नेपाल, भारत र अमेरिका सबैतिर ठूला फिल्महरू महत्त्वपूर्ण चाडपर्वका अवसरमा रिलिज गरिन्छ। अमेरिकामा क्रिसमस, भारतमा दिवालीलाई सबैभन्दा ठूला अवसरका रूपमा लिइन्छ भने नेपालमा दसैँ। दसैँपछि तिहार, माघे संक्रान्ति, नयाँ वर्ष र तीजलाई समेत फिल्म रिलिज गर्ने साइत मान्न थालिएको छ।
काठमाडौं र अरू मुख्य शहरमा शाहरूखको 'ह्यापी न्यू इयर'ले 'आतंक' मच्चाउने निश्चितप्रायः छ। शहरका आधुनिक मल्टिप्लेक्स हलहरूले तिहार होइन 'न्यू इयर' नै मनाउने भइसकेका छन्। तैपनि नेपाली फिल्मका नियमित दर्शक आफूतिर ओइरिने आशा 'स्टुपिड मन' र 'लज्जा'को छ।
आउँदो माघे संक्रान्तिमा भने मारामार पर्ने भएको छ। पोहोरको माघे संक्रान्तिमा पनि 'बितेका पल', '६ एकान ६', 'पराई' र 'योद्धा' फिल्म जुधेका थिए। यसपालि पनि 'अलबिदा', 'तथास्तु', 'आभास' र 'लभसब'बीच खिचातानी हुने सम्भावना बढेको छ।
नेपालमा फिल्म निर्माणको संख्या दिनहुँ बाक्लिँदै छ। त्यसैले निर्माताहरू हरेक हप्ता फिल्म जुधाउन बाध्य भएका छन्। वर्षभरि नै हललाई फिल्मको अभाव हुँदैन। प्रभावशाली र पुराना निर्माता चाहिँ आफ्ना फिल्म चाडपर्वलाई नै साँचेर राख्छन्।
दसैँ, तिहार, माघे संक्रान्तिजस्ता चाडपर्वमा रिलिज गर्दा हिट बनेका नेपाली फिल्म थुप्रै छन्। यसपालिको दसैँमा पनि 'हिम्मतवाली'ले औसतभन्दा राम्रै व्यापार गर्योा। पोहोरको माघे संक्रान्तिमा चलेको '६ एकान ६'ले फाइदाजनक व्यापार गर्यो्।
बलिउडमा पनि 'धूम ३', 'क्रिस ३', 'चेन्नई एक्सप्रेस'जस्ता सुपरहिट फिल्महरू क्रिसमस, दिवाली र इदमा रिलिज भएका हुन्। हलिउडमा 'अवतार', 'टाइटानिक'जस्ता फिल्मले पनि क्रिसमसकै माहौल सदुपयोग गरेका थिए।
तर, ती फिल्मका लागि चाडपर्व 'सुनमा सुगन्ध' मात्र भएका हुन्। चाडपर्वले गर्दा नै फिल्म चलेका हुन् भन्न मिल्दैन। फिल्म चाडपर्वले चल्ने पनि होइन। नत्र पोहोरको तिहारमा रिलिज भएको एकमात्र नेपाली फिल्म 'बिन्दास २' सुपरहिट हुनुपर्ने हो। त्यतिबेला बलिउडको 'क्रिश ३'सँग जुध्न डराएर नेपालका ठूला बजेटका फिल्म मैदानमा उत्रेका थिएनन्।
पोहोर माघे संक्रान्तिमा रिलिज भएका नेपाली फिल्म 'पराई' र 'युद्ध' फ्लप भए। २०७१ सालको नयाँ वर्षलाई लक्ष्य गरिएको फिल्म 'मनले मनलाई छुन्छ' पनि चलेन। २०७० को दसैँमै रिलिज भएको 'दामिनी'ले पनि कुनै चर्तिकला देखाएन।
बलिउडमा पनि सन् २००९ को दिवालीमा सलमान खान अभिनीत 'मैं और मिसेस खन्ना' र सन् २०१० को क्रिसमसमा अक्षय कुमारको 'तीस मार खान' सुपरफ्लप भए। क्याटि्रना कैफको 'शिला की जवानी' आइटम गीतका कारण 'तीस मार खान' चर्चाको शिखरमा पुगेको थियो। तैपनि फिल्म टिक्न सकेन।
बरु चाडपर्व नपरेको बेला रिलिज भएका बलिउड फिल्म 'ये जवानी है दिवानी,' 'बर्फी', 'भाग मिल्खा भाग' र 'रामलीला' सुपरहिटमात्र भएनन्, सय करोड क्लबमा पनि प्रवेश गरे। बलिउडका 'हेभी वेट' स्टार नहुँदा समेत फिल्मले सय करोड भारुको रेखालाई पार गर्नसक्छ भन्ने उदाहरण भए यी फिल्म।
नेपालमा पनि २०७० सालको फिल्म 'होस्टेल' भदौ १४ मा रिलिज भएको थियो। त्यतिबेला कुनै चाडपर्व थिएन। फिल्मका मुख्य कलाकार र निर्देशक नयाँ थिए। त्यसो हुँदा पनि फिल्म चल्यो।
यो वर्षको सुपरहिट 'कबड्डी' समेत कुनै चाडपर्वमा रिलिज भएको होइन। वैशाख १२ मा आएको फिल्मले काठमाडौँका मल्टिप्लेक्समा चमत्कार गर्योय। 'कबड्डी'सँग एकैदिन रिलिज भएको 'नोभेम्बर रेन'को व्यापार पनि उत्साहजनक थियो। कुनै चाड नपर्दा समेत दुवै फिल्मले दर्शक रिझाए।
चाडमै हिट भएका फिल्मको तुलना गर्दा पनि ठूलो चाडभन्दा सानो चाडमा फिल्मले बढी पैसा कमाएको नजीर नेपालमा छ। दसैँमा रिलिज भएका 'अन्दाज' र 'काली'भन्दा माघे संक्रान्तिमा रिलिज भएका 'लुट' र '६ एकान ६'ले बढी पैसा कमाएका थिए।
चाडपर्व होइन, फिल्म आफैँमा बलियो हुनुपर्छ। फिल्म राम्रो भयो भने जहिले पनि चल्छ। फिल्म झुर भयो भने चाडपर्वमा पनि चल्दैन।
फिल्म राम्रो बन्न सक्यो भने त्यसको रिलिज डेट आफैँमा एउटा चाड वा पर्व हुने गर्छ। दर्शकले फिल्मको रिलिज डेटलाई नै उत्सवका रूपमा लिन्छन्। रिलिज हुनासाथ हलमा पुगेर टिकट काट्छन् र फिल्म हेरेर सेलब्रेट गर्छन्। मन परेको फिल्म हेर्न दर्शकलाई कुनै चाडपर्वको बहाना चाहिँदैन।
प्रकाशित: ९ कार्तिक २०७१ ०८:१९ आइतबार





