चैँ के हो भने प्रचलित नेपाली साहित्यमा हाम्रा मिथक र विम्बहरूलाई पनि स्वीकार गर्न थालियो। साहित्यमा नश्लबोधीय धारको विकास भयो, कृष्ण धरावासी समेतले नश्लबोधीय धारमा 'राधा' उपन्यास लेख्न भ्याए। तर, यौटा डर चैँ के छ भने 'सृजनशील अराजकता'बाट कतै पृथकतावादी धारको विकास हुने त होइन?
 
पछिल्ला दिनमा तपाईंहरूले जातीय मुक्ति र पहिचानको मुद्दा हामीले उठायौँ भन्नुहुन्छ। तर, तपाईंहरूको आन्दोलन 'सृजनशील अराजकता'को घोÈणापत्रमा 'नेपाली साहित्यको सौन्दर्यबोध सर्वजातीय' हुनुपर्छ भन्नुभएको छ त।
एकल जातीय सौन्दर्यबोध लेखिँदै आइएको नेपाली साहित्यमा 'सर्वजातीय सौन्दर्यबोध' लेखिनुपर्दछ भन्नु 'जातीय मुक्ति र पहिचानकै मुद्दा' हो नि। नेपाली साहित्यबाट आर्य सौन्दर्यबोधलाई किराती सौन्दर्यबोधले विस्थापित गर्ने लक्ष्य हाम्रो थिएन र होइन पनि। राज्यसत्ताले २०४६ पछि पनि हिन्दू सौन्दर्यबोधलाई मात्र अघि लाउँदै जब राष्ट्रिय समारोहहरूमा 'बटुक' पढाउन थाल्यो, त्यसले नेपाली समाजको विविधतालाई प्रतिनिधित्व गरेन, मात्र शासकवर्गको धर्म–दर्शनलाई प्रचार गर्ने काम गर्‍यो। त्यसो हुँदा त्यो बेला हामीले नेपाली साहित्यमा 'सर्वजातीय सौन्दर्यबोध'को धारणा अघि सारेका थियौँ। 'सर्वजातीय सौन्दर्यबोध' अहिलेको राजनीतिक परिप्रेक्ष्यमा 'डिफ्युज्ड' भैसकेको स्थिति हो भने त्यो मलाई थाहा भएन। तर, अझै पनि हामी सहअस्तित्वको सवालमा 'सर्वजातीय सौन्दर्यबोध'कै पक्षमा छौँ।
 
तपाईंहरूको घोषणापत्र अलमलकारी, दुविधाग्रस्त र अस्पष्ट देखिन्छ। 'मार्क्सवाद पनि बेठीक, एडम स्मिथ पनि बेठीक' भन्दै जानुहुन्छ। तपाईंहरूका 'प्रिय' समालोचक गोविन्दराज भट्टराईले पनि यसलाई 'परस्परविरोधी' कुरा भनेका रहेछन्। तपाईंहरू वैचारिक रूपमा प्रस्ट हुन नसकेर अराजक हुनुभएको हो कि?
घोषणापत्र अलमलकारी, दुविधाग्रस्त र अस्पष्ट भएको आरोप लेफ्टिस्ट र राइटिस्ट दुवै पक्षले बेलाबेला लगाउने गरेका छन् हामीलाई। किनभने, हामी यी दुवै विचारधाराको बीचबाट समाजको उत्थान खोज्दै छौँ। मार्क्स र एडम स्मिथको कुरो आर्थिक विकाससित गाँस्न खोजिएको थियो उबेला। आजको परिस्थितिमा मार्क्सको नियन्त्रित बजार र स्मिथको स्वतन्त्र र स्वचालित बजार दुवै फेल भएको अवस्था हो। स्मिथको मोडेलमा हिँडेको अमेरिकाले अन्ततः आर्थिक मन्दीको समयमा बजारलाई नियन्त्रण गर्नुपरेको थियो भने चीनले बजारलाई पूर्णरूपले नियन्त्रण गरेको छैन। बहुराष्ट्रिय कम्पनीहरूले चीनभित्र आर्थिक चलखेल गरिरहेका छन्। त्यसो र मार्क्सवादको नियन्त्रित बजार मात्रै या एडम स्मिथको स्वचालित बजार मात्रै आफैँमा बेठीक भैसकेको स्थितिमा बरु मिश्रित बजारले नेपाली समाजको उत्थान हुने भन्ने हाम्रो आर्थिक मान्यता त्यही बेला प्रस्ट पारेका हौँ। उत्तरआधुनिक विमर्शको बेला हाम्रा 'प्रिय समालोचक' रहनुभएका गोविन्दराज भट्टराईज्यूलाई यो कुरो 'पस्परविरोधी' लाग्यो तथापि अहिले विश्व हामीले भनेको त्यही मिश्रित बजार व्यवस्थाले चलिरहेको छ त, हगि। हामीले हाम्रो लेखनमा त्यही बीचको सामाजिकतालाई साहित्यमा लेख्ने प्रयत्न गर्‍यौँ। मार्क्स र स्मिथलाई शत–प्रतिशत नमान्दा सम्भवतः यस्तो अवस्थामा अराजक देखिएका हुन सक्छौँ। तर खासमा चैँ नेपाली साहित्यको 'एकजातीय सौन्दर्य'को 'मनोपोली'ले नै हामीलाई अराजक बनाएको हो। हामी रहरले अराजक बनेका होइनौँ। फेरि राज्यसत्ताले अराजक बनायो भन्दैमा विध्वंस गर्दै हिँड्नु यौटा सचेत नागरिकको विवेकले नदिएको कारण हामीले त्यो अराजकताको अगाडि 'सृजनशील' थप्यौं।
 
घोषणापत्रमा शून्यवादको पनि चरम प्रतिरक्षा गरिएको छ। यो त नेपालमा पारिजातकै पालामा प्रयोग भएर पनि छाडिसकिएको जीवनविरोधी सिद्धान्त होइन र?
शून्यवादलाई जीवनविरोधी सिद्धान्त मान्न सकिँदैन। शून्यवाद नै द्वन्द्वात्मक भौतिकवादको जननी हो। कट्टर कम्युनिस्टहरू मलाई यसकारण पनि मन पर्दैन कि उनीहरू माकुराजस्ता हुन्छन्। हुर्केपछि आफ्नै जननीलाई खाएर सकाउँछन्। जंगलमा एक फोक्टा नेपाली समाज गएको बेला हामीले शून्यवादको अभ्यास गर्न खोजेका थियौँ। हामीले भोट हालेर चुनाव जितेकाहरूप्रति हाम्रो विश्वास गुमिसकेको अवस्थामा हामीले 'आदर्श र नैतिकता' मानव निर्मित हो भनेर थाहा पायौँ। राजा आखिर विष्णुको अवतार होइन रहेछ नि त। यो पनि सिद्ध भयो। त्यतिबेला शून्यवादको यो ढाँचाबाट पनि हामीले आफ्ना कुरा राखेकै हो तर सिंगो शून्यवाद बोकेका थिएनौँ।
 
तपाईं 'करङको हिरासत'को कविता 'आऊ सामूहिक आत्महत्या गरौँ'मा आत्महत्यावादी कवि देखिनुहुन्छ। के जीवनको विकल्प आत्महत्या हो? अराजकतावाद र आत्महत्यावादमा के सम्बन्ध छ?
पृथ्वीनारायण शाहको तथाकथित एकीकरणदेखि अहिलेसम्म नेपाली राजनीतिले नेपाली समाजमा विकास, अमनचैन, शान्तिको स्थापना गर्दै सबै जातजाति, वर्ग, लिंग, क्षेत्रलाई राज्यको प्रत्याभूति दिन नसकेकोले अहिलेसम्म जनता राज्यको शोषण, दमन, उत्पीडनबाट मुक्त हुन सकिरहेको छैन। दशौँ हजार नेपाली जनताले प्राण दिए माओवादीले नेतृत्व गरेको युद्धमा। तर, उपलब्धि शून्य छ। आठ हजार त मगर जातिबाट मात्रै मरेका छन्। अझै संविधान बन्न सकेको छैन। जनताबिना देश हुन सक्छ कि सक्दैन भन्ने यौटा चिन्तन न हो, आत्महत्याको कविता। 'संविधान बनाएनौ भने जनताहरूले सामूहिक आत्महत्या गर्नेछन् है' भनेर शासक वर्गलाई झकझक्याउने प्रयत्न गरिएको न हो। सप्पै जनता आफैँ मरून्, हामीमाथि शासन गर्न नपाओस् भन्ने विचार राख्नु एक किसिमको अराजकता नै त होला नि, हगि?
 
दस्तावेजमा 'नेपाली साहित्यमा शास्त्रीय प्लेटोवादीहरूको ढलिमली रोकिनुपर्छ' भन्नुभएको छ। नेपालमा साहित्यकारलाई नै देशनिकाला गर्न चाहने प्लेटोहरू को–को हुन्? कतै तपाईं प्लेटोहरूद्वारा लखेटिएर हङकङ पस्नुभएको त होइन?
शासकहरूको चाकडी र स्तुतिगानमा कवि–लेखकले कलमको ओठ च्यात्नुपर्छ भन्ने मान्यता बोकेका मण्डले प्रवृत्तिकाहरू जो प्रजातन्त्रको पुनर्वहाली पश्चात् पनि नेपाली साहित्यमा सक्रियता देखाइरहेका थिए, तिनीहरूलाई प्लेटोवादी भनियो। मलाई उदेक लाग्छ, गणतान्त्रिक नेपालमा अझै पनि त्यही प्रवृत्तिले भानुभक्तको नाममा राज्यको बजेट चाटिरहेछ। बीपी कोइरालाको भारत बसाइजस्तै भैरहेछ मेरो हङकङ बसाइ। मनमा त्यस्तै ईख छ नेपाल फर्किने।
 
अहिले तपाईंका साथीहरू नेपालमा इन्द्रबहादुर राईलाई विश्वविद्यालय मानिरहेका छन्। तर, सृजनशील अराजकता सुरु हुँदा इन्द्रबहादुर राईलाई 'थोपा मात्रै' मान्नुभएको रहेछ नि?
इन्द्रबहादुर राईलाई 'ज्ञानको एक थोपा' विश्वका अन्य दार्शनिकहरूस"गै राखेर विश्लेषण गर्दा भनियो। मार्क्स, तोल्स्तोय, रविन्द्रनाथ, सेक्सपियर, सप्पै सप्पै ज्ञानका थोपा मात्रै त हुन्। तर, उता पश्चिमबाट फर्केर यता हाम्रै नेपाली साहित्यमा फर्किंदा भने इन्द्रबहादुर राई देवकोटा र समजस्तै विश्वविद्यालय नै हुन्। उनको आफ्नै 'सिलेबस' छ र सबै अनिवार्य विषय छन्।
 
'करङको हिरासत'को पहिलो संस्करण २०६० पुस १ मा र सृजनशील अराजकताको प्रस्ताव २०६० पुस १ मा सार्वजनिक गर्नुभएको रहेछ। किताबको विमोचन लोकेन्द्रबहादुर चन्दबाट गराउनुभएको रहेछ। यो मिति र पात्र रोज्नुको सैद्धान्तिक औचित्य के हो?
त्यतिबेला ठूलो नेताको हातबाट पुस्तक विमोचन गराउँदा मात्रै मिडियाले न्युज क्यारी गर्ने परिपाटी थियो। गिरिजाप्रसाद कोइराला, माधव नेपाल, शेरबहादुर देउवा सबै व्यस्त थिए। प्रचण्ड र बाबुराम जंगलमा थिए। त्यसो र ठीकै छ नि त 'विसर्जन' कथासंग्रहका पात्र साहित्यकार लोकेन्द्रबहादुर चन्दकै बाहुलीबाट विमोचन गरौँ न भन्ने झोक चल्यो र त्यसै गरियो पनि। पुस १ गते मेरो जन्मदिन परेकाले यही दिन रोजियो। पुस १ गते विमोचन गरियो भनेर 'काइँल्दाइ' त पछिसम्म मसित बिच्किनुभएको थियो। पुस १ गते अशुभ दिन हो र?
 
तपाईंले फेरि अर्को सिद्धान्त ल्याउनुभएको रहेछ, चाउचाउ साहित्य। अराजकता र चाउचाउ साहित्यको सम्बन्ध के हो?
जसरी सृजनशील अराजकता पहिचानमुखी र सीमान्तकृतहरूको साहित्य हो, त्यसरी नै 'चाउचाउ साहित्य' हङकङमा बस्ने अल्पसंख्यक नेपाली भाषीहरूको साहित्य हो। 'चाउ' भनेको चिनियाँ क्यान्टोनिज भाषामा 'टापु' हो र हङकङ टापु नै टापुले बनेको ठाउँ र यस्तो ठाउँमा अल्पसंख्यक नेपालीहरूको जीवन र जगतलाई साहित्यमा लेखौँ भन्ने आग्रहका साथ 'चाउचाउ साहित्य' सुरु गरिएको हो। चाउचाउ साहित्यमा मिथकहरूको जंगल नहुने भएकोले हङकङमा अहिले 'चाउचाउ साहित्य'का पाठकहरू एक्कासि बढेर गएका छन्। अल्पसंख्यक नेपालीको पक्षमा लेखिने भएकोले पनि 'सृजनशील अराजकता र चाउचाउ साहित्य' बीचमा नजिकको सम्बन्ध छ।
 
तपाईंहरूले सत्ताविरोधी लेखन गरेजस्तो पनि देखिन्छ। सत्तालाई रिझाउन खोजेजस्तो पनि देखिन्छ। खासमा तपाईंहरूको लेखनको राजनीति के हो?
'पोलिटिक्स अफ आइडेन्टिटी विद कल्चरल डिफरेन्स' नै हो हाम्रो लेखनको राजनीति।

प्रकाशित: १३ कार्तिक २०७१ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App